Comments Add Comment

सहकारी सञ्चालकमाथि लाग्यो ८ करोड ठगीको आरोप, प्रबन्ध निर्देशक पक्राउ

१७ मंसिर, काठमाडौं । काठमाडौंको धर्मपथमा रहेको एयरटेल सहकारी संस्थाका बचतकर्ताको ८ करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको आरोपमा प्रहरीले प्रबन्ध निर्देशकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा घर भइ काठमाडौं बस्दै आएका प्रबन्ध निर्देशक अशोक गोयल छन् । उनलाई न्यूरोडबाट पक्राउ गरी ठगी मुद्दामा ५ दिनलाई म्याद लिएर छानबिन भइरहेको छ ।

संस्थाकी अध्यक्ष एवं प्रबन्ध निर्देशक गायलकी श्रीमती सुमन केडियासहित घटनामा संलग्न ५ जना अझै फरार छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाले पीडितहरुले प्रहरीमा किटानी जाहेरी दिएपछि अनुसन्धान थालिएको पुष्टि गरे ।

‘पीडितले सहकारीमा हिनामिना भयो भनेर उजुरी दिएका छन्’, लामाले अनलाइनखबरसँग भने, ‘सहकारी डिभिजन कार्यालयमा पनि उनीहरुले कारबाहीका लागि निवेदन दिएका रहेछन् । त्यहाँबाट पनि हामीलाई पत्राचार भएपछि एक जनालाई नियन्त्रणमा लिएका छौं ।’

पीडितको संख्या दैनिक बढ्दै

एयरटेल संस्थाबाट ठगिएको भन्दै उजुरी दिनेको संख्या अहिले ३० जना पुगिसकेको छ । उजुरी दिनेहरुमा अधिकांश माडवाडी समुदायका व्यवसायी छन् । उजुरी दिने केहीमा अशोक वंशल, सिमा वंशल, सारिका जैन लगायत छन् ।

‘अहिले पनि एयरटेल संस्थाबाट ठगिने व्यक्तिहरुको उजुरी आउने क्रम जारी छ’, परिसरका एक अधिकारीले भने, ‘५० करोडसम्म बिगो दाबी पुग्ने हाम्रो अनुमान छ ।’

पीडितहरुले भने रकम हिनामिना गरेर सञ्चालकहरुले अचल सम्पत्ति खरिद गरेको आरोप लगाएका छन् । स्रोतका अनुसार सहकारीमा रकम जम्मा गर्नेमा अधिकांश भारतीय मुलका नेपाली छन् ।

‘त्यहाँ रकम जम्मा गर्ने पनि दुई किसिमका व्यक्तिहरु देखिन्छन्’, स्रोतले भन्यो, ‘एक प्रकारकाले ५/१० लाख राखेका छन् भने अर्का किसिमकाले ठूल्ठूलो एमाउन्टमा रकम राखेका छन् । एउटै व्यक्तिले ३/४ करोड राखेको पनि भेटिएको छ ।’

अवैध रकम सहकारीमा ?

संस्थाका कर्मचारीहरु पनि तलब नपाएको भन्दै असन्तुष्ट छन् । उनीहरुरुले पनि प्रहरीमा उजुरी दिने तयारी गरेका छन् ।

अनलाइनखबरसँगको सम्पर्कमा आएका एक कर्मचारीले भने, ‘यो सहकारीमा रकम राख्ने जति पनि व्यापारी छन्, उनीहरुमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा लगाउन सकिन्छ । उनीहरुको देखाउन मिल्ने स्रोत छैन ।’

‘अहिले सहकारी नियमन गर्ने दह्रो निकाय छैन । महानगरपालिका मातहत आएपछि त झन् ठप्प छ’, ती कर्मचारीले सुनाए, ‘त्यसैले अहिले अवैध रकम राख्ने ठाउँ सहकारी बनेको छ ।’

जसको फाइदा उठाउँदै सञ्चालकहरुले रकमको अनियमितता गरेको उनको दाबी थियो । प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment