Comments Add Comment

रेमिट्यान्स कम्पनीजस्तो देश ! दुःखीको समाज !

९ पुस, पोखरा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन १ हजार २ सय जनासम्म खाडी तथा मलेसिया मजदुरी गर्न उड्छन् । ती मान्छेले प्रतिवर्ष ७ सय ३० अर्ब रुपैयाँ नेपाल पठाउँछन् । दैनिक २ अर्ब र एक घन्टामा ८ करोड ३३ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रन्छ । सँगै दैनिक ३ देखि ४ जना मानिस लास भएर नेपाल भित्रिन्छन् । ४० लाख मान्छेले प्रत्येक पल घर, परिवार, प्रमिप्रेमिकासँगको विछोडका पीडा भोगिरहेका छन् ।

सरकारले गठन गरेको विज्ञ समूहका सदस्य डा. गणेश गुरुङले देशको यो अवस्था बताइरहँदा दर्शकदीर्घा जिब्रो टोक्दै थिए । वैदेशिक रोजगार, त्यसले नेपाली समाजमा पारेको असर र रेमिट्यान्सको प्रभावका विषयमा कुरा हुँदै थियो । नेपाल लिटरेचर फेस्टिभलको यो सत्रको नाम दिइएको थियो, ‘रेमिट्यान्स साहित्यः दुःखदेखि दुःखसम्म ।’

नेपाली साहित्यमा खासै प्रयोग नभएको र नसुनिएको रेमिट्यान्स साहित्य भनेको के हो  त ? गुरुङले प्रस्ट्याए, ‘४० लाख जनाको घरपरिवार, देश, प्रेमिप्रमिकासँग बिछोडिनु पर्दाको पीडा नेपाली समाजसँग जोडिएको छ । त्यही पीडाले जन्माएको साहित्य नै रेमिट्यान्स साहित्य हो ।’

वैदेशिक रोजगारी, त्यसले दिएको खुसी र सामाजिक विखन्डनबारे रेमिट्यान्स साहित्यले उठान गर्‍यो । रेमिट्यान्स साहित्यबारे छलफलमा थिए विज्ञ गुरुङसँगै वैदेशिक रोजगारीसँग जोडिएका विषयमा कलम चलाउँदै आएका पत्रकार जनक सापकोटा, वैदेशिक रोजगारीको अनुभवसमेत संगालेर फर्केकी लेखक उमा सुवेदी र सहजीकरण गर्दै थिए, पत्रकार तथा अनुवादक दिनेश काˆलेले ।

वैदेशिक रोजगारी र त्यसले निम्याएको असरबारे बोल्दै पत्रकार सापकोटाले सिंगो नेपाल रेमिट्यान्स कम्पनीजस्तो लाग्ने बताए । ‘यो दुःखीहरुको समाज हो, हामी दुःखमै रमाउँछौं । देशले भित्र्याइरहेको रेमिट्यान्स दुःखको हिस्सा हो,’ पत्रकार सापकोटाले तीतो पोखे, ‘सिंगो देश रेमिट्यान्स कम्पनी हो ।’ नेपालबाट ९७ प्रतिशत अदक्ष कामदार विदेश जान्छन् भने उनीहरुले धेरै विदेशमा सुख नपाएको सापकोटाको भनाइ थियो ।

के त्यसो भए वैदेशिक रोजगारीले दुःखमात्रै सिर्जना गरेको छ ? सामाजिक विखन्डनमात्रै निम्त्याएको छ त ? पत्रकार सापकोटा वैदेशिक रोजगारी दु:खबाट सुरु भएर सुखको खोजीमा दुःखमै अन्य हुने शृंखलाको नै भएको बताउँछन् । वैदेशिक रोजगारीबाट आएको पैसा केमा खर्च भएको छ र जीवन कसरी चलेको छ, कता गइरहेको छ भन्ने कुरा पनि हेर्नुपर्ने सापकोटाको तर्क थियो ।

तर, यो तर्कसँग विज्ञ गुरुङ भने केही असहमत छन् । वैदेशिक रोजगारीले दुःखमात्रै निम्त्याएको छैन, आर्थिक हैसियत पनि उकासेको गुरुङको तर्क छ । ‘वैदेशिक रोजगारीका सुखका खबर पनि छन् । तर, ती खबरमा त्यति आउँदैनन् । आर्थिक हैसियत उकासिएको छ ।  रेमिट्यान्सकै कारण आर्थिक वृद्धिदर बढेको छ, गुरुङको तर्क छ ।

रेमिट्यान्सबाट आएको खर्च उत्पादनशील क्षेत्रमा खर्च भएन भनेर अपेक्षा राख्नु पनि गलत भएको गुरुङको भनाइ छ । ‘उनीहरु त देशलाई धनी बनाउँछु भनेर गएकै होइनन्, परिवारको अवस्था कसरी सुधार गर्ने, सन्ततीलाई कसरी शिक्षादीक्षा दिने भनेर पो गएका हुन्, जीवन धान्न गएका हुन्’ डा. गुरुङले भने ।

डाक्टर गुरुङले विदेश जानेहरुलाई ५ समूहमा विभाजन गरेका छन् । ए क्लासका व्यक्ति छन्, जो अमेरिका, क्यानडा लगायतका देश जान्छन्, बी क्लासका व्यक्ति युरोपियन देश जान्छन्, सी क्लासका जापान, हङकड, डी क्लासका खाडीसँगै मलेसिया जान्छन् र ई क्लासका हिन्दुस्तान जान्छन्,’ विज्ञ गुरुङ भन्छन्, ‘दैनिक १ अर्ब पठाउने डी क्लासका हुन् । ई क्लासका व्यक्तिको यहाँ हिसाब किताबै छैन ।’ यी क्लासका व्यक्तिले एकले अर्कालाई उचालेको उनको भनाइ थियो ।

विदेश जानेमा नेपाली महिलाको पनि ठूलो हिस्सा छ । लेखक उमा सुवेदीले केही आफूले इजरायलमा देखेका घटना र भोगाइ सुनाइन् भने केही महिलाका समस्याबारे बोलिन् । नेपाली महिला विदेश जानुको मुख्य कारण अर्थ संकलन नै रहेको उनको भनाइ थियो ।

‘आर्थिक हैसियतले आत्मबल बढाउँछ । हाम्रोजस्तो नेपाली समाजमा झन् महिलालाई हेर्ने नजर नै अर्को छ, यहाँ झन् गाह्रो छ,’ उमाले भनिन्, ‘महिलामा सामाजिक, आर्थिक, राजनीतिक कारणले समाजमा आˆनो हैसियत खोजिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment