Comments Add Comment

बाइकैमा सरर रारा तालैमा !

सदाझैं यस वर्ष पनि छलफलको विषय बन्यो दशैं टीकालगत्तै घुम्न कहाँ जाने ? दशैं विदामा साथीहरुको एक समूह बनाई वर्षेनी नियमितरुपमा कम्तिमा एकपटक दशैं टीकालगत्तै हिँड्न थालेको यो आठौँ वर्ष हो ।

यसपटक निश्कर्षमा समुद्री सतहबाट ३ हजार २ सय मिटरको उचाइमा रहेको अलौकिक सुन्दरताले भरिपूर्ण रारा घुम्न जाने निर्णय भयो । नियमित रुपमा सँगै हिँड्ने केही साथीहरु भन्दा फरक टिम बन्यो यसपटक । हेटौंडाबाट किरणजी र म थियौं भने नवलपरासी जिल्लाबाट अन्य चार- लक्ष्मीसागर चापागाईं, ईश्वरीसागर चापागाईं, प्रेम गिरी र सुजल गिरी ।

हामी मोटरसाइकलमा यात्रा गर्न रुचाउँछाैं । रारा यात्राका विषयमा केही अध्ययन र केही त्यहाँ पुगेर आएका साथीहरुसँगको कुराकानीबाट हामीले थाहा पाइसकेका थियौँ । रारा यात्रा मोटरसाइकलमा सहज छैन । हिँड्नुको विकल्प नहुँदाको अवस्थामा बाहेक मोटरसाइकलमा जस्तो मज्जा अरुमा नआउने हाम्रो अनुभवले बताउँछ । त्यसैले रोज्यौँ सदाझैं दुई पाङ्ग्रे वाहन मोटरसाइकल । हामीलाई थाहा थियो, यात्रा जति चुनौतीपूर्ण हुनेछ, त्यति नै हाम्रा लागि रोमाञ्चक पनि ! साहसिक त छँदैछ ।

टीकाको पर्सिपल्ट अर्थात कार्तिक ४ गते प्रारम्भ गर्‍यौँ यात्रा । गैँडाकोटमा सबै भेटेर करिब १ बजे शुरु गरेको यात्रा त्यस दिन रातको करिब ११ बजे कोहलपुर गएर टुङ्गयिो । रातको समयमा बाइकको यात्रा ‘अनहेल्दी-अनसेफ’ हुने थाहा हुँदाहुँदै पनि अपरिपक्व निर्णयले हामी कुदी नै रह्याैं ।

लामो दूरीको यात्राको थकानले भोलिपल्टको हाम्रो यात्रा १० बजेबाट शुरु गर्‍यौँ । बीचबीचमा चिया नास्ता त छँदै थियो, मनोरम दृश्य देख्नासाथ बाइक रोकेर एकैछिन अलमल हुनु त स्वाभाविक नै थियो । सुर्खेत हुँदै अघि बढेका हामी २५ किलोमिटर जति अगाडि पुगी गुँरासेमा खाना खायौँ ।

हामी सबैका लागि सुर्खेत नयाँ थियो । नयाँ जिल्ला, नयाँ ठाउँ । खानापछि हामीले हाम्रो गन्तव्य कालिकोटको मान्म बनायौं र बढ्यौं बाइकमा सरर । रातको करिब आठ बजे हामी पुग्यौँ मान्म, कालिकोटको सदरमुकाम । सीमित होटल र बढ्दो आन्तरिक पर्यटन । बासका लागि होटलको समस्या । जसोतसो एक होटलमा हल कोठाको भुईमा सुत्न पाउने गरी व्यवस्था मिलाउन सफल हुँदा ठुलै युद्ध जितेको आभास भो हामीलाई ।

सीमित ठाउँमा मात्र बाइक बनाउन पाइने र सीमित ठाउँमा नै पेट्रोल पाइने हुँदा त्यसको जोहो गर्दागर्दै र नास्ता खाएर हिँड्दा झण्डै १० बजिसकेको थियो । केही अघि बढेर हाम्रो टोली कालिकोटको पिलीमा रोकियो ।

चियाको निम्ति रोकिएको हाम्रो टोलीले स्थानीयसँगको छलफलका क्रममा पिली बुझ्ने मौका पायो । यो त्यही ठाउँ थियो, जहाँ जनयुद्धको अन्तिम युद्ध भएको थियो जसमा ६२ जना सेना मारिएका थिए भने माओवादीतर्फको मानवीय क्षति भने एकिन भएको थिएन ।

नाग्मा हुँदै हाम्रो टोली खानापश्चात् अघि बढ्यो । केही बिगि्रएका, भत्किएका बाहेक कालोपत्रे गरिएको सडकको यात्रा सकिएको थियो । नाग्मादेखि हामीलाई १०० किमीको हाराहारी पुरै कच्ची बाटोको यात्रा तय गर्नु थियो । पूरा यात्रामा यो १०० किमी बढी नै चुनौतीपूर्ण मानिन्छ । अप्ठ्यारो बाटो त छँदैछ, त्यसका अलावा साधनमा केही समस्या आएमा या आफैंलाई केही भएमा कुनै विकल्प नहुनु ।

नाग्मामै एक चरण फेरि बाइक देखाइवरि हामी अघि बढ्यौं । हामीसँग नाग्मा हुँदै सिधै अघि बढ्नुका साथै विकल्पमा जुम्ला हुँदै भुलभुलेमा निस्कने मार्ग पनि थियो । केही छोटो भएता पनि बाटो तुलनात्मक रुपमा अझ अप्ठ्यारो भन्ने बुझाइ हाम्रो भएपछि हामीले चलनचल्तीकै बाटो रोज्यौं । मिलेसम्म मुगुकै सल्लेरी, ताल्चा या गमगढी बास बस्न पुग्ने लक्ष्यका साथ हामी अघि बढ्यौं । भुलभुलेमा रहेको आर्मी चेक पोष्ट ६ः३० सम्ममै कट्नुपर्ने कुराको जानकारी मलाई थियो । तदनुरुप हामी समयभन्दा २० मिनेटअगावै पुग्न सफल भयौं । त्यहाँ पुग्दै झिसमिसे साँझ परेकाले त्यसपछिको यात्रा अझ कठिन रह्यो । रातको समय, चिसो मौसम, सिरेटो उस्तै ।

हाम्रा तीन वटा बाइक ५०/६० मिटरको दूरीमा थिए । हामी बासका निम्ति विकल्प पनि खोज्दैं थियौं । अघि बढ्नुको विकल्प थिएन । रातको समयमा र्फकदै गरेका केही यात्रीहरुलाई रोकेर सोध्यौं, यसबेला किन ? हामीले तय गर्ने भनेको तीनवटै गन्तव्यबाट फर्किएका यात्री हामीले भेट्यौं । सबैको एकै जवाफ – बास बस्ने ठाउँ नपाएर । बासको विकल्प खोज्दै रारा छेउमै पुगेर फर्किएकाहरुको कुरा सुनेपछि हामी वरै बासको विकल्प खोज्न लाग्यौं ।

राराबाट झण्डै १९ किमी वरै एउटा सानो घरमा बासको निम्ति अनुरोध गर्‍यौं र पायौं पनि । समय, ठाउँ, परिस्थिति अनुरुप घुलमिल हुन जानिसकेका हामीलाई त्यो झुपडी कुनै पाँचतारे होटल भन्दा कम लागेन त्यस बखत । भाले काट्न लगाएर दाउराको जोहो गरी आगो ताप्दै आगोकै उज्यालोमा रमाइलो गर्‍यौं र सुत्याैं  आफूलाई यसर्थ भाग्यमानी ठान्दै कि- बासको जोहोका निम्ति चिसोमा रातारात भाैंतारिनु त परेन !

चौथो दिन सबेरै निक्लियौं गाँसबासका निम्ति कृतज्ञता व्यक्त गर्दै । सल्लेरी पुगेर बाइक राखी झण्डै १ घण्टाको पैदल यात्रा गर्नुपर्ने रहेछ । धुलो मैलोले बैरागिएका हामी फ्रेस भईवरि नास्ता खाएर उक्लियौं माथि । पैदल मार्ग भनिए तापनि गाडीहरुलाई मान्छे छोड्न र लिनका निम्ति अझ माथिसम्मै छुट दिइएकाले हिँड्नेले हिँडाइको मज्जा लिन नपाउनु र उत्तिकै गाडीका कारण उडेको धुलोको सामना गर्नुले सकसपूर्ण बनाइदिन्छ पदयात्रा !

सबैकुरा बिर्साइदिन्छ जब पुग्छाैं हामी रारा । लामो संघर्षपछि, लामो प्रतीक्षापछिको सफलताको जस्तै आनन्दानुभूति हुन्छ बदलिँदो पानीको रंग देखेर । स्वच्छ, शान्त वातावरण र मनोरम दृश्यले स्वर्गीय आनन्दानुभूति गराउँछ । डुंगाको मजा लिएर केही समय बिताएपछि फर्कियौं हामी सल्लेरी । फकर्ंदा घोडसवार भएर फर्कियौं । राजा महाराजा घोड सवार भएको देखिरहेका हामीलाई अर्को भिन्नै अनुभव थियो त्यो । प्रेमजी र ईश्वरीजीले दोहोरी शैलीमा पानको पात गीत गाउन शुरु गरेपछि हामी सबैले लयमा लय मिलायौँ र गाउँदै झर्‍यौँ । हाम्रो गानाले सबैको ध्यानाकर्षण त गरायो नै, सबैले भ्याएसम्म क्यामारामा भिडियोसम्म कैद गरे ।

सल्लेरीमा मार्सी चामलको भात र च्याङ्ग्राको मासु खाएर हामी ताल्चा विमानस्थलको अवलोकनका लागि गयौं । केही वर्ष अघिसम्म ग्रावल रहेको रन वे फोटोमा देखेको थिएँ, सुनेको थिएँ मैले चिनेका पाइलट भाइ साथीबाट । अहिले पिच भएको देख्दा खुशी लाग्यो ।

टोली फर्कियो । र्फकदा भुलभुले हुँदै जुम्ला पुगेर बास बस्ने निर्णय गर्‍यौं । बाटो पक्कै झन् कष्टकर छ भन्नेमा हामी विश्वस्त थियौं तर पछुताउनैपर्ने खालको रहेछ भन्ने चाँहि भगवानको नाम लिँदै जसोतसो राति ८ बजेतिर जुम्ला पुगेपछि थाहा भो । जुम्ला पुग्नु आफैमा चुनौती त थियो नै, बासका निम्ति अर्को ठुलो चुनौती खेप्नुपर्‍यो । जसोतसो २ घण्टाजतिको प्रयासले एउटा कोठाको व्यवस्था गर्न टोली सफल भयो ।

भोलिपल्ट जुम्लाको चन्दननाथ मन्दिर, कृष्ण मन्दिर दर्शन गरेपछि एयरपोर्ट र बजारको एक चक्कर लगाएर जुम्लाको स्याउ र मार्सी चामल किनेर नाग्मा, पिली हुँदै हामी सुर्खेत आइपुग्याैं बास बस्न । भोलिपल्ट सुर्खेतको बुलबुले ताल, काँक्रेबिहार र देउती बज्यै घुमेर अघि बढ्यौं । दाङको भालुवाङ बास बसी भोलिपल्ट साताैं दिनको दिन साँझसम्म सबैले घरसम्मको यात्रा तय गर्‍यौं ।

यसरी सुर्खेतबाट दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुको रारा पुगेका हामी सातौँ दिन घर फर्कियौँ ।

गन्तव्यमै पुग्नका निम्ति मेरो अनुभव र जानकारीका आधारमा राराको यात्रा सबैभन्दा लामो रुट हो । बीचबीचमा हेर्न र घुम्न लायक खास केही नहुनु, घुम्न जाने पर्यटकका निम्ति उचित बासको व्यवस्था नहुनु, साधनले धोका दिएमा या कसैलाई केही भएमा समाधानार्थ विकल्प नहुनु, प्रशस्तै बाल श्रमिक भेटिनु दुःखद कुरा हुन् ।

यद्यपि बाइक एडभेञ्चर रुचाउनेका लागि अलौकिक सुन्दरताले भरिपूर्ण रारा एक सही गन्तव्यको रुपमा लिन सकिन्छ । बिनातयारी कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष ०७५ घोषणा गरेको कुरा भने नकार्न सकिँदैन । यसलाई नेपालकै एक प्रमुख गन्तव्य स्थल बनाउनका लागि भने धेरै नै मेहनत गर्नुपर्ने देखिन्छ ।

हेटौंडा १०, मकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment