Comments Add Comment

प्रस्तावित राजदूत नीलाम्बरको सुनुवाइ : बोर्डर त खुल्ला छ, मन छैन

२३ मंसिर, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत नीलाम्बर आचार्यले नेपाल र भारतको सीमाना खुल्ला भए पनि मन खुल्ला नभएको टिप्पणी गरेका छन् । दुई देशको सम्बन्धमा अझै पनि आशंकाहरु रहेको भन्दै उनले सम्बन्ध सुधारको एक मात्र सुत्र ‘आशंका मेट्ने र विश्वासको वातावरण बनाउने’ भएको बताए ।

प्रस्तावित राजदूत आचार्य आइतबार सुनुवाइका लागि संसदीय सुनुवाई विशेष समितिमा पुगेका थिए । सुरुमा उनले आफ्नो अवधारणा राखे, जसमा नेपाल र भारतबीच रहेका समस्या, अवसर र आफ्नो योजना उल्लेख थियो ।

त्यसपछि १० सांसदले प्रश्न सोधे । समितिका कुनै पनि सदस्यले आचार्यको व्यक्तिगत क्षमता तथा योग्यतामा प्रश्न नगर्ने बताए । तर, नेपाल भारतबीच बहुआयामिक सम्बन्ध भए पनि राजनीतिक स्ततरमा अझै आशंका रहेको आचार्यले बताए । साथै उनले प्रबुद्ध समूहको प्रतिवेदन कार्यान्वयन नभएको तथा भारतबाट नेपालले अपेक्षाकृत लाभ लिन नसकेको देखि डुवान, ब्यापारघाटा सबै प्रश्न उठाए ।

नेकपाका सांसद पार्वत गुरुङले भारतको विरोध गरेपछि राष्ट्रवादी हुने र भारतले पनि अमूक पार्टी र नेतासँग राम्रो सम्बन्ध बनाउन जोड दिने गरेको सुनाए ।

कांग्रेस सांसद जितेन्द्र देवले भारतले नेपालको ‘सानो देश संवेदनशीलता’ र नेपालले भारतको सुरक्षा लगायतका चासो बुझ्न नसक्दा आशंका उत्पन्न भएको हो भन्ने प्रश्न गरे । नेकपाका सांसद योगेश भट्टराईले भने छिमेकी बदल्न नसके पनि उसको मनोवृत्ति बदल्न जरुरी रहेको बताए ।

कांग्रेस सांसद भीमसेनदास प्रधानले नेपालका हरेक राजनीतिक परिर्वतनमा भारतको नैतिक समर्थन रहने तर, त्यसपछि बन्ने सरकारसँग राम्रो सम्बन्ध नहुने गरेको स्मरण गर्दै किन यसो हुन्छ र यसलाई हटाउन के गर्नुहुन्छ भन्ने प्रश्न गरे ।
केही सांसदले आचार्यको उमेरबारे पनि चासो राखेका थिए ।

राजदूत बन्न किन तयार भएँ ?

लगातारको प्रश्नपछि प्रस्तावित राजदूत आचार्यले आफू किन राजदूत हुन लागेको भन्नेबाट जवाफ सुरु गरे ।


मानन्धर समूहबाट वामपन्थी राजनीति गरेका उनी ०४६ सालको परिवर्तनपछि कांग्रेसमा आवद्ध भए । कृष्णप्रसाद भट्टराईको अन्तरिम मन्त्रिमण्डमा वाममोर्चाका तर्फबाट मन्त्री बनेका आचार्य पहिलो संविधानसभामा कांग्रेसबाट सांसद भए । त्यसपछि नेपाल-भारत प्रवुद्ध समूहमा नेपालका चारमध्ये एक सदस्य भएर काम गरे ।

आचार्यका अनुसार उनी पछिल्लो समय उनी आध्यात्मिक चिन्तनतिर जाने सोचमा थिए । तर, भारतको राजदूत बन्ने प्रस्ताव आएपछि त्यसलाई स्वीकार गरेको सुनाउँदै उनले भने, ‘म राजदूत हुन किन तयार भएँ भने नेपाल-भारत सम्बन्ध यस्तो चरणमा छ कि अलि पाकै मान्छे जानुपर्छ, राजनीतिक पृष्ठभूमि भएको हुनुपर्छ ।’

हिजोको मानसिकताले नेपाल र भारतको सम्बन्ध अगाडि जान नसक्ने भन्दै उनले त्यो परिर्वतनका लागि राजनीतिक पहुँच राख्न सक्ने व्यक्ति राजदूत हुनुपर्ने बताए । ‘म राजदूतका जागिर खान जान लागेको होइन’ सांसदलाई ड्यासिङ दिँदै उनले भने, ‘नेपाल-भारत सम्बन्ध चुनौतीपूर्ण छ, यो गम्भीरता बुझेको छु, मैले केही गर्न सक्छु कि भनेर जिम्मेवारी लिन तयार भएँ ।’

एकातिर घनिष्ठता कायम राख्नुपर्ने र अर्कातिर एकअर्काको सौवभौमसत्ताको सम्मान गर्नुपर्ने चुनौतीपूर्ण मोडमा नेपाल भारत सम्बन्ध रहेको उनको विश्लेषण छ ।

बोर्डर खुला छ, मन खुला छैन

प्रवुद्ध समूहमा हुँदा भारतको चासो र चिन्तालाई राम्रोसँग बुझेका अचार्यले दुई देशबीच रहेका समस्या मात्र राखेनन्, नेपाल कहाँ चुक्ने गरेको भन्ने पनि प्रष्ट बोले । उनका अनुसार अझै पनि दुई देशबीच आशंकाका वातावरण छ, त्यसैले विश्वासको वातवरण निर्माण नै पहिलो आवश्यकता हो ।

त्यसबाहेक सीमाका अप्ठ्याराहरु छन्, जसलाई लिएर पनि दुई देशबीच विवाद हुने गरेको छ । बेलाबेलामा त हिंसात्मक घटना पनि भएका छन् । केही नेपालसँग पूर्जा छ, जमीन भारतमा पर्छ । यस्तो समस्या भारततर्फ पनि छ ।

दुई देशबीच धेरैवटा आयोजनामा सहमति भएको छ तर, कार्यान्वयन भएको छैन । दुई देशबीच बहुपक्षीय सम्बन्ध छ तर, पनि एकअर्कामा आशंका कायमै छ । त्यसको पछाडिको कारण खुलाउँदै प्रस्तावित राजदूत आचार्यले संसदीय सुनुवाई समितिमा भने, ‘हाम्रो बोर्डर त खुला छ, मन खुला छैन ।’

उनले अघि भने, ‘हामी भारतबाट पनि रेल ल्याउँछौं, चीनबाट पनि रेल ल्याउँछौं । चीनसँग सम्बन्ध हुन्छ भन्ने हामीले हिच्किचाउनुहुँदैन । ओपन सम्बद्ध हुनुपर्‍यो ।’

सम्बन्ध सुधार्न सजिलो छैन

प्रस्तावित राजदूत आचार्यले भारतसँग सम्बन्ध सुधार्न सहज भने नभएको स्वीकार गरे । ‘मलाई थाहा छ, भारतसँग सम्बन्ध सुधार्न कठोर मेहनत गर्नुपर्छ’ उनले भने, ‘एउटै शुत्र छ, आशंका मेट्ने र विश्वासको वातावरण बनाउने ।’

यसका लागि नेपाल र भारतबीच खुला सम्बाद जरुरी रहेको उनले पटक पटक दोहोर्‍याएका छन् । नेपालका अधिकारीहरु बाहिर जथाभावी बोल्ने तर, भेट हुँदा केही नभन्ने समस्या पनि रहेको प्रस्तावित राजदूत आर्यार्यले बताएका छन् ।

प्रबुद्ध समूहको प्रतिवेदनबारे

नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका आचार्यले प्रतिवेदनबारे पनि बोलेका छन् । नेपाल र भारतका प्रतिनिधिहरुले साझा सहमतिमा प्रतिवेदन तयार पारेको भन्दै उनले भने, यो सार्वजनिक भएको भए धेरै प्रष्ट हुन्थ्यो ।’

साथै अमुख भारतीय नेताले भने जस्तो ‘सबैस पक्षसँग छलफल नगरी बन्द कोठामा लेखिएकाले भारतले स्वीकार गरेन’ भन्ने निष्कर्षमा नपुग्न उनले सांसदहरुलाई आग्रह गरे ।

‘सार्कको बैठक केही समय बस्न सकेको छैन । यसको अर्थ सार्क नै चाहिँदैन भनेको होइन’ आचार्यले भने, ‘आठ जनाको साझा प्रतिवेदन हो । केही प्राविधिक कारणले बुझ्न ढिलाइ भएको होला । अब बुझिँदैन भन्ने नसोचौं ।’

दुबै देशको साझा प्रतिवेदन भएकाले त्यसलाई बुझ्नुको विकल्प नभएको उनले बताए । यद्यपि कार्यान्वयन भने दुबै देशको सरकारको जिम्मेवारी भएको उनको धारणा छ । आचार्यले राजदूतले भारतका लागि मात्र होइन, अन्य देशसँगको सम्बन्ध भारतविरुद्ध होइन भन्ने भारतलाई कन्भिन्स गर्नुपर्ने बताए ।

यसैबीच संसदीय समितिले आचार्यसहित चार देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment