Comments Add Comment

शीर उच्च बनाउँदै महिला फुटबल

२६ कात्तिक, काठमाडौं । तुलनात्मक रुपमा खेलकुद गतिविधिमा पुरुषभन्दा महिलालाई निकै पछि पारिएको छ । त्यसमा पनि नेपाली फुटबलमा महिला र पुरुष फुटबललाई तुलना गर्नै मिल्दैन ।

तर पछिल्लो समयमा भने महिला फुटबल टिमले एकपछि अर्को राम्रो नतिजा ल्याइरहेका छन् । यसले केही हदसम्म भएपनि शीर उठाएको छ ।

दक्षिण एसियामा भारतलाई फुटबलको बाघ भनेर चिनिन्छ । त्यसमाथि पनि महिला फुटबलमा जति पनि प्रतियोगिता हुने गरेको छ त्यो भारतकै पोल्टामा जाने गरेको तितो इतिहास छ । साफ च्याम्पियनसिपको सबै संस्करणको उपाधि भारतले जित्दै एक छत्र राज गर्दै आएको छ तर समय फेरिएको छ ।

सधै नेपालमाथि हावी हुने भारत यो पटक भने नेपालसँग नमज्जाले पछारिएको छ । करिब यो २ महिनाको अवधिमा भारतसँग नेपालले उमेर समूहदेखि सिनियर टिमसमेत गरेर ३ वटा प्रतियोगितामा प्रतिस्पर्धा गर्यो , जसमध्ये दुई खेलमा नेपाल विजयी भयो भने एक खेल बराबरीमा टुंगियो ।

नेपाल १–१ भारत

पहिलोपटक ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले पनि भाग लिन पाउने भएपछि महिला फुटबल खेलाडीमा त्यतिकै उत्साह र उमंग देखिन्थ्यो ।

कात्तिक ८ गते अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टिमलाई विदाई गर्दा पहिलो पटक कप्तानको जिम्मेवारी सम्हालेकी निरु थापाले नर्भस हुदै अक्मकिएर भनेकी थिइन्, ‘हामी राम्रो खेल्छौं ।’

ओलम्पिक छनोटकै लागि भनेर चीन भ्रमण सकेर म्यानमार पुगेको नेपालले आफ्नो पहिलो खेलमा नै बलियो प्रतिद्धन्दी भारतसँग प्रतिस्पर्धा गर्नु परेको थियो । भारत यो मानेमा बलियो की साफ च्याम्पियनसिपमा नेपाल भारतसँग सधै पराजित हुदै आएको छ भने अहिलेसम्म भारतसँग नेपालले हार टार्न सकेको थिएन ।

म्यानमारको थुवुन्ना रंगशालामा नोभेम्बर ८ तारिखमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाढेसँगै नेपाली चेलीको तारिफ सुरु भयो । त्यसो त खेलअवधिभर नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

खेलको ११ औं मिनेटमा नै कप्तान निरु थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर नेपालले आफ्नो अग्रता धेरै बेरसम्म टिकाइ राख्न सकेन । खेलको ३७ औं मिनेटमा कमलादेवि युम्नामले गोल गर्दै भारतलाई बराबरीमा पुर्याएकी थिइन् ।

यसबारे नेपालका कप्तानको भूमिका समेत निभाएकी अनु लामा नेपाली महिला फुटबलको स्तर विस्तार विकास हुन थालेको प्रतिक्रिया दिन्छन् । उनी भन्छिन्, ‘यसपाली खेलाडी पनि सबै राम्रा छन् । अरुबेलामा हामी भारतसँग ४–० ले, अझ त्यो भन्दा बढिले हार्न पुग्थ्यौ । पहिलेको भन्दा राम्रो भएको छ । यो पटक १–१ गोलको बराबरी खेलिएको छ । राम्रो नतिजा हो यो ।’

नेपाल २–० भारत

एएफ्सी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई पराजित मात्रै गरेन, अंक तालिकामा पनि भारतलाई उछिन्दै दोस्रो स्थानमा रहेर नेपाल दोस्रो चरणको लागि छनोट हुन सफल भयो ।

नेपालले भारतलाई ठूलो झड्का दिदै पहिलो चरणबाटै आउट गराएपछि नेपाली किशोरीको चर्चा निकै चुलिएको थियो ।

पहिलो खेलमा आयोजक थाइल्यान्डसँग ३–० गोलअन्तरले पराजित भएको नेपाल आफ्नो दोस्रो खेलमा भने नसोचेको नतिजा हात पार्यो ।

थाइल्यान्डको चोन्बुरी रंगशालामा अक्टोबर २६ तारिखमा बलियो टिम मानिएको भारतलाई नेपालले २–० गोलको शनसनीपूर्ण जित निकाल्यो । नेपालका लागि दुबै गोल रेखा पौडेलले गरेकी थिइन् । पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गर्न सफल भयो ।

खेलको ५९ औं मिनेटमा रेखाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यस्तै, खेलको ८८ औं मिनेटमा रेखाले नै अर्को गोल थप्दै नेपाललाई २–० गोलको जित दिलाएकी थिइन् ।

जितपछि प्रशिक्षक हरिओम श्रेष्ठले आफ्नो योजनाअनुसार खेलाडीले राम्रो खेलेको भन्दै दोस्रो चरणको लागि छनोट हुने दाबी गरेका थिए ।

नभन्दै आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेसँगै नेपाल एएफ्सी यु–१९ महिला च्याम्पियनसिप फुटबलको दोस्रो चरणमा पुग्न सफल भएको थियो ।

नेपाल ३–१ भारत (पेनाल्टी)

साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालको भेट कडा प्रतिस्पर्धी भारतसँग भयो ।

समूह बीको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको नेपालले समूह ए को विजेता भारतसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भयो ।

भारत प्रतिद्धन्दी भन्ने वितिकै दक्षिण एसियामा अन्य राष्ट्र निकै डराउने गर्छन् । नेपाल पनि त्यस्तै हालतमा थियो । किनभने समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत खेलमा जित हात पारेर भारतले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

सन् २०१८ अक्टोबर ५ तारिखमा भएको सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा खेलको १५औं मिनेटमा रश्मिकुमारी घिसिङले गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाएकी थिइन् । तर खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरी बनाएको थियो । निर्धारित र थप गरिएको ३० मिनेटमा थप गोल हुन नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपालले शनसनीपूर्ण जित निकालेको थियो ।

पछिल्ला दिनहरुमा नेपाली महिला फुटबलले पाएको सफलतालाई जोगाइ राख्ने हो भने यसले जितको शृंखला एकपछि अर्को पक्कै देला । तर, पुरानै शैली र मनोबृत्तिले महिला फुटबललाई हेर्ने हो भने फेरि पनि पछि धकेलिनेमा दुई मत छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment