१५ कात्तिक, काठमाडौं । आर्सनलले ब्लाकपुललाई पराजित गर्दै काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको चौथो चरणको खेलमा आर्सनलले ब्लाकपुललाई २–१ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा स्टेफन लिचिस्टेनर र इम्ली स्मिथ रोवले गोल गरे । त्यस्तै, ब्याकपुलका लागि पाउडी ओकोनोरले गोल गरेपनि आर्सनललाई रोक्न सकेन ।
इमिरेट्स रंगशालामा भएको खेलको ३३औं मिनेटमा लिचिस्टेनरले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप १ गोल गर्दा १ गोल खान पुगेको थियो ।
खेलको ५० औं मिनेटमा स्मिथले गोल गर्दै आर्सनललाई दोब्बर अग्रतामा पुर्याएका थिए । तर खेलको ५६ औं मिनेटमा माटियोले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।
खेलको ६६ औं मिनेटमा ब्लाकपुलका ओकोनोरले गोल गर्दै खेल २–१ गोलको स्थितिमा पुर्याएका थिए । यद्यपि, बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल आर्सनलले २–१ गोलले जितेको हो ।
बुधबार राति नै भएको अर्को खेलमा टोटनह्यामले वेष्ट ह्यामलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । क्वाटरफाइनलमा अब टोटनह्यामले आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4