Comments Add Comment

करिब ८ अर्बको ट्रेजरी बिल आज

२७ कात्तिक, काठमाडौं । अघिल्लो साता ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको नेपाल राष्ट्र बैंकले आज (मंगलबार) पुनः करिब ८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले मंगलबार ७ अर्ब ७८ करोड रुपैयाँको ट्रेजरी जारी गर्नका लागि सोमबार बोलकवोलमा सहभागी हुन सार्वजनिक सूचना जारी गरेको थियो । सोमबार बोल कबोलमा सहभागी भएकाहरुलाई उक्त ट्रेजरी बिल सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २८ दिनका लागि ३ अर्ब २५ करोड रुपैयाँको, ९१ दिनका लागि २ अर्ब ५३ करोड रुपैयाँको र १ सय ८२ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी हुनेछ ।

यस अघि अघिल्लो सातामात्रै राष्ट्र बैंकले ९१ दिनका लागि १ अर्ब ९१ करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ ।

भुक्तानी मितिअगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन समेत पाइनेछ ।

सबै वर्गका बैंक वित्तका साथै संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोल कबोलमा सहभागी हुन सक्नेन् । बोल कबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment