Comments Add Comment

छठघाट सजावट: संस्कृति कि विकृति ?

२६ कात्तिक, वीरगञ्ज । आस्थाको पर्व छठ शुरु भएसँगै वीरगञ्जका मुख्य छठघाटहरूको तयारी पूरा भएको छ । छठको मुख्य दिन अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट अर्थात् अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिनका लागि छठघाट जाने गरिन्छ ।

पछिल्ला वर्षहरुमा यस्ता छठघाटहरुको सजावटमा लाखौं खर्च गर्न थालिएको छ । छठघाटको १ डेढ सय मिटर परदेखि नै राखिने पण्डाल, झिलीमिली बत्तीलगायत सजावटका सामानमा लाखौं खर्च हुने गरेको हो ।

वीरगंजको घडीअर्वा, मुर्ली, नगवा, छपकैया, रानीघाट, आदर्शनगर स्वीमिङ पुललगायत छठघाटको सजावट तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको पूजा समितिहरूले जनाएका छन् ।

यसपटक घडीअर्वा, रानीघाट, नगवा, मुर्ली, छपकैया, बहुअरबी, इनर्वाका साथै आदर्शनगरको स्वीमीङ पुल, रानीघाटकै रामगढवा, अशोकवाटिका, बजार छपकैया, श्रीपुर छठघाटको सजावटमा लाखौं खर्च गरिएको छ ।

घडीअर्वा पोखरी सजावटमा मात्रै १५ लाख खर्च गरिएको छ । १५ वटा सीसीटीभी क्यामेरा जडान गरिएको घडीअर्वा पोखरी छठघाटमा ५ हजारभन्दा बढी व्रतालु र डेढ लाख सर्वसाधरण आउने अनुमान गरिएको छ । सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी बाहेक घडिअर्वा स्पोटर््स क्लब, अशोकवाटिका युथ क्लब र राधेमाई युवा क्लबका गरी डेढ सय जना स्वयंसेवक खटाइँदै छ ।

विगतमा व्यक्तिगत रुपमा पण्डाल लगाउने गरिएको भए पनि १६ वर्षयता घडिअर्वा पोखरीलाई सिँगारिँदै आएको छ । छठघाटमा झालर तथा पण्डाल लगाउन भारतीय मजदुरहरु आउने गरेका छन् ।
धनी र गरीबबीचको विभेदलाई अन्त्य गर्न घडिअर्वामा सजावटको काम थालिएको छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव मनोहर साह बताउँछन् ।

‘पहिला धनी मानिसहरुले पण्डाल लगाउँथे, अलि आर्थिक अवस्था कमजोर भएकाहरु खुल्ला आकासमुनि बस्थे । समिति गठन भएपछि धनी र गरीबबीच देखिएको असमानता हटाउन सजावटको काम थालेका हौं’, उनले भने ‘खुला आकासमुनि नै पूजा गर्ने चलन भए पनि बदलिँदो परिस्थितिलाई पक्डँदै सजावट गरेका हौं ।’

वीरगञ्जको रानीघाटस्थित छठघाटमा ४ देखि ५ लाखसम्म खर्च हुने अनुमानसहित सजावटको काम भइरहेको छ । छठघाट व्यवस्थापन समितिका अध्यक्ष किरण गुप्ता १२ वर्षदेखि सजावटको काम थालेको र बर्सेनि यस्तो खर्च बढ्दै गएको बताउँछन् ।

मुर्ली पोखरी छठघाट सजावटका लागि यस वर्ष १२ लाख खर्च गरिएको छ । ५ हजारबाट सजावटको काम शुरु गरिएकोमा अहिले ११ लाख ९६ हजार पुगेको मुर्ली छठ पूजा व्यवस्थान समितिले जनाएको छ ।

बढ्दै देखासिकी



छठघाटको संख्यामा वृद्धि भएसँगै पछिल्लो समय सजावटमा समेत देखासिकी बढ्दै गएको छ । कोभन्दा को कमको लयमा मुठ्ठी फुकाएर खर्च गर्ने होडबाजी चल्ने गरेको छ ।

एक दशक पहिलेसम्म वीरगन्जमा घडीअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा पोखरी, मुर्ली पोखरी, छपकैया पोखरी, इनर्वा पोखरी, लक्ष्मण वाको पोखरी, जिल्ला प्रहरी कार्यालय छेउको पोखरी, बहुअरबी गरी एक दर्जन जलाशयमा मात्र छठघाट स्थापना गर्ने गरिएकोमा पछिल्लो केही वर्षयता वीरगञ्ज महानगरका पाँच दर्जन बढी स्थानमा छठ घाट निर्माण गरिएको छ ।

संस्कृतिविदको चिन्ता– आडम्बरपन बढ्यो

छठघाट सजावटमा तामझाम बढिरहेका बेला संस्कृतिविदहरुले भने आडम्बरपन बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मौलिकता भन्दा पनि देखासिकीपन हावी भएको र सजावटको नाममा अस्वस्थ प्रतिष्पर्धा बढेको उनीहरुको भनाइ छ ।

भोजपुरी भाषामा विद्यावारिधि गर्ने पहिलो नेपालीको रेडर्क बनाएका प्राध्यापक डाक्टर विश्वम्भर शर्मा भड्किलो सिंगारले मौलिकता लोप हुने खतरा बढेको बताउँछन् ।

‘छठघाट सिगार्नु भनेको छठघाट वरपरको सफाइ गर्नु, जलाशयलाई पवित्र बनाउन गरिने विभिन्न क्रियाकलाप हुन्थे’, शर्माले अनलाइनखबरसँग भने, ‘तर, अहिले सजावटका नाममा मौलिकता मासिँदै गएको छ ।’

परम्परागत रुपमा छठ पूजा साधारण ढंगले गरिने गरेको संस्कृतिविद् उमाशंकर द्विवेदी बताउँछन् । पछिल्लो समयमा छठमा वैभव प्रदर्शन गर्ने कुप्रथाको विकास हुँदै गएको उनको भनाइ छ ।

सजावट गर्नु विकृति होइनः सरावगी

वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी छठीमाई प्रति ठूलो आस्था भएकाले स्वेच्छिक रुपमा गरिएका खर्चलाई विकृति भन्न नमिल्ने बताउँछन् ।

‘तराई तथा मधेसमा छठी माताप्रति आस्था र विश्वास छ, स्वेच्छिक रुपमा चन्दा संकलन गरेर छठघाट सजाउने गरिन्छ,’ महानगरपालिका प्रमुख सरावगीले भने, ‘सजावत गर्दैमा विकृति भयो भन्न मिल्दैन ।’ तर, उनले सजावटका नाममा आडम्बर देखाउन भने नहुने बताए ।

महानगरपालिकाले नगरभित्रका छठघाट व्यवस्थापनका लागि हरेक वडामा ३० हजार रुपैयाँका दरले रकम विनियोजन गरेको जानकारी उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment