Comments Add Comment

नेकपामा दुईलाइन : ओली जनवादतिर, प्रचण्ड समाजवादतिर

१३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अबको कार्यदिशा ‘जनवादी क्रान्ति’ हुने कि ‘समाजवाद’ भन्ने बहस भुसको आगो जसरी सल्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘जनवाद’तिर उभ्याएका छन् भने प्रचण्डचाहिँ ‘समाजवाद’ तिर ढल्किएका छन् ।

पार्टी एकतापछि पहिलोपटक बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको संयुक्त राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ लाई न्यूनतम र ‘वैज्ञानिक समाजवाद’ लाई अधिकतम कार्यक्रम भनिएको छ । यद्यपि, बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्षद्वयको प्रतिवेदनमा कार्यदिशा प्रष्ट नभएको बताएका छन् ।

दुबै अध्यक्षले बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ठोस जवाफ नआएको भन्दै शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै सुरेन्द्र पाण्डेलगायतले प्रष्टता माग गरे ।

विहीबार नै प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिवेदन पारित गरियोस् भन्दा वामदेव गौतम, घनश्याम भुसाल लगायतले उठेर आपत्ति जनाएपछि शुक्रबार बिहान पुनः बैठक बस्नुपरेको हो ।

शुक्रबार बसेको स्थायी कमिटीको अन्तिम बैठकमा भएको छलफबारे जानकारी दिँदै एक नेताले अनलाइनखबरसँग भने ‘जनवादी क्रान्तिको मुख्य कार्यभार पूरा भइसक्यो, अब समाजवादउन्मुख कार्यक्रम चाहिन्छ, त्यसैले पार्टीको कार्यदिशा र अहिलेको राजनीतिक अवस्थाबारे प्रष्ट हुनुपर्‍यो भनेर नेताहरुले भन्नुभएको छ ।

रोचक त के छ भने यसअघि माधव नेपाल र केपी ओली दुबैले ‘जनताको बहुदलीय जनवाद’ छाड्न नसकिने बताउँदै आएका थिए । अहिले ओलीसमेतले तयार पारेको दस्तावेजमा ‘जनताको बहुदलीय जनवाद’ लाई छाडिएको छ । तथापि जबजकै पुतलाका रुपमा ‘जनताको जनवाद’ नामाकरण गरेर नयाँ लाइन प्रतिपादन गर्न खोजिएको छ ।

ओली जनवादतिर, प्रचण्ड समाजवादतिर !

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले धेरै नपढेको भन्दै नेताहरुलाई व्यंग्य गरे । उनको संकेत नेता घनश्याम भुसालतिर बढी थियो ।

जनवादी क्रान्ति नै अहिलेको मुख्य कार्यभार भएको ओलीले बैठकमा बताए । तर, संविधानले समाजवाद उन्मुख भनेकाले गर्ने त त्यही भएको पनि उनले बताए । सिद्धान्तको माथापच्चिसीमा खासै रुची नराख्ने केपी ओलीले जनवादी क्रान्तिलाई मुख्य कार्यभार भन्दै समाजवादतिरै जाने भनेर अस्पष्ट एवं सारसंग्रहवादी कुरा गरेको एक नेताले बताए ।

केपी ओलीसँगै साझा प्रतिवेदन तयार पारेका अर्का अध्यक्ष प्रचण्डले भने जवाफ दिने क्रममा कार्यदिशा प्रष्ट हुनुपर्ने नेताहरुको धारणामा सहमति जनाएका छन् ।

पार्टी एकतासम्म आइपुग्दा एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवाद भनेको भए पनि अहिले त्योभन्दा माथि पुगेको भन्दै प्रचण्डले बैठकमा भने, ‘अबको कार्यदिशा समाजवादी नै हो । पूँजीको विकास, स्वाधीन अर्थतन्त्र निर्माण गर्ने हो ।’

आफू लचिलो नेता भएको भन्दै प्रचण्डले नेताहरुको भनेको ठीक लाग्यो भने पछाडि हट्ने गरेको बताए । त्यसो गर्दा बेलाबेला नेता छिट्टै पछि हटेको भन्ने आरोप लाग्ने गरेको पनि उनले बैठकमा सुनाए ।

‘म भावुक पनि छु, धेरैपटक आत्मालोचना पनि गरेको छु’ प्रचण्डले बैठकमा भने, ‘म अर्का अध्यक्षलाई असहयोग गर्दिनँ । तर, जति फकाउन सक्नुहुन्छ, त्यति नै काम लिन सक्नुहुन्छ ।’

के हो ‘जनवाद’ र ‘समाजवाद’ को लफडा ?

कम्युनिस्ट पार्टीले प्रयोग गर्ने कतिपय शब्दावली यस्ता हुन्छन्, जसलाई गैरकम्युनिस्टहरुले सजिलै बुझ्न सक्दैनन् । राजनीतिक कार्यदिशा, न्यूनतम कार्यक्रम, अधिकतम कार्यक्रम, जनवाद वा समाजवाद जस्ता पदावलीहरु कम्युनिस्टले बारम्बार प्रयोग गरिरहने ‘जार्गन’ हुन् । दलाल पुँजीवाद पनि कम्युनिष्टहरुको शब्दकोषमा धेरै प्रयोग हुने गर्छ ।

राजनीतिक कार्यदिशाबारे नेकपाभित्र ओली र प्रचण्डवीच बैचारिक भिन्नता देखियो भनिरहँदा ‘जनवादी कार्यक्रम’ र ‘समाजवादी कार्यक्रम’ वीचको भिन्नता के हो भन्ने बुझ्नुपर्ने हुन्छ ।

पूर्वएमालेले आफ्नो न्यूनतम कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) हुने बताएको थियो भने अधिकतम कार्यक्रमचाहिँ समाजवाद हुने बताउँदै आएको थियो । पूर्वमाओवादीले ‘एक्काइशौं शताब्दीको जनवाद’ लाई न्यूनतम कार्यक्रम र समाजवादलाई अधिकतम कार्यक्रम मान्दै आएको थियो ।

कम्युनिस्ट शास्त्रअनुसार न्यूनतम कार्यक्रम भनेको पार्टीको तात्कालिक लक्ष अर्थात वर्तमान बाटो हो भने अधिकतम कार्यक्रमचाहिँ दोस्रो चरणको भावी बाटो हो ।

दुई पार्टीवीच एकता गर्दैगर्दा तत्कालीन एमाले र माओवादीमा समाजवादको अधिकतम लक्ष मिले पनि न्यूनतम लक्षचाहिँ भिन्नाभिन्नै थिए । तथापि एमालेको न्यूनतम लक्ष ‘जबज’ र माओवादीको न्यूनतम लक्ष ‘एक्काइशौं शताब्दीको जनवाद’ बारे छलफल गर्दै जाने ७ बुँदे एकताका आधारमा उल्लेख गरिएको थियो ।

पार्टी एकतापछि पहिलोपटक बसेको स्थायी कमिटीको बैठकमा ओली र प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा ‘जबज’ र ‘एक्काइशौं शताब्दीको जनवाद’ दुबैलाई हटाएर ‘जनताको जनवाद’ लाई न्यूनतम कार्यक्रम घोषणा गरियो । त्यसैगरी ‘वैज्ञानिक समाजवाद’ लाई अधिकतम कार्यक्रम भनियो ।

नेकपामा ‘जनवाद’ र ‘समाजवाद’ को लफडाबारे प्रष्ट हुनका लागि माथिको पृष्ठभूमिले मात्र पुग्दैन, एउटा अर्को प्रशंग पनि थाहा पाउनुपर्ने हुन्छ ।

नेकपाभित्र अर्को एउटा लफडा के चल्दै आएको छ भने नेपालमा ‘जनवादी क्रान्ति’ सम्पन्न भइसक्यो कि हुनै बाँकी छ ? यो बहस पूर्वएमालेमा पनि थियो र पूर्वमाओवादीमा पनि थियो ।

नयाँ संविधान बनेर गणतन्त्र नेपाल घोषणा भइसकेकाले अब ‘जबज’ को च्याप्टर क्लोज भइसकेको घोषणा पूर्वएमाले नेता घनश्याम भुसालले यसअघि नै गरिसकेका थिए । तर, केपी ओलीपक्षधर नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल आदिले ‘जबज’ को खाँचो अझै रहेको बताउँदै घनश्याम भुसालहरुलाई खण्डन गर्दै आएका थिए ।

यही परिप्रेक्ष्यमा तत्कालीन एमालेका पछिल्ला दस्तावेजहरुले घनश्याम भुसालहरुकै लाइनलाई सदर गर्दै जनवादी क्रान्तिका अधिकांश कार्यभारहरु पूरा भइसकेकाले अबको बाटो समाजवादी बाटो हुने तय गरेको थियो ।

त्यसैगरी तत्कालीन माओवादीले पनि जनवादी क्रान्तिको कार्यभार मूलतः पूरा भएको भन्दै अब समाजवादी क्रान्तितर्फ अघि बढ्नुपर्ने निचोड निकालेको थियो । यसरी, एमाले र माओवादी दुबै दलहरु जनवादी क्रान्तिबाट अब समाजवादी यात्रामा निस्कुनपर्ने साझा निश्कर्षमा पुग्न– पुग्न लागेका बेला एकीकृत भएका थिए ।

तर, जनवादी क्रान्तिको कार्यभार पूरा भएको र जबजको च्याप्टर क्लोज भएको निश्कर्षमा पुगेका नेकपाका नेताहरु अहिले फेरि ‘जनवाद’ कि ‘समाजवाद’ भन्ने दुविधामा फसेका छन् ।

पार्टी अध्यक्षद्वयले तयार पारेको साझा प्रतिवेदनमा ‘जनताको जनवाद’ लाई नै न्यूनतम कार्यक्रम भनिएपछि नेकपामा पुरानो बहस दोहोरिएको हो ।

पूर्वएमालेको केपी ओली समूहले अझै पनि ‘जबज’लाई छाड्न नसकेका कारण अध्यक्ष र महासचिवले आपसमा मिलेर दस्तावेजमा ‘जनताको जनवाद’ घुसाएको भुसाल पक्षको आरोप छ ।

यसका साथै ओली पक्षले घनश्याम भुसालको विचारलाई निशेध गर्न खोज्दा जबजकै कार्यदिशा च्यापेर हिँड्न खोजेको आरोप पनि भुसाल पक्षका नेताहरुको छ । अन्यथा जनवादी कार्यभार पूरा भएकाले अबको बाटो स्पष्टरुपमा समाजवाद किटान हुनुपर्ने सो समूहका नेताहरु बताउँछन् ।

अध्यक्षद्वयको प्रतिवेदनमा जनवादलाई न्यूनतम कार्यक्रम भनिएको प्रति पूर्वमाओवादीका नेता मणि थापा, नारायणकाजी श्रेष्ठ लगायतले पनि असहमति जनाएको स्रोत बताउँछ ।

यद्यपि प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने बेलामा भने अध्यक्ष प्रचण्ड घनश्याम भुसालहरुकै लाइनको नजिक देखिएका छन् ।

अध्यक्षको प्रतिवेदन अब के होला ?

स्थायी कमिटी बैठकमा भएको वादप्रतिवादपछि नेकपा बैठकले राजनीतिक प्रतिवेदन परिर्माजनसहित पास गर्ने निर्णय गरेको छ । तर, केके परिर्माजन हुन्छ भनेर अध्यक्षद्वयले अहिलेसम्म प्रष्टरुपमा भनेका छैनन् ।

दुई अध्यक्षले परिमार्जित प्रतिवेदन सचिवालय बैठकमा पेश गर्ने सहमति भएको नेताहरुले बताए । नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘योपटक छलफल असाध्यै राम्रो भएको छ । तर, निष्कर्षका रुपमा के आउँछ थाहा छैन ।’

यद्यपि पूर्वमाओवादीका एक नेताले चाहिँ स्थायी कमिटी बैठकमा राजनीतिक वैचारिक विषयमा जति छलफल र बहस हुनुपर्ने हो, त्यो नभएको तर्क गरे । नाम सार्वजनिक गर्न अनिच्छा जनाउँदै उनले अनलाइनखबरसँग भने– ‘सरकार र पार्टीको विषयमा नेतामाथि असन्तुष्टि पोख्ने काममात्रै धेरै भयो, राजनीतिक कार्यदिशाका बारेमा नेताहरुको ध्यान खासै जान सकेन । पार्टीको आगामी बाटो जनवाद हो कि समाजवाद हो भन्नेमै अध्यक्षको प्रतिवेदन अल्मलियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment