Comments Add Comment

कतारमा श्रम गरेर फर्किएका फुटबलरलाई आफ्नै मेडलले झस्कायो

२८ मंसिर, पोखरा । २०२२ मा विश्वभरका फुटबलप्रेमीको ध्यान खाडी मुलुक कतारमा केन्द्रित हुनेछ । तीव्र आर्थिक विकासको बाटोमा लम्किरहेको यस देशले पहिलोपटक फुटबलको महाकुम्भ आयोजना गर्दैछ ।

विश्वकप फुटबलको तयारीमा व्यस्त रहेको कतारबाट एक नेपाली फुटबलर भने भर्खरै स्वदेश फर्किएका छन् । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर शिव श्रेष्ठले साढे २ वर्ष कतारमा पसिना बगाए । कतार रेल प्रोजेक्टमा साइड एड्मिनको काम गरे ।

पोखरा रामबजारका शिवले कतारमा देख्ने र बुझ्ने मौका पाए, सिंगो देश फुटबलको पछाडि कसरी लागिरहेको छ । त्यहाँ खेल र खेलाडीको जीवनस्तर कस्तो छ ? खेलाडीप्रति देशले कसरी गर्व गर्छ र खेलाडी आफू त्यो देशको खेलाडी हुन पाउँदा कति भाग्यमानी ठान्छन् ?

‘फुटबल खेल्दै हुर्किएँ, नेपाली फुटबलमै केही गर्छु भन्ने अठोट थियो,’ पोखरा रानीपौवा स्पोटर्स क्बलमा फुटसल खेल्दै गर्दा भेटिएका शिवले आफ्नो बिगत सुनाए ।

राष्ट्रिय टिमबाट खेल्दै गरेको एक खेलाडी आफ्नो अठोटबाट उछिट्टिएर कतार रेल प्रोजेक्टमा पुगेका थिए ।

मनाङ मस्र्याङ्दी क्लबका उपकप्तानसमेत बनेर लिग खेलेका शिवलाई लागेको थिएन, यसरी पलायन भइएला भन्ने । तर, देशको एक राष्ट्रिय खेलाडीको यही नियति बनिदियो । अहिले उनी फेरि फुटबलमै आफूलाई स्थापित गर्ने लक्ष्यका साथ फर्किएका छन् ।

०००

पछिल्लोपटक उनले राष्ट्रिय टिमबाट जोर्डनसँग खेलेका थिए । सो खेलमा नेपालले निराशाजनक हार ब्यहोर्‍यो । जोर्डनसँग उसकै घरेलु मैदानमे नेपाल ९–० गोल अन्तरले हार्‍यो । यो घटनाले देशमा फुटबल आलोचित भइरहेको थियो ।

देशमा ए डिभिजन लिग हुने छाँटकाँट थिएन । अखिल नेपाल फुटबल संघ (एन्फा) आफैं राजनीतिले ग्रस्त थियो । केही व्यक्तिको कुर्सीको लडाइँले सयौं खेलाडीको भावनामाथि खेलवाड भइरहेको थियो । लिग नै नभएपछि कमाइ हुने कुरै भएन । धमाधम नेपाली खेलाडी पलायन भइरहेका थिए । मध्यम परिवारका सदस्य शिवलाई पनि गुजारा चलाउन समस्या भयो । त्यही बेला एक जना आफन्तले सुझाए, ‘कतारमा राम्रो काम पाइएको छ, कमाइ राम्रो छ ।’

यहाँ बिनाकमाई बस्नुभन्दा छोरो बरु विदेश जाओस् र पैसा कमायोस् भन्ने बुबाआमालाई पनि लागेको रहेछ । शिवलाई पनि लाग्यो, ‘यो देशमा फेरि लिग हुने कहिले हो कहिले, बरु २/४ वर्ष दुःख गरेर केही पैसा कमाएर फर्किन्छु ।’

उनी भिसा प्रक्रिया मिलाएर कतार उडे । त्यो समय कतार उड्ने उनी एक्ला थिएनन् । नेपाली फुटबलमा नाम चलेका अरु खेलाडी पनि थिए । गणेश खड्का, अमिर श्रेष्ठ, अर्जुन सुब्बा लगायत थुप्रै खेलाडी विदेशिनेको सूचीमा थिए ।

कमाइ कति गरियो त ? मुस्कुराउँदै शिवले भने, ‘तलव राम्रै थियो, धेरथोर कमाइ त पक्कै भयो ।’

अब भने शिव कतार नउड्ने भनेरै फर्किएका छन् । ‘अब नेपाली फुटबलमै मेरो उमेर जाने छ,’ शिवले सुनाए ।

फुटबलको मेरुदण्ड नै लिग

‘एन्फामा किचलो थियो । विवाद चुलिँदो थियो । धेरै जना खेलाडी पलायन हुनुपर्‍यो,’ शिवले ती दिन सम्झे । त्यो बेला लिग नहुँदा धेरै खेलाडी साथी निराश बनेको शिव सुनाउँछन् । फुटबलको मेरुदण्ड भनेकै लिग भएको उनको भनाइ छ ।

‘जति धेरै लिगहरु हुन्छन्, उति धेरै खेलको विकास हुन्छ, खेलाडी खारिन्छन्, नयाँ खेलाडी जन्मिन्छन्,’ शिवले भने, ‘अहिले बल्ल ए डिभिजन लिग भएको छ, जुन खुशीको कुरा हो ।’

लिग हुने खबरले पनि कतार छँदा मनमा खुसीको तरंग उठेको शिवले सुनाए । आफूजस्तो कुनै खेलाडी नेपालमा भविष्य नदेखेर पलायन हुनु नपरोस् भन्ने शिवले कामना गरेका छन् । ‘एन्फा राजनीतिबाट मुक्त होस्, धमाधम लिगहरु भइरहुन् । तब पो खेल बन्छ, खेलाडी जन्मिन्छन्,’ शिवले भने ।

विश्वकप हेर्न जान्छु

शिव रोजगारीका क्रममा कतार गए तर, फुटबलदेखि टाढा भएनन् । उनी त्यहाँ पनि साथीभाइसँग मिलेर फुटबलरु खेल्थे । केही महिनाअघि उनले नेपाली टिमको नेतृत्व गर्दै कतार फुटबल एसोसिएसनले गरेको एसियन आप्रवासी फुटबल प्रतियोगिता खेले ।

जोर्डन, भारत, फिलिपिन्स, मलेसिया, श्रीलंका र दक्षिण कोरिया, सिंगापुर, जापान, लेवनान, इन्डोनेसिया, बंगलादेशजस्ता देशसँग खेल्दै नेपाल फाइनलसम्म पुग्न सफल भयो । कतारमा उनले अबको विश्वकप हुने खेल मैदानसमेत हेर्ने मौका पाए । विश्वकप खेलाउन निर्माणाधिन र निर्माण भइसकेका ३÷४ वटा खेल मैदान हेर्ने अवसर पाएको शिवले सुनाए ।

‘कतारले यसरी विश्वकपको तयारी गरिरहेको छ कि मानौं आजैदेखि खेल सुरु भइसकेको छ,’ शिवले भने, ‘यसपाली काम गर्न गएको थिएँ, मैदानमात्र हेरेर फर्कें, अब सकेसम्म २०२२ मा विश्वकपका खेल हेर्न टुरिस्ट बनेर जान्छु ।’

मनाङ मर्स्याङ्दी घरजस्तै लाग्छ

एन्फाका उत्पादन शिव ७ वर्षसम्म मनाङ–मर्स्याङ्दी क्लबमा आवद्ध रहे । त्यसबीचमा ४ वर्ष जति त उनी उपकप्तान रहेका थिए ।

शिवलाई अहिले पनि मनाङ–मस्र्याङ्दी क्लब घरजस्तै लाग्छ । ‘मनाङ–मर्स्याङ्दीमा ७ वर्ष बिताएँ, यो क्लबसँग मेरा सुखदुख जोडिएका छन्,’ उनले भने, ‘मलाई मनाङ मर्स्याङ्दी घर र अरु खेलाडी परिवारका सदस्यजस्तै लाग्छ ।’

कतारबाट फर्किएपछि पनि मनाङमै आवद्ध हुने योजना शिवको छ । ‘अबको समय म नेपाली फुटबलमै बिताउन चाहन्छु र अझै मनाङ–मस्र्याङ्दीमा आवद्ध हुन लालायित छु,’ उनले सुनाए । शिव उमेरले २७ वर्ष लागे । सक्दासम्म फुटबल खेल्ने नत्र कोच हुने, प्रशिक्षण दिने काममा व्यस्त हुने उनको योजना छ ।

जब आफ्नै मेडलले झस्कायो

कतारमा फर्केर घर पुग्दा आफैंले पाएका मेडल र तक्मा देखेर शिव झसंग भए । उनको छाति फुल्यो । ‘फुटबलबाट टाढा हुँदा निरास थिएँ । फर्केर हेर्दा आफैँले पाएका मेडल र तक्मा हेर्दा झस्किएँ । मनमा अनेक भावनाका तरंगहरु आए ।’

शिवले एउटा मेडल उठाए र चुम्बन गरे । त्यो मेयर अन्डर सेभेन्टिन खेल्दाखेरीको थियो । कावासोतीमा ए डिभिजनकै अन्डर सेभेन्टिन फुटबल प्रतियोगितामा शिव हाई स्कोरर बनेका थिए । त्योबेला उनले ५ गोल गरेका थिए ।

उमेर समूहबाट राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै ७÷८ खेल खेलेका छन् । थुप्रै टुर्नामेन्टमा शिवले उपाधिदेखि विभिन्न टाइटलसम्म जिते । तर, शिवको ए डिभिजन लिगमा बेस्ट मिडफिल्डरको पुरस्कार जित्ने सपना भने अधुरै छ ।

फुटबलले नै उनको जीवनसाथी जुराएको थियो । पोखरामा सहारा क्लबले गरेको अहा–रारा गोल्डकपमा उनी उपकप्तानको भूमिकामा मनाङ मस्र्याङ्दीबाट खेलिरहेका थिए । त्यही फुटबल हेर्न काठमाडौंदेखि पोखरा आएकी युवतीसँग साथीका माध्यमबाट उनको भेट भयो । पछि तिनै युवती नै उनको जीवनसाथी बनिन् ।

लामो समय फुटबल खेलेका शिवलाई खेलले के दियो भन्ने हिसाबकिताब गर्न मन लाग्दैन । रोजेर लागेको बिधा हो फुटबल, माया चाहिँ उनलाई आफूजत्तिकै लाग्छ ।

‘क्रोयसिया, रसियाजस्ता देशका नेतादेखि राष्ट्र प्रमुखसम्म खेल मैदान पुगेर खेलाडीलाई उत्साह भर्छन्, माया गर्छन्,’ शिवले सुस्केरा हाल्दै कुराको बिट मारे, ‘हाम्रो देशमा राष्ट्रिय खेलाडी भविष्य खोज्दै पलायन हुँदा कसैलाई पत्तो हुँदैन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment