२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई हराउँदै शरद भेषावकरको कप्तानीको पोखरा पल्टनले उपाधि जित्यो ।
घरेलु क्रिकेटमा राम्रा भनिएका केही खेलाडी चल्न नसक्दा केही नयाँ खेलाडीले आश देखाए पनि नेपाली खेलाडीको प्रशंसायोग्य प्रदर्शन देखिएन । प्लेयर अफ दि सिरिज नै चितवन राइनोजका भारतीय खेलाडी सन्नी पटेल बने । उनले ब्याटिङ र बलिङ दुवैमा सम्झनलायक खेल देखाए ।
अझ ब्याटिङलाई हेर्ने हो भने त विदेशी खेलाडी हावी नै रहे । शीर्ष पाँच ब्याट्सम्यानलाई हेर्दा शीर्ष चारमा विदेशी खेलाडी नै छन् ।
यी हुन् उत्कृष्ट ब्याट्सम्यान
पीपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पोखरा पल्टनका भारतीय खेलाडी रवि इन्दर सिंह बने । उनले ६ इनिङमा २ सय ६० रन बनाए । फाइनलमा ९० रन बनाएका रविले ४३.३३ को एभरेजमा १२७.४५ को स्ट्राइक रेटमा रन बनाएका थिए । रविले प्रतियोगिताकै सबैभन्दा धेरै २८ चौका र १२ छक्का हाने ।
दोस्रो स्थान काठमाडौं रोयल्सका भारतीय खेलाडी गौरभ तोमार रहे । उनले ६ इनिङमा २ सय १२ रन बनाए । उनले ३५.३३ को एभरेजमा १५०.३५ को स्ट्राइक रेटमा रन बनाए । सर्वाधिक छक्का हान्ने खेलाडीमा गौरभ शीर्षमा छन् । उनले १४ छक्का हाने भने १६ चौका हाने ।
सर्वाधिक रनको तेस्रो स्थानमा विराटनगर टाइटन्सका पाकिस्तानी खेलाडी मुहम्मद जैद रहेका छन् । उनले ४ इनिङमा नै २ सय ९ रन बनाए । उनले ५२.२५ को एभरेजमा १३०.६२ को स्ट्राइक रेटमा रन बनाए । साथै अहिलेसम्म उनले सबैभन्दा धेरै २० चौका हाने । यस्तै उनले १२ छक्का हाने ।
ब्याटिङको चौथो स्थानमा चितवन राइनोजमा रहेका भारतीय खेलाडी सन्नी पटेल रहे । उनले ७ इनिङमा १ सय ९४ रन बनाए । उनले ६४.६६ को एभरेजमा १७३.२१ को स्ट्राइक रेटमा रन बनाएका छन् ।
एक्स्पर्ट धनगढीका कप्तान दिपेन्द्र सिंह ऐरी सर्वाधिक रनको पाँचौ स्थानमा छन् । नेपाली ब्याट्सम्यानमा आशलाग्दो प्रदर्शन उनकै देखियो । उनले ५ इनिङमा १ सय ८९ रन बनाए । उनको एभरेज ६३ रहेको छ भने स्ट्राइक रेट १४२.१० रहेको छ ।
प्रतियोगितका कुनै एक खेलमा कोही चले पनि नेपाली ब्याट्सम्यानमा दिपेन्द्रबाहेक अरुको प्रदर्शन फितलो नै रहृयो ।
यी हुन् उत्कृष्ट बलर
पीपीएल बलिङलमा विकेटलाई सबैभन्दा धेरै १२ विकेट चितवन राइनोजका करण केसीले लिए । उनले ७ इनिङको २६.३ ओभरमा १ सय ७० रन खर्चेर १२ विकेट लिएका हुन् । उनको इकोनोमी ६.४१ रहृयो ।
यस्तै पीपीएलमा १० विकेट लिनेमा तीन खेलाडी रहे । चितवन राइनोजकै सन्नी पटेल, विराटनगर टाइटन्सका सन्दीप लामिछाने र पोखरा पल्टनका ललित राजबंशीले १०/१० विकेट लिए ।
चितवन राइनोजका भारतीय खेलाडी सन्नीले ७ इनिङको २७.२ ओभरमा १० विकेट लिए । उनले ९८ रन खर्चिएका थिए । प्रतियोगितामा सबैभन्दा राम्रो बलिङ इकोनोमी ३.५८ उनकै रहृयो ।
विराटनगर टाइटन्सका सन्दीपले ५ इनिङमा १० विकेट लिए । उनको इकोनोमी भने अन्य बलरको तुलनामा राम्रो हुन सकेन । उनले ५ इनिङको २० ओभरमा नै १ सय २९ रन खाए । उनको इकोनोमी रेट ६.४५ रहृयो ।
पोखरा पल्टनका ललितले ६ इनिङको २४ ओभरमा १ सय ३९ रन खर्चेर १० विकेट लिए । उनको इकोनोमी ५.७९ को रहृयो ।
यस्तै आठ विकेट लिने खेलाडीमा वुटवल ब्लास्टरका बिपिन खत्री, काठमाडौं रोयल्सका बसन्त रेग्मी, सुसन भारी र अमरसिंह रौटेला रहे ।
कम रन खाने बलरमा सन्नी पटेलपछि पोखराका विदेशी खेलाडी मोहम्मद नाभेद रहेका छन् । २० ओभर बलिङ गरेका उनले ८९ रन मात्रै खर्चिए । उनको इकोनोमी ४.४५ रहृयो ।
कम रन खर्चेने बलरको तेस्रो नम्बरमा बुटवलका विपिन रहे । उनले १७.५ ओभरमा ९२ रन खर्चिए । उनको इकोनोमी ५.१५ को रहृयो । यस्तै काठमाडौंका बसन्त रेग्मीले २१.२ ओभरमा १ सय १९ रन खर्चिए । उनको इकोनोमी ५.५७ रहृयो ।
प्रतिक्रिया 4