Comments Add Comment

कर्मचारीले असहयोग गरेका छैनन्ः प्रधानमन्त्री ओली

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता सफल पार्न कर्मचारीले सरकारलाई पूर्ण सहयोग गरेको बताएका छन् । अन्तर प्रदेश परिषदको बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयता असफल पार्न कर्मचारीले भूमिका नखेलेको बताएका हुन् ।

‘कर्मचारीहरु पनि संघीयतामा पोख्त होइनन् । उनीहरुले पनि संघीयताको प्रयोग सिक्दैछन्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले संघीयता सफल पार्न कर्मचारीले असहयोग गरे, सरकारलाई सहयोग गरेनन् भन्ने कुरा सत्य होइन । हामी राजनीतिज्ञजस्तै कर्मचारी पनि यस प्रणालीमा नयाँ नै छन् । उनीहरुले जाने बुझेअनुसार सहयोग नै गरेका छन् ।’

आवश्यकताअनुसारका कर्मचारी नहुँदा प्रदेशहरुमा कर्मचारीको अभाव भएको हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

लोकतन्त्रविरोधी केही तत्वहरुले विभिन्न विषय उछालेर देशलाई अस्थिरता निम्त्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘सरकारलाई कहाँबाट बदनाम गर्न सकिन्छ । संघीयतालाई कहाँबाट कमजोर पार्न सकिन्छ भन्ने गौंडाहरु कुरेर बसेका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ताहरुलाई मौका दिनुहुदैन ।’

देशमा अनेक नाममा द्वन्द्व मच्चाउने र विखण्डनकोे प्रयास गर्नेका विरुद्ध सरकारले कडा कदम चाल्ने प्रधानमन्त्री ओलीले बताए । ‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अब चाहिएको कुन व्यवस्था हो ? यही व्यवस्था भित्रबाट जे चाहिएको हो त्यही कुरा पाउन सकिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण अनेक नाममा बखेडा किन झिक्ने ? यो त केवल चन्दा उठाउने र जनतालाई त्रसित पार्ने काम मात्र हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment