Comments Add Comment

प्रचण्ड र विष्णु पौडेलको देश दौडाहा, कसलाई औडाहा ?

१९ कात्तिक, काठमाडौं । शनिबार बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुभकामना सन्देशसभामा निम्ता नपाएको भन्दै स्थायी कमिटी सदस्य घनश्याम भुसालले ‘बहिस्कार’ गरेपछि पछिल्लो समय अन्य प्रदेशमा पनि भइरहेका यस्ता कार्यक्रमबारे नेतृत्व पंक्तिमा टीका टिप्पणी हुन थालेका छन् । रुपन्देही जिल्लाको ब्यानरमा आयोजित सो कार्यक्रम प्रदेशस्तरीय थियो ।

घनश्यामको अघोषित बहिस्कारको सम्बन्ध स्थानीय अन्तरविरोधसँग पनि हुन सक्ला । तर, नेकपाका बरिष्ठ नेताहरु नै यस्ता कार्यक्रममा आफूहरुलाई सहभागी नगराइएकोमा भित्रभित्रै असन्तुष्ट देखिएका छन् । पार्टी कार्यकर्तासँग प्रत्यक्ष पुग्ने यस्ता कार्यक्रममा केन्द्रीय कार्यालयबाट आफूलाई पनि ठाउँ हेरेर सहभागी गराउनुपर्ने उनीहरुको कुरा बाहिर आइसकेको छैन ।

प्रचण्ड र बिष्णु पौडेलको दौडाहा

दशैंतिहार, छठ, नेपाल सम्वत लगायत विभिन्न चाडपर्वको एकमुष्ठ शुभकामना र पार्टी एकताको सन्देश समेत सँगै दिने गरी अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल यसबीचमा केही जिल्लामा सँगै गइरहेका छन् । गत साता प्रदेश २ स्तरीय यस्तै कार्यक्रममा जनकपुर पुगेका प्रचण्ड र पौडेल सोमबार बिराटनगर जाँदैछन् । अर्का अध्यक्ष केपी ओली बिरामी र सरकारका काममा व्यस्त भएकाले प्रचण्ड र महासचिव पौडेलको दौडाहा चलेको हो ।

नेकपा मोरङ आयोजक रहेको कार्यक्रममा दुवै अध्यक्षलाई बोलाइए पनि स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओली आउन नसक्ने प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले बताए । उनले अर्का अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले चाडपर्वको शुभकामना र पार्टी एकताको सन्देशसभालाई सम्बोधन गर्ने तय भएको बताए । उनले कार्यकर्ताको मागनै अध्यक्ष र महासचिव रहेको बताए ।

यस्तै कार्यक्रम अन्य प्रदेशमा पनि बिभिन्न जिल्लाले गरिरहेका छन् । प्रदेशस्तरीय कार्यक्रमा भने अध्यक्ष प्रचण्ड र महासचिव पौडेल जानेछन् भने अन्य जिल्लाका अन्य कार्यक्रममा अरु नेताहरु सहभागी भइरहेका छन् । शनिवार रक्षामन्त्री ईश्वर पोखरेल बारा पुगेका थिए । पार्टी पंक्ति परिचालन गर्न पनि यस्ता कार्यक्रम आयोजना भइरहेको स्रोतले जनाएको छ ।

‘कमिटी एकीकरण नभइनसक्दा कार्यकर्तामा अन्यौल छ,यस्ता कार्यक्रमले पार्टीलाई जीवित राख्ने र कार्यकर्ताबीच अन्तरक्रिया पनि हुने भएकाले गरिएको हो’ रुपन्देहीका तत्कालिन एमाले अध्यक्ष शिवराज सुवेदीले भने ‘हामीले त केन्द्रबाट अध्यक्ष र महासचिव बोलायौं,यहाँ जिल्लाका र प्रदेशका सबै नेतालाई पटक पटक खबर गरेको हो ।

नेताहरुको अपेक्षा

बुटवलमा आयोजित कार्यक्रममा प्रदेश ५ बाट प्रतिनिधित्व गर्ने नेकपाका धेरै नेताहरु सहभागी हुँदा रुपन्देहीकै घनश्याम भुसाल किन गएनन् ? आयोजकले ५ पटक निम्ता गरेको र घरमै गएर पनि जानकारी दिएको अनलाइनखबरसँगै बताइसकेपछि के प्रष्ट हुन्छ भने-पछिल्लो समय भइरहेका यी कार्यक्रमप्रति पनि नेताहरु विभाजित छन् ।

स्रोतका अनुसार चियापानका नाममा पार्टी एकता सन्देशसभाहरुमा अध्यक्ष प्रचण्ड र महासचिव पौडेलमात्र सहभागी हुने गरेकोमा बरिष्ठ नेता माधवकुमार नेपाल गायतका अन्य नेताले असन्तुष्टि जनाएका छन् । पार्टीका प्रदेशस्तरीय कार्यक्रममा नेताहरुलाई केन्द्रीय कार्यालयबाट खटाएर पठाउने पद्धति बसाल्नुपर्ने कुरा अनौपचारिक कुराकानीमा उठेका छन् । बरिष्ठ नेताहरु यस्ता कार्यक्रममा जान इच्छुक देखिए पनि उनीहरु जान पाएका छैनन् ।

एक नेताले भने- अहिले प्रदेशस्तरमा जुन कार्यक्रम भएका छन्, त्यहाँ आयोजकले केन्द्रीय कार्यालयलाई भनेका होलान् । केन्द्रबाट कुन ठाउँमा को नेता जाने भन्ने मिलाउनुपर्ने हो । तर, अध्यक्ष प्रचण्ड र महासचिव पौडेलमात्र गइरहेको देखिन्छ । माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी जस्ता नेताहरुलाई पनि लैजाँदा एकताको सन्देश अझ राम्रो जाने थियो ।

जिल्लाले आयोजना गर्ने कार्यक्रमको जानकारी केन्द्रीय कार्यालयमार्फत महासचिव पौडेललाई गराइन्छ । कस्ता कार्यक्रममा को नेता जाने भन्ने तय पनि केन्द्रीय कार्यालयबाटै हुने गरेको छ । प्रायः सबै ठाउँबाट अध्यक्ष र महासचिवकै माग हुने गरेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । उनले आवश्यकता अनुसार भ्याएसम्म अध्यक्ष र महासचिव जाने गरेको बताए ।

श्रेष्ठले भने- ‘अहिले पार्टीका जिल्ला कमिटी गठन भएका छैनन् । आयोजक जिल्ला कार्यालयका नाममा प्रदेशस्तरीय कार्यक्रम पनि भइरहेका छन् । सबैतिरबाट अध्यक्षकै माग हुन्छ । महासचिवले नेताहरुसँग समन्वय गरेर कतै अध्यक्ष र महासचिव, कतै माधव नेपाल,भलनाथ खनाल, बामदेव गौतम लगायतका नेताहरु सहभागी हुनुहुन्छ । नेताहरुको व्यस्तता र आयोजकको माग अनुसार हुने हो ।’

पार्टी संगठनसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले प्रदेश र जिल्लाबाट कार्यक्रमहरुको जानकारी महासचिव पौडेललाई हुने गरेको उनले बताए । यद्यपी माधव नेपाल निकट एक नेताले भने महासचिव पौडेलले आफूलाई यस्ता खाले सन्देशसभाहरुमा छुटाएकोमा नेपाल असन्तुष्ट रहेको बताए । शुक्रबार उनी आफैंले मिलाएर बाराको कार्यक्रममा गएका थिए ।

नेपालका स्वकीय सचिव मोहन गौतमले पछिल्लो समय भइरहेका चियापान तथा सन्देश सभाहरुमा सहभागी हुन केन्द्रीय कार्यालयबाट आग्रह नभएको बताए । उनले विभिन्न जिल्लाबाट सिधै सम्पर्क गरेर आग्रह गरेका ठाउँमा सम्भव भएसम्म बरिष्ठ नेता नेपाल सहभागी हुने गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment