२ मंसिर, काठमाडौं । श्रीलंका भ्रमणमा रहेको इंग्ल्यान्डले एक खेलअघि नै टेष्ट क्रिकेट सिरिज जितेको छ ।
आइतबार सम्पन्न दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकालाई ५७ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिज आफ्नो कब्जामा बनाएको हो । ३०१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले चौथो दिनसम्ममा ७ विकेटको क्षतिमा २२६ रन बनाएको थियो भने जितको लागि ७५ रनको आवश्यकता थियो ।
तर, पाचौं दिनमा ७ विकेटको क्षतिमा २२६ रनदेखि नै ब्याटिङ थालेको श्रीलंकाले थप १७ रन बनाउँदा ३ विकेट गुमायो । श्रीलंकाले सबै विकेटको क्षतिमा २४३ रन मात्रै बनाउन सकेपछि इंग्ल्यान्डले सहज जित निकालेको हो ।
श्रीलंकाका लागि एन्जेलो मेथवसले ८८ र करुणरत्नेले ५७ रन बनाएका थिए । बलिङतर्फ इंग्ल्यान्डका ज्याक लिचले ५ र मोइन अलीले ४ विकेट लिएका थिए । यसअघि आफ्नो पहिलो इनिङ्समा भने श्रीलंकाले ३३६ रन बनाएको थियो ।
इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा २९० रन र दोस्रो इनिङ्समा सबै विकेटको क्षतिमा ३४६ रन बनाएपछि श्रीलंकाले ३०१ रनको लक्ष्य पाएको थियो । इंग्ल्यान्डका लागि कप्तान जोइ रुटले शतकसहित १२४ रन बनाएका थिए ।
बलिङतर्फ श्रीलंकाका अकिला दनन्जयले ६ विकेट लिएका थिए ।
प्रतिक्रिया 4