+
+
Shares

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजीवन प्रभावित

रासस रासस
२०८२ कात्तिक १३ गते २२:२०
मुक्तिनाथ मन्दिर क्षेत्र।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुस्ताङमा मङ्गलबार हिमपातपछि बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ जसले जनजीवन र विद्यालय पढाइ प्रभावित बनाएको छ।
  • जोमसोम–कोरला सडक पहिरोले अवरुद्ध बनेको छ र प्रमुख जिल्ला अधिकारी भुसालले सडक पुनः खुलाउन पहल भइरहेको जानकारी दिए।
  • मुक्तिनाथ क्षेत्रमा वर्षाले बाटो हिलाम्मे भएको र ज्येष्ठ नागरिक, अपाङ्ग भक्तजनलाई दर्शनमा समस्या भएको मुक्तिनाथ विकास समितिका कर्मचारीले बताए।

१३ कात्तिक, मुस्ताङ । मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।

यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो । तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका उच्चलेकमा हिमपात भए पनि बस्तीमा हिमपात भएको थिएन । यो वर्ष यहाँ कात्तिकमा नै  हिमपात भएको छ ।

निरन्तर वर्षा भइरहेकाले जनजीवन प्रभावित भएको छ । पढ्ने बालबालिकालाई सास्ती भएको छ ।

धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले वर्षाले असर पुर्‍याएको धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले जानकारी दिए । वर्षा भइरहे पनि सबै विद्यालयमा पठनपाठन भने भइरहेको छ ।

मुक्तिनाथ क्षेत्रमा निरन्तर वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए । ‘वर्षाका कारण रानीपौवा बसपार्कदेखि मुक्तिनाथको तल्लो प्रवेशद्वारसम्मको बाटो हिलाम्मे भएको छ ।’

कर्मचारी सुवेदीले हिमपात र वर्षा भइरहे पनि भक्तजनका लागि मुक्तिनाथ मन्दिर खुल्लै रहेको बताए । मुक्तिनाथ दर्शन गर्न जाने ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्त भक्तजनलाई मन्दिर पुगेर दर्शन गरी फर्किन सकस भइरहेको मुक्तिनाथस्थित जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले बताए । मुक्तिनाथ बसपार्कदेखि घोडा र डोलीमा चढाएर मुक्तिनाथ आउजाउ गर्ने कार्य प्रभावित बनेको छ ।

जोमसोम—कोरला सडक अवरुद्ध

यसैबीच वर्षाका कारण राष्ट्रिय गौरवको जोमसोम—कोरल सडक पहिरोका कारण अवरुद्ध  बनेको छ । जोमसोम–कागबेनी र कागबेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

बुधबार साँझ जोमसोम–कागबेनी सडक खण्डअन्तर्गत यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित एक्लेभट्टी नजिक पहिरो भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

कागबेनी–कोरला सडकखण्डअन्तर्गत वारागुङ मुक्तिक्षेत्र–३ ताङ्वे सडकमा पनि पहिरो गएको छ । पहिरोले सवारी आवागमन ठप्प भएको छ ।

मनसुन सक्रिय भई हिमपात र वर्षाको जोखिम कायमै रहेकाले रातिको समयमा यात्रा नगर्न समेत स्थानीय प्रशासनले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी भुसालले सडक पुनः खुलाउन पहल भइरहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?