Comments Add Comment

साहित्यकारको सुनसान दशैं !

जो पद र शक्तिमा छ, नेपाली समाजले त्यसैलाई पुज्छ । नेपालीले दशैंलाई धुमधाम मनाउनुको कारण पनि शक्तिको आरधना नै हो । शक्तिका लागि देवी पूज्नेदेखि लिएर शक्तिशाली व्यक्ति एवं सस्थाको अघि निधार थाप्ने र त्यसलाई सामाजिक सञ्जालमा गौरवका साथ पस्कनु नेपाली समाजको महत्वपूर्ण पाटो नै हो । यो पटकको दशैंमा पनि त्यो राम्रैसँग प्रकट भयो ।

राजनीति र प्रशासनिक क्षेत्रमा सक्रिय व्यक्तिहरुको घरमा जसरी साहित्यकारको घरमा टीका लगाउन आउने भिड देखिएन । समाजले प्रबुद्ध र विद्वान मानेका व्यक्तिहरुको घरमा परिवारका सदस्यबाहेक बिरलै टीका लगाउन जाने मान्छे देखिए । उमेरले सय टेकेका राष्ट्रकवि माधव घिमिरे, ९८ वर्षका शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाली उपन्यासका अद्वितीय प्रतिभा ९६ वर्षका मदनमणि दीक्षित, झर्रोवादी आन्दोलन  र नियात्राका थालनीकर्ता ८४ वर्षीय डा. तारानाथ शर्मा र आख्यान पुरुष ध्रुवचन्द्र गौतमहरुले आफ्ना परिवारका सदस्य बाहेक सीमित व्यक्तिहरुलाई मात्रै टीका लगाइदिए । उनीहरुको ज्ञान, बुद्धि र आशिर्वाद सुन्न र ग्रहण गर्नेहरु निकै कम थिए ।

राष्ट्रकविको घर सुनसान हुँदा नजिकैको बालुवाटार र शितल निवासमा टीका लगाउनेहरुको ठूलो भिड थियो । टेलिभिजनमा बालुवाटारमा टीका लगाउने व्यक्तिहरुको  लाइनको दृष्य हेरिरहेका राष्ट्रकवि माधव घिमिरे भन्दै थिए, ‘काठमाडौंमा मान्छे छैनन् भन्ने कुरा सुन्दै थिएँ तर बालुवाटामा टीका लगाउनेकोको लाइन देख्छु त ।’ बाल मुस्कानसहित थोरै ब्यङ्ग्यबाण प्रयोग गरेका राष्ट्रकवि घिमिरेले अनलाइनखबरसँग भने, ‘पहिले म एकेडेमीमा हुँदा टीका लगाउन धेरै आउँथे । अहिले त्यसरी आशिर्वाद लिने संस्कार कम भएजस्तो लाग्यो ।’

उसो त यसै वर्ष असोज ७ गते सय वर्ष टेकेका माधव घिमिरेको जन्मदिनको शुभकामना दिन सयौं मानिस आएका थिए । सरकारले नै औपचारिक कार्यक्रम गरेका कारण पनि त्यसको ठूलो प्रचार भयो । राष्ट्रपति विद्यादेवी भण्डारीले घरमै गएर राष्ट्रकविको शताब्दी जीवनमा खुसी हुँदै लामो समयसम्म स्वस्थ दीर्घ जीवनको कामना गरेकी थिइन् । यो समाचारको प्रसारसँगै झण्डै १५ दिनसम्म राष्ट्रकविलाई जन्मदिनको शुभकामना दिने मानिसहरुको लाइन लाग्यो ।

‘आफूभन्दा पाका व्यक्तिलाई शुभकामना दिनु औपचारिक कुरा हो । खासमा दीर्घजीवी व्यक्तिसँग दशैंमा टीका लगाएर आशिर्वाद लिनु चाहीँ हाम्रो परम्परा हो ।’ समाजशास्त्री विवेक दाहाल भन्छन्, ‘सय वसन्त देखेका घिमिरेसँग आशिर्वाद लिनु भन्दा हाम्रो समाजले वालुवाटारमा टीका लगाउनुलाई महत्वपूर्ण मान्छ । यो शक्तिका पछि लाग्ने हाम्रो सामाजिक संस्कार हो भन्ने उदाहरण हो ।’

भर्खरै शताब्दी टेेकेका र राष्ट्रकविको उपाधि पाएका माधव घिमिरेकोमा फाट्टफुट्ट व्यक्ति आशिर्वाद लिन पुगे पनि बाँकी ८०-९० वर्ष काटेका दर्जनौं चर्चित लेखक कवि र विद्वानको घरमा टीका थाप्न कोही पुगेनन् । जबकी तिनै व्यक्ति वर्षौअघि शक्तिमा हुँदा उनीहरुको आशिर्वाद लिन हानथाप हुने गर्दथ्यो ।

उदाहरणका रुपमा मदनमणि दीक्षित र डा. तारानाथ शर्मा हुन् । विजया दशमीका भोलिपल्ट ९६ वर्षका मदनमणि दीक्षितको काठमाडौंस्थित कालिकास्थानको घरमा अनलाइनखबरको टोली पुग्दा मदनमणि माड्साबको घरमा ताला लगाइएको थियो । एउटा तालाको १० वटा चाबी बनाएर दश जनामध्ये एकजनाको साथमा मात्र मदनमणि दीक्षितको घर छिर्ने व्यवस्था मिलाइएको रहेछ ।

खानपीन र उनका आवश्यकताका कुरा पूरा गर्न श्रीमती, परिवारका केही सदस्य र दुईजना कामदारसँग उनको घर छिर्ने चावी रहेछ । काम  कम सुन्ने र एक्लै बस्न रुचाउने भएका कारण यिनै दशजना चाबीधारी व्यक्तिहरु नै मदनमणि दीक्षितसम्म पुग्ने गर्दछन् । टीकाको दिन आफन्तलाई टीका लगाइदिए पछि उनी ताला लगाएको घरमा एक्लै सुस्ताइरहेका थिए ।

मदनमणि दीक्षितका छोरा आमोदमणि दीक्षितले घरको ताला खोलेर मदनमणि दीक्षितको कोठासम्म पुर्‍याएपछि उनका केही शुभचिन्तकहरुले उनीसँग टीका लगाए । आफन्त बाहेक बाहिरका व्यक्तिहरु आफ्नो हातको टीका लगाउन आएको सुनेपछि दीक्षितले निकै लामो सोधिखोजी गरे । ‘आजभोलि मलाई खोज्दै टीका लगाउने र आशिर्दान लिने मानिस निकै कम आउँछन् । खुसी लाग्यो, मेरो आशिर्वाद छ ।’ त्यसपछि उनले निकै बेर बेदका ऋचाहरु गुन्गुनाउँदै टीका लगाइदिए ।

शताब्दी पुरुष सत्यमोहन जोशी दशैंमा टीका लगाउँदैनन् । तर, दशैं नेपालको महत्वपूर्ण सांस्कृतिक पर्व भएका कारण फुर्सदमा ठूला बडाको कुरा सुन्नु पर्ने धारणा राख्छन् । ‘दशैंमा आशिर्वाद लिन फाट्टफुट्ट आउनु भयो । तर, म टीका लगाएर आशिर्वाद दिने गर्दिन । बरु आफूले जानेका ज्ञान बाँड्छु । आखिर टीका लगाएर आशिर्वाद दिनु भनेकै ज्ञानी बन भन्नू त हो नी ।’ जोशी मज्जाले हाँसे र भने, ‘दशैंमा शक्तिशाली व्यक्तिको हातको टीका लगाउने चलनले पनि यो शक्तिको प्रतीक मात्रै हो भन्ने बुझ्न  सकिन्छ ।’

यो वर्ष डा. तारानाथ शर्माको घरमा पनि आफन्त बाहेक उनको हातको टीका लगाउन पुग्ने मानिसहरु भएनन् । जवकी कुनै बेला उनको हातको टीका लगाएकोमा गौरव गर्ने व्यक्तिहरु निकै हुने गर्दथे । ‘स्मरण शक्ति कमजोर छ, चिन्दैन भनेर पनि होला । टीका लगाइमाग्न र आर्शिवाद लिन कोही आएनन् ।’ डा. शर्माले भने, ‘खै पहिले त मान्छे आउँथे, आजभोलि किन आउँदैनन्, मैले बुझेको छैन ।’

अन्य क्षेत्रका पाका व्यक्तिको अवस्था पनि त्यस्तै

साहित्यमा मात्र होइन, कुनै बेला पद र शक्तिमा रहेका अन्य क्षेत्रका पाका व्यक्तिहरुले पनि यो दशैंमा टीका लगाउन आउने मान्छे कमी भएको अनुभव गरे । पूर्व प्रधानन्यायधीशहरु, पूर्व प्रहरी र सेना प्रमुखहरु, ओझेलमा परेका राजनीतिक नेता र पूर्व सचिवहरुको घरमा पनि यो वर्ष टीका लगाउन जाने मानिसहरु कमी भएको उनीहरु आफूले अनुभव गरेका छन् ।

पूर्वअर्थमन्त्री तथा तत्कालीन नेकपा (एमाले)का शक्तिशाली नेता भरत मोहन अधिकारी आजभोलि प्रायः एक्लै हुन्छन् । अर्थमन्त्री हुँदा उनीसँग टीका लगाउने व्यक्तिको भिड छिचोलिनसक्नु थियो । यसपटकको दशैंमा निकट व्यक्तिबाहेक अरुले उनको हातको टीका लगाउने रहर देखाएनन् ।

‘कुनैबेला म उहाँको हातको टीका लगाउँन जाँदा लाम देखेर फर्केको छु ।’ साहित्यप्रेमी कमल ढकाल भन्छन्, ‘आजभोलि उहाँलाई बोलाउने मानिस पनि कोही छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment