Comments Add Comment

काहीँ नभएको जात्रा हाँडीगाउँमा ! वडा कार्यालयमै हाटबजार !

६ पुस, काठमाडौं । ‘काहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको कम्पाउण्डभित्रै हाटबजार लाग्दोरहेछ । दिउँसो कार्यालय समयमा वडाअध्यक्ष रमेश डंगोललाई भेट्न जाँदा कार्यालयको कम्पाउण्डभित्र तरकारी र मःमका स्टलहरु भरिभराउ थिए ।

झण्डै १० वर्षदेखि त्यहाँ हाटबजार लाग्दै आएको रहेछ । रोचक त के भने, सरकारी कार्यालयको कम्पाउण्डभित्र लगाइने यो हाटबजारको भाडासमेत महानगरपालिकाले नभएर अर्कैले असुल्दो रहेछ ।

‘वडाकै जग्गा हो यो । तर, हाटबजार लाग्न थालेको झण्डै १०–१२ वर्ष भयो’ वडाध्यक्ष डंगोलले अनलाइनखबरसँग भने, ‘विशालनगर पुस्तकालयले पैसा उठाएर खान्छ ।’

वडा कार्यालयमा यसरी हाट लगाउँदा सेवा सञ्चालनमा अप्ठ्यारो परेको छैन त ? अनलाइनखबरको प्रश्नमा वडाध्यक्ष डंगोलले अबको केही महिनाभित्रै हाटबजार बन्द गर्ने बताए । वडा कार्यालय आफ्नै भवनमा छ । तर, यो साँघुरो भएको छ । अब यसलाई विस्तार गर्ने उनले योजना सुनाए ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ ले हाँडीगाउँसँगै विशालनगर, भीमसेनस्थान, टंगाल  लगायतका क्षेत्रलाई समेटेको छ । यो वडाको नेतृत्व नेपाली कांग्रेसबाट चुनाव जितेका वडाध्यक्ष डंगोलले गरिरहेका छन् ।

काठमाडौं महानगरपालिकामा ३२ वटा छन् । जसमध्ये १८ वटा वडामा तत्कालीन एमाले र १४ वटा वडामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।

अनलाइनखबरसँग कुराकानीको शुरुवातमा डंगोल वडाअध्यक्षभन्दा पनि महानगरको कार्यपालिका सदस्यका रुपमा प्रस्तुत भए । कुरा गर्दैजाँदा उनी मेयर विद्यासुन्दर शाक्यविरुद्ध निकै आक्रामकरुपमा प्रस्तुत भए ।

यो पनि पढ्नुहोस बिन्दास वडाअध्यक्ष ! श्रीमानको पेन्सन, छोरा अमेरिकामा !

हामीले झण्डै एकघण्टा वडाध्यक्षका कुरा सुन्यौं । केही प्रश्नको जवाफ माग्यौं । कुराकानीका क्रममा वडाअध्यक्ष डंगोलमा केही आत्मविश्वाससँगै र बढ्ता नैराश्यता प्रकट भयो । मुलुककै सबभन्दा धनी महानगरपालिकाभित्रका वडाअध्यक्षले बजेटमा हेला गरिएको गुनासो सुनाए ।

मेयर विद्यासुन्दरप्रति वडाअध्यक्ष डंगोलको आक्रोश उनकै शब्दमा–

भिजन नभएका मेयर, कार्यपालिका मेयरको कठपुतली !

काठमाडौं महानगरपालिकामा हामी निर्वाचित भएर आएको डेढ वर्ष भयो । वडाअध्यक्षहरुका दुईवटा दायित्व छन् । एउटा महानगरपालिकाको कार्यपालिका सदस्य, अर्को वडामा कार्यकारिणी भएर वडाअध्यक्षको हैसियतले काम गर्नुछ । ३२ वटै वडाका वडाअध्यक्ष, ८ जना मनोनित, र मेयर–उपमेयर गरी ४२ जनाको कार्यपालिका बनेको छ ।

काठमाडौं महानगरपालिकालाई कस्तो महानगरपालिका बनाउने भन्ने भिजन नेतृत्वकर्तामा हुनुपर्ने हो । यस विषयमा कार्यपालिकामा पनि छलफल हुनुपर्ने हो ।

जनताको गुनासो सुन्दा र आफैं पनि कार्यपालिका सदस्यको हैसियतमा काम गरिरहँदा मैले नेतृत्वमा भएको व्यक्तिमा कुनै भिजन नै देखेको छैन । जनताले अपेक्षा गरेको, आश गरेको काम माथि (महानगरपालिका) बाट हुन सकेको छैन । गर्नुपर्ने के हो भने एउटा मास्टर प्लान बनाएर हामी यो अवधिसम्म यो यो काम गर्छौं भनेर भन्नुपर्‍यो ।

स्थानीय निर्वाचनमा उम्मेदवार हुँदै गर्दा भनेका र प्रतिवद्धता जाहेर गरेका कुरा क्रमवद्धरुपमा लैजानुपर्ने हो । तर, त्यसो भइरहेको छैन । कार्यपालिका सदस्यको नाताले म आफैं पनि सन्तुष्ट छैन । भिजन नभई कसरी अघि बढ्न सकिन्छ ? उहाँ(मेयर) को स्पष्ट भिजन भएन ।

यो पनि पढ्नुहोस न्युरोडमा अर्को वर्ष सेल्फी खिच्न वडाध्यक्षको निम्तो !

हामी यसरी जान्छौं भन्नेखालको म्यासेज त आउनुपर्‍यो नि । चल्न त चलिराख्छ । तर, विनाभिजनको यात्राको के हालत होला ? नेतृत्वमा बस्ने व्यक्तिसँग भिजन नभएपछि त अलमल भइहाल्छ नि । हामीले दिएका सुझाव सुन्न त सुन्नुहुन्छ तर, कार्यान्वयनमा आएको छैन ।

न्यायिक समिति महानगरको अण्डरमा छ । त्यो वडामा आउनुपर्‍यो । त्यो न्यायिक समितिले न्याय नै दिँदैन । मान्छेको घरमा झगडा पर्दा वडामा भएका हामी जनप्रतिनिधिलाई पो थाहा हुन्छ त । महानगर गएर कसले कुरा बुझ्छ ?

भवन निर्माण सम्पन्नताको प्रमाणपत्र लिन अझै महानगर जानुपर्छ । त्यो त वडाबाटै हुनुपर्ने हो नि । बजेट वितरणमा पनि केन्द्रीकरण गरिएको छ । गाउँ–गाउँमा सिंहदरबार आएर के गर्ने पैसा नभएपछि ? विकास निर्माणको काम गर्न त पैसा चाहियो नि । वडामा थोरै बजेट विनियोजन गरिदिएपछि हामीले कसरी काम गर्ने ?

मेयरलाई डेढ करोडको गाडी, वडाध्यक्षलाई के ?

स्थानीय तहका जनप्रतिनिधिमा हैसियत अनुसारको सुविधा नपाएको गुनासो डंगोलले सुनाए । वडाअध्यक्षलाई सहसचिवभन्दा माथिको वरियतामा राखिए पनि त्यसअनुसार सुविधा नपाएको गुनासो उनले गरे । ‘सिनियर शाखा अधिकृतसमेत गाडी चढेर हिँड्छन् तर, हामी कार्यपालिका बैठकमा जाँदा पारवहन सुविधा भनेर एक हजार थमाइन्छ ।’ डंगोलले भने ।

फेरि उनकै शब्दमा सुनौं–

मेरो त आफ्नै मोटरसाइकल छ । मोटसाइकलसमेत नभएका वडाअध्यक्ष त कोही नहोलान् हाम्रो महानगरमा । तर, ७ औं, ८ औं श्रेणीको शाखा अधिकृतले गाडी चढेर हिँड्ने, मेयरसाबले पनि डेढ दुई करोडको गाडि चढ्दा वडाअध्यक्षलाई कम्तिमा मोटरसाइकल त दिनुपर्ने हो ।

उपमेयरले पनि गाडी चढेको देख्नुभएकै छ । बरु गाउँतिर, अरु नगरपालिकातिर वडाअध्यक्षले समेत मोटरसाइकल पाएका छन् ।

वडाध्यक्षको वरियता चैं उपसचिवभन्दा माथि राख्ने । तर, सुविधामा चैं हेला गरेको जस्तो देखियो । हामी (वडाअध्यक्ष) लाई प्रदेशले तोकेको तलब २५ हजार । भत्ता, यताउता गर्दा ४०–४५ हजार भइहाल्छ । यतिले पुगिहाल्छ पनि । तर, वडा सदस्यहरुलाई जम्मा ७ हजार तलब तोकिएको छ । ०५४ सालमै थियो यति त ।

समयअनुसार चल्न नपुग्ने अवस्था छ वडा सदस्यहरुलाई । तलब थोरै भएकै कारण गाउँतिरका स्थानीय तहमा त वडा सदस्यहरु काम छोडेर आ–आफ्नो व्यवसाय र उद्यमतिर लागेको सुन्न थालेको छु । महानगरमा पनि गुनासो बढेको सुनिरहेको छु । बरु माथिल्लो तहमा भएकाहरुको पारिश्रमिक कम गरेर तलका लागि केही बढाइदिए हुने ।

विकास निर्माणको सट्टा जनचेतनामा केन्द्रित !

हरेक स्थानीय तहमा जनप्रतिनिधिका कार्यशैली फरक छन् । कसैले यो डेढ वर्षमा माखो मारेका छैनन् । धेरै काम गरेर वाहवाही कमाउनेहरु पनि यही ७५३ स्थानीय तहमध्येमै पर्छन् ।

आखिर काठमाडौं ५ का वडाध्यक्ष डंगोलले चाहिँ अहिलेसम्म के के काम गरे त ? हामीले जान्न खोज्यौं । आखिर यो एक डेढ वर्षको अवधिमा वडा नम्बर ५ मा विकासका कामहरु चाहिँ के के भए त ?

डंगोलले आफ्नो कार्यशैली अलि फरक रहेको दाबी गरे । उनले विकास निर्माणलाई भन्दा सामाजिक कामलाई जोड दिएका रहेछन् । उनले भने, ‘विकास निर्माण त भइरहन्छ नि, मुख्य कुरो समाजलाई हामीले सभ्य बनाउनुपर्छ ।’

नेपाल प्रहरीसँग मिलेर आफ्नो वडामा यौनहिंसा, बालश्रम, लागुऔषधविरुद्ध जनचेतना जगाउने काम भइरहेको उनले सुनाए । घरेलु झगडा न्युनिकरण, घरेलु मदीराविरुद्ध कडाइ जस्ता समाज सुधारको काममा लागि परेको उनले दाबी गरे ।

‘विकास निर्माणका काम भइराख्छ, यो नियमित प्रक्रिया हो तर, तपाईंको घरमा एउटा सदस्य ड्रगिस बन्यो भने के हुन्छ, विद्यालयमा पढाइ बाहेक अर्थोक चल्न थाल्यो भने के हुन्छ, हामी समाजलाई सभ्य बनाउन लागिपरेका छौं’, उनले भने ।

विद्यालयमा गएर समेत यसबारेमा खबरदारी गरेको उनले सुनाए । ‘विद्यार्थीलाई पढाउने मात्रै होइन, आनिबानी, संस्कार, व्यहोर पनि सिकाउनुस्, हामीले विद्यालयहरुमै गएर भनिरहेका छौं’, उनले भने ।

यो पनि पढ्नुहोस मुम्बईका वडाअध्यक्षलाई साइरनवाला गाडी, काठमाडौंलाई के ?

आफ्नो कार्यकालमा वडाभित्रको सम्पूर्ण सडक पिच गर्ने, ढलको समस्या समाधान गर्ने, सेवा सुविधालाई छरितो बनाउने उनको दाबी छ । लिच्छविकालीन सम्पदाहरु भएकाले तिनको संरक्षण, उत्खननमा पनि वडाले काम गर्ने उनले बताए ।

आफ्नो वडामा अंशुबर्माको दरबार कैलाशकोट समेत भएको तथ्य भेटिएको उनको दाबी छ । ‘इटालियन विज्ञहरुको टोलीले झण्डै दुई दशकअघि नै यहाँ आएर उत्खनन् गरेका थिए, कैलाशकोट दरबारका केही अवशेष समेत फेला परेका छन्, यस्तो ऐतिहासिक ठाउँ जोगाउन समिति नै गठन गरेर काम अघि बढाएका छौं’, उनले भने ।

डंगोलले नेतृत्व गरेको वडामा लिच्छविकालीन केही सम्पदाहरु छन् । गहनापोखरी, मनमानेश्वरी मन्दिर, सत्यनारायण, कृष्ण मन्दिर, दक्षिणकाली मन्दिर, धनवन्तरी देवी आदि । डंगोलका अनुसार यो वडामा झण्डै २५ सय ७७ घरधुरी छन् । यहाँ करिब २८ हजार स्थानीय बासिन्दा छन् । सरकारी तथा निजी संस्थाका कार्यालय पनि भएकाले यहाँ डेरावालहरु पनि उत्तिकै संख्यामा छन् ।

लिच्छविकालिन मनमानेश्वरी मन्दिर, सत्यनारायण मन्दिरलाई व्यवस्थित गरी संरक्षणको योजना बनाइरहेको उनले बताए । वडालाई पर्यटक आउन लायक बनाउने दृढता पनि व्यक्त गरे । जन्मदेखि मृत्युसम्मका संस्कारका लागि बाहिर जानु नपर्ने भन्दै उनले आफ्नो वडाको महिमा र विशेषता सुनाए । वडा नम्बर ५ ऐतिहासिक सम्पदाहरुको पुञ्ज भए पनि पुरातत्व विभाग र सरकारको नजरमा नपरेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment