Comments Add Comment

भुटानका ‘फुच्चे मेस्सी’ : कमजोर टिमका उत्कृष्ट खेलाडी

१८ कात्तिक, काठमाडौं । काठमाडौंमा सम्पन्न साफ यू-१५ च्याम्पियनसीप फुटबल अन्तरगत पाकिस्तान र भुटानबीचको खेल सुरु हुनासाथ भुटानी खेलाडीहरु ‘मेस्सी… मेस्सी…’ भन्दै बल मागिरहेका थिए । प्रशिक्षक पनि मैदान बाहिरबाट मेस्सीको नाम लिएर चिच्याइरहेका देखिन्थे ।

काठमाडौंको एन्फा कम्प्लेक्समा भएको यो खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी खेल्न आइपुगेका पक्कै थिएनन् । त्यसैले दर्शक अलमलमा परे । आखिर किन आइरहेको छ मेस्सीको नाम ?

खासमा मेस्सीको उपनामले चिनिँदा रहेछन् भुटानी टिमका मिडफिल्डर योइजाङ रब्गेय ।

प्रतियोगितामा भुटानले कुनै खेल जित्न नसके पनि ‘भुटानी मेस्सी’ को खेलले भने सबैको मन जित्यो ।

फुटबलको दुनियाँमा दक्षिण एसिया निकै पछाडि छ । यही दक्षिण एसियामा पनि भुटान सबैभन्दा कमजोर मानिन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा उमेर समूहदेखि नै भाग लिँदै आए पनि भुटानले अहिलेसम्म जितबाट टाढै छ ।

नोभेम्बर पहिलो साता बंगलादेशले जितेको साफ यू-१५ च्याम्पियनसीप फुटबलमा भुटानले पनि भाग लिएको थियो । तर, सदा झैं जितविहीन बन्यो ।

यद्यपि यो प्रतियोगितामा चर्चामा आए भुटानी मेस्सी ।

कसरी राखियो उपनाम ?

१३ वर्षीय योइजाङ भुटानको यु-१५ राष्ट्रिय टिममा छनोट भएर नेपाल आएका हुन् । उनी भुटानको राजधानी थिम्पुमै बसोबास गर्छन् ।

उनलाई सानैदेखि फुटबल खेल्ने लत बसेको थियो । आफ्नो टोलमा नियमित फुटबल खेल्ने गर्दथे । त्यही बेला जोङ्खर जिल्लाबाट आएका प्रशिक्षक डिस्जेसँग योइजाङले अभ्यास गर्ने अवसर पाए । त्यही अभ्यासको दौरानमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो प्रभाव छाड्न सफल भए ।

विश्वका महान खेलाडी मेस्सीको शैलीमा फुटबल खेलेको देखेर प्रशिक्षकले उनलाई ‘मेस्सी’ भनेर बोलाउन थाले । अन्ततः यही उपनामले उनी चर्चित भए ।

टिममा सबैभन्दा मिल्ने उनका साथी हुन्, पेमा जाङपो । पेमाले योइजाङ निकै राम्रो खेल्ने बताए । ‘मेस्सी जस्तै स्टाइलमा खेल्ने गर्छन् । भविश्यमा ठूलो खेलाडी बन्ने छन्,’ पेमाले भविष्यवाणी गरिदिए ।

टिम कप्तान कर्मा चेत्रिम पनि योइजाङ भविष्यमा राम्रो खेलाडी बन्नेमा विश्वस्त छन् । उनी भन्छन्, ‘खेल्ने शैली मेस्सीकै जस्तो छ । पछि उनले भुटानी फुटबललाई माथि उठाउन सक्छन् ।’

मेस्सीका फ्यान

योइजाङ स्वयम् मेस्सीका फ्यान हुन् । मेस्सी जस्तै महान खेलाडी बन्ने महत्वाकांक्षा छ उनको पनि । ‘मेस्सीको खेल भ्याएसम्म हेर्ने गरेको छु । पछिल्लोपटक विश्व्कपमा अर्जेन्टिनाले फ्रान्ससँग खेल्दा हेरेको थिएँ,’ उनले सुनाए ।

योइजाङको उत्कृष्ट प्रदर्शनका बाबजुद भुटानी टिमको स्तर कमजोर हुँदा यू-१५ मा कुनै खेल जित्न सकेन । पाकिस्तान र भारतसँगका दुई खेलमा ४-४ गोल खाएर हारेको थियो । दुवै खेलमा योइजाङले पुरा अवधि खेलेका थिए । तर, अन्य खेलाडीको बलियो साथ नपाउँदा उनी गोल गर्न चुके । टिम हारे पनि उनले उत्कृष्ट प्रदर्शन गरेको टिम म्यानेजर वाङचुकको विश्लेषण छ ।

‘उसले बललाई डिब्लिङ गर्नेदेखि सबै पक्ष राम्रो छ । मेस्सीले जस्तो बललाई कट गर्दै अगाडि लैजान्छन्,’ उनले थपे, ‘बडी मुभमेन्ट, ट्याकलिङ पक्षहरु राम्रा छन् । शारीरिक रुपमा बलियो नभए पनि टेक्निक ट्याक्टिसमा अब्बल छन् ।’

योइजाङको पोजिसन मिड्फिल्ड हो । उनी लेफ्ट विङबाट खेल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment