Comments Add Comment

निरोगी, खुसी र सुखी जीवनका लागि के गर्ने ?

तपाईंसँग भएको सबैभन्दा अनमोल चिज के हो ?

तपाईं सोच्नुहुन्छ, घर घडेरी । जग्गा जमिन । गाडी । मोटरसाइकल । मोबाइल । घडी । हो, जब अमूल्य चिजको प्रसंग आउँछ, तपाईं/हाम्रो दिमागमा भौतक वस्तु अगाडि आउँछ । अर्थात आफ्नो पूख्र्यौली जग्गा, जमिन । आफुले जोडेको गाडी, मोटरसाइकल । आफुले जोगाएको बैंक ब्यालेन्स । यस्तै यस्तै ।

एकपटक आँखा चिम्लेर सोचौं त,  यी कुराहरु तपाईं/हामीलाई किन चाहिएको छ ?

जवाफ हो, ‘भोग गर्न ।’ गाडी/मोटरसाइकल चढ्नका लागि । जग्गा-जमिन अन्न उत्पादनका लागि । घर बस्नका लागि । अब यी सबै भोग कसले गर्ने ? हाम्रो शरीरले । यसको सोझो अर्थ के हो भने, हामीले जोडेका, पाएका, जगेडा गरेका, जतन गरेका जे जति भौतिक चिज छन्, ति सबै हाम्रो सुख सुविधाका लागि हो । हाम्रो सहुलियतका लागि हो । अतः यी सबै कुरा हामीले त्यही बेला भोग गर्न सक्छौं, जब हाम्रो शरीर स्वस्थ्य, तन्दुरुस्त, बलियो हुन्छ ।

अतः हामीले जोडेका र जगेर्ना गरेका ति भौतिक चिज भन्दा अनमोल हाम्रै स्वस्थ्य हो । त्यसो भए आफ्नो स्वास्थ्यका खातिर हामी के गरिरहेका छौ ?

काम र कमाईको चक्कर

विहान उठ्छौं । तात्तातो चिया नास्ता लिएर काममा दौडन्छौं । दिनभर काम, कमाइको चक्करमा लाग्छौं । राती फर्केपछि खाना खाएर सुत्छौं । हामीमध्ये धेरैको दैनिक तालिका यस्तै छ । अर्थात हामीले कामको लागि समय खर्चियौं । करियरका लागि समय खर्चियौं । कहिले काहीँ सामाजिक काममा खटिनुपर्छ । समाजका लागि समय खर्चियौं । कहिले काहीँ परिवारलाई रमाइलो गराउनुपर्छ । परिवारका लागि समय खर्चियौं । तर, यसबीचमा हामीले आफ्नो स्वास्थ्यका लागि कति समय छुट्याएका छौं ?

विहान ६ बजे उठेदेखि राती १० बजेसम्म हामी निरन्तर चलायमान छौं । केही न केही गरिरहेका छौं । तर, यत्तिका समयमा हामीले आफ्नै लागि आधा घण्टा, एक घण्टा वा दुई घण्टा समय छुट्याउन किन सकिरहेका छैनौ ?

आफ्नै खातिर केवल दुई घण्टा

शारीरिक स्वस्थ्य र तन्दुरुस्तीका लागि धेरै समय पर्दैन, केवल दिनमा एक वा दुई घण्टा आफ्नो लागि छुट्याए पुग्छ । यो भनेको हाम्रो नितान्त आफ्नो समय हो । र, यस समय सबै कुरा भुलेर तपाईं/हामी आफैमा रमाउन सिक्नुपर्छ । यो समय भनेको हामीले आफ्नो स्वास्थ्यका लागि छुट्याएको हो । त्यसैले व्यायाम गरौं, योग ध्यान गरौं, ताजा खानेकुरा सेवन गरौं । नुहाई-धुवाई गरौं । मनलाई शान्त र खुसी राखौं ।

सही हो, यी कुराहरु भन्न जति सजिलो छ, व्यवहारिक जीवनमा उतार्न उत्तिनै गाह्रो छ । गाह्रो यसकारण छ कि, स्वास्थ्यको संवेदनशिलतालाई हामीले गहिरिएर मनन गरेका छैनौ । हाम्रो स्वास्थ्य कति अनमोल छ भन्ने कुरा हामीले बुझेका छैनौं ।

स्वास्थ्य खराब भए ?

तपाईं/हामी काम गर्ने, करियर बनाउने, पैसा कमाउने, घर-घडेरी जोड्ने, गाडी किन्ने चक्करमा यसरी दौडिएका छौं, स्वास्थ्यको कुनै परवाह छैन । अब भोलि कुनै शारीरक समस्या देखिएला । उपचार गर्नुपर्ने होला । अस्पताल धाउनुपर्ने होला । थला परिएला । उपचारमा पैसा धेरै खर्च होला ।

यस्तो अवस्थामा हामी आफ्नो कुरा छाडौं, परिवार, बालबच्चाको अवस्था के होला ? जो हामीबाट आश्रति छन्, उनीहरुको हालत के होला ?

भोलिका लागि धन सम्पति मात्रै ?

जब हामी आफ्नो स्वास्थ्यको ख्याल गर्दैनौं, कुन न कुनै दिन दुर्घटना त हुन्छ नै । अर्थात केही न केही रोगले च्याप्छ । यस्तो अवस्थामा पुगिसकेपछि पछुताउनुको विकल्प हुँदैन । त्यसैले भोलिको संभावित संकटलाई टार्न हामीले आज आफ्नै खातिर पनि छुट्याउनुपर्छ ।

हामी भोलिका लागि भनेर पैसा बचत गर्छौं । भोलिका लागि भनेर धन-सम्पति जगेडा गर्छौं । तर, भोलिका लागि भनेर हामीले आफ्नो स्वास्थ्यको हेरविचार किन गर्दैनौ ?

आज पैसा कमाउँछौं, घर गाडी जोड्छौं । भोज खान्छौं । मोजमस्ती गर्छौ । हाम्रो आवश्यक्ताहरु बढ्न थाल्छ । हाम्रो आकंक्षाले पखेटा लगाउँछ । हामी थप सुविधाभोगी बन्न थाल्छौं । यस्ता सुविधाको चक्करमा हामी आफ्नै स्वास्थ्यलाई भने वेवास्ता गरिरहेका हुन्छौं ।

शरीरलाई पवित्र तुल्याउने कि दुषित बनाउने ?

भनिन्छ नि, शरीर मन्दिर हो । मन्दिरलाई जति पवित्र तुल्याउन सकिन्छ, ईश्वर उत्तिनै खुसी हुन्छ । ईश्वर हाम्रो शरीर भित्रको उर्जा हो । प्राण हो ।

हामी चुरोट तान्छौं, मदिरा पिउँछौं, अपाच्य खानेकुरा खान्छौं । यसको अर्थ के हो भने, हामीले आफ्नै शरीरलाई हेला गरिरहेका छौं । शरीरलाई पचाउन गाह्रो हुने खानेकुरा जस्तो जंक फूड, मासुजन्य परिकार, मसलेदार परिकार, तारेको, पोलेको खानेकुरा खान्छौं । शरीरको आवश्यक्ता कति हो भन्नु कुराको ख्याल नराखी जति पनि खाइदिन्छौं । कहिले भोकै बस्छौं, कहिले पेट चर्कनेगरी खान्छौ । यसरी शरीरलाई दुख, कष्ट दिन्छौं ।

स्वास्थ्य भन्दा अनमोल धन छैन । जब हामी स्वस्थ्य, तन्दुरुस्त, निरोगी हुन्छौं, तब हामीमा नकारात्मक भाव आउँदैन । काम गर्ने उर्जा र उत्साह जाग्छ । मन प्रफुल्ल हुन्छ । आफुले भोग गरेका कुराहरुबाट आनन्द प्राप्त हुन्छ । खाएको कुराबाट स्वाद लिन सकिन्छ । त्यसैले हरेक दिन आफ्नो स्वास्थ्यका खातिर केही समय छुट्याउनुपर्छ । योग गर्नुपर्छ, ध्यान गर्नुपर्छ । व्यायाम गर्नुपर्छ । सक्रिय जीवन बाँच्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment