Comments Add Comment

सियारीमा २० करोडको बहुउद्देश्यीय आयोजना

२३ मंसिर, बुटवल । लुम्बिनी आउने विदेशी पर्यटकलाई लक्षित गरी रुपन्देहीको सियारी गाउँपालिकामा २० करोड रुपैयाँ लगानीमा बहुउद्देश्यीय आयोजना बन्ने भएको छ ।

गाउँपालिकाको वडा नंं ३ जंगहत्था (साविक हर्नैया गाविस वडा नं ६) मा रहेको ४ बिघा १० कठ्ठा क्षेत्रफलको ऐलानी जग्गामा वहुउद्देश्यीय आयोजना बनाउने गाउँ कार्यपालिका बैठकले निर्णय गरेको हो ।

आयोजना अन्तर्गत विशाल बुद्ध स्तुप, सामुदायिक कृषि विकास केन्द्र, हरित पार्क, नैतिक शिक्षा तालिम केन्द्र लगायतका संरचना बन्ने छन् ।

यस्तै कम्पाउण्ड वाल र आकर्षक प्रवेशद्वार पनि बन्ने छन् । बहुउद्देश्यीय आयोजनाका लागि विश्व प्रकाश प्रतिष्ठान नामको गैरसरकारी संस्थाले ७५ प्रतिशत र सियारी गाउँपालिकाले २५ प्रतिशत लगानी साझेदारी गर्ने गरी सहमति भएको गाउंपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।

बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाबाट नजिकै दुरीमा रहेकाले वहुउद्देश्यीय आयोजना बनेपछि लुम्बिनी आउने बौद्ध धर्मावलम्वी पर्यटकलाई आकषिर्त गर्न सकिने गाउँपालिकाको विश्वास छ ।

जंगहत्थामा रहेको खाली जग्गालाई पर्यटकीय स्थल बनाउन ४ वर्षअघि नै बुद्ध मन्दिर ल्याएर पुजाआजा गरिंदै आएको छ ।

विशाल बौद्ध स्तुप र नैतिक शिक्षा तालिम केन्द्रले बौद्धमार्गी पर्यटकलाई आकषिर्त गर्नसक्ने र सियारी कृषि उत्पादनका लागि जिल्लाकै अग्रणी ठाउँ भएकाले सामुदायिक कृषि विकास केन्द्र स्थापनाले जिल्लाको मात्र नभई प्रदेशका सबै जिल्लाका कृषि क्षेत्रसंग सरोकार राख्नेका लागि गन्तव्य बन्न सक्ने हुंदा वडा नं ३ का अध्यक्ष घिसन यादवले बताए ।

यो आयोजना छिटै कार्यान्वयनमा ल्याउन स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय र प्रदेश ५ उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयमा पत्राचार गरिसकिएको गाउंपालिका उपाध्यक्ष अमृता गुरुङले बताइन् ।

गाउँपालिकाले पर्यटन प्रवर्द्धनलाई लक्षित गरी एक करोड वजेट विनियोजन गरेको छ । गाउँपालिकाले युवाहरुलाई टुर गाइड तालिम,युवाहरुलाई गाडी चलाउन सिकाउन ड्राइभिङ तालिम दिई पर्यटक गाडीसमेत किनेर दिने योजना बनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल सन् २०१९ भित्रै सञ्चालनमा आउन लागेकाले सियारी गाउंपालिकाले आन्तरिक तथा वाह्य पर्यटकलाई आफ्नो गाउँपालिकाका धार्मिक पर्यटकीय स्थल र कृषि हब अवलोकन गराउन टुर गाइड तालिम चलाउन थालेको हो ।

बहुउद्देश्यीय आयोजना सञ्चालनमा आएपछि करिब ५० जनाले प्रत्यक्ष रोजगारी पाउने गुरुङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment