Comments Add Comment

अस्तव्यस्त जीवन सुधार्ने सुत्रः भान्सा सबैभन्दा ठूलो अस्पताल हो

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योग विज्ञान एवम् मानव चेतनामा विद्यावारिधि गरेका डा. राजु अधिकारी सुपरिचित जीवनशैली प्रशिक्षक हुन् । उनी अति व्यस्तताका कारण जीवनशैली नै अस्तव्यस्त बनेका शहरवासीलाई खानपान, व्यायाम, आध्यात्म, प्राणयाम र योग विद्या सिकाइरहेका छन् ।

‘शैली र लय सुव्यवस्थित भए मात्रै जीन्दगीमा असली जीवनको सुगन्ध निस्कन्छ । जीवन दुःख होइन, सुखका लागि हो । त्यही सुख प्राप्तिका लागि जीवनलाई प्रकृति, स्वास्थ्य र सौन्दर्यसँग जोड्ने कला नै जीवनशैली हो’, डा. अधिकारी भन्छन् ।

शरीरलाई सुखी, मनमा शान्ति र आत्मालाई कसरी आनन्दित तुल्याउने भन्ने विषयमा डा. अधिकारीका खाने कसरी, पिउने कसरी, योग पनि गरौं भोग पनि गरौं, तपाईका लागि योग, यस्तो होस् जीवनशैली र जिन्दगी रिल्याक्स प्लिज लगायतका पुस्तकहरु प्रकाशित छन् ।

‘सधैं चुस्त–दुरुस्त राख्न आफ्नो सवारी साधनको नियमित सर्भिसिङ गराइरहेका हुन्छौं । तर, आफ्नो शरीरलाई स्वस्थ राख्न भने कुनै उपाय गर्दैनौं । अस्पताल त जान्छौं तर विरामी भएपछि मात्र’ उनको प्रश्न छ, ‘हामी रातोदिन ठूलो घर बनाएर कसरी चिटिक्क राख्ने भन्ने विषयमा त घोत्लिरहेका हुन्छौं, तर त्यही घरमा बस्ने आफ्नो शारीरिक र मानसिक स्वास्थ्य चिटिक्क तुल्याउन चाहिँ के गरिरहेका छौं ?’

प्रस्तुत छ, डा. अधिकारीसँग खानपान, शारीरिक श्रम, मानसिक स्वास्थ्य लगायतका विषयमा अनलाइनखबरले गरेको संवादको सम्पादित अंशः

जीवनशैलीसँग सम्बन्धित पुस्तक लेख्ने सोच कसरी आयो ?

हामी दौडधुप, तनाव, अस्तव्यस्त, प्रधिस्पर्धाको पछि लागि रहेका छौं । जो हेर्‍याे, उ व्यस्त छ । रोग बढ्दो छ । व्यायाम गर्ने समय छैन । मनमा धेरै इच्छा आकांक्षा छन् । अति व्यस्त भएर धेरै कुरा प्राप्त गरे पनि जीवनशैली बिग्रिएको छ ।

हामी आफ्नो मोटरसाइकल वा गाडीको दुई–तीन महिना बिराएर सर्भिसिङ गर्छौं । तर, आफ्नो शरीरको कहिल्यै सर्भिसिङ गर्दैनौं । कतिपयको त सर्भिसिङ गर्नुपर्छ भन्ने थाहा नपाएरै जीवन समाप्त हुन्छ

निन्द्राबाट कसरी खुसी हुने, काम गर्दागर्दै कसरी रिल्याक्स हुने, खानपान कसरी खाने, कुर्सीमा कसरी बस्ने, शरीर तन्काएर, ध्यान, संवाद, वाणीबाट कसरी रिल्याक्स हुने भन्ने विधिहरू पाठकसम्म पुर्‍याउन पुस्तक लेखेको हुँ ।

हाम्रो जीवनशैली अस्तव्यस्त हुनुको प्रमुखको कारण के हो ?

हामीमध्ये धेरैमा अति महत्त्वाकांक्षा छ । धेरै चाहना, इच्छा नै इच्छा भएपछि त्यसलाई पूरा गर्न अति व्यस्त हुनुपर्‍याे । एकपछि अर्को चाहना पूरा गर्ने नाममा शरीरलाई बिर्सदै गइरहेका छौं ।

अनावश्यक महत्त्वकांक्षाले आफैंलाई बिर्साइदिन्छ । ठूलो घर बनाउनलाई त्यही घरको बारेमा सोच्नुपर्‍याे । त्यसो भएपछि आफ्नो स्वास्थ्य बनाउने र आरोग्यको विषयमा त सोच्न भ्याउँदैन । प्रतिस्पर्धामा कसरी सफल हुने भन्ने मात्रै सोच्दा मेरो जीवन कसरी बाँच्ने भन्ने सोच्ने फुर्सदै छैन ।

अरुको घरमा ठूलो टीभी छ भने हामीलाई पनि त्यस्तै टीभी राख्नुपर्छ । फ्रिज, सोफा, लक्जरियस गाडी हुनै पर्ने आदिआदि ।

स्वास्थ्यलाई बिगार्ने किसिमका उपकरण आए । पहिला–पहिला केटाकेटी दौडन्थे, खेल्थे अहिले मोबाइल, आईप्याडमा झुम्मिएर बस्छन् । टीभी हेर्ने भनेपछि बस्नै पर्‍याे । जसले गर्दा शरीर सक्रिय हुँदैन ।

त्यस्तै आध्यात्मिकताको कमी छ । मेरो मन शान्त भयो भने सबै ठीक हुन्छ है भन्ने प्रवृत्ति घट्दै गएको छ । हामी बहिर्मुखी भयौं । जसले गर्दा हाम्रो जीवनशैली बिग्रिँदै गयो ।

शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि खानपानको के महत्व छ ? हामीले खाइरहेको खाना कत्तिको स्वस्थकर छ ?

आहार भनेको हाम्रो समग्र परिचय हो । सम्पूर्ण स्वास्थ्यको जग वा आधारशिला भनेकै खानेकुरा हो । दुई/अढाई किलो जन्मेको शिशु ६०–७० किलोग्रामको हुने भनेको खानाले गर्दा नै हो । मन र मस्तिश्क पनि खानाले नै निर्धारण गर्छ ।

हामी गाडीमा हाल्न सफा र सक्कली इन्धन खोजेर हिँड्छौं । पेटमा गएर सिंगो शरीरलाई चाहने सिंगो जीवनलाई निरोगिता दिने खाना भने जस्तो पायो त्यस्तो खान्छौं । जहाँ पायो त्यही खान्छौं । जे भेट्यो त्यही खान्छौं ।

गाडीमा सक्कली र सफा इन्धन हालेजस्तै स्वस्थकर खाना नखानु भनेको मूलमा भूल गर्नु हो । अस्वस्थकर खाना जसले हाम्रो कोष–कोषमा, अणु–अणुमा गएर विकार भरिदिन्छ ।

हाम्रो भान्छालाई अहिले जंक फुडले विगारेको छ । ह्वाइट पोइजन (चिनी, भात, नुन) को बढी प्रयोग ठूलो समस्या हो । खाजा जुन हेर्‍याे,  त्यो मैदाले बनेको छ ।

कि खाँदै नखाने, खाएपछि एकदमै धेरै खानु पनि राम्रो होइन । घ्यु, दुध, दही कुन राम्रो हो, कुन होइन भन्ने हामी हेरिराखेका छैनौं ।

चिल्लो आहार कसरी विकारमा परिणत हुन्छ ?

वयस्क व्यक्तिका लागि दुईदेखि तीन चम्चा चिल्लो पाच्य हुन्छ । विभिन्न स्रोध अनुसन्धानहरूले बजारमा सेलरोटी पकाउने जुन तेल छ, त्यो पटक–पटक रिफाइन्ड गरेर बनाइएको हुन्छ । केमिकल हालिएको हुन्छ । ६०० डिग्री सेल्सियसमा तताएर मात्रै बजारमा पठाइन्छ ।

त्यस्तो तेल स्वस्थ हो भन्ने प्रचार व्यापक छ । तर, भारतको गंगाराम अस्पतालको एउटा टीमले गरेको अध्ययन अनुसार मुटु रोग जन्माउनमा बजारमा भएका खाने कुरामध्ये रिफाइन्ड तेल सर्वाधिक घातक हो ।

तेल शरीरमा भएन भने कलेजोले पनि काम गर्दैन । कलेजोले आवश्यक कोलस्ट्रोल निकाल्न सक्दैन । शरीरका जोर्नीहरूले पनि काम गर्न सक्दैन । खानैपर्छ तेल ।

तर, स्थानीय प्रजातिको मीलमा पेलेको तेल चाहिन्छ । आफ्नो आँखाले पेलेको देखेको तेल खानुपर्छ । अहिले शहरमा यस्तो तेल पेल्ने मील नचलेर बसेका छन् । विज्ञापन हेरेको भरमा पारदर्शी देखिने रिफाइन्ड तेल नै चाहिन्छ भनेर पछि लाग्नु हुँदैन ।

चिल्लो खाएपछि व्यायाम बढाउनै पर्छ । व्यायाम बढाएन भने झन हानी गर्छ ।

जति सानो उमेर भयो, उसको पाचन प्रणाली बलियो हुन्छ । सानो उमेरका बढ्दै गरेका शिशु, बालबालिका, किशोर उमेरकाले चिल्लो खाना पनि पचाउन सक्छन् । जति उमेर बढ्दै गयो, शरीरको पाचन क्षमता घट्दै जान्छ । ४० कटेपछि त झन चिल्लो खाना एकदमै घटाउनुपर्छ ।

चिल्लो, तेल घ्युले शरीरमा बाततत्वलाई बढाउँछ । बात, पीत्त, कफलाई बढाउँछ । शरीरका जोर्नीहरूलाई कमजोर गर्ने, अल्सर हुने, रगतलाई अम्लीय बनाउने र अन्ततः मुटु रोगतिर लैजान्छ । आर्टरी ब्लकेज, हर्ट अट्याक, स्ट्रोकतिर लैजान्छ ।

माछा मासु खाएर स्वस्थ रहन सकिन्छ कि सकिँदैन ?

आयुर्वेदले माछामासु नखानु भन्दैन । तर, दुईवटा शर्त छन् । माछामासु उसका लागि हो, जसले दैनिक छ घण्टा पसिना बगाउँछ । छ घण्टा पसीना बगाउने कि किसान हो, कि खेलाडी ।

पसिना नबगाउनेको शरीरले माछामासु पचाउन सक्दैन । यो पसिना ननिस्केको महिनौं वा वर्षौं भइसकेकाहरूका लागि होइन ।

मासुको स्रोत पशुको पनि स्वास्थ्य राम्रो छैन । त्यसैले पनि सकेसम्म मांसाहार नहुनु राम्रो हो भन्छु । व्यायाम पनि गर्दैन र पहिले नै शरीरमा कुनै न कुनै रोग छ भने शरीरमा पशुपंक्षीको पनि रोग थपिन्छ ।

मासु खाउञ्जेल मजा आउँछ । खाइसकेपछि त्यसले हानी गर्छ । त्यसैले मनलाई नियन्त्रण गर्दै जाने, घटाउँदै जानु सबैभन्दा राम्रो । त्यसो गर्ने हो भने एक दिन शरीरले नै आदेश दिन्छ कि खानु राम्रो या नखानु राम्रो । व्यायाम नगर्ने हो भने भरसक नखानु नै राम्रो हो ।

नखाई नहुने हो भने हप्तामा एकपटक मात्रै खानुपर्छ । किनभने माछामासु पूर्णरुपमा पच्न डेढ सय, दुई सय घण्टा लाग्छ । चाडवाडमा बिहान, बेलुका खान्छौं, जुन शरीरका विभिन्न अंगमा गएर जम्छ र रोगको कारक बन्छ । त्यसैले होला, विश्व स्वास्थ्य संगठनले पनि अहिले विस्तारै विस्तारै मासुको मात्रा घटाउँदै जानु र नखानु भन्छ ।

कुनै पनि रोगमा पहिलो व्यायाम, योग, प्राणायाम र खानपान नियन्त्रण गर्नु भन्छ । निरोग रहने हो भने साकाहारी जीवन नै राम्रो ।

खाद्यान्न, औषधीमा पनि अल्कोहलको मात्रा हुन्छ, निश्चित मात्रामा अल्कोहल सेवन हानीकारक होइन भन्ने गरिन्छ, के यो सत्य हो ?

गत वर्षको तिहारको मुखमा २० एमएलसम्म वाइन खान हुन्छ भन्ने एउटा चिकित्सकको लेख आएको थियो । चाडवाडमा ड्रिंक्स खाँदा २० एमएल नै खान्छु भनेर दृढ संकल्पित मान्छे को पो होला र ? खाँदै गएपछि थप्दै जानुपर्ने पनि होला ।

हामीकहाँ सगुन भनेर पनि रक्सी खाने चलन छ । घरमा अपसगुन गर्ने वस्तु सगुनको रुपमा कसरी भित्रियो होला ? यसतर्फ पनि पुनःविचार गर्ने हो कि ? दही, दूध, गंगाजल, फूललाई सगुन मान्ने कि ?

चाडवाडको समयमा फुड पोइजनिङको कुुरा बढी आउनुको कारण के होला ?

चाडवाडमा बासी पनि खाइदिन्छौं । प्रकृति नमिल्ने खाना एकैसाथ खान्छौं । जस्तो चिल्लो र चिसो एकसाथ खान्छौं । कतिले तिहारका लागि आइसक्रिम घरमा लगेर राखिसक्नुभयो होला ।

एकदम तातो चिया, कफी, वाइन, वियर पनि खान्छौं । तातो प्रकृतिको अल्कोहलमा अत्यन्तै चिसो बरफ राखेर खाएपछि शरीरले कति दिन धान्छ ? त्यसमाथि बीचबीचमा चिल्लो रोटी, अनरसाहरू पनि खाँदै गर्छौं । मासु पनि चल्छ ।

चाडपर्वमा पनि चिल्लोचाप्लो खाँदै नखाने त ?

सेलरोटी, अनारसा एक दुईवटा खाऔं । स्वस्थ किसिमको तेल, घ्युको प्रयोग गरेर खान सकिन्छ । बजारबाट ल्याएर त खानै भएन । बरु थोरै मिहिनेत गरौं । यसले दीर्घकालीन फाइदा गर्छ ।

दशैं, तिहार, छठजस्ता चाडपर्वमा अपनाउनुपर्ने सावधानी के के हुन् ?

तिहारमा तेलको धेरै प्रयोग हुन्छ । तर, कुन तेल स्वस्थकर हो भन्ने हामी मतलब गर्दैनौं । मासुको अत्यधिक प्रयोग गर्छौं । मासुको स्रोत पशुपंक्षीमा कि एन्टिवायोटिक छ, कि रसायनको प्रयोग गरेर बढाइएको हुन्छ । फ्रोजन गरेर राखिएका बासी मासु खान्छौं ।

हामीमा चाडबाडका बेला धेरै खाएमात्रै रमाइलो हुन्छ भन्ने मान्यता छ । खाएर मात्रै खुशी हुनुपर्छ भन्ने होइन । आफन्त भेटेर, ध्यान गरेर, सत्संग गरेर, राम्रो कुरा सिकेर, सामाजिक काम गरेर, आध्यात्मिकता बढाएर पनि चाड मनाउन सकिन्छ । चाडभन्ने वित्तिकै मीठो, चिल्लो नै खानुपर्छ भन्ने प्रचलन नै गलत हो । बोसोवाला खान पायो भनेर मात्रै रमाउनुपर्छ भन्ने छैन नि ।

जाडोका बेला भएकाले झ्यालढोका बन्द गरेर बस्छौं । कोठामा हावा खेलिरहेको हुँदैन । दीयो बाल्ने भएको हुनाले धुँवा पनि आइरहेको हुन्छ । वाईन पिउने, चिल्लो रोटी, मासु खाने र लामो समय जुवा तास खेलेर बस्छौं । जुन धेरै नै जोखिमपूर्ण हो ।

तेलैतेल भएको खाना, बोसैबोसो खानुपर्छ भन्ने छैन नि । हिन्दु सनातन मान्यता हेर्दा त्यसमा मांसहारको प्रचलन छैन ।

असोज–कात्तिक जस्ता महिना त व्रत बस्ने बेला हो । यो महिना भनेको एकदमै कम, सुपाच्य, झोलिलो र तुरुन्तै पच्ने खाना मात्रै खानुपर्ने बेला हो । किनभने यो सूर्य, चन्द्र र पृथ्वी तीनवटै कमजोर भएको अवस्था छ । त्यसैले नवरात्रको बेलामा एक रात निराहर बस्ने चलन थियो ।

तपाईको कुरा सुन्दा आनन्द लाग्छ । तर, जंक फुड नै जंक फुडले भरिएको बजारबाट स्वस्थ खानाको अपेक्षा गरेर हुन्छ ?

मौसम अनुसारका स्थानीय खानेकुरामा हाम्रो ध्यान छैन । मकै, गहुँ, फापरको मात्रा बढाउने र चामलको भातको मात्रा घटाउनु आवश्यक छ । गाउँ घरको चामल खाउँ ।

दाल नराम्रो होइन । प्रोटिन र युरिक एसिडले हामीलाई अस्वस्थ बनाएको छ । त्यही दललाई एकरात भिजाएर खाँदा सुपाच्य हुन सक्छ । हामी तरकारी किन्छौं जुन टलक्क टल्किएको छ । जुन तरकारीमा दाग लागेको छ, अलिअलि कुहन लागेको छ, किरा लागेको छ । बुझ्नुहोस् त्यसमा विषादि कम छ ।

खाजा खाँदा घरभित्रको खानेकुरालाई महत्व दिउँ । भुटेको मकै, रोटी, उसिनेको मकै ढिँडो च्याँख्ला, तरुल हुन सक्छ ।

नुन घटाँऔं, सिधै नुनतिर जाउँ । बजारमा उपलब्ध सेतो नुनले शरीरका विभिन्न अंगलाई गलाउँछ, थकाउँछ, आयु घटाउँछ । यो सबै हामीलाई थाहा छ । सिधै नुनले त्यसको मात्रा पूरा गर्छ । पहाडको खानीबाट निस्कने भएको हुनाले त्यसमा मिनरल्सको मात्रा धेरै पाइन्छ ।

चिनीको सट्टा सक्खर वा गुँडको प्रयोग गर्न सकिन्छ । बजारको रिफाइन्ड तेलले मुटुमा सिधै असर गर्छ । यसको विकल्पको रुपमा स्थानीय प्रजातिको तोरी वा स्थानीय प्रजातिको गाईको घ्यु पनि प्रयोग गर्न सकिन्छ ।

एक दिनमा आधा चम्चाभन्दा बढी नुन खानु हुँदैन । खानै परे पाँच चम्चा भन्दा बढी चिनी नखानु राम्रो । त्यस्तै एक दिनमा अढाई वा बढीमा तीन चम्चा भन्दा बढी चिल्लो तेल खानुहुँदैन । यति मात्रै गर्न सक्यो भने हामी धेरै स्वस्थ हुन्छौं ।

खानपान र शारीरिक व्यायामको कस्तो सम्बन्ध छ ?

साँझ खाना खाएपछि घुप्लुक्क सुत्छौं । बिहान उठ्यो, ड्युटीमा दौडिइहाल्यो । हाम्रो दिनचर्या यस्तो छ । हामीमध्ये एकदम थोरैले मात्रै नियमित व्यायाम गरिरहेका छौं ।

भित्रैबाट निरोगी बन्नुपर्छ भनेर व्यायाम गर्नेहरू थोरै छौं । अधिकांशले रोगले च्यापिसकेपछि चिकित्सकले गर्नैपर्छ भनेकाले व्यायाम गर्नेहरू छौं । व्यायाम भनेको इच्छाशक्तिले गर्ने हो न कि बाध्यताले ।

हामी आफ्नो मोटरसाइकल वा गाडीको दुई–तीन महिना बिराएर सर्भिसिङ गर्छौं । तर, आफ्नो शरीरको कहिल्यै सर्भिसिङ गर्दैनौं । कतिपयको त सर्भिसिङ गर्नुपर्छ भन्ने थाहा नपाएरै जीवन समाप्त हुन्छ ।

जसरी हामी गाडी वा मोटरसाइकलको नियमित सर्भिसिङ गर्छौं, ठीक त्यसै गरी व्यायाम पनि नियमित गर्नुपर्दछ । मोवाइलको चार्ज गर्न नबिर्सिएजस्तै व्यायाम गर्न बिर्सनु भएन । जसरी ब्याट्री डाउन भएपछि मोवाइलमा कुरा गर्न मिल्दैन, त्यसरी नै व्यायाम भएन भने शरीरले काम गर्न छोड्छ ।

व्यायाम भनेको शरीरको संस्कृति हो । संस्कृति अनुसार चलेपछि रोग लाग्दैन । लागिहाल्यो भने पनि छिटोभन्दा छिटो निस्केर जान्छ । नियमित कसरत छैन भने सानो रोग लागे पनि फस्टाउँदै फस्टाउँदै जान्छ ।

शारीरिक निस्क्रियता आफैंमा समस्या हो भन्न खोज्नुभएको हो ?

हो । बसिरहनु मन्द हत्या हो । सकेसम्म उभिएर काम गर्नुपर्छ । बसेर काम गर्दा कोलस्ट्रोल बढ्छ, जोर्नी कमजोर हुन्छ, मुटु कमजोर हुन्छ । पश्चिमाहरूले धमाधम कार्यालयको कुर्सी हटाइरहेका छन् ।

खानेबित्तिकै काममा लागि हाल्नुहुँदैन । पाँच मिनेट भए पनि आराम गर्नुपर्दछ । आयुर्वेदले के भन्छ भने खानेवित्तिकै दौडियो भने त काल पनि पछिपछि दौडिन्छ ।

साँझमा खाना खाएर एकघण्टा दैनिक टीभी हेरेर बस्ने मान्छेमा सामान्य व्यक्तिको तुलनामा मुुटुको रोगले आक्रमण गर्ने सम्भावना ५० प्रतिशत बढी हुन्छ । साँझ खाना खाएपछि हिँड्नुपर्ने हो ।

टीभी, कम्युटर, वा मोवाइलमा आँखा केन्द्रित हुँदा आँखाले रिल्याक्स पाउँदैन । बिहान सूर्योदय, झुल्के घाम, दिउँसोको घाम र साँझको घाम हेर्नुपर्दछ । हरियोपरियो हेर्नुपर्‍याे । बनावटी दुनियाँ हेर्दाहेर्दा हामीले प्रकृति पनि बिर्सिसकेको जस्तो भएको छ ।

दैनिक व्यायाम कसरी गर्ने ? कति गर्ने ?

तरिका पुर्‍याएर वैज्ञानिक तरिकाले गर्ने हो भने दैनिक १०–१५ मिनेटको व्यायाम पर्याप्त हुन्छ । १० मिनेट ध्यान र १० मिनेट प्राणायाम गर्नुपर्छ । प्राणायाममा अनुलोम विलुलोम गर्न सकिन्छ । जसले शरीरका विकारहरूलाई बाहिर निकाल्छ ।

वयस्क मानिस दैनिक सात हजार पाइला हिँड्ने हो भने पनि पुग्छ । तपाई हिँड्नु पनि हुन्न र व्यायाम पनि गर्नुहुन्न भने शरीर व्यायाम गर्नेको तुलनामा दोब्बर दुर्बल हुन्छ । रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ ।

सबैभन्दा महंगो नै रोग छ । सामान्य चेकअपका लागि अस्पताल जाँदा पनि आठ–दश हजार नलगी हुँदैन । सबैभन्दा सस्तो के छ स्वास्थ छ । स्वास्थ्य त निःशुल्क छ

कुर्सीमा बसेर काम गर्दागर्दै, किचेनमा वा जहाँसुकै पनि व्यायाम गर्न सकिन्छ । तर निरन्तरता दिनै पर्छ । व्यायाम गर्ने, प्राणयाम गर्ने वा स्वस्थ खाने भन्ने कुरा गाह्रोभन्दा पनि दिमागमा क्लिक नभएर हो । कतिपयको जीवन त्यही मोड नआएरै बित्छ । स्वीच अन भएपछि बत्ति बलिहाल्छ नि । समस्या स्वीच अन गर्ने कि नगर्ने भन्ने मात्रै हो ।

सबैभन्दा महंगो नै रोग छ । सामान्य चेकअपका लागि अस्पताल जाँदा पनि आठ–दश हजार नलगी हुँदैन । सबैभन्दा सस्तो के छ स्वास्थ छ । स्वास्थ्य त निःशुल्क छ ।

नेपाल विश्वमा रोगीहरूको राजधानी बन्न जाँदैछ । प्रत्येक वयस्क युवा मुटु रोगी बन्ने सशक्त उम्मेदवार हो ।

आधुनिक उपचार पद्दति जटिलभन्दा जटिल रोगको निराकरण गर्न सफल छ, त्यसरी आत्तिहाल्नुपर्ने अवस्था आएको हो र ?

चिकित्सा प्रणालीले कि रोकथाम गर्छ कि उपचार । प्रचलनमा रहेको यो मेडिकल साइन्स रोग लागि सकेपछि मात्रै काम लाग्छ । आयुर्वेद, योग, व्यायाम जस्ता कुरा रोग लाग्न नदिनका लागि हो ।

रोग लाग्न दिनु भएन भने तपाईलाई तीनवटा कुरा प्राप्त हुन्छ । सुखायु, दीर्घायु र हितायु । सुखायु–निरोगी भएपछि सुखी त हुने नै भयो । दीर्घायु–रोग नलागेपछि लामो आयु पनि हुन्छ । हितायु– आफू निरोगी भएपछि अरुको हित गर्न, सेवा गर्न सकिन्छ । यसको ठीकउल्टो रोगी भयो भने त अरुको सेवा आफूलाई चाहिन्छ ।

त्यसैले भान्सालाई सबैभन्दा ठूलो अस्पताल सम्झनुपर्‍याे । व्यायामशाला औषधी सम्झनुपर्‍याे । यी दुईवटा कुरामा ध्यान दिन सक्ने हो भने धेरै रोगबाट बच्न सकिन्छ । कठिनभन्दा कठिन रोग पनि योग, व्यायाम, प्राणायामले ठीक भएका छन् । शुरुशुरुमै थाहा भए मात्रै, तर असाध्यै भइसकेको छ भने ठीक हुँदैन ।

खानापान र व्यायाम त व्यवस्थित छैन भन्नुभयो । हाम्रो मानसिक स्वास्थ्य अवस्था चाहिँ कस्तो छ ? सुखी नेपालीहरू खुशी पनि छन् ?

अनुकरणवाद, लक्ष्यहीनता, मानसिक द्वन्द्व र भ्रमले गर्दा हाम्रो सफ्टवेयररुपी मानसिकतामा धेरै भाइरस लागेको छ । स्पष्ट उद्देश्य र धारणा नभएपछि मान्छे भ्रमित हुन्छ । यस्तै कारणले गर्दा निराशा हुन्छ । वाहिरी वातावरण पनि अनुकुल छैन । राजनीति, प्रशासन, शिक्षा नीति, व्यापारिक संगठन पनि त्यस्तै छ । दिमागमा सकारात्मकभन्दा बढी नकरात्मक कुरा नै ल्याइरहेको छ ।

अर्कोतिर भौतिकवाद हावी भयो । जसरी पनि पैसा चाहियो, जसरी पनि सफल हुनुपर्‍याे, जसरी पनि मानसम्मान चाहियो भन्ने गर्छौं । एउटा बच्चा जन्मिन पेटमा नौ महिना बस्नुपर्छ भने हामीले जे चाह्यो, त्यो तुरुन्तै त आउँदैन नि । आजको आजै जन्मिनुपर्छ भनेर त भएन । विरुवा रोपेर फल लाग्न निश्चित समय लाग्छ । निश्चित मौसम आउनै पर्छ । अनि पैसा कमाउने, सफलता प्राप्त गर्ने कुरा आजको आजै कसरी सम्भव हुन्छ ? धैर्यता हुनुपर्‍याे नि । हो, त्यसको अभाव देख्छु । जसले हाम्रो मन बिगारेको छ ।

यसरी भत्किएको मनलाई ठीक पार्न ध्यान चाहिन्छ । यसले चेतनाको प्रवाहलाई केन्द्रित गर्छ । जस्तो– अहिले काम लागि रहेको छ । यत्तिकै यसले कागज चलाउन सक्दैन ।

ध्यानमा हामी राम्रो एक विषयमा गहिरिएर लाग्छौं । जस्तो– सूर्य के हो ? पृथ्वी के हो ? परमात्मा के हो भने एकोहोरो चिन्तन गर्छौं । मनलाई प्रशिक्षित गर्ने विधि नै ध्यान हो । जे काम गर्दैछौं त्यसमा मन लाग्यो भने त मान्छे त्यसै खुशी भइहाल्यो त । गहिरिएर, मन लागेर काम गर्‍याे भने डिप्रेसन, फ्रस्टेसनले कहाँ ठाउँ पाउँछ ?

सामाजिक सञ्जाल वा सञ्चार माध्यममा व्यक्त विचारहरू हेर्दा सकारात्मक भन्दा नकारात्मक कुराले हामीलाई आकर्षित गरेको जस्तो लाग्छ । यस्तो किन भइरहेको छ ?

हामी जस्तो खाना खान्छौं, हाम्रो रगत त्यस्तै हुन्छ । अहिलेको खानामा जंक फुड छ । खाना विकारयुक्त भएपछि राम्रो सोच कहाँबाट आउँछ ? रगतले हाम्रो संस्कार बनाउँछ, हाम्रो सोच बनाउँछ । त्यसकारण आहारविहार बिग्रेपछि नकारात्मकता बढी आउँछ ।

अर्को एउटा विडम्बना के छ भने धेरैजतो मान्छे अरुको निन्दा गर्दा बडा मज्जा मान्छन् । मान्छेको जन्मले पनि स्वाभाव नकारात्मक हुन्छ रे । तीनवटा नकारात्मक जन्मिएपछि एउटा सकारात्मक जन्मन्छ रे । त्यसैले तीनवटा नकारात्मकलाई जित्न ९ वटा सकारात्मक चाहियो । नराम्रो कुरा ज्यामितीय र राम्रो कुरा अंकगणतीय रुपमा बढ्छ ।

गुलाब फुल्यो भने केहीदिनमै झर्छ, ओइलाउँछ । तर, काँडा रहिरहन्छ नि । तर मान्छेको स्वभाव ठीक उल्टो हुन्छ । मान्छेले राम्रोलाई मान्यता दिन्छ । सकरात्मकता मान्छेको स्वभाव हो । नकारात्मकता मान्छेको स्वाभाव होइन । अहिले धेरै नरात्मक हुनु भनेको हामी असामान्य हुँदै जानु हो । त्यसैले त बुद्धले सर्बम् दुःखम अर्थात सबैतिर दुःख छ भन्नुभएको छ । हाम्रो आजको खोजको विषय नै सर्बम् सुःखम हो । ध्यान सर्बम् सुःखमका लागि हो ।

ध्यान कसरी गर्ने ? प्रशिक्षण लिनुपर्छ कि पर्दैन ?

ध्यान गर्ने भन्ने धेरै विधिहरू छन् । सबैभन्दा महत्वपूर्ण विधि भनेको श्वासप्रवासमा ध्यान दिने हो । शुरुमा एकपटक सिकेर गर्नु अझै राम्रो हुन्छ । सिकिसकेपछि घरमा न्यूनतम २० मिनेट गर्नुपर्दछ । किनभने हाम्रो मन विश्रान्तिमा जान २० मिनेट लाग्छ । सुतिसकेपछि पनि गहिरो निन्द्रामा जान २० मिनेट लाग्छ । २० मिनेट ध्यान गर्ने हो भने मनलाई रिल्याक्स गर्न सकिन्छ ।

ध्यान सिक्न जाने अवस्था छैन भने उदाउँदै गरेको सूर्यको कल्पना गरेर बस्दा पनि हुन्छ । सकेसम्म एकान्त ठाउँमा, भूँईमा बसेर, ध्यान आसनमा बसेर यस्तो कल्पना गर्नु राम्रो हुन्छ । मोवाइल, ल्यापटप टाढा राखेर, सजिलो पहिरनमा, खान खानुभन्दा अगाडिको समयमा गर्नुपर्छ । जसले पनि ध्यान गर्न सक्छ । अबको चिकित्सा पद्धति नै मेडिटेसन हुँदैछ ।

ड्राइभिङ आफै सिक्ने कि ड्राइभिङ स्कूलमा गएर सिक्ने भनेजस्तो मात्रै हो ।

आधुनिक जीवनशैली र आध्यात्मबीच के तादाम्य छ ? आध्यात्मिक नभई जीवनमा सुख, शान्ति आउँदैन ?

आध्यात्मको उदगमभूमि नै नेपाल हो । तर, अहिले यहाँ नै आध्यात्मको कमी भयो ।

हामी बौद्धिक भयौं तर समझदार भएनौं । त्यो आध्यात्माको अभावले गर्दा हो ।

आध्यात्म भनेको अघि प्लस आत्मा हो । तर, अहिले त आत्माको राज्य नै चल्दैन । आध्यात्मले सुप्रिम इन्टेलिजेन्स दिन्छ ।

आध्यात्मले मान्छेलाई अन्तरविवेकी बनाउँछ । विवेकशील बनाउँछ । निर्णय गर्नुपर्दा भित्री मनबाट गर्नुपर्छ भन्ने सिकाउँछ । यसले शान्ति दिन्छ । आध्यात्म भएन भने जीवनको वास्तविकता बुझ्न सकिँदैन ।

आध्यात्मिक पुस्तक पढ्नुपर्‍याे । सत्सँग गर्नुपर्‍याे । प्रकृति के हो बुझ्ने चेस्टा गर्नुपर्‍याे । एक गेडो धान रोपेर सयौं गेडा फैलाउँछौं । यसको मतलब प्रकृतिमा केही त छ नि ।

एउटा कोठा उज्यालो पारेको विद्युत प्राधिकरणलाई पैसा तिर्नुपर्छ । तर, संसारलाई उज्यालो र ताप दिने सूर्य त सित्तैमा पाइरहेका छौं । यसका पछाडि केही त कारण होला ?

जीवनको उत्तरार्धमा आएर मात्रै अध्यात्ममा लाग्नुपर्छ भन्नु नै गलत हो । बाल्यकालदेखि अध्यात्ममा विश्वास नगरिसकेपछि ठूलो भएर ऊ कसरी आध्यामिक बन्न सक्छ ? यो त पाँच पढेपछि सिधै पीएचडी गर भनेजस्तो भएन र ?

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment