Comments Add Comment

बीबीसीमाथि हिमालयन शेर्पाको जित

११ पुस, काठमाडौं । हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा हिमालयन शेर्पाले बीबीसीलाई ४–१ गोलअन्तरले पराजित गरेकाे हाे ।

हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे । त्यस्तै, गोहा प्याट्रिक प्रिभाट र भिसान गुरूङले समान एक–एक गोल गरे । यता, बीबीसीका लागि भने बर्तमान राईले गोल गरेका थिए ।

खेलको पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।  खेलको ४६ औं मिनेटमा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । खेलको ५४ औं मिनेटमा भिसानले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

एकपछि अर्को आक्रमक खेल खेलेको हिमालयन शेर्पाका लागि खेलको ६१औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा विश्वासले नै व्यक्तिगत दोस्रो गोल गर्दै ४–० गोलको अग्रता दिलाएका थिए ।

८७ औं मिनेटमा बीबीसीका लागि बर्तमानले गोल गरेप नि हिमालयन शेर्पाको जित रोक्न भने सकेनन् ।

जितसँगै हिमालयन शेर्पाले ११ खेलबाट १७ अंक बनाउँदै लिगको पाँचौं स्थानमा उक्लिएको छ । पराजित बीबीसीको भने ११ खेलबाट ६ अंक मात्रै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment