Comments Add Comment

टुँडिखेलमा इनार खनेर सुन्धारामा पानी खसाल्ने !

८ पुस, काठमाडौं । काठमाडौंको सुन्धारामा पानी आउन छोडेको वर्षौं भयो । नदीनाला सुक्दै जाने, बढ्दो सहरीकरणले भूमिगत पानी सुक्दै गएपछि उपत्यकाका वर्षौं पुराना ढुंगेधारामा अहिले पानी आउँदैन ।

तर, सुन्धारामा पानी खसाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अध्ययन भइरहेको जनााएको छ ।  धरहराको पुनर्निर्माणसँगै सुन्धारामा पनि पानी खसाल्ने बारे अध्ययन भइरहेको प्राधिकरणका सम्पदा विभागका प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।

उनका अनुसार शुरुमा टुँडिखेलमा इनार खनेर पानीको सतह नापिनेछ । भूमिगत पानी सुक्दै गएकाले पहिले एउटा मात्र इनार खनेर परीक्षण गर्ने प्राधिकरणको योजना छ ।
‘पानीको सतह पुग्दो देखिए कम्तीमा चार वटासम्म इनार खन्छौं, त्यसपछि पाइपबाट लगेर सुन्धारामा खसाउँछौं’, उनले भने ।

टुँडिखेलमा इनार खनेपछि नै सुन्धारामा पानी खसाल्न सकिन्छ कि सकिन्न भन्ने टुंगो लाग्ने मानन्धर बताउँछन् ।

कसरी सुक्यो सुन्धारा ?

सुन्धारामा पानी आउन छोडेको झण्डै तीन दशक भयो । त्यतिबेला कर्मचारी सञ्चयकोषको नयाँ भवन बनाउन जग खन्न थालेपछि सुन्धाराको पानी सुक्ने डरले स्थानीय विरोधमा उत्रिए । तर, पछि सञ्चयकोषले फेरि त्यहीं भवन थाल्यो ।

काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर केशव स्थापित समक्ष स्थानीयहरु डेलिगेसन गए । तर, उनले स्थानीयको आवाज सुनेर सञ्चयकोषको भवन निर्माणमा रोक लगाएनन् ।

सञ्चयकोषले सुन्धाराकै पछाडि भब्य शपिङ कम्प्लेक्स ठड्यायो । काठमाडौं मलको जग खन्दै गर्दा नै सुन्धाराको मुहान सुकेको जानकारहरु बताउँछन् ।  कलकल बग्ने सुन्धाराको पानी त्यहाँको स्थानीयले घरायसी प्रयोजन र पिउनका लागि प्रयोग गर्थे ।

सुन्धारा सुकाएर ठडिएको काठमाडौं मलमा विद्युतीय मोटरबाट भूमिगत पानी तानेर प्रयोग हुन्छ । तर, सुन्धारामा पानी पिउँदै आएका स्थानीय अहिले जार र ट्यांकरको पानी किन्छन् ।

उपत्यकाका धेरै सुन्धारा र ढुंगेधारा अतिक्रमण र अव्यवस्थित सहरीकरणले सुक्दै गएका छन् । जथाभावी घर बन्नेक्रम बढेपछि भूमिगत पानीका मुहान सुक्दै गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment