Comments Add Comment

सान्ड्रोको आत्मघाती गोल, युनाइटेडसँग युभेन्ट्स पराजित, रोनाल्डोको गोल बेकार

२२ कात्तिक, काठमाडौं । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा युभेन्ट्स युनाइटेडसँग २–१ गोलअन्तरले पराजित भएको हो । युनाइटेडका लागि हुवान माटाले गोल गरे । त्यस्तै, एक गोल भने युभेन्टसका एलेक्स सान्ड्रोले आत्मघाती गोल गरेपछि युनाइटेडले उपहार गोल पाएको थियो ।

यता, युभेन्टसका लागि भने क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए ।

पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर खेलको ६५ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

खेलको ८६ औं मिनेटमा माटाले गोल गरेपछि युनाइटेडले १–१ गोलको बराबरी बनाएको थियो । खेलको ८९ औं मिनेटमा सान्ड्रोले आत्मघाती गोल गरेपछि युनाइटेडले जित निकालेको हो ।

त्यस्तै, यसै समूहअन्तर्गत गएराति नै भएको अर्को खेलमा भ्यालेन्सियाले योङ ब्वाइजलाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।

समूह ‘एच’मा रहेको युभेन्टस हारपछि पनि शीर्ष स्थानमा कायमै छ । युभेन्टसको ४ खेलबाट ९ अंक भएको छ । युनाइटेड ४ खेलबाट ७ अंक बनाउँदै दोस्रो स्थानमा छ ।

त्यस्तै, ५ अंक बनाएको भ्यालेन्सिया तेस्रो स्थानमा रहँदा ४ खेलबाट १ अंक मात्रै बनाएको योङ ब्वाइज समूहको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment