Comments Add Comment

राष्ट्रपतिज्यू ! मदनको साइकललाई सम्झनुहोस् !

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, नमस्कार ! हजुरले महंगो गाडी चढ्ने इच्छा जाहेर गरेको झन्नै एक वर्षपछि सरकारले १८ करोड उपलब्ध गराउने निर्णय सार्वजनिक भएको छ । सत्य के हो सार्वजनिक हुँदै जाला । तर मलाई केही कुरा सम्माननीयज्यूसँग राख्न मन लाग्यो ।

नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला भएकोमा कति धेरै गर्व गरेकी थिएँ । अहिले पनि गर्व नै गरिरहेकी छु । निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको दिन मेरो मथिंगल बेस्सरी खल्बलिएको थियो । पछि महाअभियोग फिर्ता भयो । राम्रो भयो ।

सम्माननीय राष्ट्रपतिज्यू ! खासगरी किशोरीहरू बलात्कृत हुने र हत्या गरिने मुटु चिमोट्ने समाचारहरू प्रत्येक दिनजसो आइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको समाचार त अन्तरराष्ट्रिय नै बन्न पुग्यो । सरकारले बलात्कारी, हत्यारालाई अहिलेसम्म गिरफ्तार गर्न सकेको छैन । खासमा भन्ने हो भने चाहेको छैन । यस दुःखद घटनाले नेपाल र नेपालीको शीर अन्तरराष्ट्रियरूपमै झुक्न पुगेको छ । विश्वसामु हामी नेपालीको बेइज्जत भएको छ । के अब हजुरले महंगो विलासी गाडी चढेर गुमेको इज्जत फिर्ता हुन्छ र ?

छाउगोठमा सुतिरहेका युवती सर्पले डसेर मृत्यु हुने क्रम रोकिएको छैन । तेजाब आक्रमणको आतंक पनि घटेको छैन । जताततै महिला हिंसाका घटना भइरहेका छन् । हिंसा घट्नुको साटो बढिरहेको छ । असुरक्षाको आतंकले हामी नेपाली नारीहरू मानसिक रोगी बन्दै गइरहेका छौं । यस्तो बेलामा महंगो विलासी गाडी चढ्नेतिर भन्दा हजुर पनि नारी हुनाको नाताले हामी नारीहरूको सुरक्षालाई कसरी सुनिश्चित गर्न सकिन्छ, त्यतातिर पो गम्भीर भएर सोच्ने हो कि ?

गर्भवती आमाहरूले पौष्टिक खाना खान नपाउँदा बच्चाहरू आमाको पेटमै कुपोषणको शिकार बनिरहेका छन् । स्वास्थ्य चौकीसम्म लगेर सुरक्षित रूपमा सुत्केरी गराउन नपाउँदा वर्षेनी हजारौं आमा र बच्चाको अकालमा ज्यान गइरहेको छ । अन्धविश्वास र सामाजिक विभेदको शिकार पनि सबैभन्दा बढी हामी महिला नै हुनु परिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई उच्च सम्मानसहित मेरो हार्दिक अनुरोध छ-हजारौं शहीदहरूको बलिदान, हजुरकै जीवनसाथी, नेपाली जनताका प्यारा नेता मदन भण्डारीलाई सम्झनुहोस् । मदनले चढ्ने गरेको साइकललाई सम्झनुहोस्

दैनिक हजारौं युवाहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । ५० डिग्रीको तापक्रममा जीवन हत्केलामा राखेर युवाहरूले कमाएर पठाएको विप्रेषणबाट सरकार आर्थिक बृद्धिदर हृवात्तै बढेको र नेपाली पनि धनी हुँदै गएको भ्रम बाँडिरहेको छ ।शिक्षामा सरल पहुँच नहुँदा बालबालिकाहरू स्कूले शिक्षाबाटसमेत वञ्चित भइरहेका छन् । आधारभूत शिक्षा जसोतसो लिएका गरीब विद्यार्थीहरूका लागि उच्च शिक्षा आकाशको फल बनिरहेको छ । कम्युनिस्ट सरकार लाज पचाएर शिक्षा र स्वास्थ्यमा खुलेआम ब्यापार गरिरहेको छ । बर्षौंको महंगो लगानीबाट उत्पादित शिक्षित जनशक्ति बेरोजगार बनेर दिन बिताइरहेका छन् ।

इतिहासमा कहिल्यै नभएका भ्रष्टाचारका काण्डहरू एकपछि अर्को थपिएको थपियै छन् । पहिला-पहिला लाख र करोडमा हुने भ्रष्टाचार, अब त अर्ब र खर्बमा हुन थालेको छ । जानकारहरू एनसेलमा ३३ अर्ब, कर फछ्र्यौैट आयोगमा २१ अर्ब, बुढीगण्डकीमा ७ अर्ब र एकजना सहसचिवले २० अर्ब भ्रष्टाचार गरेको जिकिर गरिरहेका छन् ।

ठूला माछा तानिने भएपछि ३३ किलो सुन प्रकरण त्यतिकै सामसुम पारिएको छ । वाइड बडी जहाज खरिदमा अर्बौं भ्रष्टाचार भएको हुन सक्ने आशंका सबैले गरिरहेका छन् । यी त भए सतहमा आएका काण्डहरू । अदृश्य भ्रष्टाचार कति भएका र भइरहेका होलान् ? सम्झँदा मात्र पनि मूर्छा परिएला जस्तो हुन्छ । साँच्चै देश हेर्दा कहीँ, कतै चित्त बुझाउने ठाउँ छैन ।

महामहिमयज्यू ! रिसानी माफ होस् । प्रतिव्यक्ति आय वाषिर्क १ हजार डलर भएको निरपेक्ष गरिबीको रेखामुनि रहेको देशको राष्ट्रपतिले करोडौंको महंगो विलासी गाडी चढ्ने इच्छा राख्नु मात्र पनि आफैँमा भ्रष्टाचार हो । नेपाली जनताले कठोर लडाइँ गरेर व्यवस्था परिवर्तन गरिसकेका छन् । अब जनता आफ्नो अवस्था परिवर्तन गर्न चाहान्छन् । सुशासन र मितव्ययिताबिना अवस्था परिवर्तन सम्भव छैन ।

देशको इज्जत र पदीय मर्यादाका लागि पनि महंगो बिलासी गाडी चढ्नु आवश्यक छ भन्ने तर्क पनि सुनियो । जुनबेला देशका सबै नागरिक सुखी र खुसी हुनेछन्, त्यसबेला स्वतः देशको इज्जत सगरमाथाको शिखरसरी चुलिनेछ । जनतालाई निरपेक्ष गरिबीको रेखामुनि राखेर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरू करोड होइन, अर्बकै गाडी चढेर हिँडे पनि देशको इज्जत रहँदैन ।

जानकारहरूको दाबी छ, अब किन्न लागिएको करोडौंको कार चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्यादिमिर पुटिन र इसाई धर्मगुरु पोप फ्रान्सिसले चढ्ने कारभन्दा महंगो हुनेछ । करोडौंको कारमा राष्ट्रपति चढेपछि के हाम्रो देश नेपाल र हामी नेपाली चीन र रूसभन्दा समृद्ध र शक्तिशाली हुनेछौं ?

नेदरल्याण्डका प्रधानमन्त्री अहिले पनि दैनिक साइकल चढेर कार्यालय जाने-आउने गरेको समाचार भाइरल बनिरहेकै छ । क्रोएसियाका राष्ट्रपति पनि हजुरजस्तै महिला हो । उहाँले र पाकिस्तानका प्रधानमन्त्रीले महँगा विलासी गाडी बेचेर राष्ट्रको ढुकुटीमा रकम जम्मा गरेका समाचारहरू पनि आइरहेका छन् । अनि हजुरलाई चाहिँ करोडौंको विलासी कार चढ्ने भुत किन सवार भएको ? छातीमा हात राखेर सोच्नुस् त सम्माननीयज्यू, के यो अहिलेको आवश्यकता हो ?

सार्वजनिक पद धारण गरेका व्यक्तिहरू निकै अनुशासित र आदर्शवान हुनु पर्छ । सिक्ने भनेको ठूलाबाट नै हो । राष्ट्रपति राज्यकै सर्वोच्च पद हो । राष्ट्रपति स्वयं विलासी र आदर्शहीन भए भने नागरिकले पनि त्यही कुरा अनुशरण गर्दै जान्छ ।

अन्त्यमासम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूलाई उच्च सम्मानसहित मेरो हार्दिक अनुरोध छ- हजुरले कुनै पनि कुराको इच्छा व्यक्त गर्नु र निर्णय लिनुभन्दा पहिले अाफ्नो देश र जनतालाई केन्द्रमा राख्नुहोस् । हजारौं शहीदहरूको बलिदान, हजुरकै जीवनसाथी, नेपाली जनताका प्यारा नेता मदन भण्डारीलाई सम्झनुहोस् ।

मदनले चढ्ने गरेको साइकललाई सम्झनुहोस् । सर्वोच्च पदमा रहनु भएका बेला अहिलेसम्म रहस्यको गर्भमा रहेको दासढुंगा काण्डको सत्यतथ्य सार्वजनिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment