Comments Add Comment

ए डिभिजन लिगः आर्मीले पुलिसलाई हरायो

७ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मीले अर्को विभागीय टिम पुलिसमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

शुक्रबार सादोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले पुलिसलाई १–० गोल अन्तरले हराएको हो ।

आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले आफ्नो टिमले राम्रो नतिजा निकालेको बताएका छन् । तर, मिडफिल्ड र फरवार्ड लाइनमा चल्न नसक्दा भने दबाब झेल्नुपरेको स्वीकार गरे ।

उनले भने, ‘गोल गरेपछि डिफेन्स लाइनलाई बिलियो बनाउनेतर्फ लागेँ । पहिलो हाफमा ५०–५० थियो । तर दोस्रो हाफमा मिडफिल्डमा चल्न सकेन । हाम्रो फिनिसिङमा पनि समस्या देखियो ।’

पुलिसका प्रशिक्षक अनन्त थापाले सुधार गर्नुपर्ने ठाउँ धेरै रहेको बताए । उनले भने, ‘स्पष्ट तीन अंकको लागि खेलेका थियौं । राम्रो खेल्यौं तर गोल हान्न सकिएन । आगामी खेलमा कमजोरी सुधार्दै राम्रो खेल्छौं ।’

खेलको ३० औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको आर्मीले दोस्रो हाफमा पनि गोल गर्ने अवसर पाएको थियो । तर एकपछि अर्को राम्रो अवसर खेर पठाउँदा आर्मीले गोल गर्ने अवसर चुकाएको थियो ।

पुलिसले भने दोस्रो हाफमा अवसर धेरै खेर फाल्यो । ७५ औं मिनेटमा सुमन लामाको कर्नर किकमा कप्तान विक्रम धिमालले गरेको हेड पोष्टभित्रबाट आर्मीका सुमन अर्यालले बचाएका थिए ।

शुक्रबार नै हलचोकस्थित एपीएफको खेल मैदानमा भएको खेलमा संकटा क्लबले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ ।

संकटाले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ६४औं मिनेटमा नितिन थापाको गोलबाट अग्रता लिएको संकटाका लागि ८६औं मिनेटमा अमित तामाङले गोल गर्दै जित सुनिश्चित गरे ।

लगातार तेस्रो जितसँगै संकटा लिग लिडर मनाङसँग अंक बराबरी गर्दै दोस्रो स्थानमा उक्लिएको छ । दुबैको ९ अंक छ ।

पराजित मछिन्द्र क्लबको भने तीन खेलबाट दुई अंक छ । तीन खेलमा दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको आर्मीको ७ अंक हुदा पराजित पुलिसको भने तीन खेलबाट चार अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment