+
+
Shares

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा, देवगणलाई दोब्बर दक्षिणा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १९:५७

७ कात्तिक, भक्तपुर । बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेकी छन् ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले अपराह्न ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरेर प्रसाद ग्रहण गरेकी हुन् । नवदुर्गाका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपतिलाई नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद प्रदान गरे भने अर्का पुजारी इन्द्रबहादुर वनमालाले नवदुर्गाको प्रसाद फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरे ।

राष्ट्रपति भण्डारीले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही एक हजार पाँचका दरले दक्षिणा प्रदान गरिन् ।

यसअघि राष्ट्रपतिले दक्षिणा ५०५ दक्षिणा प्रदान गर्दै आएकामा यस वर्ष भने दक्षिणा दोब्बर पाएको देवगणले बताएका छन् । नवदुर्गा जात्रा सञ्चालनका लागि वर्षको करीब १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै सङ्कटमा परेको देवगणले गुनासो गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई तलेजुका मूल नाइके जोशीले तलेजुको प्रसाद प्रदान गर्दै कुमारीको मासिक भत्ता बढाइदिन आग्रह गरेकी थिइन् । उनले तलेजुका समस्याका बारेमा समेत जानकारी गराएका थिए ।

राष्ट्रपति भण्डारीले भक्तपुरका सांसद महेश बस्नेतलाई समस्या बुझ्न र समाधान खोजिदिन आग्रह गरेको र प्रदेश तथा स्थानीय सरकार एवं प्रमुख जिल्ला अधिकारीमार्फत समस्याको समाधान गर्न सकिने सुझाव दिएकी थिइन् । ।

राष्ट्रपति भण्डारीलाई न्यूनदृष्टियुक्त ध्वंसि शाक्य र कृष्णराम चित्रकारले तयार पारेको राष्ट्रपतिको मुहारचित्र प्रदान गरेका थिए ।

बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई पूजा अर्चनापछि प्रसाद ग्रहण गर्दै । तस्वीर : रमेश गिरी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?