Comments Add Comment

न्युरोडमा अर्को वर्ष सेल्फी खिच्न वडाध्यक्षको निम्तो !

१८ पुस, काठमाडौं । केन्द्रिय राजधानी काठमाडौंको पनि राजधानी मानिन्छ, सुन्धारा–खिचापोखरी– नयाँ सडक क्षेत्र । काठमाडौं उपत्यकाको मुख्य व्यापारिक केन्द्र पनि हो न्युरोड । काठमाडौं महानगरपालिका वडा नम्बर– २२ मा पर्ने यो क्षेत्रमा साना–मझौला व्यापारदेखि ठूला व्यापारिक कम्प्लेक्ससम्मको तँछाडमछाड जारी छ ।

त्यही क्रममा भएको छ, ऐतिहासिक–पुरातात्विक महत्वको मिलिटरी हस्पिटल मासेर व्यापारिक कम्प्लेक्स बनाउने काम । सडकसम्मै फिँजाइएका दैनिक उपभोग्य सामग्रीको थुप्रोदेखि सम्पदाको भण्डारसम्म देखिने यो चलायमान क्षेत्रको व्यवस्थापन भने ‘झुर’ नै भन्न लायक छ ।

बगलमै महानगरपालिकाको कार्यालय रहेको यस क्षेत्रमा विकासका नाममा भौतिक संरचना निर्माणमा केन्द्र सरकार नै लागेको देखिन्छ । गन्जागोल हटाउने कुरामा भने न महानगरपालिका लागेको देखिन्छ न त केन्द्र सरकार ।

यसबारे जिज्ञासा लिएर हामीले वडा अध्यक्ष चिनिकाजी महर्जन (४६) लाई भेट्यौं । उनी स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमाले (हाल नेकपा) का तर्फबाट विजयी भएका वडाध्यक्ष हुन् ।

यो पनि पढ्नुहोस बिन्दास वडाअध्यक्ष ! श्रीमानको पेन्सन, छोरा अमेरिकामा !

टेबहालको शंकटा मन्दिर अघिल्तिर रहेको वडा कार्यालयमा भेट दिएका महर्जनले हामीसँग करिब एक घण्टा कुरा गरे । उनका अनुसार, यो क्षेत्र यस्तो अस्तव्यस्त हुन थालेको १५ वर्ष भयो ।

‘हामी भर्खर निर्वाचित भएर आएका छौं’, वडाध्यक्ष महर्जनले भने, ‘देखिने गरी सुधार हुन त समय लाग्छ नि ।’

उनले आफ्नो कार्यकालमा यो क्षेत्रलाई हेर्न लायक बनाउने दाबी पनि गरे । तर, कामनपा–२२ मा देशका ७७ जिल्लाकै मानिसको स्वार्थ जोडिएकाले काम चुनौतिपुर्ण रहेको उनले बताए । ‘धरहरा, काष्टमण्डप जस्ता सम्पदा पुननिर्माणको लाभ वडावासीले मात्र लिने कुरा भएन’, उनले भने, ‘त्यसैले यस क्षेत्रको विकासमा फरक ढंगले सोच्नुपर्ने छ ।’

‘सेल्फी खिच्न आउनुहोला’

अहिले आमरुपमा न्यूरोड भनिने सडक क्षेत्र पहिले नयाँ सडकको नामले प्रशिद्व थियो । १९९० सालको महाभुकम्पपछि जुद्व शमसेरले आफ्नो प्रतिमासमेत राखेर फराकिलो बनाएपछि जनबोलीमा त्यो सडकको नाम नै ‘नयाँ सडक’ रहेको थियो ।

‘नयाँ सडक’को महत्व केवल नयाँ, फराकिलो र व्यवस्थित हुनुमा सीमित थिएन । यो सडकको बीच खण्डमा पर्ने पिपल बोट शासन व्यवस्था बिरोधी साहित्यकारदेखि राजनीतिक नेता–कार्यकर्ताको अखडा थियो । पञ्चायती व्यवस्थाप्रति नरम हुनुभन्दा धेरै अघि प्रशिद्व कवि भुपी शेरचनले ‘नयाँ सडक’ शीर्षकको कविता लेखेर यो ठाउँलाई चर्चाको शिखरमा पुर्‍याएका थिए ।

प्रजातन्त्र पुनस्र्थापनापछि ०५० को दशकमा यो सडकले बागी चेत गुमाउँदै, व्यापारिक गतिविधि बढाउँदै र पुरानो नाम पनि गुमाउँदै गएको जानकारहरु बताउँछन् ।

आजकाल न्युरोडमा अपरान्हतिर पैदलयात्रुलाई पाइला सार्न समेत मुश्किल पर्छ । भिडमाथि ट्राफिक जाम थपिँदा हुने समस्या हटाउन महानगरपालिकाले २ वर्षअघि बहुतले पार्किङ निर्माणको योजना अघि सारेको थियो । ‘त्यो योजनाको परिकल्पनाकार मै हुँ ’, वडाध्यक्ष महर्जन भन्छन् ।

तर, ‘परिकल्पनाकार मै हुँ ’ भनेर के गर्नु ? महर्जन जनप्रतिनिधि निर्वाचित भएर आएको २० महिना बित्दा पनि महानगरपालिकाले त्यो आधुनिक पार्किङको सम्भाव्यता अध्ययनसम्म गर्न सकेको छैन । ‘योजना तत्काल अघि बढाउन महानगरपालिकालाई भनेको भन्यै छु’, महर्जन भन्छन्, ‘मेरो वडा भए पनि काम त महानगरपालिकाले नै अगाडि बढाउने हो नि !’

यो पनि पढ्नुहोस काहीँ नभएको जात्रा हाँडीगाउँमा ! वडा कार्यालयमै हाटबजार !

महर्जनसँग योजना त शंकटा मन्दिर परिसरमा व्यवस्थित पार्किङ बनाउने पनि रहेछ । तर, त्यसभन्दा पहिला न्यूरोडलाई सेल्फी खिच्न लायक बनाउने उनले बताए । ‘अर्को वर्ष तपाईहरु आउँदा न्युरोड सेल्फी खिच्न लायक बनेको हुनेछ’, महर्जनले भने, ‘बरु सेल्फी खिच्न मिल्ने मोबाइल बोक्न नबिर्सनु होला ।’

त्यसका लागि बिजुलीको पोल फेर्ने, सडकपेटी फराकिलो पार्ने, गेट जिर्णोद्वार गर्ने र भूगोलपार्कलाई पनि स्थानीय संस्कृति र कलाकौशलले भरिपूर्ण बनाउने उनले सुनाए ।

काठमाडौं महानगरपालिकाका विभिन्न वडामा जनप्रतिनिधि र कर्मचारीबीच भनाभैरी हुने गरेका उदाहरणहरु छन् । कतिपय वडाध्यक्षहरुले आफूलाई ‘नटेर्ने’ कर्मचारीमाथि सरुवाको अस्त्र चलाएका छन् । यस सन्दर्भमा हामीले महर्जनलाई ‘कर्मचारीले चाही कत्तिको टेर्छन् त ?’ भनेर सोध्यौं ।

‘नटेर्ने कुरै छैन, तर हाम्रा कर्मचारी प्रविधिमैत्री भएनन्’, वडाध्यक्ष महर्जनले भने, ‘उनीहरुलाई तालिमको खाँचो देखिएको छ ।’

अतिक्रमित क्षेत्रमा डोजर चल्छ !

जनसंख्या वृद्विसँगै कामपा– २२ सहित महानगर क्षेत्रका भित्रि गल्लिहरु निकै साँघुरा भइसके । फराकिला चोक, डबली र बाटाहरु पनि अतिक्रमणको चपेटामा परिसके । कामनपाले अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएर सडक फराकिलो पारेका दृष्टान्तहरु पनि छन् ।

सुन्धारा, खिचापोखरी, पाको, न्युरोड, टेबहाल क्षेत्रको सडक फराकिलो पार्न डोजर चलाउन सकिने वडाध्यक्ष महर्जनले बताए । ‘त्यसमा केहि समस्या छैन’, उनले भने, ‘आवश्यक देखियो भने लाइसेन्स नभएपनि म आफैं डोजर लिएर जान्छु ।’

वडाबासीको बलियो साथ रहेकाले सुधारका काममा आफू दृढ रहेको महर्जनले बताए । ‘भ्रष्टाचारीलाई मैले कालोमोसो दलेर घुमाएको वडावासीले देखेका छन्’, उनले भने, ‘म कसैसँग डराउँदिन भन्ने सबैलाई थाहा छ ।’

वडावासीलाई भन्दा बाहिरकालाई फाइदा !

कामनपा– २२ झट्ट हेर्दा निकै घना बसोबास क्षेत्र जस्तो देखिन्छ, तर यहाँ आवासीयभन्दा व्यापारिक गतिविधि अत्यधिक हुने गर्छ । व्यापारिक कम्प्लेक्ससहित कूल २२ सय घरधुरी र ९ हजार बासिन्दा रहेको यो वडामा गत स्थानीय तह निर्वाचनमा ६ हजार मतदाता थिए । यस हिसाबले हेर्दा यो वडाको भिडभाडमा वडावासी भेट्न शिला खोज्नुपर्छ ।

‘वडालाई अस्तव्यस्त बनाएको व्यापारिक गतिविधिले नै हो’, वडाध्यक्ष महर्जन भन्छन्, ‘सुधारको फाइदा पनि वडाबासीभन्दा आगन्तुकहरुलाई हुनेछ, त्यसमा १४ अञ्चल ७७ जिल्लाकै मान्छे पर्छन् ।’

कामनपा– २२ का सडकमा टायल राख्दा टेक्ने खुट्टा स्थानीयको भन्दा बढी बाहिरको हुने भएकाले यहाँ सबैको ध्यान जान जरुरी भएको उनको भनाइ छ । त्यसैले, यो वडाको पुर्वाधार बिकासमा केन्द्र सरकारले पनि प्रशस्त लगानी गर्नुपर्ने उनले बताए ।

यो पनि पढ्नुहोस मुम्बईका वडाअध्यक्षलाई साइरनवाला गाडी, काठमाडौंलाई के ?

कामनापा– २२ मा ४९ वटा ठूला व्यापारिक कम्प्लेक्स छन्, तर ती सबै करको दायरामा छैनन् । अघिल्लो वर्ष जम्मा एक करोड ७० रुपैयाँ बहाल कर उठेको थियो । यो आर्थिक वर्षमा ७ करोड घरवहाल कर उठाउने लक्ष लिएको वडाध्यक्ष महर्जनले बताए ।

उनका अनुसार, अहिले झण्डै ७ हजार व्यापारिक फर्म करको दायरामा आएका छन् । सबै फर्म करको दायरामा आइसकेपछि महानगरका ३२ वडामध्ये सबैभन्दा बढी राजस्व उठाउनेमा आफ्नो वडा तेस्रो बन्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment