Comments Add Comment

पाण्डवले पानी पिएको बर्जुतालः अटाएन १०० गन्तव्यमा

१७ कात्तिक, मोरङ । संघीय सरकारले सार्वजनिक गरेको १०० पर्यटकीय गन्तब्य स्थलको सूचीमा प्रदेश १ को ठूलो जलासययुक्त बर्जु ताल अटाएन ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट करिब ११ किलोमिटर पश्चिममा पर्छ बर्जुताल । पर्यटकीय सम्भावना बोकेको यो ताल १ सय ५० विगाहा जग्गामा फैलिएको छ । तालले ओगटेको क्षेत्र मध्ये करिब १ सय विगाहा जलासय छ ।

प्रदेश १ का १६ पर्यटकीय क्षेत्र नयाँ गन्तब्य स्थलको सूचीमा छन् । तर सूचीमा नअटाएको सुनसरीको बर्जु गाउँपालिका-६ मा पर्ने ताल प्रदेश १ कै  ठूलो जलासययुक्त ताल हो । प्रचारप्रसार नहुँदा प्रचुर सम्भावना बोकेको ताल ओझेलमा छ ।

ओझेलमा रहेको ताललाई २०७३ सालमा नेपाली सेनाले सरसफाई गरी स्थानीयलाई हस्तान्तरण गरेको थियो । तीन करोड ६३ लाख बजेटमा सेनाले ताललाई व्यवस्थित बनाएपछि स्थानीय बालिम चौधरीको अध्यक्षतामा संरक्षण समितिले रेखदेख गर्दै आएको छ ।

प्राचिन हिन्दू धार्मिक ग्रन्थ महाभारतसँग पनि बर्जु तालाई जोडेर हेर्ने गरिन्छ । प्राचिन बिराट राजाको दरबार, गौशाला, गाई चरन क्षेत्रसँगै वनवास गएका पाण्डवहरुले तालको पानी पिएको किम्बदन्ती छ ।

तालको बीच भागमा मन्दिर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि नौका विहार गर्न डुंगा राखिएको छ भने चिल्ड्रेन पार्क निर्माणको चरणमा छ ।

बर्जु सिमसार क्षेत्र पनि हो । बाह्रै महिना जमिन मुनिबाट पानी निस्किन्छ । सिमसारमा जलचर, थलचर प्राणीको वासस्थान पनि छ । हिउँदमा जाडो छल्न साइबेरियादेखि कोशी टप्पु आउने चरा बर्जु ताल पनि आउँछन् ।

वातावरण बिज्ञ रामचन्द्र अधिकारी जाडो छल्न साइबेरीयादेखि आउने चराहरु कोशी टप्पु हुँदै बर्जु तालसम्म पुग्ने गरेको अध्ययनबाट देखिएको बताउँछन् । उनी जलचर र अन्य प्रजातिका चराहरुको बासस्थान पनि भएको बताउँछन् । ताल क्षेत्रमा विभिन्न प्रजातिका पुतलीहरु पनि पाइन्छ ।

प्रदेश १ का पर्यटकीय गन्तब्य

संघीय सरकारले पुराना र नयाँ गरी प्रदेश १ मा स्थापित भएका १३ र नयाँ १६ गरी २९ वटा गन्तव्यको सूची सार्वजनिक गरेको थियो । जसमध्ये ताप्लेजुङस्थित पाथीभरा मन्दिर र फुङफुङे झरना, इलामको सन्दकपुर-माइपोखरी, संखुवासभाको अरूण उपत्यका, धनकुटाको भेँडेटार, नमस्ते झरना, खोटाङको हलेसी महादेव, सोलुखुम्बुको स्याङबोचे र सगरमाथालाई स्थापित गन्तव्यका रूपमा उल्लेख गरिएको छ ।

स्थापित गन्तब्यको सूचीमा ओखलढुंगाको पोकली झरना, झापाको बाँसबारी सीमसार पर्यटन पूर्वाधार केन्द्र, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष, वराहक्षेत्र र तालतलैया छन् ।

विकास गर्नुपर्ने नयाँ गन्तव्यमा ताप्लेजुङको तिङबुङ पोखरी, पाँचथरको गुरू फाल्गुनन्द सर्किट (लोब्रेकुटी-गजुरमुखी धाम-लारूम्बा-चुक्कीनाम्बा), इलामको फिक्कल-कन्याम-श्रीअन्तु सर्किट, तेह्रथुमको तीजुरे-मिल्के-जलजले, संखुवासभाको बालेश्वर ऐतिहासिक गुफा, धनकुटाको हलदे पटकेडाँडा पर्यटक ट्रेल, भोजपुरको ट्याम्केडाँडा (मुन्धुम ट्रेल), खोटाङको बराहपोखरीलाई राखिएको छ ।

सोलुखुम्बुको पाँचपोखरी, ओखलढुंगाको थोलेदुम्बा डाँडा, उदयपुरको उदयपुरगढी, झापाको विर्तामोडस्थित सहिद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, मोरङको धनपालगढी पर्यटकीय क्षेत्र र सुनसरीको पिण्डेश्वर-दन्तकाली पदमार्गलाई नयाँ पर्यटकीय गन्तव्य तोकिएको हो ।

तस्वीर सौजन्य : मौसम दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment