Comments Add Comment

जीवन बीमा कम्पनीको संख्या थपिँदै

२२ कात्तिक, काठमाडौं । सञ्चालनको अन्तिम चरणमा पुगेर पनि बीमा समितिले अन्तिम स्वीकृति नदिएका कारण सञ्चालन हुन नसकेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी अन्ततः सर्वोच्च अदालतको आदेशपछि सञ्चालनमा आउने संकेत देखिएको छ ।

प्रारम्भिक सहमति दिए पनि तोकिएको समयमा चुक्ता पुँजी पुर्‍याउन नसकेको भन्दै अन्तिम स्वीकृति दिन नमानेको बीमा समिति अन्ततः महालक्ष्मीलाई स्वीकृति दिने निश्कर्षमा पुगेको वीमा समितिका एक उच्च अधिकारीले जानकारी दिए ।

गत वर्ष १० वटा जीवन बीमा कम्पनीहरुलाई सञ्चालनका लागि अनुमति दिने बीमा समितिले निर्णय गरेको थियो । जसमा महालक्ष्मी नै प्रारम्भिक सहमति पाउने पहिलो कम्पनी बने पनि अन्य ९ वटा कम्पनीहरु सञ्चालनमा आए तर यो आउन सकेको थिएन ।

अन्तिम स्वीकृति पाउने विश्वासका साथ महालक्ष्मीले नक्सालमा प्रधान कार्यालय नै खोलिसकेको थियो भने धेरै अनुभवी कर्मचारीहरु समेत नियुक्त गरिसकेको थियो ।

महालक्ष्मीमा अग्राधिकार सेयर अजयराज सुमार्गीले किन्ने कबोल गरेका थिए । बीमा समितिले प्रारम्भिक सहमति दिएर पुँजी पुर्‍याउन भनेको थियो ।  तर, त्यसबेला नै सुमार्गीले कबोल गरेको पुँजी समयमा जम्मा गर्न नसकेपछि सञ्चालन अनुमति नदिने बीमा समितिले निर्णय गर्‍यो ।

महालक्ष्मी सञ्चालनमा ल्याउन बीमक संघका पूर्वअध्यक्ष रमेश भट्टराई कम्मर कसेर लागेका थिए । बीमा समितिको अध्यक्षमा लागि सिफारिसमा समेत परेका भट्टराईले महालक्ष्मी लाइफलाई सफल बनाउने योजनाका कारण महालक्ष्मी विकास बैंकको सीईओको पदबाट समेत राजीनामा दिएका थिए ।

सुमार्गीले कबोल गरेको पुँजी जम्मा गर्न नसकेपछि भट्टराईले प्रोमोटर परिवर्तन गर्न माग गरे । तर, बीमा समितिले नदिएपछि उनी अदालत गए । सर्बोच्चले लाइसेन्स रोक्न पर्ने खास कारण नदेखिएको भन्दै समितिलाई लाइसेन्स नदिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजालासले गत असार १४ गते नै यो आदेश दिएको थियो । यद्यपि, अहिलेसम्म बीमा समितिले लाइसेन्स दिने निर्णय भने गरिसकेको छैन ।

हाल मुलुकमा १० वटा जीवन बीमा कम्पनीहरु छन् । महालक्ष्मी लाइफ सञ्चालनमा आए जीवन बीमा कम्पनीको संख्या १९ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment