Comments Add Comment

पीपीएल : दीपेन्द्रको नायकत्वमा धनगढीको सनसनीपूर्ण जित

१६ कार्तिक, काठमाडौं । पोखरा पल्टनविरुद्ध सनसनीपूर्ण जित हात पार्दै धनगढी एक्सपर्ट्स पोखरा प्रिमियर लिग (पीपीएल) को अंकतालिकामा शीर्ष स्थानमा पुगेको छ । धनगढीको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविस्मरणीय पारी खेले ।

लगभग हारको संघारमा पुगेको धनगढीलाई ब्यूँताउने क्रममा ऐरीले २६ बलमा ४९ रन बनाए जसमा ४ छक्का र ४ चौका समावेश थिए । अन्तिम ओभरमा धनगढीलाई १४ रन आवश्यक थियो । स्ट्राइकमा थिए दीपेन्द्र । महबुब आलमले फ्याकेको पहिलो बल वाइड भयो ।

दोस्रो बलमा दीपेन्द्रको मिस हिट छक्कामा परिणत भयो । अन्तिम दुई बलमा चार रन चाहिँदा दीपेन्द्रले कभरतर्फ चौका प्रहार गर्दै टिमलाई दुई विकेटको जित दिलाए ।

आजको म्याच धनगढीका लागि गर वा मरको थियो । हारेको भए उपाधि होडबाट लगभग बाहिरने अवस्थामा रहेको धनगढीका लागि यो जित निकै महत्वपूर्ण छ । यद्यपि, प्लेअफमा उसको स्थान अझै सुरक्षित भइसकेको छैन । यसका लागि अन्य टिमहरुको नतिजा कुर्नुपर्ने छ ।

धनगढीका लागि पिटर टे्रगोले पनि विष्फोटक ब्याटिङ गर्दै अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३४ बलको सामाना गर्दै ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै, ओपनर शुभेन्दु पाण्डेले २२ रन बनाए ।

बलिङतर्फ पोखराका राशिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेका थिए । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले समान २-२ विकेट लिए ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएपछि धनगढीले मध्यम स्कोरको चुनौती पाएको थियो ।

पोखराको लागि रोहित कुमार पौडेलले इनिङ्स उकास्न खोजेका थिए । उनले २१ बलमा ३१ रन बनाए । पोखराका लागि रविइन्दर सिंहले २८, आशिफ शेखले २३, राशिद खानले अविजित १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए ।

४ रन हुदा पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको पोखराले ४८ रन हुदा दोस्रो विकेटको रुपमा रविइन्दरलाई गुमाएको थियो । तेस्रो विकेटको रुपमा ४८ रन हुदा नै मेहबुब आलम शुन्य रनमा आउट भएपछि पोखरा दबाबमा आएको थियो ।

एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए ।

जितसँगै धनगढीले आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफमा पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । यता, पोखराको पनि शीर्ष तीनमा पुग्ने सम्भावना कायमै रहेको छ ।

लिगको शीर्ष स्थानमा पुग्ने टिम फाइनलमा प्रवेश गर्ने छ भने दोस्रो र तेस्रोले प्ले अफ खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment