Comments Add Comment

मजदुर कुट्ने होटल सञ्चालक पक्राउ

२६ कात्तिक, मोरङ । विराटनगरमा सञ्चालित होटल एभरेष्ट इनका सञ्चालक अर्जुन साहले होटलमा कार्यरत मजदुरलाई निर्घात कुटपिट गरेका छन् । लेनदेनको बिषयमा होटल सञ्चालक साहले आइतबार मजदुर उत्तम श्रेष्ठलाई कुटपिट गरेका हुन् ।

होटल सञ्चालक अर्जुन साहले ५० हजार रुपैयाँ पेश्की लिएको भौचर बनाएर त्यसमा जबरजस्ती हस्ताक्षर गराएपछि मजदुर श्रेष्ठलाई कुटपिट र दुर्व्यवहार गरेका हुन् । नियमित तलबसमेत नपाएका श्रेष्ठ होटलका रिसेप्सनिष्टको रुपमा काम गर्दै आएका थिए ।

होटल सञ्चालकले दशैं तिहारमा समेत नियमित तलब नदिएका कारण आर्थिक समस्या भएपछि होटलको नियम अनुसार बिल कटाएर पेय पदार्थ घर लगेको श्रेष्ठले बताए । तर सञ्चालक साहले चोरी गरेर लगेको आरोप लगाउँदै कोठाबाटै दुव्र्यवहार गर्दै होटल ल्याएको र हलमा लगेर सुरक्षागार्ड समेत प्रयोग गरी कुटपिट गरेको पीडित श्रेष्ठले बताए । कुटपिटपछि आफूलाई जबरजस्ती ५० हजार रुपैयाँ पेश्की लिएको भौचरमा हस्ताक्षर गराएको श्रेष्ठले गुनासो गरे ।

साहले श्रेष्ठसहित उक्त होटलमा कार्यरत एक दर्जन बढी मजदुरहरुलाई अहिलेसम्म नियमित तलब भुक्तानी नगरेको होटलका म्यानेजर प्रकाश बस्नेतले बताए । श्रम ऐन अनुसार कसैले नियमित तलब नपाएको उनको गुनासो छ । श्रेष्ठले नियम अनुसार नै बिल काटेर सामान लगेको बताउदै उनले होटल सञ्चालकले नियमित तलब भुक्तानी नगर्दा समस्या भएको बताए ।

पीडित मजदुर श्रेष्ठले आफुलाई होटलबाट चोरी गरेर सामान लगेको आरोप लगाउँदै सञ्चालक साहले कुटपिट गरेको बताए । ‘म मासिक आठ हजार रुपैयाँमा काम गर्दै थिएँ, दुई महिनादेखि तलब पाएको छैन’ श्रेष्ठले भने– ‘होटलबाट बिल काटेरै सामान लगेको थिएँ तर मलाई चोरी गरेको भन्दै कुटपिट गरे, थुक चाट्न पनि लगाए ।’

कुटपिट भएपछि मजदुर श्रेष्ठले नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका केन्द्रीय सदस्य कृष्णबहादुर श्रेष्ठलाई फोन गरेर घटनाबारे सुनाएका थिए । घटनालगत्तै मजदुर टोलीले सञ्चालक साहलाई पक्राउ गर्न माग गर्दै जाहेरी दिएपछि कुटपिटमा संलग्न साहलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पीडितको लिखित जाहेरीका आधारमा साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment