Comments Add Comment

वामदेवको ‘फरक मत’ मा माधव नेपालको असहमति

२ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा वामदेव गौतमले पेश गरेको ‘फरक मत’लाई केन्द्रीय सचिवालयका चार नेताको साझा दस्तावेज बनाउने प्रयास असफल भएको छ ।

बरिष्ठ नेता माधवकुमार नेपालले गौतमको प्रस्ताव अस्वीकार गरेपछि सचिवालय बैठक बहिस्कार गरेका चार नेताको संयुक्त दस्तावेज स्थायी कमिटीमा नगएको हो । अन्य नेताले साझा दस्तावेज बनाउन नचाहेपछि गौतमले आफ्नो व्यक्तिगत विचारका रुपमा फरक मतलाई स्थायी कमिटीमा पेश गरेका छन् ।

गौतमनिकट स्रोतका अनुसार गत शनिवार स्थायी कमिटी बैठक बस्नुअघि माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठसँग गौतमले बैठक गरेका थिए । उनले आफ्नो ‘फरक मत’ को मस्यौदा त्यसअघि नै ती नेताहरुलाई अध्ययनका लागि दिइसकेका थिए । यी चारैजना नेताले सचिवालय बैठक बहिस्कार गरेपछि उनीहरुले स्थायी कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनलाई चुनौति दिने अनुमान गरिएको थियो ।

स्रोतका अनुसार गौतमले आफ्नो मस्यौदालाई चारैजना नेताको साझा दस्तावेजका रुपमा स्थायी कमिटी बैठकमा लैजान प्रस्ताव गरेका थिए । तर, माधव नेपालले तत्काल यसलाई गौतमले व्यक्तिगत मतका रुपमा लैजानु उपयुक्त हुने भन्दै साझा दस्तावेज बनाउने प्रस्ताव अस्वीकार गरेका थिए । नेपालले अस्वीकार गरेजस्तै झलनाथ र नारायणकाजीले पनि त्यसलाई बोक्न चाहेनन् ।
यो पनि पढ्नुहोस बामदेवलाई ओलीको जवाफः संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री बनाउन हुन्थ्यो

गौतमले आफ्नो फरक मतमा अधिकांश शब्द ओलीलाई गाली गर्न खर्चिएको भन्दै नेपाल निकट नेताहरुले उनलाई अहिले नै ‘वार कि पार’को अवस्थामा जान नहुने सुझाव दिएका छन् । ‘दुईटा दस्तावेज पढ्दा एउटाले कालै कालो देखेको छ, अर्कोले सेतै सेतोमात्र देखेको छ’ अध्यक्ष र गौतमको प्रतिवेदनमाथि टिप्पणी गर्दै एक स्थायी कमिटी सदस्यले भने ‘आरोप र आत्मप्रशंसाको पुलिन्दामाथि के छलफल हुनसक्छ ?’ ।

अहिले नै चार नेताले संयुक्त दस्तावेज लैजादा पार्टीमा संस्थागत गुटबन्दीको शुरुवात गरेको आरोप लाग्ने भएकाले नेताहरु पछि हटेको स्रोत बताउँछ ।

गौतमले केन्द्रीय सचिवालयको अधिकार कटौति गर्नुपर्ने स्थायी कमिटी सदस्यहरुको मागको स्वामित्व लिन खोजेका छन् । उनले स्थायी कमिटीलाई कार्यकारी बनाउनुपर्ने र सचिवालयलाई अन्य कमिटीका निर्णय कार्यन्वयन गर्ने र सरकारका काम अनुमगन गर्ने उच्चस्तरीय संयन्त्रका रुपमा मात्र राख्नुपर्ने प्रस्ताव गरेका छन् । अहिले नेकपामा सबै निर्णय सचिवालयबाट हुँदै आएका छन् ।
यो पनि पढ्नुहोस नेकपामा प्रतिपक्षको खोजी : वामदेवले मार्लान् बाजी ?

गौतमको यो प्रस्तावमा माधव नेपालको आधारभूत रुपमै असहमति छ । नेपालले केन्द्रीय सचिवालयलाई हाइकमाण्डको रुपमा स्थापित गर्नुपर्ने मत राख्दै आएका छन् । उनले केन्द्रीय सचिवालयको ९ जनाको टिमलाई ‘कोर अफ लिडरशीप’ भनेका छन् । उनको यो मत ओली र प्रचण्डसँग मिल्छ । वामदेवले चाहिँ सचिवालय कमिटीको संख्या बढाएर १९ सदस्यीय पुर्‍याउन माग गरेका छन् ।

अध्यक्षको प्रतिवेदनमाथि नेकपा स्थायी कमिटीमा सोमवारदेखि छलफल शुरु भएको छ । नेपाल लगायतका बरिष्ठ नेताहरुले बैठकमै आफ्ना धारणा राख्ने तर लिखित रुपमा अध्यक्षसँग असहमति जनाएर पार्टीमा संस्थागत गुटबन्दी गर्ने पक्षमा अहिले नेताहरु नरहेको स्रोतले जनाएको छ । त्यसैले उनीहरुले वामदेवको फरक मतलाई केपी ओलीसँगको सम्बन्धविच्छेदको लिखत भनेका छन् ।

केपी ओली र प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमाथि आजदेखि स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने कार्यक्रम छ । शनिबार सुरु भएको नेकपा स्थायी कमिटीको बैठक धुम्बाराहीमा सोमबार पुनः बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment