Comments Add Comment

सरकारले चैतमा लगानी सम्मेलन गर्दै

१२ पुस, काठमाडौं । सरकारले वैदेशिक लगानी भित्र्याउन आउँदो चैतमा लगानी सम्मेलन गर्ने भएको छ ।

यसअघिको सम्मेलनले मुलुकमा लगानीको वातावरण बनाउन सघाएको भन्दै आउँदो चैत १५-१६ मा काठमाडौंमा ‘नेपाल लगानी सम्मेलन’ गर्न लागिएको हो ।

मुलुकमा प्राकृतिक स्रोत र साधनहरु पर्याप्त भएपनि वैदेशिक लगानी तथा प्रविधि आवश्यक देखिएकाले लगानी सम्मेलन गर्नु परेको अर्थमन्त्री युवराज खतिवडाले बताए ।

लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सह-आयोजनामा सम्मेलन हुन लागेको बिहीबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

सम्मेलनमा विभिन्न मुलुकका सम्भावित लगानीकर्ता, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि, कूटनीतिक नियोग, विकास साझेदार, गैह्र-आवासीय नेपाली संघ, निजी क्षेत्र, विषय विज्ञ, सञ्चार क्षेत्र तथा नेपाल सरकारका उच्च पदाधिकारीहरुको सहभागिता रहने जानकारी दिइएको छ ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तालिका छ । नेपालको वातावरण, लगानीसँग सम्बन्धित नीतिगत एवं प्रक्रियागत सुधार, लगानीका सम्भाव्य क्षेत्र र लगानीका लागि आवश्यक उपयुक्त केही परियोजनाहरु सम्मेलनमा प्रस्तुत गरिनेछ ।

सम्मेलनमा नेपालमा लगानीका अवसरहरु, आर्थिक रुपान्तरणका लागि आगामी १० वर्षमा विद्युत उत्पादन, सूचना तथा सञ्चार प्रविधि मार्फत डिजिटल अर्थ व्यवस्था निर्माण जस्ता विषयमा सम्मेलनमा छलफल हुनेछ ।

यस्तै, सम्मेलनमा मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तब्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीका अवसर, नेपालमा लगानीको अनुभाव, लगानीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र अन्तरक्रिया हुनेछ ।

०७३ सालमा पहिलो पटक गरिएको ‘लगानी सम्मेलन’पछि लगानीको वातावरणमा भएको सुधारको समीक्षा गर्न पनि पुनः सम्मेलन गर्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।

लगानीका लागि सम्भाव्य देखिएका नयाँ क्षेत्र तथा बदलिँदो क्षेत्रीय एवं अन्तर्राष्ट्रिय आर्थिक परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएका परिवर्तन समेतमा अद्यावधिक हुने र यसअघि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएका आयोजनाहरुलाई कार्यान्वयनतर्फ लैजान सहयोग पुर्‍याउने उनको भनाइ छ ।

अघिल्लो सम्मेलनपछि लगानीको वातावरण सुधार गर्न सुझाव पाएकाले र कानून तथा नियमहरुसमेत परिमार्जन गरिएको बताइएको छ ।

उक्त सम्मेलनमा झण्डै २७५ अर्बको लगानीका परियोजनाहरुमा एमओयू भएको थियो । जसमध्ये अधिकांश जनविद्युत परियोजना छन् ।

यसमा २३ वटा कम्पनीले विस्तृत सम्भाव्यता अध्ययनमा चासो देखाएको ती मध्ये केहिले परियोजना प्रस्ताव समेत पेश गरेको बोर्डले जानकारी दिएको छ ।

लगानी सम्मेलनको तयारीका लागि अर्थ मन्त्री युवराज खतिवडाको संयोजकत्वमा निर्देशक समिति समेत गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सरकार सचिवहरु, निजी क्षेत्रका प्रतिनिधि समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment