Comments Add Comment

आदित्यनाथको जनकपुर भ्रमणः पूजाआजासँगै उच्चस्तरीय भेटवार्ता

२६ मंसिर, जनकपुरधाम । अयोध्याबाट ‘जन्ती’ रूपमा जनकपुरधाम आएका उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले जानकी मन्दिरमा पूजाआजाका साथै उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

रामजानकी विवाह महोत्सवमा जन्ती (बाराती) भनिएका मुख्यमन्त्री योगी भिटी यूपीरे कलसाइनको निजी विमानबाट जनकपुर विमानस्थल ओर्लिएका थिए । उनलाई सङ्घीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभाका सभामुख सरोज यादव र भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले स्वागत गरे ।

त्उयहाँबाट उनी सिधै जानकी मन्दिरमा पुगे । मन्दिरमा उनलाई पर्यटनमन्त्री अधिकारी, कांग्रेस उपसभापति विमलेन्द्र निधि, मन्दिरका सहायक महन्त रामरोशन दासले स्वागत गरेका थिए । उनले त्यहाँ जानकी मन्दिरमा पूजाअर्चना गरे ।

आदित्यनाथले बाह्रविघा रंगभूमि मैदानमा जनकपुरवासीलाई सम्बोधन गरे । नेपाली भाषामा सम्बोधनको सुरुवात गरेका योगीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाइ र शुभकामना बोकेर जनकपुर आएको बताए ।

मिथिलाको पवित्र भूमि जनकपुर आउँदा गौरव महसुस भएको भन्दै योगीले सम्पूर्ण भारतवासीको दूत बनेर आएको पनि उल्लेख गरे । प्राचीन समयमा विश्व अन्धकार रहेको बेला जनकपुर ज्ञानको भूमिको रुपमा परिचित रहेको भन्दै भगवान बुद्ध र महावीरले समेत शास्वत सत्यको खोजी गर्दै जनकपुर आएको उनले बताए ।

जनकपुर र अयोध्याको दुरी कम गर्न चार लेनको राम-जानकी मार्ग निर्माण गरिने र यसले दुई धार्मिक स्थलको यात्रा चार घण्टामा तय गर्न सकिने उल्लेख गरे । जनकपुरधामको आफ्नो यात्रा दुई मुलुकबीचको जनताको भावना अनुसार स्थायी मैत्रीपूर्ण सम्बन्धलाई चित्रण गरेको उनको भनाइ थियो । जनकपुरमा आउँदा आफूलाई घरमै बसेको अनुभूति भएको पनि योगी आदित्यनाथले बताए ।

कार्यक्रममा जनकपुरवासीका तर्फबाट उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई नागरिक अभिनन्दन गरेका थिए ।

प्रदेश प्रमुखसँग शिष्टाचार भेट

योगी आदित्यनाथले प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थसँग पनि शिष्टाचार भेट गरेका छन् । प्रदेश प्रमुखसँग उनको भेटको तस्वीर भारतीय विदेश मन्त्रालयले ट्वीटरमा सार्वजनिक गरेको थियो । भेटमा भारतीय राजदूत मञ्जीवसिंह पुरी पनि सहभागी थिए ।

प्रदेश सरकारको पनि सम्मान

आदित्यनाथलाई प्रदेश २ सरकारले पनि सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गरे ।

अभिनन्दन कार्यक्रममा संघीय सरकराका पर्यटनमन्त्री अधिकारी, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, सांसद कोमल ओली, प्रदेश २ सरकारका मन्त्रीहरु, प्रदेशसभाका सभामुख सरोजकुमार यादव, भारतीय राजदूत मञ्जीव सिंह पुरीलगायत सहभागी थिए ।

योगी आदित्यनाथको सम्मानमा प्रदेश २ सरकारले भण्डारा (दिवा भोज) आयोजना गर्‍यो । मधेस भवनमा आयोजित भण्डारामा ३६ प्रकारको ब्यञ्जन पस्किइएको थियो । ब्यञ्जनमा दाल, भात, कजौरीपालक पुरी, रोटी, गाजरको हलुवा, पेडा, तीन प्रकारको रसबरी, दही, राजभोग, गुलाब जामुन र तरकारीलगायतका परिकार थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्रीको सम्मानमा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

के हो विवाह पञ्चमी ?

जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

सो महोत्सवमा सहभागी हुन यस पटक हजारौं श्रद्धालु यहाँ आएका छन् । सो क्रममा श्रद्धालुले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा बुधबार बिहानैदेखि पूजाअर्चना गरेका छन् ।

सीतालाई छोरी-बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गरेका छन् ।

मिथिला संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रङ्गभूमिमा लगी स्वयंवर र परीक्षण विधि भएपछि जानकी मन्दिरमा ल्याई विवाह संस्कार सम्पन्न गरिन्छ । त्यस अवसरमा निस्किने भगवानको डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment