Comments Add Comment

कालिका कन्स्ट्रक्सनको बदमासीः दुई वर्षमा सक्नुपर्ने काममा ६ पटक म्याद थपियो

२० मंसिर, मोरङ । एशियाली विकास बैंकको ऋण सहयोगमा विराटनगर महानगरपालिकामा सञ्चालित मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजनाको काम सम्पन्न गर्न ६ पटक म्याद थप गर्दा लागत बढेको छ । २ अर्ब ३९ करोडमा निर्माणको ठेक्का लगाइएको परियोजनाको चार पटक भेरिएसन गरी ६ पटक म्याद थप गर्दा लागत ३ अर्ब १० करोडभन्दा माथि पुगेको छ ।

सामान्यतः एकपटक लागत स्टमेट तयार पारेपछि पटक–पटक भेरिएसन गर्न आवश्यक पर्दैन । तर, बिराटनगरमा सञ्चालित यस परियोजनाका लागि ठेकेदार सीटीसीई–कालिका कन्ट्रक्सन जेभीलाई चारपटक भेरिएसन गरी ६ पटक म्याद थप गरिएको हो ।

कालिका कन्स्ट्रक्सन राप्रपा नेता तथा विक्रम पाण्डेको कम्पनी हो । यो कम्पनीले स–साना ठेकेदार कम्पनीहरुसँग मिलेर देशैभरिका ठूला ठेक्कापट्टा हात लिने र समयमा काम सम्पन्न नगर्ने पाइएको छ । बिराटनगरमा पनि यस्तै ढिलासुस्तीका कारण दुई अर्बमा सकिने काममा तीन अर्ब स्वाहा भएको छ । तथापि राजनीतिक नेतृत्वमा रहेको पहुँचका कारण कालिकाले गरेको बदमासी कारवाहीको विषय नबन्ने गरेको सरोकावालाहरु बताउँछन् ।

सन् २०१३ डिसेम्बरमा सुरु भएको परियोजनाको समयसीमा सन् २०१६ मेसम्म तोकिएको थियो । तर ६ पटक समय थप गरी १५ डिसेम्बर २०१८ समय सीमा दिइएको छ । समयसीमा थप भएस“गै दुई अर्ब ३९ करोड रुपैयाको परियोजना लागत बढेर ३ अर्ब १० करोड रुपैयाँ भन्दा माथी पुगेको हो । महानगरपालिकाले ठेकेदारलाई ३ अर्ब ९ करोड रुपैयाँ भुक्तानी पनि गरिसकेको छ ।

परियोजना प्रमुख इन्जिनियर भरत न्यौपानेले चारपटक भेरिएसन गर्नुपरेकाले परियोजनाका लागि ६ पटक समय थप गरिएको बताए । ठेकेदारले ९९ प्रतिशत काम सकेको बताउँदै उनले डिसेम्बर १५ भित्र परियोजना तयार हुने बताए ।

परियोजनाका लागि बिराटनगर महानगरपालिकाले चार पटकसम्म प्रोजेक्ट भेरिएसन गरी दायित्व पनि घटाएको थियो । ठेक्का सम्झौता हुँदा महानगरपालिका भित्र ६२ किलोमिटर सडक कालोपत्रे, सोही मात्रामा ढल, ३३ किलोमिटर निकास नाला र फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने सम्झौता भएको थियो ।

तर, ५ बर्षको अवधिमा चारपटक भेरिएसन गर्दा ६२ किलोमिटर सडक ४३ किलोमिटरमा झारिएको छ । ढल निर्माण पनि ४३ किलोमिटरमा झारिएको छ । निकास नाला ३६ किलोमिटर बनाइएको छ ।

विराटनगर –१८ जतुवामा फोहोर प्रसोधन केन्द्र निर्माण गरिएको छ । विराटनगर बजारबाट सृजित फोहोर सडकमा बिछ्याइएका अन्डरग्राउण्ड पाइपमार्फत जतुवामा प्रसोधन गरी सिंघिया खोलामा मिसाइनेछ । बजारका ४३ किलोमिटर सडकमा ढलको पाइप कालिकाले बिछ्याएको छ ।

मझौला सहर एकीकृत वातावरणीय सुधार परियोजना निर्माण लागत २ अर्ब ३९ करोडबाट बढाएर २ अर्ब ९५ करोड पुर्‍याइएको थियो । तर, मूल्य समायोजन गर्दा लागत बढेर ३ अर्ब १० करोड भन्दा बढी पुग्ने महानगरका कर्मचारीको भनाइ छ ।

परियोजना प्रमुख न्यौपाने निर्माण सम्झौता हुँदाको र समाप्त हुँदाको बिनिमयदरका आधारमा मूल्य समायोजन हुने भएकाले यति नै पुग्ने भन्ने अवस्था नरहेको बताउँछन् ।

विराटनगरको बजार क्षेत्रमा मझौला सहर एकीकृत बातावरणीय सुधार परियोजनाको दायित्व घटाइएपछि सोही काम गर्न नाम फेरेर क्षेत्रीय सहरी बिकास परियोजना सञ्चालन गरिएको छ । अब क्षेत्रीय सहरी विकास परियोजनाले ५ बर्षको अवधिमा कालिकाले अधुरै छाडेका कामहरु गर्नेछ ।

परियोजना प्रमुख न्यौपाने सम्झौताको समयमा भन्दा थप काम गर्नु परेका कारण चारपटक प्रोजेक्ट भेरिएसन गरिएको बताउँछन् । ‘पहिले पिच गर्ने डिजाइन गरिएको सडकमा साइड नाला थिएन,’ उनले भने ‘धेरै ठाउँमा सडक चौडा पनि गर्नुपर्‍यो ।’

काम गर्दै जाँदा चारपटक भेरिएसन गरिएको बताउँदै उनले बिजुलीको पोल, खानेपानी पाइप रोडसाइड नाला निर्माणको काम गरेको बताए । बिजुलीका पोल र खोपानी पाइप थप गर्नुपरेकाले सुरुको सम्झौता अनुसार काम हुन नसकेको बताए । मझौला सहरी परियोजनाले गर्न नसकेको बाँकी काम सहरी विकास परियोजनाले गर्ने उनले बताए ।

मेयर भन्छन्– अब कालिकालाई समय थपिँदैन

फाइल फोटो

 

कर्मचारीले पटक–पटक थप्दै आएको परियोजना निर्माणको अवधि थप्ने क्रम जनप्रतिनिधि आएपछि पनि निरन्तर चलिरह्यो । बिराटनगर महानगरपालिका मेयरमा भीम पराजुली निर्वाचित भएपछि प्रोजेक्टका कामका लागि तीन पटक म्याद थप गरिएको छ ।

ठेकेदारले डिसेम्बर १५ सम्म निर्माणको काम सक्ने मेयर पराजुली बताउँछन् । क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत दोस्रो चरणको काम सुरु भएको बताउँदै पराजुलीले कालिकाका लागि अब समय थप नहुने बताए ।

निर्माण कम्पनीका परियोजनाका अधिकृत उज्वल प्रसाई तोकिएकै समयमा काम सक्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment