Comments Add Comment

विश्वबन्धु थापाको खुलासा : ज्ञानेन्द्रले बेबी किङ्ग स्वीकारेनन्, अब राजतन्त्र फर्कंदैन

९ पुस, काठमाडौं । भीमसेन थापा नेपालको इतिहासमा रुचि राख्नेहरुका लागि सर्वाधिक चर्चित पात्र हुन् । नेपालका प्रथम प्रधानमन्त्री मानिने उनै भीमसेन थापाका पाँचौं पुस्ताका सदस्य हुन्– वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापा ।

अहिले नेपाल कम्युनिस्ट पार्टीले करीव दुईतिहाई बहुमत ल्याएजस्तै नेपालमा भएको पहिलो निर्वाचन (२०१५) मा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो । त्यो दुईतिहाई बहुमतप्राप्त कांग्रेसका प्रमुख सचेतक र पार्टीका महामन्त्री थिए– विश्वबन्धु थापा ।

गतसाता पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भएपछि नेपाली राजनीतिका गुमनाम पात्र ९२ वर्षीय विश्वबन्धु थापाको हामीले खोजी गर्‍यौं। नेपालको इतिहासमा कांग्रेस, राजा महेन्द्र र वीपी कोइरालाको चर्चा गरिरहँदा तुलसी गिरी र विश्वबन्धु थापाको नाम आइहाल्छ ।

वीपीले विश्वास गरेका तर राजा महेन्द्रले प्रयोग गरेका ‘दुई चर्चित राजनीतिक खेलाडी’ थिए डा. गिरी र थापा । दुईतिहाईको कांग्रेस सरकार र प्रधानमन्त्री वीपी कोइरालालाई ‘कु’ गरेर पञ्चायती व्यवस्था लागु गर्ने बेला राजा महेन्द्रले गिरी र थापालाई विभिषणका रुपमा प्रयोग गरेको आरोप कांग्रेसजनले लगाउने गर्छन् ।

गिरिजाप्रसाद कोइरालाले मात्रै मानेको भए राजतन्त्र जाँदैनथ्यो । तर, उनले राजाको गतिविधिप्रति असन्तुष्टि जनाउँदै राख्न मानेनन् । अब राजतन्त्र फर्किन्छ भन्ने मलाई लाग्दैन

मान्छेहरुले भन्ने गर्छन्– डा.तुलसी गिरी पञ्चायतकी आमा हुन् भने विश्वबन्धु थापा पञ्चायतका पुरेत । किनकि पञ्चायत भन्ने नाम नै थापाले प्रस्ताव गरेका थिए ।

कांग्रेस छाडेर राजालाई साथ दिएका गिरी र थापा दुबैजना महेन्द्रको अवसानपछि कमजोर भए भनिन्छ । यद्यपि, गिरी ०३२ मा दुई वर्षका लागि प्रधानमन्त्री भएका थिए भने विश्वबन्धुचाहिँ उनकै भाषामा ‘बहुदल दिनुपर्छ’ भनेका कारण प्रधानमन्त्री हुन पाएनन् ।

बरु ०३६ मा पुनः कांग्रेसमा फर्किए पनि गिरिजाप्रसाद कोइरालालगायत कांग्रेसहरुले भाग खोस्ने डरले वीपीको चुल्हो चौकामै नाकाबन्दी लगाउन खोजे । महेन्द्रको अवसानपछि पञ्चायतमा कमजोर बनेका थापा वीपीको अवसानपछि कांग्रेसबाट फेरि बाहिरिए । त्यसपछि उनी कहिल्यै कांग्रेस हुन सकेनन् । तर, पञ्चायतको पनि प्रिय हुन सकेनन् ।

०४६ सालको पूर्वपञ्चहरुको एउटै पार्टी बनाउने थापाको प्रयत्न पनि सूर्यबहादुर थापा, मात्रिकाप्रसाद कोइराला लगायतको कुरा नमिलेपछि सफल भएन । यद्यपि थापा राप्रपाको शीर्ष नेतृत्वमा रहे । तर, बहुदलमा राप्रपाका धेरै नेता प्रधानमन्त्री र मन्त्री भए पनि विश्वबन्धु भने सत्तामा आएनन् ।

पछिल्लो समय अवकाशको जीवन बिताइरहेका थापा गतसाता आफ्नो जीवनका अति निकटतम मित्रमध्येका डा.तुलसी गिरीको पार्थीव शरीरमा श्रद्धाञ्जली दिन गिरीनिवास र पशुपति आर्यघाटमा पुगेका थिए । आर्यघाटबाट फर्किएका थापाले अनलाइनखबरकर्मी मात्रिका पौडेल र सन्त गाहा मगरसँग करीव ३ घण्टा अतीतका ताजा स्मरणहरु सुनाए ।

देशका पहिलो पुस्ताका राजनीतिज्ञ थापाको जीवनका उतार–चढाव उनकै शब्दमा ।

भारतमा जन्मिएँ, वीपीले कम्युनिस्ट बन्न दिएनन्

मेरा बुबा पद्मजंग थापा राणा शासनका बेला सुब्बा हुनुहुन्थ्यो । राणाहरूले विभिन्न आरोप लगाएपछि प्रवासमा जानुभएको रहेछ । नेपालमा बस्न नसक्ने अवस्था आएपछि सप्तरी जिल्लाको पारी भारतको सरहसाको टेढी, दीपनगरमा गएर बस्नु भएछ । मेरो जन्म २४ भदौ १९८४ मा भएको हो ।

चन्द्र शमशेरका पालामा निर्वासनमा जानुभएका मेरा बुबालाई जुद्ध शमशेरले माफी दिएपछि हामी बिराटनगर आयौं । त्यतिबेला म जम्मा ६ वर्षको थिएँ । आदर्श विद्यालयमा पढेर विसं. २००१ सालमा मेट्रिक उत्तीर्ण गरेँ । त्यसलगत्तै विवाह गरेर थप अध्ययनका लागि बनारसतिर लागें ।

काशी हिन्दु विश्वविद्यालमा पढ्ने बेलामा मनमोहन अधिकारी लगायतसँगको संगतले कम्युनिष्ट पार्टीतर्फ आकर्षित भएँ । विद्यार्थीलाई दिइने प्यारा मिलिटिरी तालिम पनि लिएँ । प्रशिक्षणहरूमा सहभागी भएँ ।

वीपी कोइरालाले कम्युनिष्ट पार्टीमा होइन, समाजवादी पार्टीमा लाग्नुपर्छ भन्नुभयो । काशी हिन्दु विश्वविद्यालयका भाइस चाञ्सलर आचार्य नरेन्द्र देव र प्राध्यापक मुकुट बिहारीलाई पत्र लेखेर समाजवादी शिविरमा सहभागी गराउनु भन्नुभयो ।

त्यसपछि समाजवादी शिविरमा सहभागी भएँ । वीपी कोइरालाले एक दिन पार्टी खोल्ने विषयमा सल्लाह गर्नुभयो । हामीले पनि हुन्छ भन्यौं । राष्ट्रिय कांग्रेस स्थापना हुँदा म आइए पढ्दै थिएँ । कृष्णप्रसाद भट्टराई स्नाकोत्तर पहिलो वर्ष र ईश्वर बराल स्नातक पढ्दै हुनुहुन्थ्यो ।

पार्टी खुलेपछि हामीलाई बिराटनगरमा पर्चा छर्न भनियो । जोगवनीबाट सरोज कोइराला र म पर्चा बोकेर आउँदै थियौं । प्रहरीले के छ यसमा भनेर सोधें । हामीले केही छैन भन्यौं । प्रहरीले चेक गर्दा पर्चा फेला पर्‍यो । त्यसपछि पक्राउ गरेर जेलमा लगियो । राती भाग्ला भनेर हतकडी लगाएर राख्थे । रातभरी सुत्न पनि दिँदैनथे । अब यस्तो काम नगर्नु भनेर चार महिनापछि नै छोडे ।

सुवर्ण शमसेरको प्रजातान्त्रिक कांग्रेस र राष्ट्रिय कांग्रेस मिलेर २७ चैत २००६ सालमा नेपाली कांग्रेस बन्यो । सभापति मात्रृकाप्रसाद कोइराला र महामन्त्री महेन्द्रविक्रम शाह बने ।

यो पनि पढ्नुहोस सुवर्ण समशेरलाई प्रधानमन्त्री बनाएको भए पञ्चायत आउने थिएन !

पहिले गृहमन्त्री, पछि महामन्त्री

२००७ सालको क्रान्तिमा म विराटनगरमा गृहमन्त्री थिएँ । केशवप्रसाद कोइराला गभर्नर हुनुहुन्थ्यो । एक हिसाबले त्यो माओवादीले जनयुद्धताका सञ्चालन गरेको जनसरकार जस्तै थियो । २४ पुस २००७ सालमा कांग्रेस, राजा र राणाबीचमा दिल्लीमा त्रिपक्षीय सम्झौता भयो । २००७ सालमा म केन्द्रीय सदस्यमा मनोनीत भएँ । त्यतिबेला गिरिजा मोरङको जिल्ला सभापति हुनुुहुन्थ्यो ।

२००९ सालमा किसान आन्दोलन भयो । त्यसपछि फेरी जेल पर्‍यौं । जेलमा पनि हामीले अनसन गर्‍यौं । त्यसपछि हामी छुट्यौं ।

२०१२ सालमा वीरगन्जमा कांग्रेसको सम्मेलन भयो । सुवर्ण शमशेर सभापति भएपछि सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंह महामन्त्री हुनुभयो । डा. तुलसी गिरी र म सहायकमहामन्त्री भयौं ।

गिरी धेरै तेज मान्छे थिए । वीपीलाई तेज मान्छे मन पथ्र्यो । उनी त्योबेला नै मोटर चढ्थे । उपाध्याय र सिंह दुबैले महामन्त्री पदमा नबस्ने विचार व्यक्त गरेपछि डा. गिरी र मलाई महामन्त्री बनाइयो । २०१४ मा वीपी कोइराला पार्टी सभापति भएपछि हामी महामन्त्रीमै कायम रह्यौं ।

वीपीको मुख्य सचेतक, राजाको विश्वासप्राप्त

२०१५ सालको आम चुनावमा कांग्रेसले १०९ मध्ये ७४ स्थानमा जित्यो । म चितवनबाट निर्वाचित भएँ । त्यसपछि कांग्रेस संसदीय दलको प्रमुख सचेतक भएँ । वीपी कोइराला प्रधानमन्त्री बन्नुभयो ।

प्रमुख सचेतकका हैसियतमा वीपीसँग नजिक त थिएँ नै । राजा महेन्द्रसँग पनि बारम्बार भेटघाट र छलफल भइरहन्थ्यो । त्योबेला राजाले मलाई किन नजिक बनाउन खोजे भन्नेचाहिँ पछि थाहा भयो ।

सामन्तीहरु साह्रै बोल्ड हुँदैनन् । एक हिसाबले भन्ने हो भने कायर हुन्छन् । उनीहरू अगाडि बोल्दैनन्, फ्याट्ट निर्णय गरिहाल्नेखालका हुन्छन् । राजा महेन्द्रसँग पनि २०१७ पुस १ गते ‘कु’ गर्नुअघि नेताहरूलाई एक वचन सोध्ने तागत थिएन ।

राजाले व्यवस्था परिवर्तन गरे पनि पञ्चायती व्यवस्थामा नामदेखि लिएर सबै कामकाज हामीले नै गरिदिएका हौं । राजाको कुनै योजना थिएन, तर उनमा तागत थियो

त्यतिबेला म संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएको थिएँ । जानुअघि मैले महेन्द्रलाई–म नआउन्जेल केही पनि नगर्नु भनेको थिएँ । पछि मलाई भने –तिमीले भनेको कुरा मैले बुझे पनि बाध्यताले तत्कालै यो कदम लिनुपर्‍यो । ऊँ भन्ने इच्छा थियो ।

उनले ‘अब मैले गरिसकेँ विश्ववन्धु । तिमीले मलाई म नआई केही नगर्नू त भन्या थियौ । तर, यहाँको अवस्था हेर्दा गर्नैपर्‍यो । नपत्याए सोध डा. गिरीलाई पनि । अब तिमीहरु नै गर, जे गर्छौ ।’

मैले डा. गिरीलाई भनेँ, ‘गजबका राजा रैछन् बा ! प्लान र प्रोग्राम केही पनि छैन । यत्तिकै व्यवस्था बदले ।’ एउटै प्लान थियो, पावर लिने । पावर लिइहाले । त्यसरी कुरा भएअनुसार हामीले गर्नुपर्छ भनेर सल्लाह गर्‍यौं ।

राजाले व्यवस्था परिवर्तन गरे पनि पञ्चायती व्यवस्थामा नामदेखि लिएर सबै कामकाज हामीले नै गरिदिएका हौं । राजाको कुनै योजना थिएन, तर उनमा तागत त थियो नि । सबै काम त राजाकै नाममा भयो ।

यसकारण प्रधानमन्त्री भइनँ

पुस १ गतेको त्यो घटनापछि म पञ्चायतमा लागेँ । एक दिन मैले महेन्द्रलाई भनें– सरकार देवता हो ? हामीले पो देवता मान्दिएको त । राजालाई विष्णुको अवतार भनिदिएको हामी नेपालीले हो । सरकारले आफूलाई विष्णु भगवान् ठान्नु हुँदैन । सरकारलाई मेरो मनको कुरा के थाहा छ ? मान्छे कति फटाहा हुन्छन्, उल्लु हुन्छन्, के थाहा हुन्छ !

वीपी प्रधानमन्त्री नबनुन् भन्ने महेन्द्रको जोडबल थियो । राजाले भन्ठाने, यो मान्छे कन्ट्रोलमा आउँदैन, तेज छ, म सधैं सावधान हुनुपर्छ यसबाट ।

म भन्थेँ पनि, वनका दुईटा बाघ हुन् यिनीहरु । ङ्यारङ्यार गरिहाल्छन् । एउटाको जनतासँग बल, एउटाको सत्ताको बल ।

वीपी त त्यसबेला जनताबाट चुनिएका प्रधानमन्त्री थिए, राजाप्रति ‘लोयल’ पनि थिए । नभए त राजा चाहिन्छ भन्ने थिएनन् नि । उनको व्यवहारचाहिँ डेमोक्राटिक थियो । जुन व्यवहार दरबारमा त्यति सह्य थिएन ।

म २००७ सालमा गोरखाको बडाहाकिम भएर गएँ, त्योबेलामा जे अवस्था थियो, १७ सालमा त्योभन्दा फरक थिएन । एक दशकमा पनि केही परिवर्तन भएनछ ।

०२० सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष भएँ । त्यसको एक वर्षपछि मन्त्रिपरिषदको उपाध्यक्ष भएँ । डा. गिरीलाई हटाएर मलाई अध्यक्ष बनाउने राजाको इच्छा रहेछ । तर, राजा बहुदल दिन तयार नभएकाले म अध्यक्ष बन्न मानिन । ०२३ साल साउनमा राष्ट्रिय पञ्चायत सदस्यबाटै राजिनामा दिएँ ।

त्यसको एक वर्षपछि राजाले गाउँ फर्क राष्ट्रिय अभियान घोषणा गरेँ । ०२६ सालमा मेरै अध्यक्षतामा गाउँ फर्क राष्ट्रिय अभियानको केन्द्रीय समिति गठन भयो । अभियान सफल बनाउन गाउँ–गाउँ पुगेँ ।

वीपीसँग दशैंको टीका लाउँदा चुनाव हराए

चितवनको भण्डारामा गाउँस्तरीय चुनावमा उठेँ । तर, अनुदारवादी पञ्चहरूले मलाई हराए । त्यसको केही वर्षपछि राजा वीरेन्द्रले भनेपछि पुनः अभियानको अध्यक्ष बनेँ ।

दशैंंमा टीका लगाउन वीपी कोइरालाकोमा गएको थिएँ । यो विषय दरबारसम्म पुगेछ । एकथरी पञ्चहरू मेरो विरुद्ध के निहुँ पाउँ कनिका बुकाउँ भनेर बसेका थिए । ०३५ सालमा गाउँ फर्क राष्ट्रिय अभियानको अध्यक्षबाट पनि राजीनामा दिएँ ।

वीपी कोइराला आफू नेपाल आउँदा गणेशमान सिंहलाई पनि साथमा लिएर आउनुहुन्थ्यो । मैले उहाँलाई भारतमै छोडेको भए हुन्थ्यो भन्दा वीपीले भन्नुभयो, हेर विश्वबन्धु इन्दिरा गान्धीले आफ्नै मुखले मलाई दुई लाख गोर्खाली फौज दिन्छु भनिन् । खाली विल्ला मात्रै चेञ्ज गरिदेउ । अनि नेपालमा गृहयृद्ध गर भनेकी थिइन् ।

दुई–दुई लाख फौज आएपछि तिमीले जितिहाल्छौ । तर, मलाई तिमीले रक्षा, अर्थ, परराष्ट्र र सञ्चार मन्त्रालयले दिनुपर्छ । यो ठ्याक्कै अहिलेको भुटान बनाउने जस्तो प्रस्ताव थियो ।

१९७१ म पाकिस्तानबाट बंगलादेशलाई अलग गर्नुभन्दा पहिलाको कुरा हो । भारतले दिएन भनेर वीपीले जर्मनीबाट हतियार मगाउनुभएको थियो । प्लेनमा आएको हतियार भारतले खोसिदियो ।

एकदिन इन्दिरा गान्धीले बोलाएर हाम्रो सेनाको हतियार पठायो भने अन्तराष्ट्रिय समुदायमा हल्ला हुन्छ । यो हतियार म बंगलादेश पठाउँछु । त्यसपछि तिमीलाई फिर्ता गरौंला भनिन् । बंगलादेश बनिसकेपछि हतियार फिर्ता माग्दा पनि फिर्ता दिँदै दिएन ।

सिक्किम पनि खाएको भारतले अब नेपाललाई छोड्दैन भन्ने निश्कर्षमा उहाँ पुग्नुभएछ । वीपीले मलाईं एक दिन भन्नुभयो, ‘तेरो राजालाई भन्दे, घर हल्लिइसकेको छ, जहिले पनि ढल्न सक्छ ।’

त्यसपछि मरे पनि बाँचे पनि नेपालमै भनेर फर्कनु भयो । म नेपाल गएका बेलामा इन्दिराले त्यो कुरा गरी भने गणेशमानले मान्न सक्छ । यसले कुरा बुझ्दैन भनेर मैले नै ल्याउने–लाने गरेको हुँ । गिरिजा भने भारतमै थिए ।

भारतले जहिले पनि नेपालमा अरु शक्ति आएको हेर्न चाँहदैन । नेपालमा हामी मात्रै हुनुपर्छ भन्ने उनीहरूको मनशाय छ ।

अनि बहुदलको प्रचारमा लागेँ

०३६ सालको जनमत संग्रहमा म खुलेरै बहुदलको प्रचारमा लागेँ । वीपीले तँ कांग्रेसमा आइज भन्नुभयो । ०३७ साल चैतमा पुनः कांग्रेसमा फर्किएँ ।

चिरञ्जीवी वाग्ले कांग्रेस गोरखाको जिल्ला सभापति हुनुहुन्थ्यो । उहाँले आएर पाल्पामा हुन लागेको बैठकमा प्रतिनिधि भएर जानुपर्‍यो भन्नुभयो । मैले प्रतिनिधि होइन, पर्यवेक्षक भएर जान्छु भनेँ । पर्यवेक्षकको रुपमा गएको थिएँ ।

म वीपीकै छेउमा बसेको थिएँ । एउटा विद्यार्थीले आएर कार्ड हेरुँ भनेर मागे । र, त्यो हल्लाउँदै उहाँ पञ्चायतमा हुँदा हाम्रो विरोधमा लाग्नुभएको मान्छे भनेर हल्ला गर्न थाले । वीपीले चुप लाग्नु भने । पञ्चेहरूले पछि विश्वबन्धुलाई कांग्रेसले निकाल्यो भनेर हल्लाखल्ला गरे ।

वीपी कोइरालाको निधनपछि म कांग्रेसमा नजिक हुन पनि चाहिनँ । पञ्चायतमा फर्कन पनि गाह्रो थिएन । पञ्च हुनका लागि सदस्यता पनि लिनु पर्दैनथ्यो ।

प्रौढ संगठनको सभापतिमा लड्ने तयारी गरेँ । दरबारले हुँदैन भनेर विरोध गर्‍यो । बहुदलमा लागिसकेको मान्छेलाई उठाउनुहुँदैन भनेर उनीहरूले विरोध गरेका थिए । सम्मेलन वीरगञ्जमा थियो । राम्रै भोट ल्याएर सभापतिमा जितेँ । म सभापति हुँदै ०४६ सालमा परिवर्तन आयो ।

‘बेबी किङ’ मेरो आइडिया हो

०६२/०६३ को परिवर्तनपछि राजतन्त्र हटाउने कुरा भयो । त्यतिबेला मैले गिरिजाप्रसाद कोइरालालाई फकाएर बेबी किङ्गको आइडिया दिएँ । ज्ञानेन्द्रलाई पनि मैले बेबी किङको आइडिया दिएको थिएँ ।

दशैंंमा टीका लगाउन वीपी कोइरालाकोमा गएको थिएँ । यो विषय दरबारसम्म पुगेछ । एकथरी पञ्चहरू मेराविरुद्ध के निहुँ पाउँ कनिका बुकाउँ भनेर बसेका थिए । गाउँस्तरीय चुनावमा अनुदारवादी पञ्चहरूले मलाई हराए

ज्ञानेन्द्रले मलाई बेलाबेलामा दरबारमा बोलाइराख्थे । एकदिन मैले सरकार एउटा कुरा राख्न चाहन्छु भनेँ । सरकारले राजिनामा गरिबक्सियोस् र नाति हृदयेन्द्रलाई राजा बनाउनुपर्छ, हृदयेन्द्रलाई भारतले पनि स्वीकार्छ । किनभने, हृदयेन्द्र भारतको नाति हो । हृदयेन्द्रलाई राजा बनाउँदा नेपालमा मेरो मान्छे छ भनेर भारत ढुक्क भएर बस्छ । नत्रभने जहिले पनि उसले हामीलाई दुःख दिन्छ भनेको थिएँ । तर, ज्ञानेन्द्रले मानेनन् । ‘यो कुरा छोड्देउ, तिमीसँग पछि कुरा गर्छु’ भनेपछि म फर्किएर आएँ ।

त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । गिरिजाबाबुलाई बोलाएर तपाईले बेबी किङको प्रस्ताव अघि सार्नुस्, भारतले पनि मान्छ । भारतसँग पनि कुरा गर्छु भनेँ । त्यहाँ भारतीय जनता पार्टीका अटल विहारी वाजपेयी प्रधानमन्त्री हुनुहुन्थ्यो । वाजपेयीसँग म कुरा गर्छु भनेँ । वाजपेयी यहाँ आएका पनि थिए ।

भारत बेबी किङमा आउँथ्यो पनि । भाजपाले मलाई खबर पनि पठाएको थियो । तिमी त्यहाँ मिलाउ, हामी यहाँ कुरा गर्छौं भनेका थिए ।

गिरिजाले विराटनगर गएर बोल्छु भनेँ । मैले कहाँ काठमाडौं, कहाँ विराटनगर, यहीँ बोल्नुस् न भनेको, गिरिजाले मानेनन् । नभन्दै विराटनगर गएर बेबी किङ्ग चाहिन्छ भनेर बोले ।

त्यसपछि फेरि ज्ञानेन्द्रसँग भेट भयो । ल सरकार, प्रधानमन्त्रीले पनि बोल्नुभयो, गरिदिनुस् राजीनामा भनेको, ज्ञानेन्द्रले ‘काठमाडौंमा भनेन बिराटनगरमा मात्रै भन्यो, छोड्देउ यी कुरा’ भनेपछि यो कुरा यत्तिकै भयो ।

त्यतिखेरको अवस्था कस्तो थियो भने माओवादी र एमाले दुबै राजा फाल्ने पक्षमा थिए । कांग्रेसले मात्रै निर्णय गर्न बाँकी थियो । अनि गिरिजाबाबुलाई भेट्न गएँ । तपाईहरू वीपीको लाइन मान्छौं भन्नुहुन्छ । वीपीको लाइन त मेलमिलापको लाइन हो । वीपी राजा फाल्ने पक्षमा हुनुहुन्नथ्यो भनेर सम्झाउने प्रयास गरेँ ।

तर, गिरिजाबाबुले यो राजाले वीपीलाई थुन्यो । मलाई अनेक मुद्दा लगाउन खोजेको छ । कहिले के, कहिले के भन्छ । छोड्देउ राजाको कुरा भन्न थाले । गिरिजाप्रसाद कोइराला मात्रै मानेको भए राजतन्त्र जाँदैनथ्यो ।

अब राजतन्त्र फर्किन्छ भन्ने मलाई लाग्दैन ।

तस्वीरहरुः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment