Comments Add Comment

उपमेयर खड्गीको अनुभव: चीनमा नगरवासीले आफैं सडक सफा गर्दारहेछन् !

४ मंसिर, काठमाडौं । यसैसाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी दुबैले संयुक्तरुपमा चीनका विभिन्न शहरहरुको भ्रमण गरे ।

काठमाडौं शहर र चिनियाँ शहरहरुको भिन्रता के–कस्तो रहेछ ? चीन भ्रमणबाट के सिक्नुभयो र अब काठमाडाैंमा त्यसलाई कसरी प्रयोग गर्नुहुन्छ भनेर हामीले उपमेयर खड्गीसँग सोध्यौं ।

उपमेयर खड्गीले चीनमा सिकेका कुराहरु लागु गर्ने र काठमाडौं महानगरमा सिस्टम बसाउने प्रयत्न गर्ने बताइन् । तर, उनको गुनासो छ– ‘त्यो यात्रामा मैले मेयर सा’बसँग हाम्रो अहिलेको काम गराइको परिपाटी मिलेन भनेर कुरा राखें । तर, उहाँ अगाडि पर्दा ‘हुन्छ, सहकार्य गरेर अघि बढौं’ भन्नुहुन्छ । व्यवहारचाहिँ उल्टो गर्नुहुन्छ ।’

उपमेयर खड्गीको चीन भ्रमणको अनुभव उनकै शब्दमा:

भर्खरै हामी चीन भ्रमण गरेर फकियौं । एक साताको औपचारिक कार्यक्रम भएकाले धेरै ठाउँ अवलोकन गर्ने तालिका थिएन । तर, जहाँ–जहाँ पुग्यौं, हामी पनि कम छैनौं जस्तो लाग्यो । पूर्वाधार विकासमा उनीहरुले ठूलो फड्को मारे पनि हामीकहाँ जति सम्पदा, प्राकृतिक स्रोत साधन र सौन्दर्य छैन भन्ने लाग्यो ।

त्यहाँको फोहोर व्यवस्थापनमा नगरवासी एकदमै अनुशासित । सिस्टम बसालेपछि नगरवासीले घर–आँगन मात्र होइन, अगाडिको सडक पनि सफा गर्दा रहेछन्

भ्रमणको पहिलो दिन गत सोमबार ल्हासा र त्यहाँबाट छेन्दु पुग्यौं । छेन्दुको एक दिने बसाइमा हामीले नगरभित्रको नदी कसरी डाइभर्ट गर्न सकिन्छ भनेर हेर्‍यौं। त्यो तरिका काठमाडौं महानगरमा पनि अपनाउन सक्छौं जस्तो लाग्यो । नगर व्यवस्थापन र पूर्वाधार विकासमा उनीहरुले अपनाएको विधि पछ्याउन र सहकार्य गर्न सकिन्छ भन्ने लाग्छ ।

त्यहाँको फोहोर व्यवस्थापनमा नगरवासी एकदमै अनुशासित । सिस्टम बसालेपछि नगरवासीले घर–आँगन मात्र होइन, अगाडिको सडक पनि सफा गर्दा रहेछन् । त्योखालको परिपाटी र कडीकडाउ हामीकहाँ पनि हुन जरुरी छ ।

बुधबार, विहीबार र शुक्रबार हामी उहानमा भएको सम्मेलनमा सहभागी भयौं । सम्मेलन चाइनिज पिपुल्स एशोशिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज (सीपीएएफएफसी), चाइना इन्टरनेशनल फ्रेन्डसिप एशोसिएन (सीआइएफसीए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले आयोजना गरेका हुन् । त्यहाँ हामी ल्हासा नगरको निमन्त्रणामा गएका थियौं । सम्मेलनमा विश्वभरका ८०० नगरका प्रतिनिधि सहभागी थिए ।

आधुनिक र वातावरणमैत्री सहर निर्माण तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान–प्रदान गर्न आयोजना गरिएको त्यो सम्मेलनमा केही देशका नगर प्रतिनिधिहरुले आफ्नो सिटीको विकासको मोडेल प्रस्तुत गरे । हामीले भने आयोजकद्वारा निर्धारित तालिकाका कारण काठमाडौंको केही देखाउने अवसर पाएनौं ।

सम्मेलनस्थल उहानबाट ४०–४५ मिनेटको दुरीमा थियो । त्यो यात्राको दौरान मैले के महसुस गरें भने, विकास गर्न सके त्यति ठूलो सम्मेलन हल नगरभित्रै हुनुपर्छ भन्ने नहुँदो रहेछ । सहज आवागमन भए एक घण्टाको दुरीमा ठूला हलहरु बनाएर कार्यक्रम गर्न सकिने रहेछ । ८ लेनको सडक, कतै रोकिनु नपर्ने ।

काठमाडौंका सडक एकदमै साँघुरा छन् । फराकिलो पार्ने ठाउँ भेट्ने अवस्था छैन । अब हामीले वरपरका नगरको पूर्वाधार विकासमा पनि ध्यान दिन र सघाउन जरुरी छ । काठमाडौंमा हामीले चिनियाँ सहरका जस्तै ठुल्ठूला हलहरु बनाउन नसकौंला, तर धुलिखेलमा त सकिन्छ नि । धुलिखेल जाने–आउने सडक सहज हुने हो भने त्यस्ता हल काठमाडौंमै हुनुपर्छ भन्ने हुँदैन ।

सम्मेलनस्थलतिरको त्यो यात्रामा मैले मेयर सा’बसँग हाम्रो अहिलेको काम गराइको परिपाटी मिलेन भनेर कुरा राखें । जुन–जुन पार्टीबाट निर्वाचित भए पनि हामी काम गर्ने एकै ठाउँमा छौं, आग्रह–पूर्वाग्रह राखेर हुँदैन भनें । तर, उहाँ अगाडि पर्दा ‘हुन्छ, सहकार्य गरेर अघि बढौं’ भन्नुहुन्छ । व्यवहार चाहिँ उल्टो गर्नुहुन्छ ।

स्थानीय तहको निर्वाचन भएको एक वर्षभन्दा बढी भयो । तर, अहिलेसम्म देखिने गरी काम गर्न सकिएको छैन । महानगरभित्र आपसी सहकार्य नहुँदा यस्तो भएको भन्ने मलाई लाग्छ । वर्ष दिन बित्दै गर्दा महानगरभित्र सिस्टम बसाल्न संघर्ष गरिरहेकी छु ।

चीनका नगरहरु सिस्टममा चलेका छन् । विकास भन्ने कुरा सिस्टम बसालेपछि मात्र हुन्छ । काठमाडौं महानगरले पनि सिस्टम बसालेर नगरवासीलाई अनुशासित बनाउनुपर्छ । अझै कतिपय निकाय महानगर मातहत छैनन् । त्यसले गर्दा पनि काम गर्न अफ्ठ्यारो भएको हो ।

बेलुका पुरेको खाल्डो बिहान सडक विभागले खनेको हुन्छ । महानगरभित्रको सडक त हाम्रो मातहतमा आउनुपर्‍यो नि । केन्द्र सरकारले पनि सोच्नुपर्‍यो– सबैले आ–आफ्नै ढंगले काम गर्ने हो भने अवस्था फेरिन्न ।

हुआनको पाँचदिने बसाइमा घाम नै देखिएन । हिमाल, पहाड केही देखिएन । कम्तिमा त्यस्तो अवस्था त हाम्रो यहाँ छैन । काठमाडौं महानगरभित्र यति धेरै ऐतिहासिक संरचनाहरु छन्, तर सिस्टम नहुँदा भद्रगोल देखिएको छ । आफूसँग भएका चिज पनि देखाउन नसक्ने भयो काठमाडौं । उनीहरुले पूर्वाधार विकासमा दुरदर्शिता देखाए, सिस्टम बसाए ।

काठमाडौं महानगरका १८/१९ सय कर्मचारीलाई सिस्टममा चलाउन सके पुग्छ । तर, मेयर सा’बले मसँग सल्लाह नै लिनुहुन्न । सबै चिज आफ्नो मुठ्ठीमा राखेर सफल भइँदैन

भ्रमणको अन्तिम दिन छेन्दु नगरका मेयरसँग ब्रेकफास्ट मिटिङ भयो । त्यहाँको विकास अवधारणा हामीले पनि अपनाउन सक्छौं भन्ने लागेर हामीले एउटा सर्भे टिम पठाउन आग्रह गरेका छौं । अब काठमाडौं महानगरको विकास कसरी अघि बढाउँदा उपयुक्त हुन्छ भनेर अध्ययन गर्न र त्यसै अनुसार पूर्वाधार बनाउन सकिन्छ ।

सम्पदाको हिसाबले हामी धेरै धनी छौं । तर, हाम्रो सहरमा थपिँदै गरेका नयाँ वस्तीहरु हेर्दा बिनाकुनै भिजन मनपरी घर बनाउने होड चलेको देखिन्छ । यसलाई महानगरले रोक्न सक्नुपर्छ । भिजनका साथ तयार पारिएको पूर्वाधारले सहरको बिकाससँगै मान्छेको दैनिकीलाई पनि सहज पार्छ ।

काठमाडौंका सडक अब बढाउन सकिने अवस्था छैन । घर भत्काएर सडक विस्तार गर्न सकिने कुरा भएन । गाडीको संख्या भने बढेको बढ्यै छ । हामीले अब गर्न सक्ने भनेको आवागमन, फोहोरमैला, तार व्यवस्थापन नै त हो । आवागमन सहज पार्न मोटरसाइकल लगायत निजी गाडी बिक्री रोक्ने एउटा विकल्प हुन सक्छ । तर, बिना भिजन हतारमा कदम चाल्नुहुँदैन ।

म उपप्रमुख भएकाले कार्यकारी अधिकार छैन । तर, महानगरभित्रको कुन विभागले, के काम गरिरहेको छ भन्नेबारे म पनि अपडेट हुनुपर्छ । निर्णय गर्दा मेरो पनि सहमति आवश्यक हुन्छ । मेयर सा’बले आफ्नो बहुमत भयो भन्दैमा मनपरी गर्न मिल्दैन ।

निर्वाचित भएर आएको केही महिना त कर्मचारीहरु पनि भएका प्रगति विवरण दिन म कहाँ आउँथे । तर, आजकल टेर्दैनन् । मेयरका पछि लागे हुन्छ जस्तो गरेका छन्, कर्मचारीले । उनीहरुलाई डर छ– यताउता गरे मेयरले सरुवा गर्देलान् । राजनीतिक आस्थाका आधारमा कर्मचारीसँग व्यवहार गर्ने परिपाटीले यस्तो भएको हो ।

काठमाडौं महानगरका १८/१९ सय कर्मचारीलाई सिस्टममा चलाउन सके पुग्छ । तर, मेयर सा’बले मसँग सल्लाह नै लिनुहुन्न । सबै चिज आफ्नो मुठ्ठीमा राखेर सफल भइँदैन ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment