Comments Add Comment

अपांगतालाई जितेर ‘नवजीवन’ को खोजी

२३ मंसिर, काठमाडाैं । निलो पाइन्ट र आकाशे रङको कमिजमा छन् विद्यार्थीहरु । उनीहरुमध्ये कोही हृवीलचीयरमा गुड्दैछन् । कोही बडो सकसका साथ खुट्टैले हिड्छन्, तर हात छैन ।

हामी खगेन्द्र नवजीवन माध्यामिक विद्यालयभित्रको दृष्य वर्णन गर्दैछौं । यो कुनै विद्यालय नभएर पुनर्स्थापना केन्द्रजस्तो लाग्छ । यहाँका एक-एक विद्यार्थी कुनै दारुण कथाका पात्र जस्ता लाग्छन् । कतिले त्यो कथा ब्यक्त गर्न सक्छन्, कतिको प्रयासमै सिमित हुन्छ । यहाँ यस्ता विद्यार्थी पनि छन् जसलाई शौचालय पुग्नसमेत कसैको सहाराविना असम्भव छ ।

त्यही भीडमा अप्ठेरोसँग पाइला घिसार्दै कक्षा कोठाभित्र प्रवेश गर्दैछन्, सोनाम छिरिङ शेर्पा । कागजमा प्रिन्ट गरेर ढोकामाथि टाँसिएको छ, कक्षा-१० । न उनको हिँडाईमा लय छ, न त गति नै । उनी विस्तारै बेन्चमा पुग्छन् र एक मिनेटको समय लिएर बल्लतल्ल बस्छन् । उनलाई झोलाबाट पुस्तक निकाल्न पनि गाह्रो भएको महसुस हुन्छ ।

उनको लागि आफैं लेख्न सक्नु एउटा मिठो सपना मात्र हो । तर, हरेक वर्ष उनको परिक्षाफल आउँछ- स्कुल फस्र्ट । शारीरिकरुपमा आफूभन्दा सक्षमहरुलाई उनल पछि पार्दै आएका छन् ।

***

सोनामले तीन वर्षको उमेर पार गर्दै गर्दा उनको बाबा ङिमा दोर्जेको चिन्तित बन्न थाले । किनकी सोनाम केही सामान राम्रोसँग समाउन सक्दैनथे । न बोल्थे, न कुनै क्रियाकलाप नै गर्थे । दोलखाका ङिमा आफ्नो जेठो छोरालाई निको पार्नका लागि काठमाडौंको हस्पिटल चाहार्न थाले । तर, उनका सम्पूर्ण प्रयासहरु प्रयासमै सिमित रहे ।

सोनाम छिरिङ शेर्पा

छोराको विषयमा चिकित्सकबाट पछि मात्र वास्तविकता थाहा पाए -‘पत्नी गर्भवति हुँदा उनलाई उच्च रक्तचाप थियो । त्यसको असर बच्चामा पर्‍यो र सोनाम ‘सिरेबल पल्सी’ रोगबाट ग्रसित भए ।’

तर, ङिमा हार खाएर बसेनन् । छोरालाई नजिकै स्कुल भर्ना गरिदिए । तीन कक्षासम्म उकाले । वातावरण सहज थिएन । घर फर्कदा सोनामको शरीरभरी चोट हुन्थ्यो ।

ङिमाको जिल्लामा होटेल र मिलको व्यवसाय थियो । आम्दानी पनि राम्रै थियो । तर, पैसालाई सन्तानको मायाले तल पार्‍यो । त्यसैले, सबथोक छाडे र सोनामकै लागि काठमाडौंको बाटो तय गरे ।

काठमाडौं आएपछि सोनामलाई व्यायाम गराउन थाले । उनमा छोरा ठीक हुने झिनो आशा जिवितै थियो । त्यसैले उपचार गर्न पनि छाडेका थिएनन् । उनले जीवनको सम्पूर्ण शक्ति छोरामै लगाए ।

उनलाई छोराका लागि काठमाडौंमा स्कुल खोज्न हैरान पर्‍यो । त्यही बीचमा सुने कि शरीरिक अपांगता भएकाहरुको लागि एउटा स्कुल छ । त्यसैको खोजी गर्दै ङिमा खगेन्द्र नवजीवनमा पुगे ।

तर खगेन्द्र नवजीवनमा पनि सोनामलाई भर्ना गर्न मुस्किल पर्‍यो । तर आइक्यू टेस्टपछि भर्ना गराइछाडे ।

ङिमा सात वर्ष पहिलेको अवस्था सम्झिन्छन्, ‘स्कुलको हालत निकै खराव थियो । टिनका छानाबाट पानी चुहिन्थे । लाग्थ्यो यस्तोमा पनि कसरी पढ्न सक्छन् ? यहाँ ल्याएर गल्ती त गरिनँ ?’

तर, स्कुलको अवस्था विस्तारै सुध्रिदै गयौ । यो विद्यालयमा अहिले ३७३ विद्यार्थी छन्, जसमध्ये ८३ जनामा शारीरिक अपांगता छ ।

सोनाम आफैं लेख्न सक्दैनन् । तर, उनलाई विश्वभरका प्रधानमन्त्रीको नाम थाहा छ । संयुक्त राष्ट्रसंघका गतिविधिदेखि विश्व राजनीतिसम्मको समिक्षा गर्छन् । कम्प्युटर सिकाइएको छैन तर, मज्जाले चलाउँछन् ।

विद्यालयका सहायक प्रध्यानाध्यापक नन्दनप्रसाद सापकोटा भन्छन्, ‘उसलाई तपाई हाम्रो दिमागले भ्याउँँदैन ।’

सहायक प्रध्यानाध्यापक नन्दनप्रसाद सापकोटा

अहिले एसइईको तयारीमा जुटेका छन्, सोनाम । विहानै चार बजे उठेर पढ्न सुरु गर्छन् । ङमिा भन्छन्, ‘यसरी विहान नउठ् भन्छौँ । तर, उ मान्दैन ।’

सोनाम स्वयम् आफ्नो बारेमा के सोच्दा हुन् ? उनलाई एउटा वाक्य मात्र बोल्न केही मिनेटको समय दिनुपर्ने हुन्छ । विस्तारै बोल्छन्, ‘आफ्नो जीवनप्रति गुनासो छैन । सरकारले हामीजस्ताका लागि वातावरण नबनाइदिदा भने दुःख लागेर आउँछ ।’

दिनभर स्कुलमा बाबु-छोरा

बरन्डामा पारिलो घाम लागेको छ । ५६ वर्षीय भैरवबहादुर मुक्तान त्यही घाम ताप्दै झोक्राएर बसेका छन् । उनको मनमा भने हुण्डरी चलिरहेको बाहिरैबाट देखिन्छ ।

जव विहानको आठ बज्छ, २१ वर्षीय छोरा गौरवलाई भैरवबहादुर ह्वीलचियरमा राख्छन् र बालुवाटारदेखि नारायणगोपाल चोकसम्म घचेट्छन् । त्यहाँ आइपुग्छ स्कुलको बस । बल्लतल्ल छोरालाई बसमा उकाल्छन् र सात कक्षाभित्र पुर्‍याउँछन् ।

त्यसपछि उनी घर फर्कदैनन् । कक्षाकोठा बाहिर छोरालाई कुरेर बस्छन् । किनकी छोरालाई खाजा खुवाइदिने, शौचालय लैजाने उनैले गर्नुपर्छ । अनि चार बजेपछि उसरी नै घर पुर्‍याउँछन् । यो कथा उनको एक दिनको होइन । सात वर्षदेखि यसै गरिरहेछन् सिराहाका भैरवबहादुर । यो सात वर्षमा कतिका जीवनमा खुशी फुले थाहा छैन । तर, उनले छोराको आफ्ना सम्पूर्णरुपमा आफ्ना खुशी बलिदान गरेका छन् ।

उनको एक मात्र जिवित सन्तान हुन् गौरव । ‘एउटी छोरी पनि जन्मिएकी थिइन् । उनको पनि शारीरिक अवस्था त्यति राम्रो थिएन । पाँच वर्षको उमेरमा निमोनियाले चुँडेर लग्यो,’ भैरवबहादुरले आँखाबाट तपक्क आँसु चुहाउँदै भने ।

जेठी श्रीमतीबाट सन्तान नभएपछि उनैले कान्छी बिहे गराइदिएकी थिइन् । जेठी यो संसारमा छैनन् । कान्छीले दुई सन्तान जन्म दिइन् । भैरवबहादुर भन्छन्, ‘छोरा जन्मियो तर, हस्पिटलमा भ्याकुमले तान्दा मस्तिष्कमा चोट परेछ । त्यसपछि गौरव पनि पक्षघातको पीडा भोग्दै छ ।’

भैरवबहादुरले १० वर्ष सिमेन्ट फ्याक्ट्रीमा मजदुरी गरे । हुन त उनले त्यतिबेला आईए पास गरेका हुन् । तर, आईएको सर्टिफिकेट उनका लागि कागजको खोस्टा बराबर बन्यो, किनकी आफ्नो मान्छे ठाउँमा थिएनन् ।

छोरीको मृत्युपछि उनले सिराहको सबै जायजेथा बेचे र काठमाडौं आए । छोराको उपचारका लागि कहाँ-कहाँ पुगेनन् उनी । अहिले पनि एक हप्ता व्यायाम नगर्दा पुरै शरीर कक्रिएर आउँछ छोराको । एकातिर उनलाई छोराका उपचार गर्न गाह्रो, अर्कोतर्फ पढाउन । एकातिर स्कुलले भर्ना नलिने अर्कातिर छोरा सँधै स्कुल जाने चाहने । शारीरिकरुपमा अशक्त गौरवको मस्तिष्क भने तगडा थियो ।

काठमाडौं आएपछि उनले बालुवाटारमा अलिकति जग्गा किने । त्यसपछि केही काम गरेनन् । छोराकै स्याहारमा आफूलाई समर्पित गरे ।

उनी छोराकै लागि कहिले बानेश्वर पुगे, कहिले भृकुटीमण्डपको अपांग महासंघ । निकै प्रयासपछि गोंगबुस्थित मातृगृहमा छारालाई भर्ना गरे । गौरवको पाँच कक्षा त्यहीँ पुरा भयो । त्यसपछि शिवपुरी मावि महाराजगञ्जमा पुगे । तर, त्यहाँ भर्नापछि स्कुलले नै निकालिदियो । अनि आईपुगे, खगेन्द्र नवजीवन माध्यामिक विद्यालय ।

गौरवलाई बल्लतल्ल शौचसम्म गर्न सक्ने बनाएका छन्, भैरवबहादुरले । कहिलेकाँही आफै लुगा र्फछन् पनि । तर, झोलिलो कुरा खान पनि सकस पर्छ उनलाई । हिँड्न सक्ने त कुरै भएन । मात्र पढ्न सक्छन् र त्यसलाई मस्तिष्कले बलियोसँग समाउन सक्छ । ‘उसको दिमाग त छ । तर, शरीरले सहजै पढ्न पनि दिँदैन । विरामी भैरहन्छ’, भैरवबहादुर आफ्नै भाग्यलाई सराप्छन्, ‘हाम्रो लागि त दैव पनि साह्रै निष्ठूरी भैदियो ।’

अहिलेसम्म सरकारबाट कुनै पनि सहयोग लिन सकेका छैनन् उनले । अपांगताका लागि थुप्रै संघ-संस्था खुलेका छन्, सरकारले पनि बजेट विनियोजन गरेकै छ । थाहा छैन ती रकम कसका लागि खर्च हुन्छन् ।

छोरा निको हुने आशामा उनी क्रिश्चियन धर्म अंगाल्न पुगे । तर, प्रार्थना गर्न चर्चमा गएको बेला भूकम्प आयो र ढाड दुई ठाउँमा भाँचियो । ३१ जना साथीले उनकै अगाडि ज्यान गुमाए ।

जब करेन्टले दुबै हात लग्यो…

सविता थापा १६ वर्षकी भइन् । १२ वर्षको उमेरदेखि कहिल्यै उनी एक्लै घरबाट निस्कन सकिनन् । बस्, विहान काँडाघारीबाट बाबासँग स्कुल आउँछिन् र बेलुकी घर र्फकन्छिन् । उनलाई मान्छेहरु राक्षसजस्ता लाग्छन् ।

उनी १२ हुनुभन्दा अघि अर्कै थिइन् । निकै चन्चल । मनमा ठूल्ठूला सपना पालेकी । डाक्टर बन्ने लक्ष्य थियो । तर, एक दिनको घटनाले उनका सपनाहरु सिसा फुटेजसरी चकनाचुर भए ।

त्यो दिन घरमा आमा, बाबा, भाइ बहिनी र उनी थिइन् । भाडामा बस्थ्यो उनको परिवार । सात कक्षाको वाषिर्क परिक्षापछि फुर्सदमा थिइन्, सविता । चैतको महिना थियो । कपडा धोएर कौसीमा सुकाउन गइन् । चिसो कपडालाई तारमा के झुण्ड्याएकी थिइन्, उनको शरीरलाई करेन्टले अँठ्यायो र उनी अचेत बनिन् ।

एक हप्तापछि होस खुल्दा उनी अस्पतालको बेडमा थिइन् । हात र शरीर डढेको थियो । भत्भती पोलिरहेको थियो । हातलाई चलाउनै सक्थिथनन् । बल्ल उनले थाहा पाइन् आफूलाई करेन्ट लागेको ।

उनको सामान्य अप्रेशन भयो । तर, अर्को हप्ताभरी रक्तनलीमा रगत पास भएन । हात सुक्दै गए । फेरि अप्रेशन गर्नुपर्ने भयो । उनलाई भनिएको थियो, नर्मल कट हो, आत्तिनु पर्दैन ।

फेरि अप्रेशनपछि उनलाई गाडीमा घर लगिदै थियो । त्यतिबेलै उनी होसमा आइन् । आफ्नो शरीर महसुस गरिन् । अहो, उनका दुई हात थिएनन् । उनले चिच्याउँदै भनिन्, ‘मलाई मारिदिनुस् । म बाँच्न सक्दिन । म घर जादिनँ ।’ त्यसपछि उनलाई हस्पीटलमै राखेर थेरापी गरियो ।

उनी मानसिकरुपमा केही सहज भएपछि घरमा त आइन् तर, उनलाई बिगतले झन धेरै पिरोल्न थाल्यो ।

‘मलाई लाग्थ्यो कि जीवनमा केही गर्न सक्दिनँ । एक वर्षसम्म त म घरबाट बाहिर नै निस्कीनँ । केही गर्न नै मन लाग्थेन । जहिल्यै कोठामा चुक्कल लगाएर रोइरहन्थेँ,’ यो सम्झदा अहिले पनि उनको आँखाबाट आँसु बगिरहेको छ ।

तर, के गर्नु जीवन त जिउनु नै छ ।

उनलाई परिवारले विभिन्न स्कुलमा भर्नाका लागि जवरजस्ती लगे । तर, धेरै स्कुलहरुले भर्ना लिएनन् । कतिले त अतिरिक्त शुल्कको माग गरे । त्यसपछि उनको अर्को यात्रा खगेन्द्र नवजीवनबाट नै शुरु भयो ।

सविता त्यसपछि दिनहरुबारे बताउँछिन्, ‘मलाई छ महिनासम्म निकै गाह्रो भयो । तर, यो स्कुलका कम्पाउन्डले मेरा डरहरु एक-एक गरी निल्दै गए । मजस्तै थुप्रै साथीहरु पढ्दै गरको देखेँ । अनि म एक्लोपनबाट वाहिर निस्कीएँ र आफूलाई सम्हाल्न थालेँ ।’

अहिले उनले त्यही ठुटे हातले मज्जासँग लेख्न सिकिसकेकी छिन् । मोवाइल, कम्प्युटर चलाउँछिन् । या भनौ आम मानिसले गर्ने प्राय काम सहजै गर्छिन् । उनमा जीवनप्रतिको आत्मविश्वास बलियो भएर आएको छ । तर, उनलाई समाजले तर्साइरहेको छ । ‘म पनि अरुजस्तै मान्छे हुँ । तर, समाजले त्यो अनुभूति गर्न दिदैन’, उनी भन्छिन्, ‘पाइलैपिच्छे अपाच्य शब्दहरु सुन्नुपर्छ । त्यसैले एक्लै बाहिर निस्कने आँट नै आउँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment