Comments Add Comment

दाम्पत्य सुखको खातिर तपाईसँग केही प्रश्न गरौं ?

यो लेख एक प्रश्नोत्तरबाट सुरु गरौं । यसको केही सर्त छन् । यसमा श्रीमान् र श्रीमती दुबैले भाग लिनुपर्नेछ । यी प्रश्नोत्तरले के प्रष्ट पार्नेछ भने, तपाईको दाम्पत्य तालमेल कति मिलेको छ ? तपाईहरु श्रीमान्-श्रीमतीबीच कति राम्ररी सहकार्य हुने गरेको छ ? पारिवारिक सुखका लागि दुबैको उपस्थिति र सहभागिता कस्तो छ ?

किनभने दाम्पत्य सुखको पहिलो खुड्किलो नै दम्पतीबीचको राम्रो तालमेल हो । जब श्रीमान् र श्रीमती एकअर्काको परिपूरक बन्छन्, परिवारमा सुख छाउँछ । खुसी छाउँछ । समृद्धि छाउँछ ।

दम्पतीबीच तालमेल भनेको भावनात्मक, व्यवहारिक एवं घरायसी काममा उनीहरुको सहकार्य कस्तो रहन्छ भन्ने हो ।

यो प्रश्न श्रीमानका लागि 

अहिले भान्सामा के-के सामाग्री सकिएको छ ? तेल, नुन, मरमसला, गोलभेडा, तरकारी, साबुन, ग्यास ? यसबारे तपाईलाई केही जानकारी छ ?

बालबच्चाको लागि जोहो गरिएको जाडोको लुगाफाटो कहाँ राखिएको छ ? के तपाई ति सजिलै फेला पार्न सक्नुहुन्छ ?

छोराछोरीले नियमित होमवर्क गरिरहेका छन्/छैनन् ? उनीहरुको बारेमा विद्यालयबाट के-कस्ता प्रतिक्रिया आइरहेको छ ?

घरका कुनै सदस्य बिरामी भएमा घरेलु औषधी बनाएर ख्वाउन सक्नुहुन्छ ?

आमा-बुवाले कुन-कुन समयमा कति मात्रामा औषधी सेवन गरिरहनुभएको छ ?

शनिवार वा विद्यालय विदा भएको दिन बच्चाहरुले के गर्ने योजना बनाएका छन् ?

उल्लेखित प्रश्नको जबाफ दिन सक्नुभयो भने त्यसले के संकेत दिन्छ भने, तपाई पारिवारिक मूल्य र मान्यतालाई बुझ्नुहुन्छ । घरायसी काम-काजमा सघाउनुहुन्छ । छोराछोरीको केयर गर्नुहुन्छ । यदि यी प्रश्नको जवाफ ‘थाहा छैन’ भन्ने आउँछ भने, बुझ्नुपर्छ तपाई घरभित्रको कुरामा उति चासो दिनुहुन्न । वा तपाईलाई फुर्सद छैन । वा रुची छैन ।

अब लागौं श्रीमतीतर्फ 

तपाईको मासिक घरखर्च लगभग कति छ ? बैंक वा कुनै वित्तिय संस्थाबाट लोन लिनुभएको जानकारी छ ? घर बनाउन, गाडी खरिद गर्न वा अन्य भैपरी आउने कामका लागि कतैबाट सहयोग लिएको जानकारी छ ?

श्रीमानको लक्ष्य के छ ? घर जोड्ने, कुनै क्षेत्रमा प्रगति हासिल गर्ने, आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि बढ्ने ? साथसाथै यसका लागि उनले कुन किसिमको प्रयास गरिरहेका छन् ? आफ्नो सफलता वा उन्नतीका लागि के-कस्तो प्रयास  गरिरहेका छन् ?

विद्यालयको शुल्क, पानी-बत्तीको शुल्क नियमित भुक्तान भइरहेको छ वा छैन भन्ने कुनै जानकारी छ ?

परिवारका आयआर्जनको मूल श्रोत के हो ? कति छ ? ऋण कति छ ? आय-व्यायको स्थिती के छ ? घरखर्च कसरी धानिएको ? इत्यादी कुरामा तपाईको चासो कति छ ?

श्रीमानकोसाथीभाई, आफन्त, नातेदारसँग कस्तो सम्बन्ध छ ? ?

परिवारका सदस्य वा पितापूर्खाको अवस्था के छ ? परिवारका हाँगाबिगा कहाँ-कहाँ छन् ? पारिवारिक सम्बन्ध बलियो बनाउन तपाईको भूमिका के छ ?

उल्लेखित प्रश्नहरुको उत्तर सकारात्मक आउँछ भने, तपाई घर-व्यवहारमा चासो राख्नुहुन्छ । पहुँच राख्नुहुन्छ । घरायसी स्थिती के छ र त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरामा लागिपर्नुहुन्छ । पारिवारिक सुखको लागि तपाई पनि एकढिक्का भएर लाग्नुहुन्छ ।

यदि यी प्रश्नहरुको जवाफ ‘थाहा छैन’ भन्ने आउँछ भने, तपाईलाई घर-व्यवहारको जानकारी छैन । वा चासो छैन । वा त्यसबारे कुनै जानकारी दिइएको छैन ।

दाम्पत्य तालमेल

हामी परिवार सुखको कुरा गर्छौं । दाम्पत्य सुखको कुरा गर्छौं । यसका लागि धन दौलत जोडेर मात्र हुँदैन । मन जोड्नुपर्छ । मन तब जोडिन्छ, जब एकअर्काको निम्ति परिपूरक भइन्छ । अर्थात एउटा माटो भए अर्को ढुंगा ।

दाम्पत्य जीवनलाई सुखमय बनाउन श्रीमान्-श्रीमतीबीच विशेष तालमेल चाहिन्छ । तर, अक्सर परिवारमा दुबैबीच खास तालमेल मिलिरहेको हुँदैन । एउटा अगाडि तान्न खोज्छ, अर्को पछाडि पर्छ । एउटाले उठाउन खोज्छ, अर्को लम्पसार परिदिन्छ ।

अर्थात दुबैको समान प्रयास, श्रम हुँदैन । त्यही कारण त दम्पतीबीच मिलोमतो हुँदैन । एकजनामाथि अर्को हावी हुन्छ । यसले उनीहरुबीचको प्रेम, विश्वास, आडभरोसामा भाँजो हाल्छ । अन्ततः दाम्पत्य कलह पैदा हुन्छ । त्यसले उनीहरुलाई कहिल्यै सुखी र खुसी हुन दिदैन ।

त्यसो भए के गर्ने त ?

हरिवंश आचार्यले गाएजस्तै, दुबै बराबर हुनुपर्छ । एउटाले भात पकाए, अर्कोले भाँडावर्तन सफा गर्नुपर्छ । एउटाले बाहिरबाट कमाएर ल्याए, अर्कोले त्यसलाई जतन गर्नुपर्छ । एउटाले छोराछोरीलाई खेलाए, अर्कोले टिफिन तयार गरिदिनुपर्छ । यो भनेको व्यवहारिक तालमेल हो । यसरी आपसमा मिलेर काम गर्दा दुबैले थिचोमिचो अनुभव गर्नुपर्दैन ।

तिम्रो मेरो माया बराबर

‘मेरो माया ९९ सय, तिम्रो माया सय

एक थप्छु म पनि हुन्छ दुई सय

बराबर, तिम्रो मेरो माया बराबर’

हास्य अभिनेता हरिवंश आचार्य र सुकमित गुरुङले बर्षौं अघि भाका हालेको यो गीतले वैंशालु माया-प्रेमको कुरा गर्दैन । बरु, दाम्पत्य जीवन र पारिवारिक सम्बन्धको कुरा गर्छ । गीतले भन्छ, ‘घरको सबै काम तिमी र म  मिलीजुली गरौं । त्यसो भएमा हाम्रो परिवार सुखी हुन्छ । खुसी हुन्छ ।’

यो गीत किनपनि सान्दर्भिक छ भने, हाम्रो पारिवारिक संरचना त्यती कसिलो र रसिलो छैन । यसो हुनुमा कामको समुचित बाँडफाड नहुनु पनि हो । पितृसतात्मक परिवारमा अक्सर महिलालाई घर-भान्साको काममा सीमित गर्नुपर्छ भन्ने मनोविज्ञानले जरा गाडेको छ । नपत्याए तपाई/हाम्रो घरमा हेरौं, भान्सामा काम गर्ने भनेका आमा, भाउजु, बुहारी वा चेलीबेटी हुन् । अर्थात केटामान्छे सायदै भात-भान्साको काममा खटिन्छन् ।

यस्तो लाग्छ, भात पकाउनु, कुचो लगाउनु, भाँडावर्तन सफा गर्नु, बालबच्चाको टिफिन तयार गरिदिनु, लुगाफाटो मिलाइदिनु सबै काम श्रीमतीको (आमा, बुहारी, चेलीबेटी जो कोही नारी हुनसक्छ) पेवा हो । यस काममा पुरुष वा केटामान्छेको कुनै दायित्व छैन ।

किन छैन ?

किनभने केटामान्छे घरका मूली हुन् । घरमूली । उसले बाहिरको काम सम्हाल्छन् । घर व्यवहारको काम गर्छन् । पैसा कमाउँछन् । ऋणपान तिर्छन् ।

यहाँसम्म ठिक छ । तर, वर्तमान समाजमा दुबै काममा श्रीमान्-श्रीमतीको सराबरी उपस्थिती र सहभागी आवश्यक हुन्छ । तबमात्र पारिवारिक एवं दाम्पत्य सुख मिल्छ ।

आ-आफ्नै डम्फू होइन, एकअर्काको परिपूरक

पौराणिक शास्त्रहरुले के सिकाएको छ भने, पुरुषले घर बाहिरको व्यवहार सम्हाल्नुपर्छ । नारीले घरभित्रको वातावरण मिलाउनुपर्छ । त्यही कारण कतिपय बुढापाकाले छोरालाई कुचो लगाउन, भाँडावर्तन सफा गर्न दिदैन । उनीहरु भन्छन्, ‘यसरी नामर्द भएर हुन्न, छोरा मान्छेले घरबाहिरको काम गर्नुपर्छ ।’

कुरा एक हिसाबले सही हो । सबैले आ-आफ्नो क्षमता, भूमिका र दायित्व अनुसार काम गर्नुपर्छ । तर, त्यसो भन्दैमा छोराले कुचो समात्नै हुन्न, भात पकाउनै हुन्न, छोराछोरीको लुगाफाटो मिलाइदिनै हुन्न भन्ने पक्कै होइन । किनभने, आधुनिक समाजमा छोरा मात्र घरबाहिरको काममा होइन, छोरी पनि सक्रिय छन् । दुबैको कामको दायरा फराकिलो भएको छ ।

यस्तो अवस्थामा पुरातन सोंचलाई च्यापेर बस्दा दाम्पत्य तालमेल नमिल्न सक्छ । त्यसैले घरबाहिरको होस् वा घरभित्रको दुबैले सराबरी गर्दा बढी प्रभावकारी र नतिजामुखी हुन्छ । यसले श्रीमान्-श्रीमतीमध्ये एकलाई आश्रति, परनिर्भर बनाउँदैन । बरु दुबै एकअर्काको परिपुरक बन्छन् । एकअर्काको साथी र सहयोगी बन्छन् । न कसैले आफु होचो भएको ग्लानी गर्नुपर्छ, न कसैले आफुले मात्र सबैकुराको बोझ बोक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment