Comments Add Comment

पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टिमा सलामी नदिइने

३ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टिमा सरकारले सलामी अर्पण नगर्ने भएको छ । गिरीको दाह संस्कार भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने भएको छ ।

सरकारले भीआइपीको निधनमा सलामी दिने प्रचलन छ । तर, गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।

पूर्वप्रधानमन्त्री गिरीकी धर्मपत्नी साराह गिरीले अनलाइनखबरसँग भनिन्– ‘सलामी दिनेबारे हामीलाई सोधनी भएको थियो, तर, उहाँको अन्त्येष्टि साधारणरुपमा हुनेछ ।’

डा. गिरीले मृत्युपूर्व नै आफ्नो अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएको साराहले अनलाइनखबरलाई बताइन् । उनले भनिन्– ‘सामान्य किसिमले गर्नु भनेर लेखेर राखिदिनुभएको थियो ।

उनले अगाडि भनिन्– ‘विश्वका अति नै महान पुरुषहरुको अन्त्येष्टि पनि साधारण किसिमले नै हुने गरेको छ ।’

पारिवारिक स्रोतका अनुसार बुधबार गिरीको अन्त्येष्टि पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा गरिनेछ ।

मंगलबार बिहान बूढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा निधन भएका गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनकै निवासमा राखिएको छ । शुभेच्छुकहरुले त्यहाँ पुगेर श्रद्धासुमन अर्पण गरिरहेका छन् ।

सरकारले भेदभाव गरेको गुनासो थियो : कमल थापा

डा. गिरीले वर्तमान सरकारसँग चित्त दुखाएका कारण साधारण नागरिकको जसरी अन्त्येष्टि होस् भन्ने चाहेको राप्रपा अध्यक्ष कमल थापाको तर्क छ ।

डा. गिरीसँग हरेक हप्ता भेट गर्ने गरेका थापाले अनलाइनखबरसँग कुरा गर्दै भने–‘जीवनको अन्तिम समयमा उहाँले राज्यबाट जुन किसिमको सम्मान पाउनुपर्ने हो, त्यसमा अलिकति उपेक्षाको अनुभव गरिराख्नुभएको थियो । देशको कार्यकारी प्रमुख भएर उहाँले महत्वपूर्ण कामहरु गर्नुभयो, तर राज्यले पूर्वप्रधानमन्त्रीहरुमा पनि जुन किसिमको भेदभाव गर्‍यो, त्यसप्रति उहाँ बडो दुःखी हुनुहुन्थ्यो ।’

पूर्वउपप्रधानमन्त्री थापाले भने, ‘शायद त्यही कारणले होला, उहाँले मृत्युशैय्यामा भएका बेलामा मेरो अन्तिम संस्कार एउटा सामान्य नागरिकको रुपमा गर्नू भनेर आफ्नो परिवारलाई भनेर जानु भो ।’

गिरीको औषधि उपचारमा राज्यबाट केही सहयोग भएको थापाले बताए । तर, उनको उपचार खर्चिलो भएकाले त्यो नपुग भएको उनले दाबी गरे ।

केपी ओली र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरि केही सहयोग भएको तर, सिंगापुर, बैंगलोर लगायतका अस्पतालमा लामो समयसम्म उपचार गराउँदा धेरै ठूलो खर्च लागेको थापाले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment