Comments Add Comment

कृषि र वन विश्वविद्यालयका निजी क्याम्पसको भर्ना रोक्का

१२ मङ्सिर, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक र विद्यार्थी आन्दोलित बनेपछि निजी क्याम्पसमा खुलाइएको भर्ना प्रक्रिया रोक्का गरिएको छ । विश्वविद्यालयले डिनको कार्यालयलाई हालका लागि सम्बन्धन प्राप्त निजी क्याम्पसके भर्ना प्रक्रिया रोक्का गर्न निर्देशन दिएको थियो ।

विश्वविद्यालयको कृषि सङ्कायका डिन जयप्रकाश दत्तका अनुसार मङ्गलबार बसेको भर्ना समितिले विश्वविद्यालयको निर्देशनअनुसार भर्नाको सूचना संशोधन गरी हाललाई निजी सम्बन्धनको भर्ना प्रक्रिया रोक्का गर्ने निर्णय गरिएको हो । यससँगै वन सङ्कायको पनि निजीको भर्ना प्रक्रिया रोक्का हुने बताइएको छ ।

दत्तका अनुसार विश्वविद्यालयको रामपुरमा रहेको क्याम्पस र आङ्गिक क्याम्पसका लागि भने यही भर्नाको सूचनाबाट आवेदन दिएकाले प्रवेश परीक्षा दिन पाउनेछन् । निजीलाई सम्बन्धन दिने/नदिने विषयमा सर्वोच्च अदालतले पुस २६ गते सुनुवाइका लागि पेशी तोकेको छ । सो पश्चात निजीको भर्ना प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्णय गरिने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । त्यही दबाबमा मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । सो पश्चात् सम्बन्धन पाएका निजी क्याम्पस सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चबाट मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भन्ने अन्तरिम आदेश जारी भएसँगै विश्वविद्यालयलाई भर्ना खोल्ने बाटो खुलेको विश्वविद्यालयले जनाएको थियो ।

सो पश्चात् विद्यार्थीले सम्बन्धन दिने निर्णयविरुद्ध रिट निवेदन पेश गरेको भए पनि सर्वोच्चले अन्तरिम आदेश जारी गर्न नपर्ने भन्ने आदेश दिएको छ । तर विश्वविद्यालयले आन्दोलन थेग्न नसकेपछि सर्वोच्चको सुनुवाइ कुर्ने गरी हालका लागि निजीको भर्ना प्रक्रिया रोक्का गरेको हो ।

विश्वविद्यालयको कृषि सङ्कायको डिनको कार्यालयले कात्तिक २५ गतेबाट मङ्सिर १७ गतेसम्म अनलाइनमार्फत भर्ना फारम खोलेको थियो । वन सङ्कायले कात्तिक २० गते नै भर्ना खोलेको थियो । वनको मङ्सिर १६ गतेसम्म भर्ना फारम भर्ने समय तोकिएको छ ।

वनको मङ्सिर २२ गते र कृषिको मङ्सिर २९ गते प्रवेश परीक्षा लिने तयारी गरिएको छ । विश्वविद्यालयले निजी सात क्याम्पसलाई कृषि स्नातक र एउटा क्याम्पसलाई वन स्नातकका लागि सम्बन्धन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment