+
+
Shares

३२ अर्बमा चिनियाँ गाई खरिद तयारी, विभाग भन्छ– हावापानी मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते ७:००

१४ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले धराप बनेर बसेका काठमाडौंका खाल्डाखुल्डीदेखि चिनियाँ गाई खरिद, एनएसीको खस्कँदो व्यापारलगायत विषयलाई मुख्य समाचार बनाएर छापेका छन् ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै प्रधानमन्त्रीको स्वास्थ्य, सर्लाही झडप, ठेकेदार मन्त्री र धरहरा पुनर्निर्माणलगायतका सामग्री पनि प्रकाशित  छन् ।

३२ अर्बमा चिनियाँ गाई खरिद तयारी

कान्तिपुर दैनिकमा ३२ अर्बमा चिनियाँ गाई खरिदको तयारीसम्बन्धी समाचार छ । समाचारअनुसार गण्डकीसहितका ३ प्रदेशमा ३२ अर्ब लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ ।

चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र ३ मा फार्म खोल्न लागिएको हो । त्यसका लागि संघ सरकारले स्वीकृत दिइसकेको छ ।

प्रदेश सरकारले गाईपालनाका लागि आवश्यक प्रक्रिया पूरा भएको भन्दै सहयोगका लागि चीनसँग सम्झौता गर्न पत्राचार गरिसकेको समाचारमा उल्लेख छ ।

प्रदेशले गाई खरिद तयारी अघि बढाइरहेका बेला पशुसेवा विभागले भने विदेशबाट ल्याइएका गाईलाई यहाँ हावापानी र पोषण सन्तुलन नमिल्ने जनाएको छ ।

दैनिक ४०–५० लिटर दूध उत्पादन गर्ने गरी खुराक पुर्याउन नसकिने विभागको भनाइ छ । विभागका महानिर्देशक विमल निर्मलले कान्तिपुरसँग भनेका छन्– त्यसरी ल्याइएका गाईको उत्पादन १ वर्षमा ५० प्रतिशतले कम हुन्छ । १–२ वर्षपछि बच्चा पाउँदै । सडकमा छाड्नुको विकल्प हुँदैन ।’ विगतमा विदेशबाट ल्याइएका गाईबाट लाभ नमिलेको भन्दै विभागले यसबारे सोच्न सुझाएको छ ।

आफैं मन्त्री, आफैं ठेकेदार

कान्तिपुरमै कर्णाली प्रदेशका भौतिक, पूर्वाधार मन्त्री खड्गबहादुर खत्री ठेकेदार मन्त्री रहेको खबर छ । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालय मातहत पुगेका छन् ।

समाचार अनुसार खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन् ।

ऋणमा डुब्दै निगम, कमाइ २६ करोड, खर्च ७६ करोड

व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल वायु सेवा निगम ऋणैऋणमा डुब्दै गएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार शुरुको ४५ दिनमै यसको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुगेको छ । यो दैनिक करोडभन्दा माथि हो ।

अन्नपूर्ण लेख्छ–अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख पुग्यो ।’

१७ वर्षपछि प्रहरी कंगो शान्ति मिसनमा खटिँदै

काठमाडौंमा काल बनेर बसेका खाल्डाबारे मुख्य समाचार लेखेको नयाँ पत्रिकाले राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वग्रस्त मध्यअफ्रिकी देश कंगोमा खटिने भएको जनाएको छ ।

समाचारअनुसार २ जना नेपाल प्रहरीका अधिकृतलाई राष्ट्रसंघले कंगोका लागि छनोट गरेको हो । डीएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघ शाखा प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?