Comments Add Comment

सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने अध्ययनको निश्कर्ष

४ मंसिर, काठमाडौं । बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको सडक हुँदै यात्रा गर्नु ‘मृत्युका लागि तयार’ हुनुजस्तै हो । किनभने यो पहिरोबाट कतिखेर ठूला चट्टान खस्छ भन्ने ठेगान हुँदैन । जसले ज्यानको माया मारेर यात्रा नगरी सुखै छैन । तर, स्वीस सरकारको सहयोगमा भएको अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने निश्कर्ष निकालिएको छ ।

सडक विभागका प्रवत्तक्ता मुक्ती गौतमका अनुसार यो आयोजनाको विस्तृत सम्भाब्यता अध्ययन गर्न स्वीस सरकारलाई नै जिम्मा दिने विषयमा अर्थ मन्त्रालयसँग सहमति मागिएको छ । प्रारम्भिक अध्ययनबाट सिद्धबाबामा सुरुङमार्ग बनाउन सकिने निश्कर्ष प्राविधिकहरुले निकालेका छन् ।

यसअघि सरकारले सिद्धबाबामा ‘रक सेड’ प्रविधिमार्फत सवारी र यात्रुलाई सुरक्षित गर्ने योजना पनि अघि सारेको थियो । तर, त्यसका लागि अध्ययन भने भएको थिएन ।
सिद्धबाबामा झण्डै एक किलोमिटरको सुरुङमार्ग बनाउन करिब ७ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

सिद्धबाबाको ‘ज्यानमारा’ ढुंगे पहिरोले कतिखेर झरेर टाउकोमा बजारिने हो भन्ने पत्तो छैन । ठाडो चट्टाने डाँडाबाट खसिरहने पहिरोले अहिलेसम्म सयौंको ज्यान लिइसक्यो ।

सरकारले यो पहिरो रोक्न विभिन्न प्रविधिकको प्रयोग नगरेको हाइन । यस्तै दुःख दिने पृथ्वी राजमार्गको कृष्णभीरको पहिरो रोक्न सफल भएको सरकारको प्रविधि सिद्धबाबाको चट्टानमा भने कहिल्यै ‘सिद्ध’ हुन सकेन ।

त्यसैले अब यो स्थानमा ‘सुरुङमार्ग’ निर्माणको प्रस्ताव गरिएको छ ।

सिद्धबाबाको पहिरोमा नरम माटोमा अडिएको चट्टान छ । जुन सुख्खायाममा पनि खस्ने समस्या छ । साँघुरो खोँचमा रहेको सडकको तल तिनाउ नदी बग्छ ।

अप्ठ्यारो ठाउँ भएकाले तीव्रगतिमा सवारी दौडाउन मिल्ने अवस्था पनि छैन । सडक माथिको ठाडो गगनचुम्बी पहाडबाट झर्ने पहिरो रोक्न सक्ने अवस्था पनि छैन । यो पहिरो हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाका गाडी गुड्छन् ।

पहिरोसँगैको चर्चित सिद्धबाबा मन्दिरमा भक्तजनको ठूलो भीड पनि लाग्छ । भक्तजनहरु ठूलो जोखिम मोलेर मन्दिरमा पूजाआजा गर्छन् ।

सरकारले यो पहिरोको समस्या हटाउन विभिन्न प्रयत्न पनि गरेको हो । पहिरोमा गि्रनरी विकास गर्ने, ढुँगाको पर्खाल लगाउने, रक नेट राख्ने लगायतका प्रयास भएका पनि हुन् । यसले माटोसहितको पहिरो र्झन कम भए पनि चट्टान र्झन भने रोकिएको छैन ।

सिद्धबाबाको पहिरोले त्रास नहटेपछि यो राजनीतिक दलको चुनावी एजेण्डा पनि बनेको थियो । त्यसकै आधारमा धेरै उम्मेदवारले यो पहिरो छल्ने गरी सुरुङमार्ग निर्माण गर्ने आश्वासन पनि देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment