Comments Add Comment

बिन्दास वडाअध्यक्ष ! श्रीमानको पेन्सन, छोरा अमेरिकामा !

९ मंसिर, काठमाडौं । मुलुकको केन्द्रीय राजधानी रहेको महानगरपालिकाकी एकमात्र महिला वडाध्यक्ष हुन्- शोभा सापकोटा । कुल ३२ वडाको काठमाडौं महानगरमा सापकोटा वडा नम्बर १४ बाट निर्वाचित जनप्रतिनिधि हुन् । राजधानीको प्रवेशद्वारमै रहेको यो वडाले धुलो र ट्राफिक जामबाट पीडित कलंकी क्षेत्रलाई समेटेको छ ।

मुलुकका ७५३ स्थानीय तहमा महिलालाई उपप्रमुखमा खुम्च्याइएको छ । काठमाडौंमा पनि हरिप्रभा खड्गी उपप्रमुख छिन् । महानगरमा खड्गीपछिकी अर्की महिला नेतृ हुन्- वडाअध्यक्ष सापकोटा ।

उनका श्रीमान सोमनाथ सापकोटा नेपाल सरकारका पूर्व अधिकृत हुन् । श्रीमानको पेन्सन र अमेरिकामा रहेका दुई छोराले पनि घर चलाउन पैसा पठाइदिने हुँदा आफू अवाञ्छित चलखेलमा लाग्ने सम्भावना नै नरहेको वडाअध्यक्ष सापकोटाले अनलाइनखबरलाई बताइन् ।

संघीयता अभ्यासको प्रारम्भिक चरणमा जनप्रतिनिधिहरु नै हतोत्साहित भइरहेका बेला वडाअध्यक्ष सापकोटाले भने आफूलाई घुस नखाने साहसी जनप्रतिनिधिका रुपमा प्रस्तुत गर्ने प्रयास गरिन् करिब एक घण्टाको कुराकानीमा ।

कतिपय जनप्रतिनिधिले सेवा सुविधा नपुगेको भनेर गुनासो गरिरहँदा उनी आफू बिलासी नबन्ने बताउँछिन् । उनले विन्दास पारामा भनिन्, ‘मलाई आफ्नैले पुग्दो छ, जनताको करबाट मेरो सुविधा बढाउनु छैन ।’

सापकोटाले आफ्नो वडालाई नमूना वडा बनाई छाड्ने बताइन् । सापकोटाले नेतृत्व गरेको वडामा प्रधानन्यायाधीशदेखि सरकारका ११ जना बहालवाला सचिवको बसोबास रहेछ ।  उनले भनिन्, ‘उहाँहरुसँग पनि भेटेर सल्लाह लिने गरेकी छु ।’

‘पूर्वमुख्यसचिव सोमलाल सुवेदी र मेयरका प्रत्याशी किशोर थापा समेत लाइन बसेर कर तिर्न आउनुहुन्छ’, उनले सुनाइन्, ‘सेवामा सबैलाई बराबरीको व्यवहार गरेकी छु ।’

अब काम अनलाइनबाट !

नेपालका धेरै सरकारी कार्यालयमा अझै पनि ढड्डा पल्टाएर काम गर्ने परिपाटी छ । जसले गर्दा सेवाग्राहीले घण्टौं कुर्नुपर्ने बाध्यता छ । अनलाइन प्रणालीमा गइसकेका कार्यालयहरुमा पनि दक्ष जनशक्ति नहुँदा सेवाग्राहीलाई सहज हुन सकेको छैन ।

यो पनि पढ्नुहोस काहीँ नभएको जात्रा हाँडीगाउँमा ! वडा कार्यालयमै हाटबजार !

महानगर पनि पूर्णरुपमा अनलाइन प्रणालीमा गइसकेको छैन । अध्यक्ष सापकोटा भने आफ्नो वडालाई पूर्णतः अनलाइन प्रणालीबाट सञ्चालन गर्ने सुरमा छिन् । अहिले भाडाको घरमा साँघुरो वडा कार्यालय छ । नयाँ भवन बनाएर सरेपछि सेवा प्रणाली अनलाइनमा लैजाने उनको भनाइ छ ।

‘७ करोड लागतमा पाँचतले भवन बनाउँदैछौं, त्यो बनेपछि सेवाग्राहीले घर बसिबसी अनलाइनबाट सेवा लिन सक्नेछन्’, उनले  भनिन् ।

कलंकीको धूलो

कलंकी क्षेत्र महानगरको सबैभन्दा ठूलोमध्येको वडा पनि हो । सडक विस्तार, खानेपानी, ढल निर्माण आदि कामले यो क्षेत्र अहिले धुलाम्य छ । खसी बजारनेरको वडा कार्यालय पनि उस्तै धुलाम्य छ । मंगलबार कार्यालयमै भेटिएकी वडाध्यक्ष सापकोटालाई हामीले सोध्यौं- ‘वडाबासीले कत्तिको गाली गर्छन् ?’

जवाफमा उनले सडक निर्माण छिटो सक्न पहलकदमी लिइरहेको दाबी गरिन् । उनले भनिन्, ‘विभिन्न आयोजनाले आ-आफ्नै तरिकाले काम गर्दैछन्, धुलो भएको त्यसैका कारण हो, त्यो मेरो कार्यक्षेत्र भित्र छैन भनेर पन्छिन त पाउँदिन नि म, वडावासीले भन्ने कसलाई ? मलाई नै त हो, म आत्तिएकी छैन ।’

उपत्यका सडक विस्तार आयोजना, टेकु-कालीमाटी-कलंकी-नागढुंगा सडक विस्तार आयोजना, चक्रपथ सुधार आयोजना र मेलम्ची खानेपानी आयोजनाको कामले कलंकी क्षेत्र अस्तव्यस्त छ । धुलोले आक्रान्त सोल्टिमोड र कलंकीचोक क्षेत्रका बासिन्दाले केही दिनअघि विरोधमा चक्का जाम नै गरे ।

मेलम्चीको खानेपानी आयोजनाको पाइप मंसिर १० गते अगावै गाडिसक्ने र सडक पिच गरिहाल्ने शर्तमा स्थानीयलाई शान्त पारियो । र, अहिले त्यहाँ धमाधम पाइप गाड्ने काम पनि भइरहेको छ ।

मन जितेर बाटो फराकिलो !

स्थानीय तहहरुले समयमै काम गर्न नसकेको र छुट्टयाइएको बजेट समेत खर्च गर्न नसकेकाे अवस्थामा कामनपा वडा नम्बर १४ को पारा भने फरक रहेको उनले दाबी गरिन् । वडाअध्यक्ष सापकोटा भन्छिन्, ‘हाम्रो वडाको बजेट फ्रिज भएन, बरु उधारोमा काम गरेर पछि महानगरले दिने बजेटमा कटायौं ।’

महानगरभित्रै रहे पनि आफ्नो वडा विकट जस्तो भएको सुनाउँदै उनले यो अवधिमा गरेको काम बताइन्, ‘खड्कागाउँ, शिवनगरमा खानेपानी र ढल निकासको सुविधा पुर्‍यायौं । यो कार्यकालमा वडाभरमा सडकबत्ति पुर्‍याउने, खानेपानीको समस्या हटाउने, ढल निकास, साँघुरा सडक विस्तार र सेवा प्रणालीलाई चुस्त बनाउने लक्ष्य छ ।’

यो पनि पढ्नुहोस न्युरोडमा अर्को वर्ष सेल्फी खिच्न वडाध्यक्षको निम्तो !

यही अवधिमा बल्खुको खड्कुलेको पुलदेखि बाग्मतीसम्म २ किलोमीटरको करिडाेर निर्माण गरेर आवागमन सहज पार्ने उनको दाबी छ ।

कामनपा- १४ मा गत स्थानीय तह चुनावमा १८ हजार मतदाता थिए । अहिले त्यो संख्या बढेर २२ हजार पुगेको वडा अध्यक्ष सापकोटाले बताइन् । घना बस्तीका कारण वडामा सडकको समस्या छ ।

सडक फराकिलो पार्न उनले घरधनीहरुको मन जित्ने व्यवहारिक नीति अवलम्बन गरेकी छन् । ‘जबरजस्ती डोजर लगाएर सहरका भित्रि सडक फराकिला पार्न सम्भव छैन’, उनले भनिन्, ‘साँघुरा बाटा फराकिलाे पार्न दायाँ बायाँका घरधनीको मन जितेर हामी त्यो काम गरिरहेका छौं ।’

साँघुरा बाटाबाट एम्बुलेन्स, दमकल छिर्न नसक्ने अवस्थाबारे बुझाउँदा वडावासीले साथ दिने गरेका उनले बताइन् ।

नेतृत्वमा महिला देखेर दंग !

समानताको कुरा जति गरे पनि विद्यमान समाजिक मानसिकताले महिलालाई नेतृत्व सुम्पनु अघि दुइचोटि सोच्छ, क्षमतामाथि प्रश्न उठाउँदै । सापकोटा पनि त्यही व्यवहार भोग्दै आएको बताउँछिन् ।

अहिले उनले कुशल कार्य शैलीबाट सबैलाई रिझाएकी छन् । ‘पहिले त निर्वाचित हुनै गाह्रो, चुनिएर आएपछि पनि काम गर्न सक्ली र भन्ने अविश्वास !’ उनले एक वर्षे अनुभव सुनाइन्, ‘तर, अहिले महिलाले पो काम गर्दा रहेछन् भन्छन् !’

सेवाग्राहीलाई छिटोछरितो सेवा दिएपछि गुनासो खेप्न पर्दैन भन्ने उनलाई लागेको छ र तदनुरुप गर्दैछिन् । तर, छिटोछरितो हुने त स्रोत साधन र जनशक्तिले हो । ‘अहिले जन आकांक्षा बढेको छ, एउटा सेवाग्राहीले सबै कुरा बुझेका हुँदैनन्, यो परिस्थितिमा समस्यालाई चिर्दै अघि बढ्ने हो’, सापकोटा भन्छिन् ।

महानगरको बोर्ड बैठक बस्दा सेवा प्रवाहलाई लिएर पुरुष वडाध्यक्षहरु आत्तिएको देखेको उनी बताउँछिन् । महिला भएकै कारण आफूलाई कुनै असहज नभएको बताउने उनले वडाभित्रका विकासका काम द्रुत गतिमा बढाएको दाबी गरिन् ।

यो पनि पढ्नुहोस मुम्बईका वडाअध्यक्षलाई साइरनवाला गाडी, काठमाडौंलाई के ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment