Comments Add Comment

धन्न अष्ट्रेलियाको भिसा लागेन…

क्रिकेट, क्रिकेट र क्रिकेट । यो उमेरसम्म मैले सिकेको, जानेको र केही गरेको यही हो । यो मेरो लागि खेल मात्रै पनि होइन, जीवनशैली नै हो ।

स्कूलमा क्रिकेट खेल्दा प्रिन्सिपल सरको झ्याल फुटाएकोदेखि नेपाललाई एकदिवसीय मान्यता दिलाउँदासम्म कति रमाइला, कति नरमाइला पल आए । कति उत्सवका क्षणहरु पनि छन् । कतिपय त मेलै नचाहँदा नचाहँदै पनि बिर्सिसकेँ । आफ्नो बारेमा मलाई जति थाहा छ, त्योभन्दा धेरै मेरो परिवार र नजिकका साथीभाइलाई थाहा हुन्छ ।

अहिले पनि मेरो जीवन क्रिकेट, घरपरिवार र साथीभाइकै त्रिकोणमा नै घुमिरहेको छ । त्योभन्दा बाहिर खासै हुन्न । अलिकति तलमाथि हुनासाथ परिवार-साथीभाइले झक्झक्याउनुहुन्छ, जसरी म क्रिकेट टिमका सहकर्मीहरुलाई झक्झक्याउँछु ।

***

क्रिकेटर बन्छु भनेर बाल्यकालमा सोचेको थिइनँ । खेल्न रहर भने लाग्थ्यो । म साउथ पोइन्ट बोर्डिङ हाइस्कूल बुद्धनगर, बानेश्वरमा पढेँ । पढाइमा राम्रो भएकाले सरहरुसँग राम्रो सम्बन्ध थियो । मलाई पनि पढेरै केही गर्छु भन्ने थियो ।

पानी पर्ने सिजनमा फुटबल खेलिन्थ्यो, बास्केटबल वर्षभर नै जस्तो खेलिन्थ्यो । क्रिकेट पनि खेलिरहेका हुन्थ्यौं । विश्वकप जस्ता ठूला प्रतियोगिता आउँदा फुटबल खेल्थ्यौँ, क्रिकेटको प्रतियोगिताहरु हुँदा क्रिकेट नै खेल्थ्यौँ, एनबीए हुँदा बास्केटबल । त्यसरी नै दिन बितिरहेका थिए ।

सानो बेलाको एउटा घटना मलाई अझै याद छ, एकपटक स्कूलमा हामी खेलिरहँदा पि्रन्सिपल सरले झ्यालबाट विस्तारै खेल भनेर कराउनुभएको थियो । त्यसको ठीक अर्को बलमा मैले हानेको सट पि्रन्सिपल सरको झ्यालमा नै लागेर सिसा फुट्यो । क्रिकेट नै खेल्न नपाइने डर थियो । आफैं गएर झ्यालको नाप लियौँ, सिसा पसलमा गएर सिसा ल्याएर फिट गरिदियौँ र भोलिपल्टबाट फेरि क्रिकेट सुरु भइ नै हाल्यो ।

***

क्रिकेट खेल्नेहरु प्राय ब्याटिङमै रमाउँछन् । बलिङ गर्न अघि सर्नेहरु कमै हुन्छन् । अहिले त टेलिभिजन र इन्टरनेटसँग बालबालिका धेरै नजिक छन् । त्यसैले रसिद खान या विराट कोहली बन्ने मन उस्तै होला ।

तर, हामीले खेलेको गल्ली क्रिकेटमा ब्याटिङ नै प्रमुख छनोट हुन्थ्यो । म भने बलिङ पनि गर्थें । क्रिकेट सुरु गर्दा म बलिङ अलराउण्डर थिएँ । ब्याटिङभन्दा बलिङ राम्रो थियो । कसले पहिले ब्याटिङ गर्ने भनेर छान्ने तरिका पनि रमाइलो थियो । ब्याटले छोपेर एक, दुई, तीन गर्दै धर्का तान्थ्यौं र रोज्दा जसलाई जुन नम्बर पर्छ, उसैले उही क्रममा ब्याटिङ गथ्र्यौं । धेरै रन बनाउनेले अर्को पटकमा पहिला ब्याटिङ गर्न पाउने नियम हुन्थ्यो । कहिले काहीँ ‘वान ड्रप वान हृयाण्ड क्याच आउट’ भनेर पनि खेल्थ्यौं । जे होस्, त्यो बेलाको हाम्रो क्रिकेट रमाइलो थियो ।

सानो हुँदा हामीसँग गतिलो ब्याट हुँदैन थियो । सोझो काठ खोजेर त्यसलाई माथिपट्टी समात्न मिल्ने मुंग्रोजस्तो बनाएर बनाएर त्यसले नै खेल्थ्यौं । ˆल्याट काठ कतै पाइन्छ कि भनेर साथीहरु सबै मिलेर खोज्न जान्थ्यौं ।

टेनिस बल त जसोतसो किन्न सकिन्थ्यो ।

घरमा पनि म र भाइ खेलिरहेका हुन्थ्यौं । भाइ कस्तो भने, कहिलेकाहीँ मैले ब्याटिङ गर्दा आउट पार्न सकेन भने अर्को दिन उसले पहिला ब्याटिङ गथ्र्यो र बलिङ गर्ने बेला नखेल्ने भन्दै जान्थ्यो । म घरमा मुमालाई भाइले यस्तो गर्‍यो भनेर कुरा लगाएर पनि जसरी हुन्छ बलिङ गर्न लगाएर ब्याटिङ गर्थें ।

***

यू-१५ राष्ट्रिय टिममा परेरपछि मेरो क्रिकेटले एउटा बाटो समात्यो । यू-१५ राष्ट्रिय टिममा पर्दा पनि योजना बनाएर होइन, अकस्मात नै भएको थियो ।

त्यो बेला इन्टर स्कूल क्रिकेट प्रतियोगिता भएको थियो । हामी कमै प्रतियोगितामा सहभागी हुन्थ्यौं । घरतिर पनि शंखमुल, च्यासल मैदानमा त्यसरी नै खेल्ने गथ्र्यौं ।

बुद्धनगरमा हाम्रै घर वरिपरि पनि खेल्ने ठाउँ धेरै नै थिए । फाँट नै फाँट थिए । बानेश्वरको ठाउँमा त्यस्तो खुला जमिन थियो भन्दा अहिले धेरैलाई विश्वास नहुन पनि सक्छ । तर, त्यो बेला खेल्ने मैदानको अभाव थिएन । जता खेले पनि हुन्थ्यो । शनिबार साथीभाइ जम्मा भयो, १०/१५ रुपैयाँ उठाएर बल किन्यो र खेल्न हिँड्यो । ९० रुपैयाँ पर्ने काल्कोम मार्सल भन्ने बल राम्रो हुन्थ्यो ।

म कक्षा १० मा हुँदा इन्टर स्कूल प्रतियोगिता हुँदैछ भन्ने पत्रिकाबाट थाहा पाएँ । त्यसको कटिङ लिएर विद्यालय गएँ र खेलकुदको सरलाई देखाएँ । स्कूल सकिन लागेको बेला एउटा भए पनि राम्रो प्रतियोगिता खेलौं न भन्ने लागेको थियो । त्यो प्रतियोगिता केभी खत्री मेमोरियल कप हो । पत्रिकामा भएको नम्बरमा फोन गर्‍यौं । आयोजकले टिम पूरा भइसक्यो, अब दर्ता गर्न पाइँदैन भन्यो । हामीले एकदमै कर गरेपछि अन्तिममा दर्ता गर्‍यौं । कीर्तिपुर मैदानमा खेल हुने भएकाले पनि उत्साहित थियौं ।

मलाई याद छ, २००१ मा काठमाडौंमा आयोजित एसीसी यू-१९ इलाइट कपको फाइनलमा नेपालले मलेसियालाई जितेको बेला म पनि कीर्तिपुर मैदानमा दर्शक थिएँ ।

सबैभन्दा धेरै दर्शक बस्नेतिर बसेको थिएँ । कागजको रकेट बनाएर मैदानमा फाल्दा टक्क गड्थ्यो । ओहो ! यो मैदानमा कहिले खेल्ने होला भन्ने त्यतिबेला नै लागेको थियो ।
त्यसैले केभी खत्री मेमोरियल कप मेरो लागि ठूलो अवसर थियो । म स्कूलको क्रिकेट कप्तान थिएँ । हामीले त्यो प्रतियोगिता खेल्यौं र जित्यौं पनि । प्रतियोगिता सकिएपछि थाहा भयो, त्यो त क्षेत्रीय प्रतियोगिताको लागि काठमाडौंको खेलाडी छनोट प्रतियोगिता पनि रहेछ । हाम्रो स्कूलबाट दिपेन श्रेष्ठ, अनुप गजुरेल र म छानियौं । त्यहीँबाट नै नेपालको यू-१५ टिममा पुगेँ । त्यसपछि यू-१७, यू-१९ हुँदै राष्ट्रिय टिममा ।

***

तपाइँलाई सम्भवत थाहा नहोला, कुनैबेला म अष्ट्रेलिया जाने सुरमा थिएँ । यदि त्यो बेला मेरो भिसा लागेको भए, म अहिले यो ठाउँमा हुन्थिनँ ।

२००८ तिरको कुरा हो । नेपालमा क्रिकेटको अवस्था कुहिरोको काग जस्तै थियो । भविश्यलाई लिएर चिन्ता हुन थाल्यो । त्यसैले प्लस टू सकाएपछि अस्टे्रलिया जाने सोच बनाएँ । अष्ट्रेलिया क्रिकेटमा कहलिएको देश भएकाले पनि आकर्षण थियो । पढ्छु र खेल्छु पनि भन्ने सोचेको थिएँ ।

२००८ मा जर्सीमा हामी डिभिजन फाइभ खेलिरहेका थियौं । म उपकप्तान थिएँ । बिनोद दास कप्तान हुनुहुन्थ्यो । रोय डायस प्रशिक्षक हुनुहुन्थ्यो । रोय सरले, केही वर्षमा तिमी राष्ट्रिय टिमको कप्तान हुनुपर्छ भन्दा पनि म ‘होइन सर, म त बाहिर जाने सोचमा छु’ भनिरहेको हुन्थेँ ।

भाग्य भन्ने कि दुर्भाग्य भन्ने मेरो अस्टे्रलियाको भिसा लागेन । त्यो बेला भिसा नलागेकोमा अहिले भने म खुसी छु ।

त्यसपछि क्रिकेटमै लागिरहेँ । २००९ मा कप्तान भएँ । त्यसको एक वर्षपछि भने क्रिकेट सिरियस भइरहेको छ जस्तो लाग्न थाल्यो र आफूले आफूलाई अघि बढाउन थालेँ । त्यो बेला पनि भविश्यको ग्यारेन्टी त थिएन तर, अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा आउन थालेको थियो ।

***

२००४ मा मलेसियाविरुद्ध थ्रीडे म्याचबाट मैले राष्ट्रिय टिममा डेब्यु गरेको हो । त्यसलाई आईसीसी इन्टरकन्टिनेन्टल कप भनिन्थ्यो ।

थ्रीडे फम्र्याट भर्खर आउँदा हाम्रो पहिलो खेल युएईसँग तय भएको थियो । त्यसमा खेलाडी छनोटका लागि भएको अभ्यास खेलमा मैले पनि खेल्न पाएको थिएँ । त्यो बेला पहिलो र दोस्रो दुवै इनिङमा म शून्यमै आउट भएँ । त्यसैले टिममा छानिन सकिनँ ।

मलेसियासँग खेलअघि भएको अभ्यासमा भने शतक बनाएँ र टिममा परेँ । राष्ट्रिय टिमबाट पहिलो अन्तर्राष्ट्रिय खेलमै राम्रो गरेँ । पहिलो इनिङमा १ सय २ बलमा ४४ रन बनाएको थिएँ । ६ ओभर बलिङ गर्दा १९ रन खर्चिएर एक विकेट पनि लिएको थिएँ । दोस्रो इनिङमा हामीले ३४ रनको लक्ष्य पाएका थियौं । त्यसमा मैले ब्याटिङ नै गर्न परेन हामी ९ विकेटले विजयी भयौं ।

त्यसपछि कहिल्यै पछाडि फर्किनु परेन ।

२०१० मा हामी डिभिजन फाइभमा नै थियौं । त्यो बेला डिभिजन थ्रीमा पुग्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । डिभिजन फाइभ, फोर हुँदै हामी थ्रीमा पनि पुग्यौं ।

डिभिजन थ्रीमा पुगेपछि वानमा पुगियो भने त जीन्दगी आरामले कट्छ, अरु केही सोच्नु अरु चिन्ता हुँदैन भनियो । त्यसपछि पनि केही वर्षमा थ्री हुँदै, टू, वान र एकदिवसीय मान्यतासम्म आइपुग्दा गएको ८ वर्षमा धेरै नै प्रगति भएको छ ।

विश्वकप खेलेपछि नेपाली क्रिकेटमा कायापलट हुन्छ भन्ने पनि थिए । हामीले त्यो पनि खेल्यौं । २०१३ मा विश्वकपको लागि छानिएर २०१४ मा टी-२० विश्वकप खेल्यौं, जुन नेपाली क्रिकेटको अहिलेसम्मकै ठूलो उपलब्धी हो ।

नेपाली क्रिकेटले एउटा बाटो पहिले नै बनाएको भए पनि त्यो हामीलाई थाहा थिएन । २०११ मा पुबुदु दासानायके प्रशिक्षक भएर आउनुभएपछि परिवर्तन देखिन थालेको थियो । पुबुदु सरले नै हामीलाई बाटो देखाउनुभएको हो । त्यसअघि हामी क्रिकेट खेलिरहेका त थियौं तर, के खेलिरहेका छौं, किन खेलिरहेका छौं भन्ने कसैलाई पनि केही थाहा थिएन । जान्थ्यौं, खेल्थ्यौं, जे हुन्थ्यो हुन्थ्यो अनि फर्किन्थ्यौं ।

पुबुदु सर आएपछि योजना कसरी बनाउने, आफूले आफ्नो लागि कसरी तयारी गर्ने, कसरी खेल्ने, कति समय लगाउने भन्ने सबै कुरा बुझ्दै गयौं जस्तो लाग्छ । अहिले जस्तो छ त्योभन्दा धेरै राम्रो हुनुपर्ने हो भन्ने लाग्छ ।

केही खेलाडीले विभिन्न ब्राण्डको सहयोगमा राम्रो आम्दानी गरे पनि सबैको अवस्था त्यस्तो छैन । २०१४ मा विश्वकप खेलेर आएका कति खेलाडीको अवस्था अहिलेसम्म पनि नाजुक छ । भोलि के गर्ने हो भन्ने उनीहरुलाई थाहा छैन ।

***

कप्तान भनेर सबैले फरक सोचिरहेका हुन्छन् । मलाई के लाग्छ भने कप्तान तब मात्रै राम्रो हुन्छ, जब टिम राम्रो हुन्छ । त्यस अर्थमा म धेरै भाग्यमानी छु, मैले असाध्यै राम्रो टिम पाएको छु ।

हामी सबैको एउटै लक्ष्य, एउटै सोच छ । नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेमा नै सबैको ध्यान छ । खेलाडीहरुसँग मलाई ०.००१ प्रतिशत पनि गुनासो छैन । हामी एक सोचले अघि बढ्दा मलाई मैदानमा धेरै सजिलो छ ।

मैदानबाहिर भने कप्तान भएपछि थुप्रै अप्ठ्याराहरु आए । कति कुराहरु सुधारका लागि आफैँ नै लाग्नुपर्ने हुन्छ । बोल्नुपर्ने हुन्छ । खेलाडीहरु बसेर सल्लाह गरेर केही गर्नुपर्ने हुन्छ । कति चित्त नबुझेका कुरामा हामी सबै मिलेर बोेलेका पनि छौं ।

विकासका नाममा केही नहँुदा त हेरेर मात्रै बस्न अप्ठ्यारो हुन्छ । हामीसँग २००८ मा जे संरचना थिए, अहिलेसम्म पनि त्यही मात्रै छ । यसरी त कसरी अघि बढ्न सकिन्छ र ?

त्यो खाले व्यवस्थापन भएपछि हामीले आवाज नउठाए कसले उठाउने त भनेर परेको ठाउँमा बोलेका हौँ । कतिले त्यसलाई खेलाडीले राजनीति गरे भन्ने आरोप लगाए पनि हामी बोल्नुपर्ने कुरामा चुप लागेर बस्न भने सक्दैनौं ।

हामीले जहिले पनि क्रिकेटको राम्रो होस् भनेर आवाज उठाएका छौँ । मेरो पहिलो जिम्मेवारी मैदानमा राम्रो प्रदर्शन गर्ने नै हो । टिमलाई जिताउनका लागि प्रयास गर्ने नै हो । तर त्यसका लागि वातावरण राम्रो होस् भनेर पनि सोच्नै पर्छ ।

व्यवस्थापनमा सकारात्मक सोच र इमान्दार मान्छे हुने हो भने नेपालमा क्रिकेटको भविष्य निकै राम्रो छ ।

***

नेपाली क्रिकेट यो ठाउँसम्म आइपुग्न भाग्यले पनि साथ दिएको छ जस्तो लाग्छ । २०१० मा डिभिजन फाइभ खेल्दा हामीलाई भाग्यले साथ दिएको थियो ।

दर्शकहरुले मैदानमा ढुंगा हानेको त्यो प्रतियोगितापछि सिंगापुरसँग थोरै नेट रन रेटको अन्तरले हामी डिभिजन फोरमा पुगेका हौं । हाम्रो नेट रन रेट १.३५१ थियो भने सिंगापुरको १.३४७ थियो । शीर्षमा रहेको युएसएको १.३७१ थियो । तीनै टिमले चार/चार खेल जितेका थियौँ । त्यो बेला ढुंगा किन हानियो, कसरी हानियो भन्ने विवाद आˆनै ठाउँमा छ ।

२०१० मा डिभिजन फाइभबाट फोरमा गयौं । दुई वर्ष फोरमा अड्कियौं । २०१२ मा फोर जितेर थ्रीमा गयौं । थ्रीबाट टूमा गयौं । फेरि थ्रीमा नै फर्कियौं । फेरि टूमा गयौं । त्यहाँबाट अहिले एकदिवसीय मान्यतासम्म पुग्दा हाम्रो क्रिकेटले अनेक उतारचढाव व्यहोरेको छ ।

२०१० सम्म पनि नेपालमा जहिल्यै यू-१९ टिमले मात्रै जित्छ भनिन्थ्यो । मैले अन्तिमपटक २००८ को यू-१९ विश्वकप खेलेको थिएँ । राष्ट्रिय टिममा खेलिसक्दा पनि यू-१९ को टिमबाट खेलिरहेकै थिएँ ।

नेपालको यू-१९ टिमले विश्वकपमा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, जिम्बावेलाई हराउँदा निकै तारिफ भएको थियो । २००६ मा विश्वकप प्लेट च्याम्पियन बन्दा नेपालको क्रिकेटले नयाँ उचाइ पायो । भाग्यवस त्यो टिममा म पनि थिएँ ।

दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्याण्डलाई फाइनलमा हराएर यू-१९ प्लेट च्याम्पियन बन्दाको खुसी अहिले पनि भुल्न सक्दिनँ । अहिले इंग्ल्याण्डका कप्तान रहेका इओन मोर्गान त्यो बेला आयरल्याण्डबाट खेलेका थिए । हामीले आयरल्याण्डलाई पनि हराएका थियौं । फाइनलमा न्युजिल्याण्डसँग खेल्दा मार्टिन गुप्टिल, टिम साउथी, कोनिल मुन्रोजस्ता अहिलेका नामी खेलाडी थिए ।

त्यो बेला फाइनलमा २ सय ५ रनको लक्ष्य पछ्याउँदा हाम्रो ७५ रनमा नै ६ विकेट गएको थियो । छैठौं विकेटका रुपमा म ४ रन बनाएर आउट भएको थिएँ ।

त्यसपछि बसन्त रेग्मीले कमाल गरे । अन्तिममा रतन रौनियार र राज श्रेष्ठ क्रिजमा टिकेर हामीले जित्यौं । बसन्तले ७३ बलमा ६६ रन हाने । प्रेम चौधरीले ४४ बलमा २६ रन, रतनले १९ बलमा २६ रन बनाएका थिए । हामीले अब सकियो भनेर माया मारेको खेल जित्यौं । उपाधि नै जित्यौं ।

त्यो प्रतियोगिता जितेपछि हामीलाई मोटरसाइकल पुरस्कार दिइएको थियो । पुरस्कारमा पाएको सिटी हन्ड्रेडमा पैसा थपेर बजाज डिस्कभर बाइक लिएको थिएँ ।काठमाडौंमा ट्राफिक धेरै हुनाले गाडीमा भन्दा मोटरसाइकलमा मलाई सजिलो लाग्छ । समयमा पुग्न पनि मोटरसाइकल नै ठीक हुन्छ । पानी परेको छ वा कार्यक्रमहरु परे भने मात्र म गाडीमा हिँड्छु ।

***

खेलका क्रममा जब आफू आउट भएर फर्किनुपर्छ, तब मलाई आफूमाथि रिस उठ्छ ।

मैले राम्रो गर्न सक्थेँ भन्ने लागिरहन्छ । म आउट हुँदा टिमलाई धक्का लाग्छ भन्ने महसुस हुन्छ । कुनै पनि प्रतियोगिताका लागि १४-१५ जना छानिन्छन् । त्यसमध्ये ११ जनाले खेल्छन् । कुनै पनि खेल जित्दा तीन/चार जनाले नै राम्रो गर्ने हो । त्यसैले आफू आउट हुँदा निकै रिस उठ्छ ।

हामी ड्रेसिङ रुमबाट पनि कराइरहेका हुन्छौं, राम्रोसँग खेल, हेरेर खेल, यो बलरलाई हाने हुन्छ, अलि ध्यान दिएर कुद । टिम गेममा यही नै रमाइलो पक्ष हो ।

तर, मलाई आफू खेल्नुभन्दा हेर्न गाह्रो हुन्छ । एक वर्षअघि नेपालले भारतलाई यू-१९ मा हराउँदा म लाइभ हेरिरहेको थिएँ । हामीले भारतलाई कुनै पनि स्तरमा कहिल्यै हराएको थिएनौं । त्यसैले त्यो खेलको आफ्नै महत्व थियो । हराएमा नेपालमा पनि क्रिकेट राम्रो छ भन्ने सन्देश जान्छ जस्तो लागेको थियो । नभन्दै हामीले जित्यौं । आफूले नखेले पनि खुशी भने कम थिएन ।

मैदानमा खेल्दा खासै केही सोचिँदैन । कसले के भनिरहेको छ, के हुँदैछ भन्ने नसोची खेलमा फोकस हुन्छ । बलिङ गर्दा बलिङमा, ब्याटिङ गर्दा ब्याटिङमा, फिल्डिङ गर्दा फिल्डिङमा ध्यान हुन्छ । हेर्दा चाहिँ छिनछिनमा सोचाई धेरैतिर पुगिरहेको हुन्छ ।

***

मैदानमा कतिपय बेला आउने अप्ठ्यारो परिस्थितिमा निर्णय लिन सजिलो हुँदैन । विशेष त बलिङको बेला त्यस्तो परिस्थिति आउँछ । कठिन अवस्थामा कसलाई बलिङ गर्न दिने भन्ने निर्णयमा हामी सिनियरहरुबीच सल्लाह गर्छौं । ज्ञानेन्द्र मल्ल उपकप्तान भए, सँगै शरद भेषावकर र अरु सिनियर खेलाडी मिलेर हामी सल्लाह गर्छौं । अन्तिम निर्णय मैले नै लिनुपर्ने भए पनि सल्लाह गर्दा बोझ कम हुन्छ । कति कुरामा त एक पलको निर्णय नै हो । यो बलरले राम्रो गरिरहेको छ, यो बलरले राम्रो गर्छ भन्ने त्यही समयको निर्णयले पनि काम हुन्छ ।

अहिले पि्रमियर लिगहरु भइरहेको छ । सिनियर मात्रै होइन, जुनियर खेलाडीले पनि कप्तानीको अनुभव बटुलिरहेका छन् । स्कूलकै टिममा भए पनि कप्तानले गर्ने निर्णय त उस्तै नै हो । जित्दा सबै निर्णय राम्रो देखिन्छ । यदि हारियो भने … त्यो बेला गल्ती भयो, त्यो ठाउँमा त्यो गर्न सकिन्थ्यो भन्ने बहस त भइ नै हाल्छ । त्यस्तो बहस हुनु पनि पर्छ । वादविवाद नै भएन भने त भिडियो गेम जस्तो भइहाल्यो नि ।

***

क्रिकेटले मलाई सबथोक दियो । आज जे छु, जहाँ छु, यसरी बोल्न सक्ने भएको छु, यो सबै क्रिकेटकै कारण हो । तर, मनमा खट्किने एउटा कुरा छ, भौतिक संरचना । बाहिर खेल्न जाँदा मैदान हेरेपछि लाग्छ हाम्रो देशमा यस्तो किन छैन ? मलेसिया, युएई सबैतिर गज्जब स्टेडियमहरु छन् । एउटै मात्र यत्तिको स्टेडियम भइदिने हो भने पनि कत्ति दर्शक आउँथे होला, कस्तो माहोल हुन्थ्यो होला भन्ने हुन्छ ।

हाम्रोमा एउटा गतिलो मैदान छैन भनेर दुःख लाग्छ । न त क्रिकेटको छ न त फुटबलकै ।

क्रिकेट खेल्दाको सबैभन्दा आनन्द लर्डस् मैदानमै मिल्यो । लर्डस्मा क्रिकेट खेलिन्छ भनेर कहिल्यै सोचिएकै थिएन । २०१६ मा पहिलोपटक लर्डस्मा खेल्यौं । भोलिपल्ट उठेपछि पनि लाग्यो, साच्चै हामीले लड्र्समा नै खेलेको हो त ?

लर्डस्मा खेल्ने हरेक क्रिकेटरको सपना हुन्छ, त्यसैले त्यहाँ खेलेपछि त्यो सबै कुराहरुले छोयो । त्यहाँको त्यो डे्रसिङ रुम, त्यो माहोल अद्भुत नै थियो । यही वर्ष फेरि पनि लर्डस्मा खेल्ने मौका पायौं तर, दुर्भाग्य त्यो दिन पानी पर्‍यो ।

जे होस् नेपाली क्रिकेट अगाडि बढ्दै जाँदा यस्ता खाले अवसरहरु आउँदै जान्छन् । लर्डस्लाई ‘होम अफ क्रिकेट’ भनिने भएर पनि त्यहाँको महत्व छुट्टै भएको हो । तर, आज लर्डस्मा खेल्यो, भोलि सिड्नी क्रिकेट मैदानमा खेलौँला, पर्सि वाङ्खेडे रंगशालामा खेलौंला । हाम्रो सोच पनि त्यही हुनुपर्छ । एउटा क्रिकेटको देश बनेर जाने हो भने अगाडिको लागि सोच्नै पर्छ ।

हामीभन्दा पछाडि क्रिकेट खेल्न थालेको अफगानिस्तान अहिले टेस्टसम्म पुगिसकेको छ । त्यस्तै रफ्तार हाम्रो नभए पनि हामीले राम्रो नै गरेका हौं ।

तर, अहिले कस्तो लाग्छ भने हामी एउटा स्तरमा पुगेर अड्किएका छौं । त्यहाँबाट माथि जान केही त नयाँ सिक्नैपर्छ, केही नयाँ गर्नैपर्छ । हामी खेलाडी पनि र वातावरण पनि स्थिर भएको छ । यसरी त कि हामी यहीँ हुन्छौं, कि त तल झर्छौं । माथि जानको लागि त थप केही गर्नैपर्ने हुन्छ ।

म २२ वर्षको हुँदा जस्तो थिएँ, अहिलेका त्यही उमेरका खेलाडीहरु त्योभन्दा धेरै जान्ने छन् । जस्तो कि दिपेन्द्र ऐरी, अनिलकुमार साह, रोहितकुमार पौडेलहरुले राम्रो अवसर पाउने हो भने निकै राम्रो गर्न सक्छन् ।

हामी सिनियर खेलाडीले उनीहरुलाई सिकाउने कुराहरु पनि सकियो जस्तो लाग्छ । मैले रोहित पौडेल, दिपेन्द्र ऐरीलाई या भनौँ ज्ञानेन्द्र, शरदले सोमपाल कामी, ललित भण्डारीलाई दिने कुराहरु सबै दिइनै सक्यौँ । उनीहरुसँगै हामीलाई पिन अझै धेरै, अझै नयाँ प्रशिक्षणको आवश्यकता छ ।

ब्याटिङ, बलिङमा उनीहरुले आफूलाई अझै राम्रो पार्न नयाँनयाँ कुरा त सिक्नैपर्छ । उनीहरुको लागि राम्रो वातावरण दिनैपर्छ । हामी सिनियर खेलाडीहरुलाई पनि माथिल्लो स्तरमा राम्रो गर्न विशेषज्ञको आवश्यकता छ नै ।

***

यत्तिका कुरा गरिरहँदा विश्वकप क्रिकेट त कसरी छुटाउनु ? सानो दुःखले विश्वकपसम्म पुगिएको थिएन । २०१२ मा जब हामी विश्वकप छनोटका लागि खेल्न जाँदा १४ औँ थियौं र सातौँ भएर फर्कियौं । त्यही पलमा लागेको थियो, ६ टिम त छानिन्छन्, यो पटक हामी हामी सातौँ भयौँ भनेपछि अर्को पटक ६ टिममा पर्न पक्कै सक्छौँ ! मेहनत गर्‍यौं भने छनोट हुन्छौँ भन्ने विश्वास त्यसबेलै थियो र छनोट पनि भयौँ ।

विश्वकप संसारको अगाडि आफूलाई आफ्नो क्रिकेटलाई, देशलाई प्रस्तुत गर्ने अवसर हो । संसारले हेरिरहेको छ, राम्रो गर्नुपर्छ भन्ने मनमा हुन्छ । संसारले हेर्ने भएपछि हामी खेलाडी आफ्नो देशको दूत जस्तै भयौं ।

पहिलो सहभागिता राम्रो भयो । हङकङलाई हराएका थियौं । हङकङले टस जितेर हामीलाई ब्याटिङमा बोलायो । पूरा ओभर खेलेर ८ विकेट जाँदा हामीले १४९ रन बनाएका थियौं । हङकङलाई १७ ओभरमा नै ६९ रन बनाउँदा अलआउट बनायौं । ज्ञानेन्द्रले ४८ र मैले ४१ रन बनाएको थिएँ ।

बंगलादेशविरुद्ध हामीले १ सय २६ रन बनाएका थियौं । ८ विकेटले हार्‍यौँ । त्यसमा पनि मैले ४१ रन बनाएको थिएँ । शरदले ४० हानेका थिए ।

अफगानिस्तानसँग २०१२ देखि जित नजिक पुग्ने तर, हार्ने भइरहेको थियो । २०१३ मा सिंगापुरमा यू-२३ इमर्जिङ नेशन कपमा ११ रन बाँकी थियो, ५ विकेट हुँदा पनि हामी ३ रनले हारेका थियौँ । त्यो बेला पुवुदु सरलाई भनेको थिएँ, हामी यस्तोमा पनि हारिरहेका छौं, अब हामीले अफगानिस्तानलाई यस्तो ठाउँमा हराउँछौँ जहाँ संसारले हेर्ने छ ।
नभन्दै टी-२० विश्वकपमा पूरा भयो ।

हामीले १४१ रन बनाउँदा अफगानिस्तानले १३२ रन मात्रै बनाउन सक्यो । त्यो जितले हामीलाई खुसी दियो ।

हुन त विश्वकप खेलेकै चार वर्ष भइसक्यो । खेलाडीको रुपमा सम्झँदा लाज त नभनौं तर, पनि दुःख पनि लाग्छ । हामीले अरु विश्वकपमा पनि खेल्न सक्नुपर्ने हो जस्तो लाग्छ । तर, २०१६ को बेला छनोट हुन सकेनौँ । हाम्रो तयारी राम्रो भएर पनि सबैभन्दा नराम्रो प्रतियोगिता त्यही नै भएको थियो । तयारीले मात्रै पनि नहुने रहेछ जस्तो लाग्यो ।

अहिले अर्को विश्वकपमा छनोट हुन खेलिरहेका छौं । एकदिवसीय मान्यता पनि छ । अबको ८/१० वर्षमा नेपाललाई कसरी टेस्ट राष्ट्रसम्म पुर्‍याउने भनेर सोच्नुपर्छ । किनभने टेस्ट राष्ट्र भएपछि विश्व क्रिकेट लिग वा डिभिजन थ्री, टू के खेल्ने भनेर सोचिराख्नु परेन ।

***

हामी जति पनि खेलाडीहरु छौं टिभी हेरेर खेलेका खेलाडी हौं । हामीलाई बाहिरको पिचमा बानी नै छैन ।

कीर्तिपुरमा त राम्रोसुविधा छैन भने बाहिर के छ र ! अहिलेसम्म बलिङ मेसिनहरु छैन । हेर्दा नेपालको ब्याटिङ राम्रो छैन भन्ने सधैँ लागिरहन्छ । तर, यति कुराले यहाँसम्म आइपुग्नुमा खेलाडी र प्रशिक्षकलाई मान्नैपर्ने हुन्छ । गहिरिएर विचार गर्ने हो भने त हामी यहाँ पुग्नु ठूलो उपलब्धी हो । एउटा असम्भव काममा हामीले जसोतसो टालटुल गरेर यहाँसम्म ल्याएका छौं । तर, अब त टालटुलले हुँदैन । हामीले पक्का घर बनाउनै पर्छ । त्यो घर बनाउन आवश्यक स्रोत पनि तयार छ । कसले बनाउने र कसरी बनाउने भन्ने मात्रै हो ।

हामीले क्रिकेट पदाधिकारीसँग बसेर कुरा गरौँ न भनेर धेरै प्रयास पनि गर्‍यौँ । कति लिखित सुझावहरु पनि दियौँ । पुवुदु सरले त खेलाडीलाई यस्तो हुनुपर्छ, यस्तो गर्‍यौँ भने क्रिकेट अगाडि बढ्छ भनेर एउटा रोडम्याप नै दिनुभएको थियो । उहाँको योजनाअनुसार गर्न नसकिने कुरा पनि थिएन । तर, सरोकारवालाको सोच सकारात्मक थिएन ।

यो गर्नुभयो, उहाँले यो गर्नुभएन भनेर नाम लिएर भन्दा रिसइवी जस्तो हुन्छ । तर, भएको केही नै छैन । म क्रिकेट टिमको कप्तान छु भने राम्ररी टिम मिलाउने र खेल्ने त गर्नै पर्‍यो नि । मैले मेरो काम गरिनँ भने टिममा हुन्छु र ? संघमा पनि त्यस्तै हो नि, संघमा बस्ने तर काम नगर्ने पनि हुन्छ र ? हाम्रो प्रश्न नै त्यही थियो । काम किन भएन ?

हामीले त्यत्रो भेट्ने प्रयास गर्दा पनि उहाँहरु एक ठाउँमा कहिल्यै भेला हुनुभएन । अहिले आएर थाहा भयो, उहाँहरुको आˆनै विवाद रहेछ । यसैले हामी सबै खेलाडीले नबोले कसले बोल्ने त जस्तो भएर नै बोलेका हौँ । भलै कतिले राजनीति गरे भन्छन् । तर, मलाई के लाग्छ भने प्रक्रिया सही गलत जे भए पनि त्यो सही उद्देश्यले थियो र सही थियो ।
तपाइँ आफैँ पनि हेर्नुहोस् न, गएको दुई तीन वर्षमा नेपालमा निजी रुपमा राम्रा प्रतियोगिता भइरहेका छन् । गर्ने हो भने हुँदोरहेछ भन्ने त देखियो ।

अब विगतलाई छाडौं, अहिले जसरी नयाँ शिराबाट अघि बढ्ने प्रयास भइरहेको छ । विश्वास छ, जो पनि व्यक्ति क्रिकेट संघमा आउनुहुन्छ काम त गर्नैपर्छ । जिम्मेवार भएर काम भएन भने बोल्ने मान्छे धेरै नै छन् । हजारौँ क्रिकेट समर्थकले नियालिरहेका हुन्छन् । खबरदारी उनीहरुले नै पनि गर्छन् ।

तर, जसरी टी-२० स्टाटसलाई सदुपयोग गर्न सकेनौं त्यसरी नै एकदिवसीय मान्यता पनि गुमाउने त होइन भन्ने डर छ । किनकी एकदिवसीय मान्यताको राम्रो मूल्याङ्कन भएको छैन । एकदिवसीय मान्यता भनेको के हो भनेर बुझ्नुपर्नेहरुले बुझ्नु नै भएको छैन जस्तो लाग्छ । हुन त यो विश्वकप पुग्नुभन्दा पनि ठूलो उपलब्धी हो । तर बुझ्ने कसले ? संघ छैन तर, खेलकुद परिषद छ, सरकार त छ नि ।

कतिपय मानिसहरुले आईसीसीले बिगार्‍यो पनि भन्छन् । तर, उनीहरुले नेपालको क्रिकेट राम्रो होस् भनेर त चाहेका छन् जस्तो लाग्छ । तर, प्रक्रिया धेरै नै सुस्त भएको छ । त्यो गुनासो हामी सबैलाई छ । त्यो वातावरण पनि हामी आफैले दिएको वातावरण नै त हो । हाम्रो घर अरुलाई आएर चलाइदे भन्छौँ भने त यो भन्दा लाजमर्दो अरु के हुन्छ र ?

खेल हार्दा बसन्त तिमीले राम्रो बलिङ गरेनौ, शरद तिमीले राम्रो ब्याटिङ गरेनौ, दिपेन्द्र तिमीले क्याच छोड्यौ भनेर दोष दिन मिल्छ त ? हारको जिम्मेवारी होस् या जितको खुसी सबै खेलाडीको बराबर हुन्छ नि । संघमा पनि त्यस्तै हो । काम कोही एक जनाले बिगारेको भए पनि जिम्मेवारी सबैले लिएर सुधारतिर गएको भए यो अवस्था नहुन सक्थ्यो नि । नराम्रो हुँदा तैँले यस्तो गरिस्, तैँले यस्तो गरिनस् भन्ने अनि राम्रो हुँदा हामीले गर्दा क्रिकेट यहाँ पुग्यो भन्ने ? जबकि संघले क्रिकेटका लागि गरेको भनेको प्रशिक्षक आउँदा होटलको बिल तिरिदिने मात्रै हो । नेपाली क्रिकेट यहाँ पुग्नुमा उहाँहरुको कुनै योगदान छैन ।

***

क्रिकेट संघ निलम्बनमा परेपछि खेलाडी छनोटमा जगत टमाटा गुरु, म र आईसीसीको प्रतिनिधि छौँ ।

हामीले जतिसक्दो राम्रो खेलाडी होस् भनेर छान्ने हो । तर, जुन टिम हुँदा पनि यसको ठाउँमा यो हुनुपर्ने, त्यसको ठाउँमा त्यो हुनुपर्ने भनेर आलोचना त भइहाल्छ । नतिजा राम्रो हुँदासम्म कसैले केही भन्नुहुन्न, हारेपछि यसो गरेको भए हुन्थ्यो कि भन्ने त भइहाल्छन् । कतिपय अवस्थामा राम्रो गरेका खेलाडी पनि छानिँदैनन् । एक दुई खेललाई हेरेर छनोट गर्न पनि त अप्ठेरो हुन्छ । टिमको सन्तुलन पनि विचार गर्नै पर्छ । यसले केही खेलाडीलाई कुनै बेला अन्याय भएको हुन पनि सक्छ ।

यद्यपि पछिल्लो समय खेलाडी छनोटमा विकल्प बढेको छ । पहिले २०/२५ जनाबाट छनोट गर्नुपथ्र्यो भने अहिले ३०/३५ जनाबाट छनोट गर्न पाइन्छ ।

***

म अर्को ६ महिना खेल्छु, ६ वर्ष खेल्छु या एक महिना, एक वर्ष कति खेल्छु भन्ने मलाई नै पनि थाहा छैन । कप्तान, खेलाडी भएकाले नयाँ खेलाडी अघि आउन् भनेर जहिल्यै सोच्नै पर्छ । जिम्मेवारी दिन सक्ने अवस्था आउँदा खुसीसाथ नै म कप्तानी हस्तान्तरण गरेर क्रिकेटमा लागिरहन चाहन्छु नै । क्रिकेटबाट टाढा हुन त असम्भवै छ । म जे छु क्रिकेटकै कारण छु ।

क्रिकेटले नै आज यसरी बोल्न सक्ने भएको छु, अन्तर्वार्ता दिन सक्ने भएको छु । धेरै जना मान्छेले चिन्नुहुन्छ, माया गर्नुहुन्छ । क्रिकेटले मलाई दिएको इज्जत पनि त्यही हो । त्यो इज्जतलाई मैले राम्रो क्रिकेट खेलेर नै बचाउने हो । आज नेपालले जित्दा करोडौं मान्छे खुसी हुनुहुन्छ । त्यो खुसी दिन पाउँदा हामीलाई पनि असाध्यै खुसी मिल्छ ।

अँ ! एउटा कुरा भन्नै भुलेछु, यदि क्रिकेटर नभएको भए म पक्कै आर्किटेक्रचर इन्जिजियर हुन्थेँ ।

अहिले पनि कतै जाँदा बिल्डिङहरु देेख्यो भने चासो लाग्छ । तर, आज म जहाँ छु क्रिकेटकै कारण छु । अहिले त क्रिकेटबाट मिलेको जस्तो खुसी त अरु के कुराले दिन्थ्यो होला र !

प्रस्तुतिः ऋग्वेद शर्मा

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो पनि पढ्नुहोस ज्ञानेन्द्र मल्ल बन्ने बाटो: प्लाइउडको ब्याट, कागज बेरेर बल !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment