Comments Add Comment

खानी खोज्दा गयो डीआईजीको जिन्दगानी

११ कात्तिक, काठमाडौं । शनिबार काभ्रेमा भएको सवारी दुर्घटनामा फरक-फरक क्षेत्रमा क्रियाशील तीन जनाको मृत्यु भयो । उनीहरुमध्ये डीआईजी सुशील भण्डारी हाई प्रोफाइलका थिए ।

सार्वजनिक विदाको दिन कार्यक्षेत्रभन्दा बाहिर नेता, व्यवसायी र पत्रकारसँगै भ्रमणमा जाँदा डीआईजीले ज्यान गुमाए । यदि कर्तव्य पालनका सिलसिलामा मृत्यु भएको भए प्रधानमन्त्रीदेखि आईजीपीसम्मले शीर झुकाएर उनको निधनमा श्रद्धाञ्जली दिनुपर्ने हुन्थ्यो ।

तर डीआईजी भण्डारीको मृत्यु आफ्नो निजी व्यवसायको प्रबर्द्धन गर्न जाने क्रममा भएकाले उनले यस्तो सम्मान पाउने छैनन् ।

विन्दास अफिसर

गिरिजाप्रसाद कोइराला बाचुन्जेल उनको ‘किचन क्याबिनेट’ का सदस्य थिए कैलालीका सुनिलकुमार भण्डारी । तीनै कांग्रेस नेता भण्डारीका सहोदर भाइ हुन् सुशील ।

कोइरालाको अवसानसँगै सुनील भण्डारीको पनि एक प्रकारले राजनीतिक अवसाननै भयो । त्यसपछि सुशीलको लागि पावर लगाउने मान्छे पनि भएनन् प्रहरी संठनभित्र । त्यसैले उनले संगठनमा चाँडो प्रगति गर्न सकेनन् । बरु साथीभाइसँग रामरमाइलो र ब्यापार व्यवसायमा आफूलाई केन्दि्रत गरे ।

आईजीपी सवेन्द्र खनालसँगै २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका भण्डारी खनाल आईजीपी भएपछि एसएसपीबाट डीआईजीमा बढुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयअन्तर्गत अन्वेषण योजना निर्देशनालयको प्रमुख बनाइएका थिए डीआईजी भण्डारी ।

प्रहरी संगठनभित्र ‘बिन्दास र बेपर्वाह’ अफिसरका रुपमा चिनिने उनी संगठनभन्दा पनि बाहिरका व्यक्तिहरुसँग बढी रमाउने गरेको जानकारहरु बताउँछन् ।

खानी खोज्दा गयो जिन्दगानी

प्रहरी नियमावली २०७१ को धारा ९६ अनुसार प्रहरी अधिकारीले कुनै पनि व्यापार व्यवसायमा लगानी गर्न वा कम्पनी खडा गर्न पाइदैन । त्यस्तै परिच्छेद ८ ले पनि कुनै नाफामूलक संस्थामा बस्ने वा नाफा हुने व्यापार-व्यवसायमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख गरेको छ ।

यसका बाबजुद धेरै उच्च प्रहरी अधिकारीले आफ्नै वा परिवारका नजिकका सदस्यको नाममा ब्यापार-व्यवसायमा लगानी गरेका छन् । कतिपयले मिटर ब्याजीसँग मिलेर रकम लगानी गरेका कुरा पनि बेलाबखत आउने गर्छन् ।

डीआईजी भण्डारीले काभ्रेका खानी सञ्चालक व्यवसायी प्रदीप बोगटीसँग मिलेर ढुंगा तथा क्रसर उद्योगमा लगानी गरेको पाइएको छ । उनी शनिबार सोही व्यवसायको नयाँ काम शुरु गर्ने सिलसिलामा काभ्रेको मण्डन देउपुर गएका थिए ।

मण्डन देउपुरको पाटीडाँडामा राम्रो बुलावाखानी सञ्चालन गर्न सकिने ठाउँ रहेको सूचनापछि उनले बोगटीलाई सो ठाउँमा शनिवारै जान दबाब दिएको स्रोतले जनाएको छ । उनीहरु त्यस दिन खानी निरीक्षण गरेर नगरकोट जाने र राति उतै बस्ने कार्यक्रम बनेको थियो ।

दुर्घटना भएको दिन पत्रकार जीवन पराजुली मण्डन देउपुर नगरपालिकाका मेयर टोकवहादुर वाइबासँगै खाना खाएर काभ्रेको जिरो किलोमा पुगेका थिए । उनी बालुवाखानी रहेको नजिकैका स्थानीय बासिन्दा पनि भएकाले बाटो देखाउनका लागि बोगटीको आग्रहमा डीआईजीको टोलीसँगै गाडीमा बसेर गए । गाडी बोगटीले नै चलाए ।

बालुवाखानी पाटीडाँडा र घटनास्थल ढकालथोक सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाको गाउँमा पर्छ । मृतक पत्रकार पराजुली पनि बास्कोटाकै छिमेकी हुन् । नेकपाको चियापानमा रहेका बेला मन्त्री बास्कोटाले सो खबर सुनेका थिए ।

पत्रकार पराजुली र कांग्रेस नेता विनोद कार्की साथी मात्रै गएका थिए कि उनीहरु पनि खानीमा आबद्ध थिए भन्ने खुलेको छैन । तर पराजुलीले पछिल्लो समय खानी सञ्चालकलाई भाडामा लगाउन एउटा टिपर किनेका थिए ।

आफू सोमबार अष्टे्रलिया जानुपर्ने भएकाले त्यसअघि नै खानी निरीक्षण गर्न डीआईजीले दबाब दिएपछि बिरामी अवस्थामा पनि बोगटी गाडी लिएर हिँडेको पारिवारिक स्रोतले जनाएको छ । बोगटी र डीआईजी भण्डारीबीच लामो समयदेखिको सहकार्य थियो ।

तीन दर्जन टिपरका मालिक

बोगटीको पनौती नगरपालिका-१२ मा ढुंगाखानी छ । उनी जिल्लामा राम्रो छवि बनाएका प्रतिष्ठित व्यवसायी हुन् । डीआईजी भण्डारीको भने बेथानचोक गाउँपालिकामा सञ्चालित क्रसर उद्योगमा पनि लगानी रहेको काभ्रे प्रहरी स्रोतले जनाएको छ । त्यस्तै रोशीमा पनि उनको क्रसर उद्योगमा लगानी रहेको छ ।

डीआईजी भण्डारीका आफ्नै करीव तीन दर्जन टिपरसमेत रहेको काभ्रेको प्रहरी नेतृत्व सम्हालिसकेका एक उच्च अधिकारीले जानकारी दिए । बेला-बेलामा स्थानीय प्रहरीले अप्ठेरो पार्दा भण्डारीले सिधै काभ्रेका प्रहरी प्रमुखलाई फोन लगाउथे । उनको गुण्डा नाइक गणेश लामासँग पनि क्रसर उद्योगमा साझेदारी रहेको हल्ला प्रहरीमा चले पनि पुष्टि नभएको ती अधिकारीले बताए ।

प्रहरी हेडक्वार्टरलाई प्रश्न

डीआईजी भण्डारीको निधनपछि प्रहरी संगठनका विशेषगरी उच्च अधिकारीहरुको व्यवसायिक संलग्नताको विषय फेरि बहसमा आएको छ ।

प्रहरी नियमावली र आचारसंहितामा जे लेखिएको भए पनि अपवादबाहेक धेरै उच्च अधिकारीहरुले नाफामूलक ब्यापार व्यवसाय चलाइरहेको खुला सत्य हो । आईजीपी सर्वेन्द्र खनालले पछिल्लो समय आचरण खराब हुने र संगठनको नियमभन्दा बाहिर गएर धन्दा गर्नेमाथि आफू कठोररुपमा प्रस्तुत हुने चेतावनी दिइरहेका छन् ।

खनाल आफैंले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यापार-व्यवसाय गरेका छैनन् । तर उनको चेन अफ कमाण्डभित्र व्यवसायिक अफिसरमात्र नभएर व्यवसायी अफिसरहरुको संख्या पनि ठूलो छ भन्ने कुरा भण्डारीको निधनबाट खुलेको छ । अब आईजीपीले आफ्नो मातहतका उच्च अधिकारीहरु कस्ता व्यापार व्यवसायमा संलग्न छन् भनेर ध्यान दिनुपर्ने छ ।

समाजलाई चाहिएको व्यवसायिक प्रहरी हो । प्रहरीलाई व्यवसायिक बन्न नदिने सबैभन्दा ठूलो रोग भनेकै व्यवसायी प्रहरी हुन् । जसरी सेवाग्राहीसँग घुस खाने प्रहरी अधिकृतलाई कारवाही गर्न आइजिपी कठोर भए, अब व्यवसायी प्रहरीमाथि उनी कति कठोर हुन्छन् ?

सलामीसहित सम्मान दिइने

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार डीआईजी भण्डारीको दाहसंस्कार परिवारका सदस्यहरु आएपछि उनीहरुकै चाहनाअनुसार गरिनेछ ।

भण्डारीकी कान्छी पत्नी र छोराछोरी अष्ट्रेलियामा बस्छन् । जेठी पत्नीसँग पनि उनी लामो समयदेखि अलग छन् । जेठी पत्नी नेपालगञ्जमा बस्छिन् । उनीहरुको सम्वन्धविच्छेद भइसकेको बुझिएको छ ।

परिवारसँग भेटघाटका लागि अष्ट्रेलिया जान भण्डारीले प्रहरी प्रधान कार्यालयबाट विदा स्वीकृत गराएका थिए । उनी सोमबार अष्ट्रेलिया उड्ने तयारीमा थिए । आइतबार उनी प्रमुख रहेको योजना अन्वेषण बिभागले तयार पारेको एक कार्यक्रमको अन्तिम तयारी भएकाले शनिबार व्यापारिक काम सक्ने हतारोमा थिए ।

परम्पराअनुसार प्रहरीले भण्डारीलाई सलामीसहित अन्तिम बिदाई गर्ने प्रवक्ता सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment