अमेरिकाका ४१औं राष्ट्रपति जर्ज एच डब्लू बुसको केही दिन अघि निधन भयो । उनका छोरा जर्ज डब्लू बुस पनि अमेरिकाका ४३ औं राष्ट्रपति नै बने ।
नेपालमै पनि बाबुको पदचाप पछ्याउँदै राजनीतिमा उदाएका व्यक्ति वा त्यस्ता राजनीतिक घराना थुप्रै छन् । त्यसको ज्वलन्त उदाहरण कृष्णप्रसाददेखि सिद्वार्थसम्मका कोइराला र कोइराला परिवार हो । राजनीति गरेबापत राणा सरकारको जेलमा मर्नुपरेका कृष्णप्रसाद कोइरालाका तीन छोरा नेपालका प्रधानमन्त्री भए । अहिले कृष्णप्रसादका नाति पुस्ताका शेखर, शशांकदेखि पनाति पुस्ताका सुजाता, सिद्वार्थसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
नेपालको कम्युनिष्ट राजनीतिमा पनि स्वर्गीय पुष्पलाल श्रेष्ठ र सहाना प्रधानलाई एउटा राजनीतिक घराना नै मानिन्छ । नेपाली कम्युनिष्ट आन्दोलन भन्नेबित्तिकै पुष्पलाल श्रेष्ठको नाम आउँछ । उनकी पत्नी साहनाले २०४६ सालको जनआन्दोलनमा कम्युनिष्ट खेमाको नेतृ गरिन् । साहना प्रधान धेरै पटक मन्त्री पनि भइन् ।
बाबुआमाले योगदान गरेर सफल भएको क्षेत्र राजनीतिमा अहिले पनि थुप्रै सक्रिय छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपराष्ट्रपति नन्दबहादुर पुनदेखि रामबहादुर थापासम्मका सन्तान राजनीतिमा छन् । यसमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका सन्तान भने फरक देखिए ।
प्रसिद्व राजनीतिक परिवारमा जन्मिएर पनि उनीहरुका छोरा उद्यम र छोरी सामान्य पारिवारिक जीवनमा निमग्न बने । यो भने उद्यमीको कथा हो ।
उद्यमी उमेशलाल
साहना र पुष्पलालका छोरा उमेशलाल श्रेष्ठ अहिले नेपालका गिनेचुनेका व्यवसायीमध्येका एक र उद्यगी-व्यावसायिक क्षेत्रका नेता पनि हुन् । काठमाडौंमा जन्मिएका उमेशलालको बालापन पोखरामा बित्यो । त्यसबेला साहना प्रधान पोखरामा अध्यापन गर्थिन् ।
आमाको जागिरका कारण उनले प्राथमिक शिक्षा पोखरामै पाए । उनले माध्यमिक तह भने काठमाडौं, क्षेत्रपाटीको जुद्धोदय हाइस्कूल विज्ञानमा स्नात्तकोत्तर त्रिभुवन विश्वविद्यालयबाट पूरा गरे ।
परिवारमा आम्दानी गर्ने आमा थिइन् । तर, पंचायती सरकारले २०३३ सालमा राजनीति गरेको भन्दै आमाको जागिर खोसिदियो । स्नातक तह अध्ययन पुरा गरेका एक्ला छोरा उमेशलाल श्रेष्ठलाई जागिर खान कर लाग्यो । उनले हेक्सल फर्मास्युटिकल्स नामकको कम्पनीमा जागिर खाए । ‘हेक्सलमा ७ वर्ष बिताएपछि आफैंले औषधी उत्पादन कम्पनी दर्ता गरें ।
बचाएको तलबको पैसा लगाएर उनले २०५६ सालमा खोलेको क्वेष्ट फर्मास्युटिकल्स अहिले नेपालको एउटा प्रमुख औषधी उद्योग हो ।
व्यावसायमा यसरी सफल
क्वेष्ट फर्मास्युटकल्स स्थापना गरेपछिको तीन वर्ष सास्तीपूर्ण भएको उमेशलाल बताउँछन् । नयाँ उद्योगले मधुमेह तथा मस्तिष्कसँग सम्बन्धित औषधीहरु उत्पादन गर्न त थाल्यो, तर डाक्टरहरुले नलेखिने । तर, उनले मेहनत गर्न छाडेनन् । डाक्टरहरुलाई पनि औषधीको गुणस्तरमा विश्वस्त बनाए । बिस्तारै औषधी खपत हुन थाल्यो । उनी भन्छन्, ‘४ वर्ष पछि त माग अनुसार उतपादन गर्नै धौ-धौ पर्यो ।’
२५ कर्मचारीबाट शुरु भएको क्वेष्ट फर्मास्युटिकल्समा यतिबेला ६०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योगले भर्खरै मनोवैज्ञानिक रोगहरुको औषधी पनि उत्पादन गर्न थालेको छ । उद्योगले धेरै प्रकारका भन्दा विशेष प्रकारका औषधी उत्पादनमा ध्यान दिएको छ । केही वर्षभित्रै मिर्गौला, कलेजो र आँखासम्बन्धी रोगहरुको औषधी उत्पादन गर्ने योजना रहेको उमेशलालले बताए । ‘अबको ५ वर्षभित्र क्यान्सर रोगको पनि औषधी उत्पादन गर्ने योजनामा काम गरिरहेका छौं’, उनले भने, ‘त्यसका लागि नयाँ प्लाण्ट राख्दैछौं ।’
क्वेष्ट फर्मास्युटिकल्सले गत मंसिर १० गतेदेखि सबै किसिमका गरी दैनिक ४० लाख ट्याबलेट औषधी उत्पादन गरिरहेको छ । अझ दैनिक ५० लाख ट्याबलेट उत्पादन गर्ने लक्ष्य छ ।
साथीको उक्साहटबाट महासंघमा
उमेशलाल श्रेष्ठ अहिले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत छन् । ३ कार्यकाल महासंघको सदस्य भएर डेढ वर्ष अघि अनौठो तरिकाले पदाधिकारी निर्वाचित भएको उनले बताए । ‘अनौठो यसकारण कि’, उमेशलाल भन्छन्, ‘म न पार्टी राजनीति न त व्यवसायिक राजनीतिमा छु । तैपनि साथीहरुको सझुाव मानेर निर्वाचित भएँ ।’
यसअघि उनी ३ कार्यकाल नेपाल औषधी उत्पादक संघको अध्यक्ष रहे । त्यसबेला गरेका राम्रा कामको प्रभाव रहने नै भयो । औषधी उत्पादक संघका साथीहरुकै सल्लाहमा महासंघको सदस्यता लिएको र साथीहरुकै आग्रह मानेर उपाध्यक्षमा चुनाव लडेको उनले बताए । उमेशलाल भन्छन्, ‘तीमध्ये पनि बिषेशतः ‘उमेरले मभन्दा जेठा एक मित्रको करले यहाँसम्म आएको हुँ ।’
प्रसिद्व कम्युनिष्ट दम्पत्तीका छोरा । राजनीतिमा लागेको भए उनले पनि राज्यको ठूलै जिम्मेवारी पाइसकेका हुने थिए होलान् र सम्भवतः अरु झैं आलोचित नहुन पनि सक्थे होलान् । तर, उमेशलाललाई यसमा कुनै पछुतो छैन । बरु उद्योगको क्षेत्रबाट योगदान पुर्याउन सकेकोमा सन्तुष्ट छन् । ‘मन्त्री बन्न लागि पर्ने हो भने अहिले पनि सकिएला’, उनी भन्छन्, ‘तर, झण्डा फहराएर मात्र के होला र ?’
उनी बुवाआमाले ‘राम्रो मान्छे बन्न जे गर्छौ गर’, भनेको सम्झिरहने उनी उद्योगी-व्यवसायीहरुको राजनीतिमा भने योभन्दा अगाडि बढ्ने आकांक्षा राख्छन् । ‘उहाँहरुले भने अनुसार गर्ने, तर पार्टी राजनीतिमा नआउने’ अठोट उनले सुनाए । ‘देशको उत्थान गर्नु छ भने आर्थिक प्रगति सबभन्दा महत्वपूर्ण हुन्छ भन्ने मेरो मान्यता छ’, उनी भन्छन्, ‘आर्थिक उन्नती पैसाबाट हुन्छ । पैसा सरकारको नियमभित्र रहेर कमाउनुपर्छ । ‘
सरकारबाट अपेक्षा
निजी क्षेत्रसंग सम्बन्धित भएका कारण उमेशलाललाई सरकारबाट एउटा मात्र अपेक्षा छ- केही वर्ष पहिले स्वास्थ्य मन्त्रालयले गरेको निर्णय कार्यान्वयन । उनका अनुसार, त्यसबेलाका स्वास्थ्यमन्त्रीले ३० प्रकारका औषधीको कच्चा पदार्थ आयात गर्ने र तयार औषधी आयात नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । ‘तर अझै मन्त्रिपरिषद्मै विचाराधीन छ’, उनी भन्छन्, ‘सरकारले यो प्रस्ताव पारित गरिदिए समग्र नेपाली औषधी उद्योगका लागि पुग्छ ।’
उनको अर्को ठूलो चासो बैंक व्याजदरमा छ । यतिबेला बैंकिङ क्षेत्रमा तरलता अभाव छ । तरलता अभावमात्रै होइन, बैंकहरुले चालेको पछिल्लो कदमका कारण आफूहरु समस्यामा परेको उद्योगी-व्यवसायी बताउँछन् । उमेशलालका अनुसार, आकाशिएको व्याजदरको मार उद्योग-व्यावसायमा परेको छ ।
बैंकहरुले निक्षेपमा १३ प्रतिशतसम्म व्याज दिने घोषणा गरेका छन् । ९३ रुपैयाँको आयात र ७ रुपैयाँको निर्यात गर्ने मुलुकले यति धेरै ब्याजदर धान्न नसक्ने उनको भनाइ छ । ‘यसतर्फ तत्काल सरकार र राष्ट्र बैंकको ध्यान जानुपर्यो’, उनी भन्छन्, ‘यतिबेला ४.५ प्रतिशत स्प्रेडदर तोकिएको छ, १३ प्रतिशत व्याजदरमा स्प्रेडरेट जोडिदा १७.५ प्रतिशसम्म पुग्छ । यति महंगो कर्जामा उद्यम गर्न कसैले सक्तैन ।’
अब स्प्रेड दर (कर्जा र निक्षेपबीचको अनुपात) मात्रै होइन, व्याजदरसमेत राष्ट्र बैंकले तोक्नुपर्ने उनी बताउछन् । ‘शेयर बजार निरन्तर ओरालोमा छ, अब उद्योग पनि ओरालो लाग्न छ’, श्रेष्टले भने, ‘उद्योगको लागत खर्च बढ्दा सरकारले मुद्रास्फिति कसरी कम गर्छ ?’
अर्कोतर्फ, सरकारमै बसेकाहरुले सम्भव नहुने अभिव्यक्ति दिदा बजारमा नकारात्मक असर परेको उनको ठम्याई छ । मन्त्रीहरुले मुखमा जे आयो त्यही बोल्न नहुने उनी बताउँछन् । मौदि्रक नीतिबाट अपेक्षाकृत सुधार नदेखिएको र बैंकहरुले अनुत्पादक क्षेत्रमा धेरै लगानी गरेको उनको भनाइ छ ।
मानसिकता परिवर्तन हुनुपर्छ
व्यावसायीलाई कालो चश्मा लगाएर हेर्ने पञ्चायती व्यवस्थाको चलन अझै नहराएको श्रेष्ठ बताउँछन् । उद्यमीहरु ठग्छन्, धेरै पैसा कमाउँछन् भन्ने मानसिकताले नेपालमा उद्योगको राम्रो विकास हुन नसकेको उनको भनाइ छ । ‘यस्तो सोच बिशेषतः कर्मचारीतन्त्रले हटाउनुपर्छ’ उनी भन्छन्, ‘म सोच्छु कर्मचारीलाई घुस्याहा हो, कर्मचारीले मलाई सोच्छ यो व्यापारी हो, धेरै पैसा कमाउँछ, कालोबजारी गर्छ, यस्ता सोच हटाउनुपर्छ ।’
उनको विचारमा, मुलुकमा ठूलो राजनीतिक परिवर्तन आए पनि अन्य क्षेत्र जहाँको त्यहीँ छ । सरकारले जनताको भलो हुने काम गरिरहेको छ भन्ने अनुभूति नभएको उनी बताउँछन् । कर्मचारीको मानसिकता परिवर्तन भए यसमा आधा काम फत्ते हुने उनको बुझाइ छ । ‘सरकारले ५ वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने योजना ल्याएको छ’, श्रेष्ठ भन्छन्, ‘कर्मचारीतन्त्रले चाहृयो भने यो कुनै असम्भव कुरा होइन ।’
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4