+
+

ह्वीलचेयरले डोर्‍याएको खेल जीवन

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २० गते २०:४०

अब जीन्दगी सकियो भनेर हरेश खाने हो भने साच्चिकै सकिन्छ नै । मैले गर्न सक्छु, केही गर्नुपर्छ भनेर हिम्मत बढाउने हो भने धेरै गर्न सकिन्छ ।

यो ३५ वर्षको उमेरमा मैले बुझेका कुरा र अपाङ्गता भएको १६ वर्षमा मिलेको शिक्षाले भनिरहेको छु, चाहे जे होस्, अवस्था जस्तो आओस् हार खानु हुँदैन ।

पेन्टिङ, संगीत, नृत्य र खेलकुद चार कुरा हुन्, जसबाट मैले प्रेरणा पाएँ । कहिल्यै हिँड्न नसक्ने भएर अस्पतालको बेडमा निराश हुँदै गर्दा पेन्टिङले हौसला दियो । त्यसपछि शास्त्रीय संगीत, गितार र नृत्य । अहिले खेलकुद ।

भारत्तोलन, ह्वीलचेयर बास्केटबल, ह्वीलचेयर क्रिकेट र तेक्वान्दो खेलिरहेको छु । राष्ट्रिय खेलाडी बनेर राष्ट्रको प्रतिनिधित्व गरिरहेको छु । लुला, लङ्गडा भनेर हेप्ने र हेयको दृष्टिले हेर्नेहरु हामीले खेलेको देखेर दंग पर्छन्, प्रशंशा गर्छन् ।

****

म यहाँसम्म कसरी पुगेँ भन्ने बुझ्न केही पछाडिका दिनहरु हेरौँ ।

गुल्मीमा जन्मिए पनि म १० महिनाको हुँदा बुबाआमा रुपन्देही सालदण्डीमा बसाईं सर्नुंभएको रहेछ । म जहिलेदेखि बुझ्ने भएँ आर्मीमा भर्ना हुने रहर पालिरहेको थिएँ ।

त्यही रहर पूरा गर्न १८ वर्षको हुँदा २०५७ सालमा आर्मीमा भर्ना पनि भएँ । एउटा सपना पूरा भयो, रहर पूरा भयो । देश सेवा गर्ने एउटा चाहना पूरा भइरहेको थियो ।

तर, २०६० साल कात्तिक २९ गते मेरो सपना अब कहिल्यै पूरा नहुने भयो भनेर नराम्ररी चुडिएँ ।

बुबाआमाको अनुहारमा भने बुढेसकालको सहारा हुनुपर्ने छोरा अपाङ्ग भयो भन्ने पीर देखिएको थियो । मलाई भने केही राम्रो गरेर समाजलाई देखाउनुपर्छ भन्ने मलाई लाग्न थाल्यो ।

त्यो समय देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो । कहिले कहाँ कहिले कहाँ खटिनुपर्ने हुन्थ्यो । कामकै सिलसिलामा मकवानपुरको सुनाचुरीबाट फर्कने क्रममा कुलेखानी पावरहाउस नजिकै माओवादी विद्रोहीको एम्बुसमा परेर घाइते भएँ । अस्पतालमा होश खुल्दा मेरुदण्ड पक्षघात भएर दुवै खुट्टा नचल्ने भएको रहेछ ।

एम्बुसमा परेपछि नेपाली सेनाले हेलिकप्टरबाट उद्दार गर्‍यो । सुरुसुरुमा त एकदिन हिँड्न सक्छु भन्ने आश लागिरहेको थियो । अप्रेसनपछि डाक्टरले ‘अब तिम्रो खुट्टा चल्दैन, मेरुदण्ड पक्षघात भएको छ’ भनेपछि सपना सबै चुडियो ।

घाइते भएपछि ३ वर्ष त अस्पतालमा नै बसेँ । त्यसक्रममा मनको एउटा कुनामा कुनै दिन हिँड्न सक्छु कि ? भन्ने थियो । तर, ढिलो चाडो त्यो दिन कहिल्यै आउँदैन भन्ने स्वीकार्नै पर्ने थियो । अहिले ह्वीलचेयर नै साथी बनेको छ ।

****

जब घाइते भएर कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा पुगेँ, गाउँमा जाँदा मलाई चिन्ने मानिसहरुले ह्वीलचियरलाई पनि चिन्न थालेका थिए । उनीहरु मेरो ह्वीलचियर कोट्याउथेँ । अपाङ्गता भएपछि समाजले हेर्ने नजर के हुन्छ भन्ने त्यसबेला बुझेँ ।

बुबाआमाको अनुहारमा भने बुढेसकालको सहारा हुनुपर्ने छोरा अपाङ्ग भयो भन्ने पीर देखिएको थियो ।

मलाई भने केही राम्रो गरेर समाजलाई देखाउनु पर्छ भन्ने मलाई लाग्न थाल्यो । उनीहरुको हेयको नजरले मलाई केही गरेर देखाउनुपर्छ भन्ने बल दिइरहेको थियो ।

छाउनी अस्पतालमा तीन वर्ष बस्दा पेन्टिङ सुरु गरेँ । त्यसपछि संगीत पनि सिक्न थालेँ । दुई वर्ष शास्त्रीय संगीत र दुई वर्ष गितारको कक्षा लिएँ । अपाङ्गता भएका व्यक्तिहरुसँग भेटघाट र कुराकानी हुन थालेपछि धेरै कुरा बुझिँदै गइयो । हामी जस्ता व्यक्तिहरु अन्तर्राष्ट्रिय रुपमा खेलाडी पनि बनेका छन् भनेर थाहा पायौँ ।

एकदिन अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीमा काम गर्ने मानबहादुर लोप्साङ दाइसँग भेट भयो । उहाँले आर्मीको व्यक्तिहरु आफ्नै खुट्टामा उभिन सक्नुपर्छ, तपाइँहरु बलियो हुनुहुन्छ, सक्षम हुनुहुन्छ, आफ्नो परिवार आफै पाल्न सक्नुहुन्छ भनेर हौसला दिनुभयो । उहाँको कुरा सुनेपछि केही गर्नुपर्छ भन्ने जोश बढ्यो ।

त्यसपछि नै म भारत्तोलनको अभ्यासमा जान थालेँ । राधाकृष्ण मन्दिरमा भारत्तोलनको अभ्यास गर्थें । घरेलु प्रतियोगितामा खेलिरहँदा सन् २०१० मा त चीनको गाङजाउमा भएको भारत्तोलन प्रतिस्पर्धामा भाग लिन जान पाएँ ।

****

समाज बुझ्दै गएपछि मलाई लाग्यो, म मात्रै होइन, अपाङ्गता भएका कोही पनि घरपरिवार र समाजबाट घृणित हुनु हुँदैन । अवसर पाउँदा उनीहरुले पनि गर्न सक्छन् भन्ने हुनुपर्छ ।

त्यसपछि नै नेपाल आर्मीमा बास्केटबल टिम बनाएर अभ्यास सुरु गरेँ । अहिलेसम्म होस्टेमा हैसे गर्दै जाँदा बास्केटबलमा एकपटक बाहेक सधैँ नै घरेलु प्रतियोगिता जितिरहेका छौँ । झण्डै ४० वटा जति प्रतियोगिता जितिसकियो । ह्वीलचेयर बास्केटबल खेलेर पाएको सफलताले गर्व लाग्छ । अहिले हाम्रै बास्केटबल टिमबाट ६÷७ जना राष्ट्रिय टिममा पनि पर्छौं ।

ह्वीलचेयर क्रिकेट खेल्न जाँदा पनि हाम्रै टिमका साथी हुन्छौँ, ह्वीलचेयर म्याराथनमा पनि हाम्रै साथीहरु राम्रो गरिरहनु भएको हुन्छ । कान्तिपुर ह्वीलचेयर म्याराथनमा हाम्रै रामबहादुर भाइले चार पटक जितिसक्नुभएको छ ।

स्वीमिङमा पनि हाम्रै खेलाडी हुनुहुन्छ । राष्ट्रिय प्रतियोगिता धेरै जितिसक्नु भएको छ । के भने, हामीले खेलाडी भनेर गर्न सक्ने रहेछौँ भन्ने देखिँदै गएको छ ।

२०१२ मा दिल्ली ह्वीलचियर डान्समा पनि रमा न्यौपानेसँगै सहभागी हुन पाएँ । २०१३ मा मलेसिया ओपन च्याम्पियनसीप र ०१४ मा कोरियामा भारत्तोलनमा सहभागी हुन पाएँ ।

२०१४ मा बंगलादेश र भारतसँग ह्वीलचेयर बास्केटबल खेल्न बंगलादेश गयौँ । जतिबेला म नेपाल ह्वीलचेयर बास्केटबल टिमको कप्तान बनेको थिएँ । त्यसमा हामी फाइनलमा बंगलादेशसँग पराजित भएर दोस्रो भयौँ । खेलाडी भएर देशको प्रतिनिधित्व गरिरहँदा असाध्यै खुशी लाग्छ । हामीले राष्ट्रिय झण्डा अगाडि राखेर केही गर्न सकेका छौँ है जस्तो लाग्छ ।

****

खेलकुदमै लाग्दै जाँदा २०७४ पुस १ गते ह्वीलचेयर क्रिकेटमा पनि अन्तर्राष्ट्रिय सहभागिता जनायौँ । फाइनलमा बंगलादेशलाई ५४ रनले हराएर हामी विजयी भयौँ । भारत र बंगलादेशलाई हराउन सक्नु सानो कुरा थिएन ।

क्रिकेट प्रतियोगिता जितेको महिना दिनपछि हामीले छाउनीमा भएको अन्तर्राष्ट्रिय ह्वीलचेयर बास्केटबलमा पनि भारत र बंगलादेशलाई हराएर उपाधि जित्यौँ ।

अहिले त अपाङ्गता भएका खेलाडीहरु खेलकुदमा लाग्ने क्रम बढिरहेको छ । गाउँमा जाँदा मलाई बिर्सिएर ह्वीलचेयरलाई चिन्न थालेकाहरुले अहिले मलाई नै चिन्न थालेका छन् । मैले राम्रो काम गरेको छु भन्ने उनीहरुको आँखामा देखिन्छ । यही खेलले नै मलाई चिनाएको छ ।

अपाङ्गता हुँदैमा संसार सकिँदैन रहेछ । समाज परिवर्तन गर्ने भनेको हामीले नै हो । कसैको आश नगरी मेहनत गर्दा सकिने रहेछ भन्ने लाग्छ । हाम्रो पनि एउटा जिम्मेवारी हुन्छ, नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन सक्छौँ भन्ने लागेको छ ।

दुःख लाग्ने कुरा के भने, प्रतियोगितामा अपाङ्गता भएका खेलाडीलाई पनि सहयोग गर्नुपर्छ । यिनीहरुका लागि केही हुनुपर्छ भन्ने त सरकारले सोचेकै छैन । आफै आफै मिलाएर सबै काम गर्नुपर्छ ।

जस्तो कि चार पाङ्गे स्कुटर चलाउने खेलाडीले स्कुटर नभएको खेलाडीलाई ह्वीलचेयरमा डोर्‍याएर हामी मैदानसम्म जान्छौँ । सडकका कति खाल्डोमा लडिन्छ । दिउँसोको समयमा हामी होस्टेमा हैसे गरेर धुँवा धुँलो र खाल्डाखुल्डी सडकमा स्कुटरमा झुण्डिएर हिँडिरहेका हुन्छौँ । नेपालको लागि केही गनुपर्छ भनेर हामी जस्तो परिस्थितिमा पनि लागिरहेका छौँ ।

हामीलाई बाहिर खेल्न जाँदा प्लेनसम्म कसरी जाने भन्ने पनि नै समस्या छ । अपाङ्गमैत्री कुराहरु छँदै छैनन् । बोरा बोकेको जस्तो बोकेर प्लेनमा चढाउनु पर्छ ।

विदेशमा प्लेनको ढोकैसम्म ह्वीलचेयरमा जान सकिन्छ । प्लेनभित्र पनि सानो ह्वीलचेयर राखिएको हुन्छ । बाटो घाटो, बाथरुम, बस चढ्दा सबैतिर सहज हुन्छ । हाम्रोमा भने केही पनि सहज छैन । कसैले बोकेरै लगिदिनु पर्छ ।

****

अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा बोकेर खेलेपछि जितको महत्व बढ्ने रहेछ । क्रिकेट र बास्केटबल हुँदा पनि हामीले मेहनत गर्‍यौं भने जितिन्छ भन्ने लागेको थियो, जित्यौँ पनि । देशको नाम राख्न सक्यौँ भन्ने लाग्यो । हामीले गर्दा हामीपछिका भाइबहिनीका लागि पनि केही होस् भन्ने सोचेर काम गरिरहेका छौँ ।

क्रिकेट होस् कि बास्केटबल या अरु केही हातको पावर नै हाम्रो लागि सबैभन्दा ठूलो कुरा हो । क्रिकेटकै कुरा गर्दा बल क्याच गर्न डाइभ दिएपछि ह्वीलचेयरमा बस्न कति खेलाडीलाई अरुको सहायता चाहिन्छ । कतिपय समय त दर्शकले समेत मैदानमा आएर उठाइदिएका हुन्छन् ।

फिल्डिङ गर्दा मैदानको अवस्था राम्रो नभएको ठाउँमा ह्वीलचेयर नै गुड्दै नगुड्ने समस्या पनि हुन्छ । त्यसको बाबजुद पनि कसरी ह्वीलचेयर बढाउने, कसरी बलसम्म पुग्न सकिन्छ भनेर हामी पूरे मेहनत गर्छौं ।

क्रिकेट खेलेको बेला त हामीले प्रयोग गर्ने ह्वीलचेयर सामान्य नै थियो । बास्केटबलमा भने स्पोर्टस् ह्वीलचेयर प्रयोग गर्न पाएका छौँ । नेपाल आर्मीमा भएकाले राम्रो ह्वीलचेयर पाएका हौँ । बाहिरका खेलाडीलाई त्यो सुविधा छैन ।

बास्केटबलमा अफेन्सिभ, डिफेन्सिभ दुवैमा अलि जोखिम हुन्छ । हुन त सबै खेलमा जोखिम त भइ नै हाल्छ तर, पनि बास्केटबलमा चोट लाग्ने सम्भावना बढी हुन्छ । तीब्र गतिमा ह्वीलचेयर गुडाउँदा कठीन त हुन्छ नै ।

****

खेलकुदमा व्यस्त हुँदा पेन्टिङ र संगीत भने छुटेको छ । पेन्टिङ कतिपयले गर्दिनुस् भनेपछि मिलेको समयमा गरिदिने गरेको छु । रहरले गर्ने समय नै हुँदैन ।

अस्पतालमा हुँदा मयुरको चित्र बनाएको थिएँ । त्यो पहिले त ब्ल्याक एण्ड ह्वाइटमा बनाएको थिएँ । अस्पतालमै आएका एकजनाले त्यो किन्छु भनेर लैजानु भयो । त्यसलाई रंगीन बनाउँदा कस्तो हुन्छ त भनेर पनि उहाँले नै भनेपछि रंगीन नै बनाएँ । अस्पतालबाट डिस्चार्ज भएर सैनिक पुनस्थापना केन्द्रमा चार वर्ष बस्दा रुम नम्बर १ मा बस्थेँ । त्यहाँ भएका पेन्टिङले गर्दा पछि त्यो भिजिटर रुम नै बनेको थियो । म घर गएर आउँदा त्यहाँ सरहरुले मेरो पेन्टिङ बेचेर राखिदिरहनु भएको हुन्थ्यो ।

खेलाडी मात्रै नभएर प्रशिक्षकको लागि पनि हिँडिरहेको हुन्छु, त्यसले पनि पेन्टिङमा समय मिलेको छैन । प्रशिक्षण दिनुपर्‍यो भनेर बोलाउनु भएको ठाउँमा जान्छु । भारत र डेनमार्कमा गएर बास्केटबल प्रशिक्षकको कक्षा लिएर आएको छु । आर्मी टिममा पनि प्रशिक्षककै रुपमा काम गरिरहेको छु ।

पहिले त भेट्न आउँदा बुबाआमा रुनुहुन्थ्यो । अहिले खेलकुदमा लागेपछि छोराले राम्रो गरिरहेको छ भनेर खुशी हुनुहुन्छ । यो सानैदेखि बहादुर स्वभावको थियो, अहिलेसम्म राम्रो गरिरहेको छ भन्नुहुन्छ ।

बास्केट बल सिकाउँदा म अलि रुखो पनि देखिन सक्छु । ह्याण्ड पावर बढाउन खेलाडीहरुलाई कडा मेहनत गराइरहेको हुन्छु । उनीहरु असाध्यै पेल्नु भो दाइ भन्छन् । अनि म, मैले पेलेको छु र त स्वर्ण पदक लाइराछस् भन्छु ।

नयाँ खेलाडीमा जोश राम्रो छ । हामीलाई सुरुका दिनमा एउटा सानो मेडल पाउँदा पनि असाध्यै खुशी लाग्थ्यो । अहिले नयाँ आउने भाइहरु बेसिक लेभल नभइ बनिसकेको बलियो टिममा छिरेर स्वर्ण पदक जित्न पाएका हुन्छन् ।

त्यसले गर्दा उनीहरुलाई कडा मेहनत बारे ज्ञान कम छ । उनीहरुलाई मैले भन्ने पनि गरेको छु, तिमीहरुले सुरुबाट सुरु गर्नु परेको भए कति कठीन हुन्थ्यो । मैले आर्मी टिमबाहेकका खेलाडीलाई सजिलो छैन किन भनेको भने, हामी आर्मीमा भएका खेलाडीलाई आर्मीले नै स्कुटर दिएको छ ।

हामीलाई ह्वीलचेयरबाट स्कुटर र स्कुटरबाट ह्वीलचेयरमा राख्नुपर्ने खेलाडीका लागि भोलेन्टियरको पनि व्यवस्था भएको हुन्छ । बाहिरका खेलाडीसँग भने त्यस्तो सुविधा नहुने हुँदा आउन जान नै समस्या हुन्छ । सबै खेललाई यसो तुलना गर्दा मलाई धेरै रमाइलो बास्केटबलमा नै लाग्छ । अरुभन्दा टिम गेम पनि बास्केटबल नै हो जस्तो लाग्छ । बास्केटबलमा नै विशेष रुची बसेको झण्डै १० वर्ष खेलिसकेको भएर पनि होला ।

तेक्वान्दो पनि सिक्न थालेका छौँ । ह्वीलचेयर खेलाडीले तेक्वान्दोमा पनि खेल्न सकिन्छ भन्ने कल्याण कुँवर गुरुले सिकाएपछि बुझिरहेका छौँ । राष्ट्रिय जर्सी लगाएर मैदान छिर्ने बेला के हुने होला, राम्रो खेल्न सकिन्छ कि सकिँदैन भन्ने डर लाग्छ । खेल्दै जाँदा राम्रो हुँदै गएपछि दबाव कम हुँदै जान्छ ।

खेल्दा जस्तो रमाइलो अरु कुरामा छैन । जब हामी राम्ररी अभ्यास गर्छौं तब दबाव पनि कम हुन्छ । राम्ररी अभ्यास गरिएको छैन भने दबाव पनि बढी हुने गर्छ ।

****

मेरो जीवनलाई राम्ररी अगाडि बढाउन मेरी श्रीमती इन्दिराको साथ मेरा लागि ठूलो छ । मैले २०६२ सालमा बिहे गरेँ । हाम्रो भेट पत्रमितताबाट भएको थियो । म यस्तो भएको छु भनेपछि उनी भेट्न आइन् ।

त्यसको आठ महिनापछि हामीले बिहे गर्‍यौँ । मैले खेलेको बेला मिलेसम्म इन्दिरा हुटिङ गर्न पुगिरहेकी हुन्छिन् । मैदानमा पुगेर कराइरहेकी हुन्छिन् । उनको साथ र हौसलाले पनि थप मेहनत गर्न मन लाग्छ ।

पहिले त भेट्न आउँदा बुबाआमा रुनुहुन्थ्यो । अहिले खेलकुदमा लागेपछि छोराले राम्रो गरिरहेको छ भनेर खुशी हुनुहुन्छ । यो सानैदेखि बहादुर स्वभावको थियो, अहिलेसम्म राम्रो गरिरहेको छ भन्नुहुन्छ । खेलकुदकै कारण आर्मीमा पदोन्नति पनि भइरहेको हुन्छ । सिपाहीबाट जागिर खाएको म अहिले सुबेदार भएको छु । छोरा भक्तपुर आर्मी स्कूलमा कक्षा ८ मा पढ्छ । आर्मीकै कारण श्रीमतीको लागि मेडिकल कलेजमा जागिर मिलेको छ ।

खेलकुदमा लागेकैले पल्सर पारा एथ्लेट अफ एयर अवार्ड पाउँदा असाध्यै खुशी लागेको थियो ।

अवार्ड लिन मञ्चमा चढ्दासम्म पनि अवार्ड पाउँछु भन्ने लागेको थिएन । २०७४ मा अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेट र बास्केटबल जित्ने नेपाली टिमको कप्तान भएकाले खेलकुद पत्रकार मञ्चले दिएको त्यो सम्मान मेरा लागि ठूला हो ।

****

खेलकुदमा लागेर नाम, प्रतिष्ठा र खुशी मात्रै होइन, स्वस्थ हुन पनि धेरै सहयोग मिलेको छ । मेडल जित्ने कुरा मात्रै होइन स्वास्थ्यका लागि पनि हामीले खेल्ने गर्नुपर्ने रहेछ । पदक नै नजिते पनि खेलकुदबाट धेरै फाइदा छ ।

भारत्तोलनको अभ्यास बिहान साढे ५ देखि कोठामै गर्छु । केही सामानहरु कोठामै छन् । सवा ७ बजे सैनिक पुनस्र्थापना केन्द्रमा बास्केटबल खेल्छौँ । खाना खाएर ११ बजे क्रिकेटका लागि जान्छौँ । तेक्वान्दो शुक्रबार र शनिबार अभ्यास गर्छौं । जुन प्रतियोगिता नजिक आएको छ, धेरै समय त्यसलाई नै दिन्छौँ । मिलाएर अभ्यास गरिरहेका छौँ ।

अब राष्ट्रिय च्याम्पियनसिप ह्वीलचेयर बास्केटबल प्रतियोगिता पनि आउँदै छ । त्यसको तयारीमा छौँ । पहिलो हुने बानि परेर होला दोस्रो हुँदा साह्रै खिन्न लाग्छ ।

हेर्नुहोस् भिडियो

पोखरामा जावालाखेलसँग हारेर हामी दोस्रो हुँदा साह्रै नमजा लागेको थियो । कसैले गेम खेल्न गएको होइन, के भयो ? भनेर सोध्दा पनि असाध्यै अप्ठ्यारो लागेको थियो । यसैले अझ मेहनत बढाउनुपर्छ भन्ने लागेको छ ।

अब अपाङ्गता भएका व्यक्ति बोझ भएर, बन्देज बनेर घरमा बस्ने दिनहरु गए, हामीले पनि केही गरेर देखाउन सक्छौँ । अपाङ्गता भएका व्यक्तिले पनि खेल्न सक्छन्, उनीहरुको पनि खेलकुद छ भनेर मान्छेहरुले बुझ्न थालेका छन् । परिवारले हेरिरहने होइन उनीहरुले परिवार हेर्न सक्छन् भन्ने देखिएको छ । हाम्रो लागि बाटोहरु खुलेको छ । देशलाई चिनाउने माध्यम मिलेको छ ।

हामीले अवसर पाउनुमा सञ्चार माध्यमको भूमिका पनि ठूलो छ । हाम्रो खेलकुद, हामीले खेलका कुराहरु समाचार बनिदिँदा मान्छेहरुले बुझ्दै गएका छन् । पहिले सुतिरहेको देखेर तनाव लिने परिवार अहिले खेलेको देखेर दंग पर्छन् ।

मान्छेको जीवनमा धेरै कुरामा कर्मको खेल हुने रहेछ । यदि म कतै रुखबाट लडेर, गाडी दुर्घटनामा परेर यस्तो भएको हुन्थेँ भने मरिसकेको हुन्थेँ जस्तो लाग्छ ।

किनकी आर्मीमा थिएँ र पो उपचार सम्भव भयो, पुनर्स्थापना सम्भव भयो । आर्मी क्वाटरमा बस्न पाइरहेको छु । होइन भने उपचारको क्रममा सबै सम्पत्ति बेच्नुपर्थ्यो, परिवार सडकमा आइपुग्थ्यो, म पनि के हुन्थे थाहा छैन ।

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : शंकर गिरी

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को १३ औं श्रृङ्खलामा यो हप्ता पारा एथ्लेट हिमाल अर्यालको कथा प्रस्तुत गरिएको हो । ह्वीलचेयर बास्केटल, ह्वीलचेयर क्रिकेटमा नेपाललाई अन्तर्राष्ट्रिय उपाधि जिताएका हिमाल भारत्तोलन र तेक्वान्दोका पनि खेलाडी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?