Comments Add Comment

बिहे गर्नुभयो ? कुन उमेरमा बन्ने बुबाआमा ?

यो प्रश्नको उत्तरमा तपाईं भन्नुहोला, ‘उमेर भएकै छैन ।’ हाम्रो समाजले स्थापित गरेको मान्यता हो, ‘विस बर्ष पारी, बिहेवारी ।’

अर्थात २० बर्ष पुरा नगरी विवाह गर्न उपयुक्त छैन । किनभने यसअघि हामी मानसिक र शारीरिक रुपले विवाहका लागि योग्य भएका हुँदैनौ ।

अर्कोतिर हामी ठान्छौं, ‘आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मात्र विवाह गर्नुपर्छ ।’

अर्थात आर्थिक रुपले सुरक्षित भएपछि विवाह गर्नु उपयपुक्त हो । किनभने अरुवाट आश्रति भएर दाम्पत्य जीवन चल्दैन । घरबार बन्दैन ।

उमेरका सीमाहरु

विवाह गर्नका लागि शारीरिक रुपले, मानसिक रुपले, आर्थिक रुपले परिपक्क हुनुपर्छ । यसका लागि हामीसँग केही सीमाहरु छन् । जस्तो कि, २० बर्ष पुरा गर्नैपर्‍यो । पढाई सक्नैपर्‍यो । जागिर खान वा उद्यम गर्नै पर्‍यो । अर्थात आफ्नो खुट्टामा उभिने हुनुपर्‍यो ।

यसका लागि हामीलाई २० बर्षपछिको समय पनि काफी छैन । किनभने २० बर्षमा हामीले स्नातकसम्म अध्ययन सकाएका हुन्छौं । यहाँसम्म आइपुग्नका लागि पढाईका लागि मात्र करिब १६ बर्ष समय खर्च गरिसकेका हुन्छौं । औसत पाँच बर्षको उमेरमा एक कक्षामा भर्ना भइन्छ । त्यस हिसाबले १० कक्षासम्म पुग्दा १५ बर्षको भइसकेका हुन्छौं । प्लस टु पुरा गर्न २ बर्ष लाग्छ । स्नातक तहमा ३ वा ४ बर्ष लाग्छ । यसरी स्नातकसम्मको पढाई पुरा गर्दागर्दै हाम्रो उमेर २०, २१ बर्षको भइसक्छ ।

स्नातक तह पुरा गर्दैमा हामी जागिरका लागि योग्य हुन्छौं वा हुँदैनौ ? यो प्रश्न एकातिर छ । आफ्नै उद्यम नहुन सक्छ । वा उद्यम गर्नका लागि आवश्यक पूँजी र अनुभव पनि नहुन सक्छ ।

अब स्नातकोत्तर गर्नुपर्‍यो । यसमा अरु दुई, तीन बर्ष समय लाग्छ । स्नातकोत्तर गरेर जागिर गर्ने, उद्यम गर्ने वा कुनै पेशा-व्यवसाय अंगाल्ने सोंच पालेका छौं भने अझैपनि हामी आर्थिक रुपले निर्भर हुन सकिरहेका हुँदैनौ । यतिबेलासम्म हामी २४, २५ बर्षका हुन्छौं ।

अब जागिर खोज्ने, उद्यम गर्ने, व्यवसाय गर्ने काममा लाग्छौं । जब हामी आफ्नै बलबुतोले आयआर्जन गर्न थाल्छौं, तब विवाहका लागि योग्य ठान्छौं ।

कुन उमेरमा विवाह ?

२५ देखि २८ बर्ष उमेरलाई विवाहका लागि उपयुक्त मानिन्छ । किनभने यो उमेरमा विवाह गरेपछि हामीले आफुलाई व्यवस्थित गर्न, घर-गृहस्थी चलाउन, छोराछोरी जन्माउन-हुर्काउन समय पाउँछौं । हुन त विवाह गर्नुअघि जागिर खानुपर्छ, आयआर्जनमा सहभागी भइसक्नुपर्छ भन्ने छैन । साथसाथै अध्ययन पुरा गरेर मात्र विवाह गर्नुपर्छ भन्ने पनि छैन । यो हाम्रो परिस्थिती, अवस्था, सामाजिक मान्यता, घरायसी व्यवस्था सबै कुराले निर्धारण गर्ने कुरा हुन् ।

यद्यपी विवाहका लागि भने निश्चित उमेरअवधी नै ठिक हुन्छ । उमेर ढल्किसकेपछि वा उमेर नपुगी गरिएको विवाहले दाम्पत्य जीवनको तालमेल मिलाउन कठिन हुन्छ । भौतिक कुरामा मात्र होइन, भावनात्मक कुरामा पनि थुप्रै झन्झट आइलाग्छ ।

किनभने दाम्पत्य जीवनबाट हामी घर-गृहस्थीमा प्रवेश गर्छौं । दाम्पत्य सुख, परिवार सुखसँगसँगै थुप्रै दायित्व पनि बोक्नुपर्ने अवस्था हो यो । त्यसैले उचित उमेरमा विवाह गरियो भने सबै किसिमको भूमिका निर्वाह गर्नका लागि हामी सक्षम हुन्छौं ।

दाम्पत्य यौनसुख

विवाहपछि यौनजीवनले पनि खास अर्थ राख्छ । यौन जीवनबाट सुखभोग प्राप्त गर्नका लागि पनि उमेर कारण बन्छ । वैंशालु उमेरमा नै यौन-सुखको चरम सन्तुष्ट लिन सकिन्छ । यौनमा सक्रिय हुन सकिन्छ । दाम्पत्य जीवनका लागि यो अहंम कुरा हो ।

अर्को कुरा यौन एक प्राकृतिक क्रिया हो र अनिवार्य पनि । यौन मनोविद करुणा कुँवर भन्छिन्, ‘यौन क्रियाकलापले दुई जना -श्रीमान्-श्रीमती’को सम्बन्धलाई नजिक बनाउँछ । उनीहरुले एकअर्कालाई स्पर्श गर्दा ओक्सिटक्सिन नामक हर्मोन बढ्छ । यो हर्मोनलाई प्रेमको हर्मोन भनिन्छ ।’

उनले के पनि भनेकी छिन् भन्, स्वस्थ्य र सक्रिय यौनजीवनले दाम्पत्य सुख मात्र प्राप्त हुने होइन, दुबैलाई निरोगी र तन्दुरुस्त पनि बनाउँछ । विभिन्न अध्ययनले देखाएको छ, नियमित यौन सम्बन्धले मुटु रोगदेखि कोलोस्टोरसम्म नियन्त्रणमा खास फाइदा पुग्छ । विवाह गर्नु भनेको यौन जीवनलाई सक्रिय र व्यवस्थित तुल्याउनु पनि हो ।

एक अध्ययनले भनेको छ, अविवाहितको तुलनामा विवाहित व्यक्ति चिन्ता, तनाव, एक्लोपनको समस्याबाट मुक्त हुन्छन् । जबकी अविवाहितमा यस्ता कैयौं मनोविकार हुनेगर्छ ।

कुन उमेरमा बालबच्चा जन्माउने ?

विवाहपछि आफ्नै कोखको सन्तान हुर्काउने रहर पनि हुन्छ । सन्तानलाई हामी आफ्नो वंशको निरन्तरता ठान्छौं । यो प्राकृतिक चक्र पनि हो । किनभने निश्चित उमेरपछि हाम्रो मृत्यु हुन्छ । त्यसपछि पनि सृष्टिलाई चलयामान बनाइराख्न अर्को पुस्ताको खाँचो हुन्छ ।

दाम्पत्य जीवनमा सन्तान कहिले जन्माउने भन्ने कुराले निकै महत्व र अर्थ राख्छ । कतिपयले आफुहरु अझ परिपक्क भइसकेपछि सन्तान जन्माउने योजना बनाउँछन् । कतिपयले विवाह लगत्तै पहिलो प्राथमिकतामा सन्तान जन्माउने कुरालाई राख्छन् ।

कुन उमेरमा सन्तान जन्माउने भन्ने कुरा पनि यहाँ महत्वपूर्ण हुन्छ । किनभने कम उमेर वा बढी उमेरमा सन्तान जन्माउनु शारीरिक र मानसिक जोखिमका कुरा हुन् ।

एक अध्ययनमा के भनिएको छ भने, उमेर ढल्कन नपाउँदै सन्तान जन्माउनुपर्छ  । धेरै उमेर पछि सन्तान जन्माउँदा आफ्नो सन्तान आकर्षक नहुने पनि उक्त अध्ययनले खुलाएको छ ।

विएना युनिभर्सिटीले गरेको अध्ययनले त के भन्छ भने २० बर्ष उमेरका पिताको सन्तान बढी आकर्षक हुन्छ । शोधकर्ताको तर्क के छ भने, धेरै उमेरका पुरुषको स्पर्ममा जेनेटिक म्यूटेशन हुन्छ, जसको सोझो असर उनको बच्चाको सौन्दर्यमा पर्छ ।

पढ्नु, करियर बनाउनु, विवाह गर्नु, बालबच्चाका आमाबुवा बन्नु यी एक नियमित क्रिया हुन् । र, यो क्रिया एउटा लयमा हुनुपर्छ । तबमात्र जीवनको धुन बज्छ ।

अर्थात जुन उमेरमा जे कार्य सम्पन्न गर्नुपर्ने हो, सो पुरा गरेपछि हामी थप व्यवस्थित हुन्छौं । त्यही कारण त हाम्रो पिता पूर्खाले जीवन पद्दतीको विकास गरेका छन् । संस्कारको विकास गरेका छन् । हिन्दु पद्दतीले जीवनमा १६ संस्कारको व्यवस्था गरेको छ । कुन उमेरमा के गर्ने भन्ने कुरा यहीबाट निर्धारण हुन्छ । यसले हामीलाई सही समय, सही उमेरमा सही काम गर्ने मार्गदर्शन दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment